मानव अधिकार समूहद्वारा आश्रय गृहको अनुगमन तथा हिंसा पीडितको अवस्थाबारे छलफल

मेचीकाली संवाददाता

३० चैत्र २०८०, शुक्रबार
71 shares

पार्वती आचार्य

कपिलवस्तु । इन्सेक र मानव अधिकार समूहद्वारा (साथी संस्था) महिला आश्रय गृहको अनुगमन तथा हिंसा पीडितको अवस्थाबारे छलफल गरिएको छ ।

मानव अधिकार समूह कपिलवस्तुका अध्यक्ष पुष्पा रेग्मी र इन्सेक प्रतिनिधिको संयुक्त टोलीले चैत २८ गते आश्रय गृहका प्रमुख बिमला घिमिरेसँग कार्यकक्षमा छलफल गरेका हुन् ।

मानव अधिकार समूहका अध्यक्ष रेग्मीले हिंसा पीडितहरूले यस महिला आश्रय गृहबाट कानुनी उपचारमा के कस्ता सेवाहरू प्राप्त गरेका छन् भन्ने विषयमा आश्रय गृहका प्रमुख घिमिरेसँग कुराकानी गरेकी हुन् । सो अवसरमा हिंसामा परेका र अलपत्र अवस्थामा परेका महिला र बालबालिकाहरूलाई संस्थाले दिने सेवाहरू र अवस्थाको बारेमा विषेश कुराकानी भएको थियो ।

महिला आश्रय गृहका प्रमुख घिमिरेले पीडितको अवस्था हेरेर पीडितलाई आश्रय गृहले कानुनी उपचार लगाएतका विभिन्न सेवा दिँदै र कानुनी प्रक्रिया र न्यायको पहुँच पु¥याउन संस्थाले पूर्ण सहयोग गर्दै आएको बताईन् । आश्रय गृहले पीडितहरूलाई पुनस्थापना, परामर्श, औषधि उपचार, कानुनी सहयोग, लत्ता कपडा, तालिम, रोजगारी, शिक्षा लगाएतका सेवा दिँदै आएको छ ।

यसैगरी सन् २००८ को नेभेम्वरदेखि सन् २०२३ को डिसेम्बरसम्म जिल्लाको महिला आश्रय गृहमा २ हजार ४ सय ४ जनाले सेवा लिएका छन् । जसमा सन् २०२० मा १ सय २२ जना, २०२१ मा १ सय ३२ जना, २०२२ मा १ सय ७६ जना र सन् २०२३ मा १ सय ९२ जना पीडितले सेवा लिएको महिला आश्रय गृहले सन् २०२३ डिसेम्बरमा तयार गरेको प्रतिवेदनमा उल्लेख छ । यस आर्थिक वर्षको सन् २०२४ जनवरीदेखि अप्रिल १० सम्म ४६ जनाले सेवा लिएका छन् ।

सन् २०२३ को डिसेम्बरसम्म २ हजार ४ सय ४ जना हिंसा पीडितहरूले साथीले सञ्चालन गरेको अल्पकालीन आश्रय गृहमा सेवा लिएका मध्ये १३ जनाले शिक्षालाई निरन्तरता दिएका छन् । जसलाई साथी काठमाडौँ युथ फाउण्डेसन हेटौँडामा रहेको अन्तरदृष्टि संस्था र कपिलवस्तुको सेल्टरले सहयोग गरेको छ । संस्थाले ७४ जनालाई व्यवसायिक सिपमुलक तालिम दिइएको छ र २५ जनालाई ६ हजार रुपियाँका दरले दृर्घकालीन आर्थिक सहयोगका लागि ऋण उपलब्ध गराएको छ । यसैगरी ७ सय २४ जनालाई कानुनी सहयोग र कानुनी परामर्श दिइएको प्रमुख घिमिरेले बताईन् ।

यस्तै २ हजार २ सय ८० जनालाई मनोसामाजिक र आवश्यकता अनुसारको परामर्श सेवा दिइएको छ । संस्थाले ८ सय २ जनालाई पारिवारिक र ३ सय ३८ जोडी विमर्श भई पारिवारिक पुनस्थापित भएका छन् । नेपाल परिवार नियोजन सङ्घ, जिल्ला स्वास्थ्य कार्यालय र एकद्वार सङ्कट व्यवस्थापन प्रणालीको समन्वय र सहयोगमा १ सय ५० जना बलात्कार पीडितलाई परामर्श र मेडिकल परीक्षण सेवा दिइएको महिला आश्रय गृहले जनाएको छ ।

यसैगरी ९ सय ६ जनाले औषधि उपचार पाएका छन् । ओसीएमसीको सहयोगमा ३२ जनाले निःशुल्क औषधि उपचार पाएको प्रतिवेदनमा उल्लेख गरिएको छ । कपिलवस्तुको आश्रय गृहमा भारत, बंगलादेश र नेपालका विभिन्न जिल्लाका स्थानहरूबाट आएका हिंसा पीडितले सेवा लिएको महिला आश्रय गृह कपिलवस्तुले जनाएको छ ।

आश्रय गृह बन्द हुने अवस्थामा रहँदा पनि विगत सात वर्षदेखि स्थानीयतहरूबाट बजेट विनियोजन गरी सहयोग भइरहेको छ । यस्तै तीन वर्षदेखि प्रदेश सरकारबाट बजेट विनियोजन गरी सहयोग भए तापनि प्रर्याप्त मात्रामा बजेट विनियोजन नहुँदा संस्था सञ्चालन गर्न कठिनाई रहेको अनुगमन टोलिसँग घिमिरेले बताईन् ।

पहिलो कुरात संस्थाको आफ्नै भवन छैन त्यसैमाथि स्थानीय तहहरूले लैगिङ्क हिंसा पीडितहरू बस्ने आश्रय गृहको महत्व नबुझ्नु दुखको विषय भएको बताईन् । संस्थामा पीडक पक्षबाट राजनीतीक दबाब आउने, पीडितहरूको ईच्छा र महत्वकाक्ष धेरै हुनु, प्रेममा परेका किशोरीहरूको परिवारले आश्रय गृहलाई सुधार केन्द्र सम्झी राखिदिन अनुरोध समेत गर्दै आएको आश्रय गृहका प्रमुख घिमिरेले बताईन् ।

दश बेडको महिला आश्रय गृहमा हाल पाँच जना बालिका, तीन किशोरी, तीन जना महिला गरी ११ जना सेवामा छन् । आश्रय गृहमा एक जना प्रमुख, एक जना परामर्शदाता, एक जना वार्डेन एक र सुरक्षाकर्मी गरी चार जना कर्मचारी रहेका छन् ।