नवदुर्गाः मातृशक्तिप्रति समर्पित पर्व !!

मेचीकाली संवाददाता

२८ आश्विन २०८०, आईतवार
1483 shares

घनश्याम कोइराला

नवदुर्गाको प्रारम्भ असोज शुक्ल पक्षको प्रतिपदादेखि हुन्छ । प्रतिपदाको बिहान सिँगारिएकोे र सबै समुद्र र सरिताको जल मानेर भरिएको घडालाई पूजा कोठा या मन्दिरमा स्थापित गरिन्छ । यसलाई घटस्थापना भनिन्छ । पूर्णताको प्रतीक यस घडमा मूलतः नवदुर्गा र अन्य देवीदेवताको आवाहन गरी नौ दिन पूजा गरिन्छ । यो मान्यता हो, यो अध्यात्म हो । यसमा गहिरिँदा जीवन र जगतका अनेकौँ बिम्ब तरंगित हुन्छन् । यसै दिन बेलुकाको अस्ताचलमा देखिने चन्द्रमा हेरेपछि नवधान्य (नौ प्रकारका अन्न) को जमरा राखिन्छ । नौ दिनसम्म पूजा गरिएको घडासँगै उमारिएको जमरा नै देवीको मुख्य प्रसादका रूपमा दसैँको टीकाको दिन शिर, कानमा सिउरिदिने प्रचलन छ । यो पनि नेपाल र नेपालीहरूमा मात्र हुने गर्दछ । अन्य ‘हिन्दूहरू’ मा यस्तो हुँदैन ।

साहित्यमा शृङ्गार, करुण, अद्भुत, हास्य, भयानक, बीभत्स, रौद्र र शान्त गरी नौवटा भावरस छन् । यी रसहरू साहित्यले जन्माएको होइन, मानिसको जीवनको अध्ययन गर्दा फेला पारिएका भाव हुन् । मानिसको अन्तर्भावमा रहने यी रस–स्वाद, सारहरूले मानिसका मनोविज्ञानमा प्रत्यक्ष प्रभाव पार्दछ । बाँसुरीका नौवटा प्वाल नवरन्ध्र हुन् । यसै पनि नौ अङ्कहरूमा सबैभन्दा ठूलो अङ्क हो । त्यसैले नौदुर्गा, नवरथा नौ अङ्कसँग पनि सम्बन्धित पर्व हो ।

सनातन संस्कृतिका पर्वहरू विज्ञानसम्मत छन् । चाडपर्वहरू सम्बन्धित भूगोलको प्राकृतिक विशेषतासँगै त्यहाँको सामाजिक विकाससँग जोडिएका हुन्छन् । यस्ता चाडपर्वहरूमध्ये नेपाली समाजमा दसैँको विशिष्ट महत्व रहेको छ । नवदुर्गा पूजाको दसौँ दिनलाई दसैँ भनेर मनाइन्छ । ‘नव’ भनेको नौ हो र नयाँ पनि हो । समाजसँग जोडिएको हुनाले यसमा आउने परिवर्तन नै नयाँ हो । ‘नवदुर्गा’ भएर होला, सामाजिक संस्कृतिका ‘नव’–नयाँ नयाँ दृष्टिकोणका ‘दुर्ग’ (किल्लाहरू) पनि प्रकट हुने गरेका छन्, अर्थात् नयाँ नयाँ अन्याय अत्याचारका विरुद्ध नयाँ नयाँ शक्ति विकास भइरहेको छ । यी शक्ति राज्यको नीति, सामाजिक चिन्तन, संरचना र संस्कृतिमा विकसित भएका र भइरहेका छन् । नयाँ र थप नयाँ हुनु परिष्कार हुनु हो । संस्कृति भनेको परिष्कार हो, संस्कारको परिणति हो । नौ (९) को बारेमा बुझ्नुपर्ने धेरै कुरा छन् ।

