इएनटी विशेषज्ञ डा.रमेश

मेचीकाली संवाददाता

२ असार २०८१, शनिबार
831 shares

ओम बानियाँ

नाक र कान शरीरका दुई प्रमुख ज्ञानेन्द्रियहरु हुन् भने घाँटी शरीरको एक प्रमुख अंग हो र घाँटीको सम्बन्ध नाक र कानसँग पनि हुन्छ । त्यसैले नाकमा कुनै समस्या आयो भने कानमा पनि समस्या आउँछ, घाँटीतिर पनि त्यसले असर गरिरहेको हुन्छ । जस्तो कि रुघा लागिराख्यो भने नाक र कानबिचको नली बन्द हुन सक्दछ, जसले गर्दा कान र घाँटीमा असर हुन सक्दछ । नाक, कान र घाँटीको यही सम्बन्धका कारण चिकित्सा शास्त्रमा नाक, कान तथा घाँटी ( इएनटी) को विशेषज्ञ शिक्षाको पढाइ हुन्छ, जुन शिक्षा उत्तीर्ण गरेका चिकित्सकलाई इएनटी विशेषज्ञ भनिन्छ, जसको काम भनेको नाक, कान र घाँटीसँग सम्बन्धित रोग तथा समस्याहरुको पहिचान, निदान तथा उपचार, आवश्यक परे शल्यक्रिया गर्नु हो ।

नाक, कान तथा घाँटी रोगका यस्तै एक विशेषज्ञ हुन्, डा.रमेश पराजुली । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१, ड्राइभरटोलमा स्थायी बसोबास गर्ने पराजुली अहिले नारायणी सामुदायिक अस्पताल भरतपुर, चितवनमा कार्यरत छन् । वि.सं. २०५४ सालमा आफ्नै जन्मथलो तिलोत्तमा–१ स्थित शंकरनगर माविबाट एसएलसी गरेका डा. पराजुलीले विसं. २०५६ सालमा तिलोत्तमा कलेजबाट १२ कक्षा उत्तीर्ण गरी आफ्नो चिकित्सक बन्ने बाल्यकालदेखिको सपना पूरा गर्न एमबिबिएस पढे र पाटन अस्पतालमा केही वर्ष कार्य गरे । अनि विसं.२०६९ सालमा त्रिविवि शिक्षण हस्पिटल (आइओएम), महाजगञ्जबाट इएनटी उत्तीर्ण गरे । त्यसपछि उनले चितवन मेडिकल कलेजमा पनि एक विशेषज्ञ चिकित्सकको रुपमा कार्य गरे ।

नाक, कान तथा घाँटी रोगको चिकित्सामा १२ वर्षभन्दा बढीको अनुभव बटुलेका शालीन, मृदुभाषी, मेधावी तथा दक्ष्य विशेषज्ञ डा. पराजुलीले नाक, कान तथा घाँटीका रोगहरुको कारण, उपचार तथा रोकथामका बारेमा यस सतम्भकारसँग निकै उपयोगी जानकारी व्यक्त गरेका छन् । डा. रमेश भन्छन्, कानलाई बाहिरी कान, मध्य कान र भित्री कान गरी तीन भागमा बाँडिएको हुन्छ । बाहिरी कानको रोगहरुमा–कानमा पिलो आउने, कान दुख्ने, कानमा घाउ आउने, कानमा पिप आउने तथा कानमा ढुसी लाग्ने रोगहरु हुन्छन् । मध्य कानको रोगहरुमा–कानको जाली फुट्ने, हड्डी खिइने तथा सड्ने रोगहरु हुन्छन् । भित्री कानको रोगहरुमा नसा कमजोर हुने, चक्कर लाग्ने तथा बुढेसकाल लागेपछि कान नसुन्ने हुने रोगहरु हुन सक्छन् ।

यसैगरी नाकको रोगहरुमा नाक बन्द हुने, पटकपटक हाच्छ्युँ आउने, नाथ्री फुट्ने, नाकबाट रगत आउने, नाकमा मासु पलाउने, सास फेर्न समस्या हुने, पिनाश तथा गन्ध थाहा नपाउने रोग हुन्छन् । घाँटीका रोगहरुमा टन्सिलाइटिस आम रोग हो । टन्सिलाइटिस भयो भने घाँटी दुख्ने, निल्न गाह्रो हुने साथै ज्वरोसमेत आउन सक्दछ । कहिलेकाहीँ बोल्ने नलीमा सानातिना फोकाहरु आउँन सक्छन् । यसलाई मेडिकल भाषामा भोकल नोडुल भनिन्छ । यस्तो समस्या आएमा स्वर धोद्रो हुन्छ । घाँटीमा रहेको थाइरोड ग्रन्थीले ठिक मात्रामा हार्मोन उत्पादन गर्न नसक्दा हुने रोग हो, थाइरोडिज्म । नाक र कानको तुलनामा घाँटीको क्यान्सर हुने सम्भावना पनि बढी हुन्छ ।

