तीज पर्वको सारः विजयको उत्सव

मेचीकाली संवाददाता

३१ भाद्र २०८०, आईतवार
1510 shares

घनश्याम कोइराला

तीज मूलतः सांस्कृतिक पर्व हो । संस्कृति भनेको मानवीय कर्मको परिणति हो । यो परम्पराको निरन्तरतासँगै परिवर्तनलाई जोड्ने महत्वपूर्ण कडी हो । तीजका तीन आयाम छन् । चलनचल्तीमा भनिने तीजलाई ‘हरितालिका तीज’ भनेर उल्लेख गरिएको छ । यसलाई हिन्दू धर्मसँग जोडिएको भए पनि यो धार्मिक विषय भने होइन । यसमा केही पुरानो हुनुका दोष छन् भने नयाँ हुनुका विसङ्गति पनि यसमा मिसिएका छन् । दोष हटाउने, विसङ्गति रोक्ने र सारसङ्गत बनाउने जिम्मेवारी हरेक सचेत मानिसको हो, समाजको हो ।

प्रकृतिले मानिस बनायो । मानिसले समाज बनायो । समाजले संस्कृति बनायो । प्रकृति सबै सुगम मात्र छैन । समाज सबै सन्तुलित मात्र छैन । संस्कृति सबै निस्खोट मात्र छैन । मानिसले प्रकृति बुझिरहेको छ । समाजले असन्तुलन थाहा पाइरहेको छ । संस्कृतिले आपूmभित्रको खोट पहिल्याइरहेको छ । प्रकृतिमा झिँगा पनि छ र मौरी पनि छ । दुवैले आपूmलाई अनुकूलता नै खोज्दछन् । झिँगाले पूmलको रस चुसेको र मौरी घाउ खोज्दै हिँडेको थाहा पाइएको छैन ।

समाजमा संस्कृति नभएको भए जीवन कति निरस हुँदो हो । मानिस कति उदास हुँदो हो । मानिसका आत्मीयता कहाँ साटिन्थ्यो होला ? धन्य छ हाम्रो संस्कृति— जसले पहिचान दिएको छ, जिम्मेवारी सम्झाएको छ, समर्पण र प्रतिबद्धता सिकाएको छ ।
तीज पर्व वास्तवमा महिला अधिकारसँग सम्बन्धित पर्व हो । यसमा पार्वतीको अठोटको विजय भएको केन्द्रीय प्रसङ्ग छ । यो अधिकार र सशक्तीकरणको पक्ष हो । तर, यसलाई महिलाहरू व्रतका रूपमा लिन्छन् । शिवजीको व्रत बस्छन् र आप्mनो जीवनसाथी शिवजस्तै हुन् भन्ने कामना गर्दछन् । अविवाहितहरूले शिव जस्तै जीवनसाथी पाउने कामना गर्दछन् । कथामा वर्णन गरिएअनुसार पार्वती पर्वतराज हिमालय र रानी मैनाकी छोरी हुन् ।

हिमालय र मैना (मेनका) ले आफ्नी छोरी पार्वतीको विवाह त्रिलोकका अधिपति मानिने भगवान विष्णुसँग गरिदिन चाहन्थे । तर पार्वतीलाई भने महादेव—शिव मन परेका थिए । विष्णुसँग विवाहको तयारी भइरहेको र दिन नजिकिँदै थियो । यो कुरा पार्वतीले थाहा पाएपछि विष्णुसँग विवाह नगर्ने र महादेवसँग नै विवाह गर्ने उपायको खोजीमा लागिन् । यस क्रममा पार्वतीले आप्mना केही साथीहरूसँग सल्लाह गरिन् । सल्लाहबमोजिम उनलाई साथीहरूले लुकाए । ‘हरिता’ र ‘आलिका’ यी शब्द मिलेर हरितालिका बनेको छ । हरिता भनेको हरण गरिएकी वा लुकाइएकी, ‘आलिका’ भनेको साथीहरूद्वारा भन्ने हुन्छ अर्थात् ‘हरितालिका’ भनेको साथीहरूद्वारा लुकाइएकी भन्ने हुन्छ । यसरी लुकाइएकी पार्वतीको निकै खोजी भयो, तर उनी भेटिइनन् ।