दसैँमा पूजा गरिने देवीहरू योद्धा हुन् । पुरुष देवताहरूले जित्न नसकको युद्धमा लडेका नारी योद्धाहरूलाई नवदुर्गा भनिएपछि उनीहरू युद्धका क्रममा सुरक्षित बास बस्ने ठाउँ दुर्गाका मन्दिरहरू हुन् । दुर्ग भनेको गढी–किल्ला हो, दुर्ग शब्दको अर्थ सजिलै पुग्न नसकिने ठाउँ हो । योद्धाहरू दुर्गमा बस्दछन् । अहिले जस्तो सुरक्षा पर्खाल, सुरुङ–बङ्कर नबनेको अवस्थामा यस्ता दुर्गहरू अग्लो डाँडाको चुचुरोमा हुनु स्वाभाविक हो । नवदुर्गाको समष्टि रूप पार्वती हुन् । पर्वतकी छोरी भएकै हुनाले यिनलाई पार्वती भनिएको हो । शक्तिस्वरूपा पार्वती हुन् जसको जन्म हाम्रै नेपालको गौरीशङ्कर हिमपर्वतमा भएको हो । यस कारण पनि दसैँ नेपाल र नेपालीको निकट छ, यहाँका लागि विशेष र विशिष्ठ छ ।

शत्रुसँगको युद्ध होस् वा जीवन संघर्ष; बहुआयामिक हुन्छ । यी आयामका प्रतिनिधि देवीहरू नै नवदुर्गा हुन् । देवीहरूका नाम नै यिनका गुण, सामथ्र्य र विशेषता हो । तिनलाई यसरी वर्णन गरिएको छ:

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी । तृतीयं चन्द्रघण्टेति कूष्माण्डे तु चतुर्थकम् । पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च । सप्तमं कालरात्रिश्च महागौरीति चाष्टमम् । नवमं सिद्धिदात्री च नवदुर्गा प्रकृर्तिताः ।। शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री यी नै नवदुर्गाका रूपमा प्रसिद्ध छन् । फरकफरक नाम र फरकफरक स्वरूपका नौवटी देवीहरूलाई ‘नवदुर्गा’ भनेर पूजा गरिन्छ । यी सबैका नामको विशिष्ठ अर्थ रहेको छ । यी नामहरू देवीका फरक गुण, फरक विशेषता र फरक शक्तिका प्रतीक हुन् । यी विषयको अन्तर्वस्तु प्रतिको स्वीकारोक्ति र सम्मान नै पूजा हो । यिनीहरूप्रतिको सार्थक जिज्ञासा नै पाठ र कथाको अन्तर्वस्तु हो । तर, अहिले दसैँ मनाउनु भनेको मासु, मदिरा र मिष्ठान्नमा केन्द्रित अपव्यय र आडम्बर प्रदर्शन जस्तो मात्र देखिन्छ । नवदुर्गाको महिमाका दृष्टिले, सांस्कृतिक वैशिष्ठ्यका दृष्टिले दसैँको साह्रै ठूलो महत्व रहेको छ ।

नवदुर्गा पूजा र त्यससँग सम्बन्धित अन्य कर्मकाण्ड अन्यत्रका हिन्दूहरूमा र नेपालीहरूमा उस्तैउस्तै हुन्छ । सप्तमीको दिनलाई हामी फूलपाती भनेर मनाउने गर्दछौँ । पूmलपातीमा गरिने कार्य पनि अन्यत्र र नेपालमा फरक छ । यस दिन बिहान फल, पूmल, नयाँ फलेका सब्जी, उँखु आदि संकलन गर्न दुर्गा मन्दिर, दसैँघर, कोटघरबाट कुमार पुजारीहरू गाउँघर, बस्तीमा जान्छन् र त्यसरी संकलन गरिएका फलपूmल आदि दुर्गा मन्दिर, दसैँघर, कोटघरमा लिएर जान्छन् । यी वस्तु त्यहाँ समर्पित गरिन्छ । यो सबैले बुझिन्छ, तर यसको अर्को पाटो पनि छ । माताको सत्तामा कोही भोको नरहून् भन्ने हिसाबले यस अवसरमा मातृसत्ताका ‘प्रहरीहरू’ घर घरमा निरीक्षण गर्दछन् र खेतीपाती, फलपूmल, सागसब्जी, अन्य अवस्थाबारे जानकारी राख्दछन् र ती विषयमा महामातालाई जानकारी गराउँछन् । यसको प्रक्रियाहरू हेर्दा बुँदा मातृसत्ताको युगमा जीवन व्यवहारको समग्रता यही दसैँमा उनिएको देखिन्छ ।

