ढाक्रेदेखि अनलाइन सपिङसम्म

मेचीकाली संवाददाता

२ जेष्ठ २०८१, बुधबार
500 shares

कमल पन्थी

नेपाली शब्दकोषमा ढाकर भन्नाले मालसामान हालेर बोकिने चोयाले बुनेको एक प्रकारको ठूलो थेप्चे डोको र ढाक्रे भन्नाले ढाकर बोकेर हिँड्ने व्यक्ति, भरिया भनी उल्लेख गरिएको छ । विगतमा मध्यपहाडी भेगसम्म यातायात नपुगी सकेको अवस्थामा हाम्रा पूर्वज र अग्रजहरुले तराईका तत्कालीन हाट (बजार, पसल) बाट पैदल मार्ग हुँदै पिठ्युमा ढाकर (भारी) बोकेर ढाक्रेको रुपमा वर्ष दिनभरिका अत्यावश्यक घरखर्चका सामानहरुको व्यवस्थापन गरी जीवन निर्वाह गर्नुभएको सन्दर्भ उठान गर्ने प्रयास गरेको छु ।

तत्कालीन अवस्थामा गाउँधरमा पसलहरु थिएनन् । काहीँकतै भए पनि सबै सामानहरु प्रशस्त पाइँदैनथ्यो । गुल्मी, अर्घाखाँची, पाल्पा, प्यूठानलगायतका जिल्लाहरुबाट झण्डा (कृष्णनगर), बटौली (बुटवल) र पत्थरकोट लगायतका वजारमा पैदल आई डोकोमा सामान बोकी लैजानुपर्दथ्यो । यो कालखण्डको उत्तरार्धतिरको भएकाले ढाक्रेको अनुभव सगाल्न मलाई मेरो उमेर वाधक बन्यो तर अग्रजहरुको मुखारबिन्दबाट जानकारी प्राप्त गर्ने अवसर भने मनग्य पाए ।

गाउँभरिका मानिसहरुबिच सल्लाह गरी हाट जाने दिन किटान गरिन्थ्यो । ढाक्रेले बाटोमा खाने सामल (यात्रा गर्दा चाहिने आर्थिक साधन, बाटा खर्च, खाना पकाउने दैनिक खाद्य पदार्थ) घरैबाट ल्याउने गरिन्थ्यो । घ्यू,कुराउनी, घ्यू र तेलमा पकाएका रोटी जस्ता मिष्ठान्न खानेकुराले जो कोहीलाई ढाक्रे जान प्रेरित गर्दथ्यो । तत्कालीन माहोल नै त्यस्तै प्रकारको थियो । स्थानीय भाषाका गीतहरु घन्काउदै ढाक्रेहरुले भारी बोक्दा थकानको अनुभव र बाटो काटेको पत्तै हुँदैनथ्यो । पहाडबाट हाटसम्म आउन तीन चार दिन लाग्ने अनि फर्कदा भारी हुनाले छ सात दिन सम्म लाग्ने गर्दथ्यो । वृद्ध, अशक्त, महिला र आशौच बारेका परिवारले ढाक्रे जान असमर्थ भएकाले छिमेकी सबै मिलेर सहयोग गर्ने लोभ लाग्दो प्रचलन थियो ।

पहिलोपटक ढाक्रे हुने पात्रलाई पन्थे भनिन्थ्यो । उसलाई जिस्काउने र मनोरञ्जनको पात्रको रुपमा लिइन्थ्यो । उसले सबैका गोडा घसी दिनुपर्ने र भाँडा माँझ्नु पर्ने प्रचलन थियो । उसलाई क्रमश: यस बारेमा जानकारी गराउँदै अभ्यस्त बनाइन्थ्यो । हाल विश्व विद्यालयको पढाइ सकाएपछि दिक्षित भएझै त्यतिबेला छोराले नू तेल बोकेर आर्जन खुवाएपछि छोरा दिक्षित भएको मानिन्थ्यो ।

