घनश्याम कोइराला
कृष्णलाई सम्मानसहित सम्झना गर्ने पर्व श्रीकृष्ण जन्माष्टमी नजिकै आइपुगेको छ । कसैलाई सम्झनु, सम्मान गर्नुको विशेष अर्थ हुन्छ । गतिला मानिसहरूलाई लामो समयसम्म सम्झना भइरहन्छ । समाजलाई उचित मार्गदर्शन गर्ने, असहजताबाट पार पाउन उत्प्रेरित गर्ने व्यक्तिहरू सदाकाल स्मरणीय र सम्मानित हुन्छन् । त्यस्ता व्यक्तित्वहरूप्रति मानिसहरूको सद्भाव रहिरहन्छ । त्यस्तै कुशल नायक हुन्–श्रीकृष्ण । हरेक वर्ष भाद्र कृष्ण पक्षको अष्टमीका दिन हिन्दु सनातनीहरू श्रीकृष्णको जन्मोत्सव मनाउँछन् ।
श्रीकृष्ण आफ्नो जमाना (द्वापर युग) का महानायक थिए । उनी आपूmले साह्रै हण्डर बेहोरेर आफ्ना अनुयायीहरूको रक्षा गरेका थिए । उनीहरूलाई नयाँ ढंगले बाँच्ने उत्पेरणा दिएका थिए । उनी असल साथी, असल नेता, असल उत्प्रेरक, असल गुरु थिए । त्यसैले उनलाई सम्झेर अहिले पनि मानिसहरू श्रद्धापूर्वक भन्दछन्,‘कृष्णं वन्दे जगद्गुरुम् ! संसारका गुरु कृष्णलाई नमस्कार गर्दछु ।’ श्रीकृष्ण जन्माष्टमी पर्व साह्रै गतिला सन्देश र प्रेरणादायी पर्व हो ।
हामी संस्कृतिका धनी छौँ । हाम्रो संस्कृतिका अधिकांश स्रोत वेद, पुराण, इतिहास, पुर्खाले चलाएका परम्परा हुन् । हाम्रो संस्कृतिमा धर्मको, अध्यात्मको, इतिहासको, परम्पराको, प्रकृतिको प्रभाव छ । प्रकृतिसँग संगति मिलेको हुनाले नै हाम्रो धर्म–संस्कृति टिक्न सकेको हो । चातुर्मास, साउने संक्रान्ति, नागपूजा, जनै पूर्णिमा, तीज होस् वा दसैँ–तिहार, छठ, माघे संक्रान्ति, ल्होसार, होली–फागु सबैमा प्रकृतिको संगति छ, चिन्तनको प्रभाव छ र धर्मको अनुसरण छ । हाम्रो संस्कृतिलाई धर्म, अध्यात्म, प्रकृति र परम्पराले बलियो गरी कसेर उभ्याएको छ । हामी यसैका वरिपरि छौँ । हामी इतिहासबाट प्राप्त विशेष दिनहरूलाई पनि परम्परादेखि संस्कृतिकै रूपमा मनाउने गर्दछौँ ।
वास्तवमा इतिहास, परम्परा, जनश्रुति, किंवदन्ति आदि हाम्रा नदेखिने संग्रहालय हुन् । संग्रहालयमा नयाँभन्दा बढी पुराना वस्तुहरूको संग्रह हुन्छ । कुनै खास घटनाले कुनै समयलाई इतिहास बनाइदिन्छ र त्यस समयका सामग्रीलाई पनि संग्रहालयका संग्रहणीय वस्तु बनाइदिन्छ । अहिले पनि हामीले संग्रहालयमा हे¥यौँ भने हाम्रा वीर पुर्खाले वैरीका विरुद्धमा वीरतापूर्वक प्रयोग गरेका पुराना खुँडा, खुकुरी, तरबारहरू देख्न सकिन्छ भने त्रूmरतापूर्वक आफ्नै वंश विनास गर्न प्रयोग गरिएका अत्याधुनिक हतियार पनि देख्न सकिन्छ । इतिहास भनेको भौतिक भकारी या ढुकुटी होइन । यहाँ भएका विषय राम्रै भए पनि जस्ताको तस्तै जीवनमा उपयोग गरिँदैन । नराम्रै भए पनि त्यसलाई मेटाउन सकिँदैन र मेटाउनु हुँदैन पनि । यी सबैबाट मानिसले उचित शिक्षा लिने हो ।