अहिले पनि सरकारी–सार्वजनिक क्षेत्रमा त्रैमासिक र चौमासिक समीक्षा गरी प्रतिवेदन दिनेलिने गरिन्छ र वर्षमा एक पटक (आर्थिक वर्ष) वार्षिक समीक्षा, योजना, स्रोत बाँडफाँट गरिएजस्तै त्यस समयमा पनि यस्तो प्रावधान रहेको देखिन्छ । यसको प्रमाण हो, वर्षमा हुने चार पटक वसन्त, वर्षा, शरद र शिशिरमा हुने नवरात्री । वर्षा (साउन) र शिशिर (पुस) को नवरात्रलाई गोप्य मानिन्छ । वर्षा र शिशिरको तुलनामा वसन्त(चैत)को नवरात्र (चैते दसैँ) मा अलि बढी र शरद ऋतु (असोज) मा पर्ने यस नवरात्रलाई वर्षको ठूलो नवरात्रको रूपमा वार्षिक महामहोत्सवको रूपमा मनाउने प्रचलन विद्यमान छ । समग्रमा नेपाली विशिष्ठतामा हेर्दा दसैँ कृषि जीवनसँग बढी सम्बन्धित देखिन्छ । नवधान्यको प्रयोग होस्, दूधगोरको प्रयोग होस्, फूल र फलको उपयोग होस्, पूmलपातीको प्रचलन होस् या अन्य, यस पर्वसँग कृषिको प्राधान्यता स्पष्ट हुन्छ ।

जीवन पनि युद्ध नै हो, संघर्ष नै हो । जीवनयुद्धका लागि नयाँनयाँ क्षेत्र, विधि, रणनीति अवलम्बन गरिएको हुन्छ । यात्रामा कोशेढुंगा जस्तै जीवनका पनि केशेढुंगा हुन्छन् । यो दसैँ आफँैमा जीवन यात्राको वार्षिक कोशेढुंगा हो । जीवन युद्धका लागि शरीर महत्वपूर्ण छ । यस पर्वमा गरिने पूजापाठको प्रारम्भमा ‘न्यास’ गरिन्छ । न्यास भनेको स्थापना, सुनिश्चितता र विश्वास हो । शरीरप्रतिको विश्वासका लागि गरिने न्यास शरीर विज्ञान र सुरक्षा विज्ञान दुबै दृष्टिले महत्वपूर्ण छ । त्यसपछि भौतिक अवस्थाको महत्व हुन्छ । पाठ प्रारम्भ गर्नुपूर्व गरिने दिशा (दिङ्) न्यास, अङ्गुष्ठादि कर (हात) न्यास, हृदयादि अङ्गन्यास आदि शरीर विज्ञान महत्वपूर्ण छन् ।

अहिलेको चिकित्सा विज्ञानले के कति प्रगति गरेको छ र विषयविज्ञता प्राप्त गरेको छ, अज्ञात छैन । रक्षा विज्ञानको प्रगतिको विषय पनि थाहा पाउन सकिन्छ । मातृयुगमा सुरक्षा तथा स्वास्थ्य रक्षाका लागि गरिएको व्यवस्थाबारे कमैलाई थाहा होला । हरेक वर्ष मनाउने दसैँलाई र यसमा अन्तनिर्हित विषयलाई ध्यान दिने हो भने दसैँको महत्व अझ बढ्ने छ र हामी थप लाभान्वित हुन सकिने छ ।

यति मात्र होइन, मातृयुगमा शान्तिकर्मणि सर्वत्र तथा दुःस्वदर्शने । ग्रहपीडासु चोग्रासु महात्म्यं शृणुयान्मम । (सबैतिरको शान्ति कार्यका लागि, नराम्रो सपना देख्दा, ग्रहहरूका कारण अत्यन्त पीडाको अवस्था आउँदा मेरो महात्म्य सुन्नू ।) यसरी जस्तो सुकै असहजताको स्थितिबाट पार लगाउन सक्ने शक्तिका रूपमा देवी–मातृशक्तिलाई स्वीकार गरिएको छ । यसको तात्पर्य स्पष्ट छ, अरु दुःख छोडौँ सपना पनि नराम्रो देख्न पर्दैन थियो, सबै सुखको भरपर्दो व्यवस्थामा ध्यान दिइएको थियो । यी विषय बिर्सन नदिन पनि दसैँको ठूलो महत्व छ ।