फर्केर घरमा पुग्ने दिन आधा बाटोसम्म ढाक्रेका परिवारका सदस्यहरु ढाक्रेलाई थकान कम होस र केही राहत मिलोस भनेर लिन जाने, भारीको विभाजन गरेर हलुङ्गो रुपमा घरमा आउने गर्दथे । पारिवारिक माया, स्नेह, एकता दर्शाउने र दुई पक्षबिचको भेटमा भलाकुसारी यो अवधिका नयाँ ताजा खबर आदान प्रदान र खुसी साटासाट कम्ता रमाइलो देखिन्थ्यो ।

रातीमा बास बस्ने, बिहान भात पकाएर खाने स्थान (पाटी, पौवा, ठाँटी र ठूलाठूला रुखका फेद), पानीको मूल भएका स्थानहरु पूर्वनिर्धारित हुन्थे । घरबाट नै सामल र भाँडाकुँडा लगेका हुन्थे । तोक्मा (भरियाले मालसामान बोक्ने बोझबाट उभिएकै उभिई विश्राम लिन ढाकरका पिधमा अड्याउन प्रयोग गरिने लठ्ठी) को सहायताले भारी विसाएका लावा लस्कर ढाक्रेहरु ताँती निकै लामो हुने गर्दथ्यो ।

परम्परागत सञ्चार प्रणालीस् कटुवाल प्रथा

सहकारीः वर्तमान अवस्था र जिम्मेवार पक्ष

नेपालको जग्गा प्रशासनस् हिजो, आज र भोलि

सहकारीमा सुशासनस् प्रविधि र एकीकरण

मंसिरदेखि फागुन महिनासम्ममा पहाडवाट हुलका हुल ढाक्रेहरु घ्यू, अदुवा, बेसार जडीबुटी, तरुल, सखरखण्ड, कोदो, भट्ट, मकै बोकी हाट झर्ने र वस्तु विनिमय गरी ढिके नून, मट्टीतेल, तमाखु, काँचो कपडा वर्ष दिनभरिका लागि जोहो गर्नुपर्ने परम्परा थियो । चैतदेखि भने मधेशमा गर्मी चढ्ने र औल लाग्ने भन्दै तराई झर्न डराउँथे । बटौलीमा घ्यूको व्यापार गर्न भरियासहित ठूलो संख्यामा पहाडीया साहुजीहरु आउँथे । भारतीय मूलका कशौधन र मारवाडीहरुले खरिद गरेर भारतको कलकत्तादेखि वनारससम्म पुराएर विक्री गर्दथे ।

पहाडी घ्यूबाट बन्ने जिलेवी, मिठाइ, हलुवाको स्वाद मीठो हुने भएकाले माग बढी हुने गर्दथ्यो । यातायातको साधनको क्रमशः पहाडी भेगतर्फ पनि प्रवेशले तराईका बजारहरु पहाडतर्फ विस्तार हुन थाले । जिल्ला सदरमुकाम हुँदै गाउँगाँउ बस्तीबस्तीमा मोटर कुद्न थाले । पसलहरु पनि प्रशस्त खुल्न थाले । सामानहरु होम डेलिभेरी हुन थाले । अब सामानहरु सञ्चय गरी राख्नुपर्ने अवस्था रहेन । सहर बजारमा त एक कल फोनका भरमा वा अनलाइनबाट तैयारी खाजा खानासमेत कोठा कोठामा पुग्न थाले । पकाउने झन्झट नै नहुने भयो ।

बेँसी खेतमा काम गर्न जाँदा आमाले घरबाट कुम्लोमा बोकी ल्याउनुभएको अर्नी खोलाको किनारमा, बैसको रुखमुनी, सिरसर हावासँगै, चिसोपानीसँग माया मिसिएको खाएको स्मरण गर्दै अनलाइनबाट मगाएको खाजा, पंखाको कृत्रिम हावामुनि, जारको पानीसँगै, ल्यापटपमा ढाक्रेदेखि अनलाइन सपिङसम्मको यो अनुभव कोर्न पाउने भाग्यमानी पात्र भएको छु । वर्तमान युवा पुस्तालाइ केही जानकारी र पूर्वजर अग्रजहरुलाई स्मरण र सम्मान प्रकट । (पूर्वज र अग्रजहरुको हाटवजार बटौलीबाट)