हामीले हाम्रो सांस्कृतिक पर्वहरूलाई उत्सवमय हिसाबले मनाइरहँदा पुर्खाको स्मरण गर्दछौँ । उनीहरूको स्तुति, गुणगान वा प्रशंसा गर्दछौँ । उनीहरूका नाममा खुसी हुन्छौँ । यी सबै क्रियाकलापमा हाम्रा लागि जीवनोपयोगी दृष्टान्तहरू छन्, उपदेश र मार्गदर्शन छन् । हरेक वर्षझैँ यस वर्ष पनि कृष्ण मन्दिरहरूमा ‘बालकृष्ण’ लाई झोलुङ्गोमा झुलाइने छ । मन्दिरहरूमा स्थापित कृष्णका मूर्तिहरूमा दूध, दही, नौनी, मिष्ठान्न चढाइने छ । वसुदेवले कृष्णलाई टोकरीमा राखी टाउकोमा बोकेर उर्लँदो यमुना नदी पार गरेको कथा पनि सुनिने छ । पिताम्बर र बाँसुरी, वनफूल, गाईगोरुका विषय पनि कृष्णसँगै जोडेर सम्झिइने छ ।
गोवद्र्धन पर्वत कान्छी औँलाले उचालेको र वर्षाबाढीबाट गोकुलवासीलाई जोगाएको कथा सुनिने छ । अरु धेरै कुराका साथै श्रीकृष्ण एकसाथ हरेक गोप–गोपिनीसँग रहेको कृष्णको व्यापकताको रहस्यमय कथा पनि सुनिने छ । कृष्णको भजन गाइने छ । कृष्णको अति उच्च सम्मान (पूजा) गरिने छ । ‘कृष्णार्पणमस्तु (कृष्णलाई समर्पित छ)’ भनिएको प्रसाद खाइने छ । तर, यी सबैबाट शिक्षा लिन भने हामी चुक्दै गरेका छौँ । हामी कि त चुर्लम्म डुब्ने गरी समर्पित छौँ, कि त यी सबैको अर्थ मेसो नपाएर अन्धविश्वास भनेर परैबाट रमिता हेरिरहेका हुन्छौँ । वस्तु जे छ, त्यही छ । घटना जे घट्यो, त्यही घट्यो । कथा जे लेखियो, त्यही पढियो । यतिले मात्र पुग्दैन, ती सबैका कारण खोज्नु, आसय ठम्याउनु र त्यसप्रतिको दृष्टिकोण सही बनाउनु सचेत मानिसहरूको कर्तव्य हो ।
धर्म–कर्मप्रधान विषय हो । अध्यात्म–चिन्तन हो । कृष्ण–देवता हुन् । जस्ताको तस्तै अपनाउनु–परम्परा हो । राम्रो बनाउनु वा राम्रो हुने गरी काम गर्नु– संस्कार हो । राम्रो हुनु, राम्रो परिणाम प्राप्त गर्नु र त्यसलाई अनुसरण गर्नु– संस्कृति हो । जस्तोसुकै अवस्था र स्थानबाट गतिला विषय छान्नु–विवेक हो ।
जन्माष्टमी परापूर्व कालदेखि परम्परामा प्राप्त पर्व हो । यसको स्रोत पुराण हो । पुराण भनेको पुरानो हो । पुराना विषयलाई अहिलेको आँखाले हेर्दा काटीकुटी मिलेको जस्तो देखिन्न । यस्ता विषयलाई त्यतिबेलाको दृष्टिले हेनुपर्ने हुन्छ । अहिले हामी स्वाभाविक रूपमा आएको शताब्दीलाई आफैले ल्याएजसरी छाती पिटेर एक्काइसौँ शताब्दी हो भन्छौँ र गर्व गर्दछौँ । यो शताब्दी पछिल्लो र वर्तमान भएको हुनाले यसलाई हामीले अभूतपूर्व मान्दछौँ र हो पनि । हालसम्मका मानव जातिको चेतना, खोज–अन्वेषण, अध्ययन–अनुसन्धान आदिका हिसाबले यो शताब्दि अभूतपूर्व हुनु स्वाभाविक हो । अर्को, बाइसौँ शताब्दी योभन्दा उच्च र उन्नत हुने अपेक्षा राखिन्छ । तर, के यो सबै यही शताब्दीको मात्र परिणाम हो त ? होइन । यस अघिका अनेकौँ खोज–अन्वेषण, अध्ययन–अनुसन्धान, संघर्ष, सिकाइहरूको चेतना र जगमा यो यत्तिको उन्नत भएको हो ।
यस हिसाबले हेर्दा अहिलेको उच्च, उन्नत र उपलब्धिलाई भोगिरहँदा विगततर्फ पनि उत्तिकै गहिराइसाथ सोच्न, हेर्न, बुझ्न आवश्यक हुन्छ । हाम्रो पूर्वीय परम्परामा समयलाई विभाजन गर्ने एउटा इकाइ युग हो । युग चार वटा हुने बताइएको छ । ती चार युगमध्ये पहिलो सत्य, दोस्रो त्रेता, तेस्रो द्वापर र चौथो कलि हो । यस युग विभाजन अनुसार कृष्णको जन्म द्वापर युगमा भएको थियो । कृष्ण त्यस युगका (जमानाका) महानायक थिए ।
