घनश्याम कोइराला
मानिसहरू धेरै राम्रा कार्यहरू गर्न प्रयत्नशील रहन्छन् । राम्रो गर्न लाग्नु अत्यन्तै राम्रो काम हो । मानिसले राम्रो त्यसलाई मान्दछ, जो उसका लागि रुचीकर हुन्छ । यसको अर्थ यो हो कि मानिसले राम्रो मानेको जति सबै ठिक नै हुन्छ भन्ने हुँदैन । किन कि हरेक रुचीकर वस्तु वा विषय ठिक नहुन पनि सक्दछ ।
मानिसले मानिसलाई उत्पीडन गर्दछ, विभेद गर्दछ र फेरि पनि मानिस आफूलाई सही नै ठानिरहेको हुन्छ । मानिसले नखान ठिक हुने वस्तुहरू सेवन गर्दछ, यस्तो वस्तुलाई रुचीकर ठान्दछ, तर त्यसले ऊ स्वयंलाई पनि लाभ पु¥याउँदैन । अनि, कसरी मान्न सकिन्छ कि मानिसलाई रुचीकर लागेको वा उसले ठिक ठह¥याएको नै ठीक हुन्छ ?
त्यसो भए के त कुनै कुरा ‘ठिक’ हुँदैन ? कुनै पनि विषयका पक्ष—विपक्ष त हुन्छन् नै । चोरी गर्नेको पनि आफ्नो पक्ष होला । यस्तै अन्य घटिया काम गर्नेको पनि आफ्नो पक्षमा तर्क होला । सत्य त सापेक्षतामा मात्र सही वा गलत हुने भयो । जसले जे गर्दछ, त्यसका लागि त्यही सही हुने भएपछि वास्तविक सही त के नै पो हुने भयो त ?
हो, त्यसैले शास्त्रमा लेखियो— आत्मनः प्रतिकूलानि परेषां न समाचरेत् अर्थात्, आफ्ना लागि प्रतिकूल लाग्ने व्यवहार अरुसँग नगर्नू । यो प्रतिकूल भनेको के हो त ? विषय स्पष्ट छ ः स्वास्थ्यमा प्रतिकूल, जीवन निर्वाहका लागि गरिने उद्यम वा व्यवसायमा प्रतिकूल, शिक्षामा प्रतिकूल, व्यक्तित्वमा प्रतिकूल समग्रमा शरीर, लोक—व्यवहार, लोकद्वारा स्थापित मूल्य—मान्यता, राज्य वा राज्यद्वारा निर्धारित नीतिको प्रतिकूल हुनु भनेको नै आफ्नो र अरुको लागि प्रतिकूल हुनु हो । त्यसैले, यी अनुकूलताहरूको पक्षमा व्यवहार गर्नु नै अनुकूल हो । बहुजनको अनुकूलताका पक्षमा, अनुकूलताका लागि काम गरेर मात्र अनुकूल बन्न सकिन्छ, वास्तव आप्mना लागि अनुकूलताको खोजी मात्र गरिहिँड्ने व्यवहार र प्रवृत्ति प्रतिकूलताको पक्षपोषण हो । सबैले सबैका लागि यसरी सोच्ने, व्यवहार गर्ने विषय अनुकूल चिन्तन हो ।
कुनै पनि मानिसलाई के थाहा हुन्छ भने यदि यो व्यवहार कसैले मसँग ग¥यो भने मलाई कस्तो लाग्छ । उसलाई निश्चितै रूपमा थाहा हुन्छ कि यो व्यवहार आफ्ना लागि कस्तो लाग्दछ । यदि कसैले चोरी गरिरहेको छ भने ऊ यो काम गर्न कुनै कारणले बाध्य होला, तर उसलाई यो काम ठिक होइन भन्ने थाहा भइरहेकै हुन्छ । र त उसले चोरी गर्दा लुकेर गर्दछ । यसरी लुकेर गर्नुपर्ने कामलाई अनुकूल काम भनेर मान्न सकिँदैन ।