सम्वादकुशल नारदले पार्वतीलाई भेटे । उनको प्रतिबद्धता बुझेपछि महादेव, पार्वतीका आमाबा, विष्णु सबैलाई भेटेर पार्वतीको विवाह महादेव–शिवसँग नै हुने चाँजोपाँजो मिलाए । यसो नहुँदासम्म पार्वती खानपान छोडेर, जिद्दी कसेर बसेकी थिइन् । स्पष्ट छ, यसरी महादेव–शिवलाई जीवनसाथीका रूपमा पाउन उनले खानपान छोडेर बसेकी थिइन्, उनले आपूmले चिताएको ‘वर–जीवनसाथी’ प्राप्त गरिन् । कथाको सार यही हो । यही खुसीमा पार्वती, उनका साथीहरू सबैले यस दिन उत्सव नाचगान गरी मनाए । यही विषय परम्परा बन्यो र अहिले पनि महिलाहरू विनाअन्नपानी व्रत बस्ने गरेको देखिन्छ । सामान्य लौकिक दृष्टिले हेर्दा पार्वतीले आफ्नो माग पूरा गराउन ‘अनसन’ गरेकी थिइन् । कुनै पनि अभीष्ट प्राप्ति सहज हुँदैन, त्यसका लागि कठोर र दृढ सङ्कल्प आवश्यक पर्छ भन्ने कुरा यस कथा÷घटनाबाट बुझ्न सकिन्छ ।

तीजको उपक्रम दर खाने दिनबाट सुरु हुन्छ । यो दिन भाद्र शुक्ल पक्षको द्वितीया तिथिमा पर्दछ । सामान्यताः शब्दका हिसाबले हेर्दा र बुझ्दा ‘दर’ भनेको मूल्य हो, मूल्य भनेको महत्व पनि हो । यसरी बुझ्दा दर खाने भनेको गतिलो मूल्यवान् वस्तुहरू÷पदार्थहरू खाने भनिएको हो र दर खानु भनेको महत्वपूर्ण खवाइ हो ।
यसमा एउटा पारिवारीक भेटघाटको पक्ष छ । माइतीले छोरीचेलीलाई घरमा बोलाउँछन्, मिठोमसिनो खुवाउँछन्, गच्छेअनुसार लुगाफाटो दिन्छन् । छोरीचेलीहरू घरपरिवार धन्दाझमेलाबाट मुक्त भएर आमाबा, दाजुभाइहरूसँग भेटेर रमाइलो गर्छन् । गीतका माध्यमबाट आप्mना दुःखपीडा पोख्छन् र मनलाई हलुका पार्छन् ।

यसको महत्वका बारेमा धेरै उल्लेख गर्नु परोइन । तीजको सामाजिक पक्ष निकै गहकिलो छ । ‘साहुले गर्दा माइती गए नौ डाँडा काटेर, सम्झिल्याउँदा रुन्छ मेरो मनै फाटेर…’ निकै वर्ष पहिले हामी तीजको समयमा आमा, दिदीबहिनीहरूले गाएको यो गीत सुन्थ्यौँ । ऋणको भार खप्न नसकेर आफ्नो गाउँघर छोडेर अन्तै टाढा जानुपरेको र यस्तो अवस्थाले छोरीचेलीहरूको मन रोएको यो गीत कति कालजयी रहेछ, गीत फेरिए होलान्, भाका फेरिए होलान्, तर हामी नेपालीहरूको नियती फेरिन सकेको छैन ।
‘यो रमाइलो तीजमा सबै जान्छन् माइत, आफ्ना माइती मुग्लानपारि छैन साइत…’ यसो भनेर घरको आँगनमा आमा, दिदीबहिनीहरूले गाइरहेको यो गीत सम्झँदा पनि उस्तै विरक्त लागेर आउँछ । कुनै दिन नबिराएर हाम्रो युवाशक्ति ताँतीका ताँती मुग्लानपारि अर्थात् परदेश जानपरिरहेको यथार्थ अहिले पनि हामीले देखिभोगिरहेका छौँ ।

अझ त्यसअघि त हाम्रा आमा, दिदीबहिनीहरूले ‘महेन्द्रका पालामा चैते धान छरियो, वीरेन्द्रका पालामा भोकै परियो’ भन्ने गीत गाएर अघिल्ला राजाको तुलनामा पछिल्ला राजाले जनताको पीरमर्का कम बुझेको भाव व्यक्त गर्नुहुन्थ्यो । तीजको गीतका माध्यमबाट राजामहाराजाहरूबारे समेत चेलीछोरीहरूले ध्यानकर्षण गर्दथे ।

यसरी तीजलाई सामाजिक यथार्थ अवस्थाबारे थाहा पाइने सांस्कृतिक पर्वको रूपमा मनाउने गरेको पाइन्थ्यो । छोरीचेलीहरू माइतीका आँगनमा भेला भएर थपडीको तालमा गाउँदै नाच्दै गर्दा सामाजिक संस्कृतिको चोखोपन अभिव्यक्त हुन्थ्यो । छोरीचेलीले घरमा भोग्नुपरेका अप्ठ्यारा असजिलाका पीडासँगै वर्षभरिका सामाजिक घटनाहरूबारे सुरिरो भाकामा गाइएका गीतहरूबाट अन्तक्र्रिया हुन्थ्यो । सामाजिक विसङ्गति, ठुला घटना सबै गीतमा अटाएका हुन्थे र धेरै कुरा थाहा पाइन्थ्यो ।