पूर्वीय परम्पराले हरेक पूर्ववर्ती समय (युग) सँग परवर्ती (पछिल्लो) लाई निरन्तरताको रूपमा ग्रहण गरेको छ ।
पहिलेको हरेक राम्रो शक्तिको निरन्तरतालाई स्वीकार गरेको छ । यसलाई अवतार मानेको छ । सत्य युग विष्णुको युग थियो । यस युगमा भएका खोज, संघर्ष, प्राप्ति; आफ्नै औजार–उपकरणहरू, तौरतरिकाहरू आफ्नै प्रकारका थिए । अर्को युगमा युगनायक फेरिएका छन् । उतिबेलाका विष्णु त्रेतामा राम भए । द्वापरमा कृष्ण भए । त्यो आधारभूत शक्तिको निरन्तरता उही छ । सत्य युगका विष्णु, त्रेताका राम र द्वापरका कृष्णका तौरतरिका र औजार–उपकरणहरू क्रमशः फेरिएका छन् । शत्रु फेरिएका छन् । हरेक अघिल्लो युगभन्दा पछिल्लोमा शत्रुको अवस्थिति फेरिएको छ ।
कृष्णको अवतार–जन्म, उनका लीला–क्रियाकलापबाट अहिलेका मानिसहरूले सिक्न सक्ने र सिक्नपर्ने धेरै विषय छन् । कृष्ण जन्माष्टमी अर्थात् कृष्ण जन्मेको अष्टमी मनाइरहँदा उनको अवतार र लीलाबाट सिक्नपर्ने विषयमा ध्यान दिन आवश्यक छ । यी विषय अन्य विषयका साथै नेतृत्व विकासका दृष्टिले अत्यन्तै महत्वपूर्ण छन् । कृष्ण मथुरामा कंशको जेलमा जन्मेका थिए । उनलाई कंशबाट जोगाउन उनका बाबु वसुदेवले, आमा देवकी समेतको सल्लाहमा जन्मनासाथ टोकरीमा राखेर टाउकामा टोकरी बोकी यमुना नदीपारि गोकुल निवासी नन्द नाम गरेका गोप(गाई पालक किसान) को घरमा पु¥याएका थिए । त्यस अवस्थाको बारेमा श्रीमद्भागवत महापुराणमा यस्तो लेखिएको छ:
‘मघोनि वर्षत्यसकृद् यमानुजा गम्भीरतोयौघजवोर्मिफेमिला भयानकावर्तशताकुला नदी मार्गं ददौ सिन्धुरिव श्रीय ः पतेः अर्थात् पानी परिरहकाले यमुना निरन्तर बढ्दै थियो । पानीको प्रशस्त गहिराइमा छाल र फिँज उठिरहेको थियो । डर लाग्दो गरी सयौँ भुमरी परेका नदीले रामलाई समुद्रले झैँ बाटो दिएको थियो ।’ यसबाट के बुझिन्छ ? टाउको अर्थात् मस्तिष्कमा असल सोच र ठूलो उद्देश्य छ भने कस्तै विपत्तिले पनि बाटो छेक्दैन । हाम्रो सफलता वा असफलता हाम्रो उद्देश्य, सोच र संकल्पमा भर पर्दछ ।
कृष्णलाई सबैले उच्च सम्मान दिने गर्दथे । सम्मान किन गर्दथे ? कसैलाई सम्मान गर्नु, कसैबाट सम्मान पाउनु चानेचुने कुरा होइन । केही विशेष गुण, विशेषता र कर्म नगरी कसैले सम्मान पाउन सम्भव छैन । श्रीमद्भागवत महापुराणको यो पंक्तिले श्रीकृष्णप्रतिको सम्मानको विषय स्पष्ट पारेको छ ः ‘तुभ्यं नमस्तेद्रस्त्वविषक्त दृष्टये सर्वात्मने सर्वधियां च साक्षिणे । गुणप्रवाहोद्रयमविद्ययाकृतः प्रवर्तते देवनृतियगात्मसु अर्थात् अनासक्त, सर्वात्मा, सबै ज्ञानका स्रोत, सबैका साक्षी, अविद्यात्मक गुणका प्रवाहकर्ता, देवता, मानिस एवं पशुलाई आपूmभित्र राख्ने तिमीलाई नमस्कार छ ।’ श्रीकृष्ण लोभी थिएनन्, सबैका मनमा समान थिए, सबैलाई ज्ञानगुण सिकाउँथे, पक्षपात—भेदभाव गर्दैनथे, माया या भ्रमबाट मुक्त हुने गुणको प्रवाह गर्ने अर्थात् सबै प्रकारका भ्रमबाट मुक्त हुने विषय बताउँथे, देवता, मानिस, पशु सबैलाई आपूmसरह ठान्दथे । यस्ता विशेष गुणहरूका कारण उनी सम्मानित थिए ।