मानिस सामाजिक प्राणी हो । सामाजिक प्राणी हुनुको नाताले उसले आपूmलाई जे जे मन पर्छ, त्यही त्यही गर्नु हुँदैन, यस्तो त पशुप्राणीहरूले गर्दछन् । सामाजिक प्राणी भनेको सभ्य प्राणी भनिएको हो । सभ्य भनेको सभा वा समुहमा बस्नयोग्य भनिएको हो । त्यसैले समाजमा नियमहरू बनेका छन् । कतिपय विषमा नियम नबनेका पनि हुन सक्दछ । हाम्रो लोक—व्यवहारमा नियम नबनेका, तर धेरै औचित्यपूर्ण कामका विषयहरू छन् ।
आमाले शिशुलाई स्तनपान गराउनु, बाबु—आमाले सन्तान हुर्काउनु, पढाउनु, लेखाउनु, अनेकौँ विषयमा ध्यान दिनु, सुरक्षामा ध्यान दिनु, स्वास्थ्यमा ध्यान दिनु आदि विषय छन् । यी सबै विषय नियममा लेखिएका हुँदैनन् । कहीँ लेखिएन भन्दैमा अन्यथा गर्न त मिल्दैन ।
शास्त्रनिर्माता—ज्ञाताहरूले लेखेका छन्, ‘अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम् । परोपकार पुण्याय पापाय परपीडनम् अर्थात् अट्ठार पुराणमा व्यासका दुई वटा वचन महत्वपूर्णछन्— पुण्य प्राप्त गर्नका लागि परोपकार(अर्काको हित) र पापी हुनका लागि परपीडन (अर्कालाई पीडा दिनु, उत्पीडन) गर्नु हो ।’
त्यस्तै भारतका प्रसिद्ध कवि, रामचरित मानसका रचयिता तुलसी दासले लेखेका छन्, ‘परहित सरिस धर्म नहीं भाई, परपीडा सम नहीं अधमाई अर्थात् परहित समान धर्म छैन र परपीडा समान अधमता छैन ।’ हामी अधम, अधार्मिक बन्ने कि धार्मिक बन्ने ? धार्मिक बन्नु भनेको परोपकार—अरुको हितका लागि काम गर्नु हो, पापी बन्नु भनेको परपीडक—अरुलाई पीडा दिने, दुःख दिने हो । अधम बन्नु भनेको पनि अरुलाई दुःख दिनु हो ।
सामाजिक प्राणी हुनु, सभ्य हुनु भनेको ऐन—कानुनमा लेखेका विषय उल्लंघन नगर्नु मात्र होइन, कसैको डरले सदाचारी जस्तो देखिनु होइन । वास्तवमा सभ्य, सामाजिक, धार्मिक भनेको अरूको हित चिताउने, भलो गर्ने, भेदभाव नगर्ने, उत्पीडन नगर्ने मानिस हो । मानिस हुँदैमा सबै सभ्य र सामाजिक हुँदैनन् । असभ्य र असामाजिक पनि हुन्छन् भन्ने विषय हामीले देखेकै, सुनेकै, जानेकै विषय हो । पुलिसको डरले चोरी नगर्ने मानिस साधु हुन सक्दैन । यस्तो मानिस त पशु जस्तै हो । मानिसको डरले खेतबारीमा नपस्ने पशु र समाज र पुलिसका डरले सदाचारी देखिने मानिस उस्तै उस्तै हो ।
मानिसले अरुका लागि गर्दै गरको व्यवहार ठिक छ वा बेठिक भनेर छुट्याउन असजिलो छैन । मात्र अर्काको ठाउँमा आपूmलाई र आफ्नो ठाउँमा अर्कालाई राख्दा ठिक वा बेठिक छुट्याउन सजिलै सकिन्छ । यसरी हेर्दाखेरि जे देखिन्छ, त्यो अरुका लागि नगर्ने वा गर्न नहुने विषय वा गर्न हुने विषय हो भन्ने स्पष्ट हुन्छ । यसरी जाँचेर नै मानिसले आत्मनः प्रतिकूलानि परेषां न समाचरेत्लाई साँचो अर्थमा जीवनमा लागू गर्न सक्दछ । (लेखक संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)