हाम्रो सामाजिक परम्परा अनुसार दिदी, बहिनी, छोरीहरू विवाहपश्चात् जन्म घरबाट विदा भएर आ–आफ्ना घर अर्थात् श्रीमान्सँग गएका हुन्छन् । कृषि परम्परामा आधारित समाज रहेको अवस्थाका कारण बर्खे खेती लगाइसकिएको हुन्छ । यतिबेला बर्खामा फल्ने तरकारी–फलफूलको प्रचुरता हुन्छ, खासै कमी हुँदैन । हरियो घाँसपातका कारण दुहुना पशुहरूले धेरै दुध दिन्छन्, जसले गर्दा घरमा दुध–दही–घिउको कमी हुँदैन । यस्तो समय पारेर, एकरूपताका लागि तिथि नै तोकेर दिदी–बहिनी, छोरीहरूलाई घरमा (उनीहरूको माइतमा) भेला गरिन्छ । उनीहरूलाई मूल्यवान्, गतिला, महत्वपूर्ण, दरिला (पौष्टिक) खान दिने, आपूmहरूले पनि सँगसँगै खाने गरिन्छ । यसै अवसरमा माथि उल्लेख गरिएजस्ता र अन्य गीतहरू गाउने, नाच्ने, पीर पोख्ने गरिन्छ । स्वाभाविकै हो कि घरमा भन्न नसकिएका कुराका पोका माइतमा पोख्न सहज हुन्छ । यो यसरी हेर्दा यो तीज पर्व महिलाकेन्द्रित भए पनि महिलाहरूको मात्र होइन । यो सबै माइती र चेलीको साझा पर्व हो । पूरै देशभरि (केही अपवादबाहेक) मनाइने भएकोले यो राष्ट्रिय पर्व हो ।

अर्को पक्ष हो, पञ्चमीका दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गरी पुर्खालाई सम्मान गर्ने र विगतमा भएका ज्ञातअज्ञात गल्तीकमजोरी र दोषहरूबाट मुक्त हुने प्रयास गर्ने । यसो गर्ने तिथि पञ्चमी हो । यस दिनलाई ऋषि पञ्चमी भनिन्छ । पञ्चमीका दिन ३६५ स्नान, ३६५ दतिवन जस्ता कुरा वर्षैभरि कुनै दिन नछुटाएर गर्नुपर्छ भन्ने हो । नियमित नुहाउनु, दतिवन गर्नु स्वास्थ्यका लागि आवश्यक हो, तर यो वर्षमा एकै दिनमा गर्ने होइन । पञ्चमीको दिन गरिने पूजालाई शास्त्रमा रजस्वलाको विषयसँग जोडिएको पनि पाइन्छ । तर, सबै शास्त्रमा एउटै मत छैनन् । रजस्वला हुनु भनेको विशेष शारीरिक अवस्था हो, तर यो निश्चित उमेर भएपछि सबै नारीजातिमा हुने प्राकृतिक अवस्था हो, सरसफाईमा थप ध्यान दिनुपर्ने अवस्था हो । अन्य कुरा जेजसो भए पनि ऋषि पञ्चमीले दिने सन्देश भनेको आप्mनो जीवनका लागि सबै कुरा गरिरहँदा, सुख मनाइरहँदा पुर्खालाई बिर्सनु हुँदैन भन्ने हो ।

‘धार्मिक’ग्रन्थमा लेखिएका कथा ‘धर्म’ होइन । कार्ल माक्र्सले बोलेको सबै कुरा ‘माक्र्सवाद’ होइन । पुराना कुरालाई जस्ताको त्यस्तै कार्यान्वयन गर्नु संस्कृति होइन । कथालाई जस्ताको तस्तै लागू गर्नु भनेको बोक्रैसँग काँचो पिँडालु खानु जस्तै हो । इतिहास र कथा त शिक्षा लिनका लागि पो हो त ! बुट्यानमा हिँड्दा काँडा पन्छाउनुभन्दा जुत्ता लगाएर हिँड्नु सहज र उत्तम उपाय हो । पुल नबनेको समयमा खोला तर्दा लुगा माथि सारेर, जुत्ता हातमा लिएर तरिन्थ्यो, खोलामाथि पुल बनिसकेको छ भने त्यसो गर्न पर्दैन भन्ने कुरा आजका सचेत मानिसले बुझ्नै पर्दछ । पहिले केही कमजोरी थिए, तिनलाई हटाउनुपर्छ, हटाउन सकिन्छ, तर अहिले बढेको विकृति अझ बढी खतरनाक छन् । (लेखक संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)