पूर्ववर्ती शक्तिशाली इन्द्रको प्रभाव थियो । मानिसहरू सबै कामका लागि इन्द्रमा भर पर्दथे । उनकै स्तुति आराधना गर्दथे । उनलाई खुसी पार्ने गर्दथे । उनीबाट आपूm सुरक्षित भएको अनुभूति गर्दथे । नत्र इन्द्रको आक्रोसको निसाना बन्नु पर्दथ्यो । तर, श्रीकृष्णले यस्तो परवश हुने परम्परा खण्डित गरिदिए । संगठित भएर इन्द्रलगायत अन्य शक्तिका विरुद्ध आपूm नेतृत्वमा उभिए । इन्द्रसँग डराएर उनको नाममा यज्ञ—आहुति दिने गरेका जनतालाई कृष्णले यस्तो भनेर मनोबल बढाएका थिए ः
‘किमिन्द्रेणेह भूतानां स्वस्वकर्मानुवर्तिनाम् । अनीशेनान्यथा कर्तुं स्वभावविहितं नृणाम् ।। मानिसका स्वभावजन्य कर्म ईश्वरले नफेर्ने भएकाले आफ्नो कर्ममा लाग्ने प्राणीलाई इन्द्र नै किन चाहिन्छ र ?’ यो भनाइ कृष्णको हो । यो श्रीमद्भागवत महापुराणमा छ । यसरी इन्द्रसँगको संघर्षमा संगठित गरेर गोवद्र्धन पर्वत उचालेको प्रसंग छ । यसको आसय स्पष्ट छ, जनता उद्देश्यमूलक ढंगले संगठित भएर जुट्ने हो भने जस्तोसुकै शक्तिलाई परास्त गर्न सकिन्छ, संकटको ठूलो पर्वत पनि उचाल्न सकिन्छ ।
कृष्णका लीलाहरूमध्ये रासलीलाका प्रमुख मानिन्छ । रासलीला भनेको रसमय– मनोरञ्जनात्मक लीला हो । कृष्णचरित्र, श्रीमद्भागवत आदिमा ती सन्दर्भ पढ्न पाइन्छ । कृष्णले घर तथा खेतीपातीको काम र पुरुष प्रधानताबाट आजित महिलाहरूलाई सामूहिक नाचगान, सभ्य मनोरञ्जनमा सहभागी गराएका थिए । हरेक गोपिनीसँग कृष्णको उपस्थितिको विषय छ । यसको तात्पर्य हो, एउटा कुशल नायक—नेता सबैसँग एकसाथ हुन सक्दछ । कृष्णको यस्तो साथ पाएर उनीहरूले स्वतन्त्रताको अनुभूति गरेका थिए ।
उनी स्वयं किसान थिए । उनीसँग उनका दाजु बलराम थिए । बलराम हलो बोकेर नै हिँड्ने गर्दथे । उनको नाम कृष्णको अर्थ नै खन्ने, जोत्ने भन्ने हुन्छ । कर्षयति इति अर्थात् खन्छ, जोत्छ, आकर्षित गर्दछ जसले भन्ने नै कृष्णको वास्तविक अर्थ हो । कृष्ण भने बाँसुरी—मुरली लिएर हिँड्थे, बजाउँथे । बलरामको हलो र कृष्णको बाँसुरीबाट बलको काम, उत्पादनको कामसँगै मनोरञ्जनको आवश्यकता हुन्छ भन्ने असय देखिन्छ ।
श्रीकृष्णको कथाका अन्य प्रसंग पनि सारगर्भित र प्रेरणादायी देखिन्छ । समाजले उच्च व्यक्तित्वका रूपमा कृष्णको पूजा गरे पनि उनी पूजाको पक्षमा थिएनन् । ‘मानिसका स्वभावजन्य कर्म ईश्वरले नफेर्ने’ कुरा उनले स्वयं भनेका छन् ।
अन्त्यमा श्रीकृष्णको यो भनाइ–
कर्मणा जायते जन्तुः कर्मणैव विलीयते । सुखं दुःखं भयं क्षेमं कर्मणैवाभिपद्यते । कर्मले प्राणी जन्मन्छ र कर्मले नै मर्दछ । सुख, दुःख, भय, मङ्गलको प्राप्ति कर्मले नै हुन्छ । (श्रीमद्भागवत महापुराण) यी र यस्ता अनेकौँ विषयहरू कृष्णका प्रसंगमा छन् । कृष्णलाई पढौँ, बुझौँ र लाभान्वित होऔँ । श्रीकृष्ण जन्माष्टमीको शुभकामना । (लेखक संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)