नवदुर्गा पूजा र महात्म्य पाठमा पाइने जानकारी साह्रै महत्वपूर्ण छ । यस क्रममा कवच, अर्गला, कीलक पाठ गरिन्छ । कवच (काँधसहित छाती ढाकेर सुरक्षित गर्ने ढाल), अर्गला (घरभित्र बस्दा सुरक्षित हुन ढोकामा लगाउने आग्लो), कीलक (सुरक्षाको लागि, निर्माणलाई बलियो पार्ने कीला) हो । यसरी सुरक्षाका यी विषय पनि ‘रक्षा विज्ञान’ का दृष्टिले महत्वपूर्ण छन् । नवदुर्गा, दुर्गमा बस्ने देवीहरू हुन्, सत्रुविरुद्ध होस् वा जीवन संघर्ष सुरक्षा सुनिश्चितताका यी विषय मननीय छन् ।
मानिसहरू दसैँको इतिहास खोज्छन्, यसमा जातीय र नश्लीय संलग्ना खोज्दछन् । तर, के माथि वर्णन गरिएका प्रसंगहरू कुनै इतिहासको पुनरावृत्ति गर्न आवश्यक हो र ? के यसका अन्तर्वस्तुहरू कुनै जात र नश्लविशेषका लागि मात्र अनुकूल वा प्रतिकूल छन् र ? छैनन्, सबैका लागि र सधैका लागि उत्तिकै महत्वपूर्ण छन् ।

दस दिनको पर्व भएको र दशमीमा समापन हुने भएकोले दसैँ भनिएको हो । यसका दसै दिन उत्तिकै महत्वपूर्ण छन् । व्यवहारिक कारणहरूले दसैँ दिन सहभागी हुन नसकिने भएकोले समापनलाई बढी महत्व दिइएको अवश्य हो, दसैँलाई ‘दसौँ दिनको’ मात्र ठान्नु सही हुँदैन । संयोगले दशरथ पुत्र मर्यादा पुरुषेत्तम रामले लंका विजय गरी रावण वध गरेको दिन पनि यही भएको थाहा हुन्छ । यो एउटा संयोग हो । दसैँको एक मात्र विषय यो हुँदै होइन । शास्त्रमाथि विश्वास नगर्ने हो भने न राम, न नवदुर्गा ! तर, शास्त्रमाथि विश्वास गर्दा नवदुर्गाको प्रसंग सत्ययुको हो भने रामको जन्म र कर्मको समय त्रेतायुग हो । त्यसैले यस पर्वलाई रावण वधसँग मात्र जोडेर मनाउनु वा निष्कर्ष निकाल्नु तर्कसंगत देखिँदैन ।

यी देवी शक्तिशाली विजयी योध्दा थिइन् भन्ने जान्न र मनन् गर्नका लागि सातसय श्लोक भएको (सप्तशती, चण्डी) उनै देवीको महिमागानका रूपमा पाठ गरिन्छ, देवीशास्त्र (देवीभागवत) को कथा सुन्ने गरिन्छ । नारीशक्ति, मातृशक्तिको वर्णनसँग जोडिएको यस पर्वलाई अनेकौं बहानामा कमजोर पार्ने, बिथोल्ने, हाम्रो हो र होइनको वहस गरेर बिर्साउन प्रयत्न गरिनु हुँदैन बरु नारीशक्तिको महिमासँग जोडिएको यो पर्वलाई महिला सशक्तीकरणको इतिहाससँग जोड्दै, थप सशक्तीकरणका लागि प्रेरणापर्वका रूपमा मनाउन सकिन्छ ।

केही मानिसहरूले रावण र रामको युद्धको सन्दर्भलाई नश्लीय युद्धको रूपमा व्याख्या गरी आर्य र अनार्यबीचको युद्ध भएको आर्य रामद्वारा अनार्य रावण मारिएको हुनाले अनार्य भनिनेहरूले दसैँ मान्न नहुने तर्क पनि अघि सार्न भ्याएका छन् । रावण ब्राह्मण थिए र राम क्षत्रिय ! युद्धका दुई पक्ष यिनै हुन् । के ब्राह्मण अनार्य र क्षत्रिय आर्य हुन मिल्छ र ? दुई राज्यका शासकहरूको बीचमा भएको युद्ध, फेरि युद्धको विषय पनि नितान्तै फरक भएको विषयलाई बुझ पचाएको कुरा कसरी सही मान्न सकिन्छ र ? यस्ता अनेकौँ विषय ध्यान दिन आवश्यक छ, भ्रममा रहनुहुँदैन ।

