कपिलवस्तु पूर्ण साक्षर जिल्ला घोषणा

मेचीकाली संवाददाता

३१ असार २०८०, आईतवार
953 shares

पार्वती आचार्य

कपिलवस्तु । कपिलवस्तु जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ । प्रदेश सभा सदस्य सुधाकर पाण्डेयले साक्षर घोषणा कार्यक्रमबको व्यानर पढेर उद्घाटन गर्दै पूर्ण साक्षर जिल्ला घोषणा गरेका हुन् । साक्षर घोषणा भएका देशभर मध्ये कपिलवस्तु ६४ औं जिल्लामा पर्छ भने लुम्बिनी प्रदेशको १२ औं जिल्लाको रुपमा कपिलवस्तु रहेको छ ।

सो अवसरमा प्रदेश सभा सदस्य पाण्डेयले लुम्बिनी प्रदेश सरकारले शिक्षालाई उच्च प्राथमिकतामा राखेको बताए । जिल्लालाई साक्षर घोषणा गरेर मात्र हुँदैन यसलाई दिगोपना दिनको लागि र साक्षर घोषणा अभियानलाई सफल बनाउन स्थानिय तहको महत्वपूर्ण भुमिका रहने उनको भनाई छ । सरकारी बिद्यालयहरुले पछिल्लो समयमा फड्कोमार्दै गएको बताउँदै शिक्षकहरुबाट नै बिद्यालयहरुमा सुधार आउने बिश्वास व्यक्त गरे ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले कपिलवस्तु जिल्ला पूर्ण साक्षर घोषणा हुनु महत्वपूर्ण कार्यक्रम भएको यसलाई दिगोपना दिनु झनै महत्वपूर्ण बिषय भएको बताए । आफूले गर्ने काममा गम्भिर भएर गर्ने हो भने सफल हुन समय नलाग्ने उनले बताए । कपिलवस्तु जिल्ला हिनताबोधबाट मुक्त भएको बताउँदै साक्षर घोषणालाई दिगोपना दिन स्थानिय तह र शिक्षाको क्षेत्रमा काम गर्ने बिभिन्न संघसंस्थाहरु सक्रिय हुन आवश्यक रहेको उनको भनाई थियो ।

बाणगंगा नगरपालिकाले २०७४ सालमा साक्षर घोषणा गरेको बताउँदै ९६ प्रतिशत नगरवासी साक्षर भएको बताए । योजनावद्ध तरिकाले कार्य गर्ने हो भने यो कार्य खासै जटिल नभएको र मानव सुचांकका हिसाले र दिगो बिकासको लक्ष २०३० मा पु¥याउन नागरिकहरु साक्षर हुने महत्वपूर्ण कुरा भएको बताए । तर साक्षर बनाउन नसकिरहँदा राष्ट्रिय, अन्तराष्ट्रिय जगतका परिकल्पना गरेर बिकास निर्माणका योजनाहरु बनाई रहनुको कुनै औचित्य नरहेको मेयर अर्यालको भनाई छ । आधारभूत कुराहरु पुरा नगरी अन्य कल्पना गर्नु सान्दर्भिक नभएको बताउँदै साक्षरतालाई दिगोपना राख्न बिशेष ध्यान दिन जरुरी रहेको उनले बताए ।
यस्तै प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जिल्ला पूर्ण साक्षर घोषणाको शुभकामना दिंदै साक्षरतालाई दिगोपना दिन शिक्षामा बिशेष जोड दिनुपर्ने बताए ।

यसैगरी शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले साक्षर घोषणालाई कागजमा मात्र सिमित होईन दिगोपना दिन आआफ्नो स्थानियतहले निरन्तरता दिनुपर्ने बताए । कपिलवस्तु जिल्लालाई शिक्षा क्षेत्रमा राज्यले विभेद गरेको उनले बताए । सामुदायिक बिद्यालयहरु बृद्धि हुँदै जाने तर शिक्षक दरवन्दी न्यून हुनु दुःखको बिषय भएको बताउँदै यस बिषयमा तिन तहको सरकार संवेदनसिल हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कपिलबस्तुका प्रमुख थानेश्वर घिमिरेले कपिलवस्तुका दश वटै पालिकालाई साक्षर घोषणा गरिएसँगै जिल्लालाई साक्षर घोषणा गरीएको बताए । १५ वर्ष देखि ६० वर्ष उमेर समूहका जनसंख्या साक्षर भएको सुनिश्चित गरि जिल्लालाई पूर्ण साक्षर घोषणा गरिएको छ । १२ वटा सूचकहरु मध्ये ६ वटा सूचक अर्थात ५० प्रतिशत पुरा भएपछि साक्षरता घोषणा गर्न सकिने नेपाल सरकारको नितीगत व्यवस्था भए अनुरुप जिल्लाका सम्पूर्ण पालिकाहरु यस भन्दा अगाडी नै साक्षर घोषणा भैसकेको र सो को आधारमा असार ३१ गते जिल्लालाई पूर्ण साक्षरता घोषणा गरिएको हो ।

लुम्बिनी प्रदेशका १२ वटा जिल्लाहरु मध्ये कपिलवस्तु जिल्ला मात्र साक्षर घोषणा हुन बाँकी रहँदा बाहिरी जिल्लाहरुले यस जिल्लालाई हेर्ने दृष्टि नै फरक थियो । असार ३१ गते आईतबारको दिन कपिलवस्तु जिल्लालाई बिधिवत रुपमा पूर्ण साक्षर घोषणा गरेपछि प्रदेश साक्षर घोषणाका लागि बाटो खुलेको छ । जिल्ला साक्षर घोषणा गर्न सफल साक्षर घोषणा समितीका पदाधिकारीहरु, बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई शिक्षा बिकास तथा समन्वय ईकाई कपिलवस्तुले धन्यवाद दिएको छ ।

जिल्ला समन्वय समितीका प्रमुख बाबुराम आचार्यको अध्यक्षतामा शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख थानेश्वर घिमिरेको स्वागत मन्तव्य तथा समन्वय ईकाई शिक्षा शाखा अधिकृत चोपलाल बेल्वासेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल, जिल्ला समन्वय समितीका उप प्रमुख रमेश कुर्मी, समन्वय अधिकारी भूमिराज पोख्रेल, कपिलवस्तु नगरपालिकाका उपसचिव हरिप्रसाद ज्ञवाली, प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेत, शसस्त्र प्रहरी उपरिक्षक जीवन केसी, जिल्लाका सम्पूर्ण स्थानीय तहका शिक्षा शाखा प्रमुखहरु, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, इन्सेक , मानव अधिकारकर्मी, बिभिन्न संघसंस्थाका प्रमुख तथा कर्मचारी पत्रकार लगायतको सहभागिता रहेको थियो ।

शुद्धोधन गाउँपालका २०७५, बाणगंगा नगपालिका २०७४, बुद्धभूमि २०७५, शिवराज २०७६, महाराजगंज नगरपालिका २०७९, कपिलवस्तु नगरपालिका २०८०, सालमा साक्षर घोषणा भएको थियो । यस्तै मायाँदेवी गाउँपालिका २०८०, बिजयनगर गाउँपालिका २०८०, यशोधरा गाउँपालिका २०८० र कृष्णनगर नगरपालिका २०८० मा साक्षर घोषणा भएको थियो ।