महिषासुर र देवीको बीचमा भएको युद्धमा महिषासुरहरू मारिन्छन् । महिष भनेको राँगो हो । राँगोको रूपमा युद्ध गर्न आएको असुरलाई महिषासुर भनिएको छ । के यो पत्यार नलाग्ने विषय हो र ? राँगोबाट आक्रमण गराउन सकिँदैन र ? यसलाई असुरका तर्फबाट देवीलाई आक्रमण गर्न अघि सारिएको राँगो भनेर बुझ्न सकिँदैन र ? जहिले पनि युद्ध दुई शक्तिका बीचमा हुन्छ । त्यस्तो युद्धमा होमिएकाहरू कुन जातका मारिन्छन्, कुन जातकाले मार्छन् भन्ने कुरा सामान्य हो । जातीय युद्धमा मार्ने र मारिने जातको कुरा भिन्नै हो । चाहे देवीले गरेको युद्ध होस् वा रामले गरेको, यी युद्ध कुनै जातीय आधारमा भएका युद्ध होइनन् । त्यसैले यो दसैँलाई कुनै जातविशेषसँग जोड्न र छुट्याउन उचित देखिँदैन ।

दसैँलाई हामीले ‘बडादसैँ’ भन्दैआएका छौँ । दसैँको विषयमा बृहत् चर्चा भइसकेको छ । ‘बडा’ भनेको ठूलो भनिएको हो । ठूलो महत्व र महिमाका हिसाबले हुन्छ । यसको स्वीकार्यताको हिसाबले हुन्छ । दसैँको सन्दर्भ र सामाजिक स्वरूप हेर्दा यसलाई बडा वा ठूलो भन्न सकिने त छँदैछ, आपूmभन्दा ठूलाबडासँग टिका–जमरा थापी आशीष लिने भएको हुलाले पनि यसलाई ‘बडा’सँग जोडिएको स्पष्ट हुन्छ । यसका अन्य आयामहरू पनि छन्, जो नेपाली समाजको विशिष्ठतासँग सम्बन्ध राख्दछन् । जतिबेला देवी र असुरहरूको युद्ध भएको थियो, जतिबेला राम–रावणको युद्ध भएको थियो, त्यतिबेला अहिले प्रचलनमा रहेका ‘धर्महरू’ थिए र ? थिएनन् । यी सबै कारणहरूले पनि यस पर्वलाई ‘हिन्दूहरूको’ भनेर सीमिति गर्न आवश्यक देखिँदैन । यो नेपालीहरूको साझा पर्व हो, नेपाली विशेषताको पर्व हो । यो विजया दशमी मात्र पनि होइन । यो ‘बडादसैँ’ हो । नेपाली समाजले दसैँलाई कुनै खास युद्धको विजय दिवसका रूपमा स्वीकार गरेको छैन भन्ने भन्ने विषयको चर्चा माथि नै गरिसकिएको छ ।

अन्यत्रका हिन्दूहरूमा नभएको प्रचलन नेपाली समाज छ । नेपालमा यस अवसरमा परदेशबाट आफन्तहरू आउने, परिवारसँग मिलेर मिठोचोखो खाने, रमाउने, जेष्ठ–श्रेष्ठ बुढापाकाहरूलाई सम्मान गरी आशिर्वाद थाप्ने हो; साथै नवदुर्गाको पूजा गरी, कथा सुनी ज्ञान, भक्ति र योगको माध्यमबाट सार्थक जीवनको लागि पुनःताजगी प्राप्त गर्नु हो । नारीशक्तिको उच्च सम्मान र यसप्रतिको प्रतिबद्धता नवदुर्गाको पूजा हो । बुढापाका मान्यजनबाट प्राप्त हुने जीवनोपयोगी इतिहास आदिको र ज्ञान आशिर्वाद हो । कर्तव्यप्रतिको निष्ठा र समर्पण भक्ति हो । ज्ञान र निष्ठालाई कर्मसँग जोड्नु योग हो । देवीको नाममा आयोजित पर्वमा यति धेरै उपलब्धिको संगमको रूपमा मनाइने दसैँलाई ‘समस्त हिन्दूहरूको महान् चाड’ अझ ‘विजया दशमी’ मात्र भनेर हुँदैन; यसलाई अनेकौँ ठुल्ठुला विशेषता समेटिएको, ठूलो महत्व दिइएको ‘बडादसैँ’ मातृशक्तिको महिमा आत्मसात गरिएको सनातन पर्व हो । यसबारे नयाँ खोज गर्नुपर्ने हुन सक्दछ, तर यसप्रति अविश्वास र भ्रमको खेती गर्नु मातृशक्तिको अपमान र संस्कृतिप्रति विद्वेष मात्र हो । (लेखकः संस्कृति अध्येता तथा अभियन्ता हुनहुन्छ ।