हेल्थ फस्ट

डा.रमेश पराजुली
मस्तरामलाई नाकमा समस्या आएपछि डा.कोर्टेक्सको सुझावअनुसार नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा.रमेश पराजुलीलाई भेट्न हिजो अस्पताल गए । डा. रमेशले मस्तरामको चेकजाँच गरे । रिपोर्ट हेरे र चिन्तित मस्तरामलाई ढाडस दिँदै भने–मस्तराम दाइ, डराउनुपर्दैन । तपाईंको समस्या पिनाशको हो । पिनाशले नै कान र घाँटीमा असर गरेको हो । एक हप्ता औषधी खाने र ड्रप नाकमा हाल्ने हो भने ठिक भइहाल्छ । मस्तराम लामो सास लिँदै भने–म त नाकको क्यान्सर नै भयो कि भनेर डराएको डा. साब । डा. रमेशले औषधी लेख्दै भने–हिजोआज नाक, कान तथा घाँटीको क्यान्सर निकै बढेको छ । त्यसैले यसप्रति सचेत र आवश्यक सावधानी अपनाउन जरुरी हुन्छ । आफ्नो जीवनशैली ठिक राख्ने, उचित र सन्तुलित आहार गर्ने, जाँड, रक्सी, कोल्डड्रिङ्स, चुरोट, सुर्ती तथा पानसुपारी सेवन नगर्ने हो भने नाक, कान तथा घाँटीलगायतका रोगहरुबाट बच्न सकिन्छ । तपाईंले जाँडरक्सी कतिको खानुहुन्छ ? चुरोटखैनी सेवन गर्नुहुन्छ कि हुँदैन ? मस्तराम मलिनो अनुहार बनाउँदै बोले, त्यही भएर त डराएको नि डा. साब । सुर्ती चुरोट पनि खान्छु, रक्सी पनि पिउँछु । साँझ एक बोतल नपिइकन राती निद्रा नै लाग्दैन डा. साब ? तर शरीरमा कुनै समस्या आयो भने फेरि निकै डर लाग्छ, अब त रक्सी छोड्छु भन्छु कसम खान्छु, मरिगए सक्दिनँ । डा. रमेशले चश्मा निकाल्दै बोले, डा. कोर्टेक्सले के भन्छन् त ? मस्तराम बोल्छन्, बरु कुकुरको पुच्छर सिधा गर्न सकिएला, तर जँड्याहालाई रक्सी छुटाउन सकिँदैन भन्छन् । (यो हेल्थ जोक हो । हाँसौं, स्वस्थ बनौं ।)

डा. रमेश अगाडि भन्छन्, नाक, कान तथा घाँटीका रोगहरुलाई सर्वसाधारणले हल्का रुपमा लिने गर्छन् । यसरी लापरबाही गरेर उचित उपचार गरिएन भने नाक कान तथा घाँटीका रोगहरुले विकराल रुप लिन सक्छन् । जस्तो कि कानको रोगहरुले गर्दा कानै नसुन्ने पनि हुन सक्दछ । कानबाट माथितिर इन्फेक्सन भई मस्तिष्कमा पनि जान सक्दछ । नाकको रोगमा धेरै रगत बग्ने हुन सक्छ । नाकमा मासु पलाएको अवस्थामा नाकको नजिकै आँखा तथा मस्तिष्क हुन्छ, त्यो त्यतातिर जान पनि सक्दछ । दीर्घ टन्सिलाइटिसले बिरामीलाई निकै दुःख दिन सक्दछ । कतिपय अवस्थामा टन्सिलाइटिसले मुटुमा पनि असर पुराउन सक्दछ ।

लामो समयदेखि घाँटी खसखस भइरहे, केही अड्केको जस्तो भइरहे, स्वर बसेमा, खोक्दा रगत आएमा, जाँडरक्सी, चुरोट, सुर्तीखैनी तथा पानसुपारी खाने व्यक्ति छ भने भित्री घाँटीमा क्यान्सर भइसकेको हुन सक्दछ । त्यसैले नाक, कान, घाँटीको रोगलाई सामान्य ठानेर हेलचक्र्याइँ गर्नु हुँदैन । कुनै समस्या देखिए तुरुन्त चिकित्सकको सम्पर्कमा गइहाल्नु पर्दछ ।

डा. रमेश नेपालमा नाक, कान तथा घाँटीको क्यान्सर पनि निकै बढ्दै गएको बताउँछन् । उनी भन्छन्–नेपालमा गरिएको एक अध्ययनअनुसार उपचारका लागि आउने क्यान्सरका नयाँ बिरामीमध्ये १४ प्रतिशत भन्दा बढी नाक, कान तथा घाँटीका हुने गरेका पाइएको छ । नेपालमा फोक्सो, स्तन तथा पाठेघरको क्यान्सरपछि नाक, कान घाँटीको क्यान्सर रहेको डा. पराजुली बताउँछन् । पान, सुपारी, गुट्खा, सुर्ती, खैनी तथा मादक पदार्थको सेवनका कारण यस प्रकारका क्यान्सर हुने गरेको भन्दै उनले यसलाई रोक्न जनचेतना फैलाउन आवश्यक रहेको बताउँछन् । विश्वमा क्यान्सरका कारण मृत्यु हुनेहरुमध्ये नाक, कान घाँटीको क्यान्सरका कारण १५ प्रतिशतको मृत्यु हुने गरेको छ र नाक, कान घाँटीमा हुने क्यान्सरमा ३२ प्रतिशत क्यान्सर मुखमा हुने गरेको डा. पराजुली बताउँछन् ।

नाक, कान तथा घाँटीका रोगहरुबाट बच्न केके उपायहरु अनाउनुपर्दछ भन्ने एक अर्को प्रश्नमा डा.रमेश भन्छन्, रोग लाग्न दिनु भन्दा रोगबाट बच्नु बुद्धिमानी हो । त्यसैले स्वास्थ्य र रोगहरुप्रति सचेत भएर सावधानी अपनाउने हो भने ठुलाठुला रोगहरुबाट बच्न सकिन्छ, रोगहरु लागिहाले पनि समयमै उपचार गराएर स्वस्थ रहन सकिन्छ । त्यसैले नाक, कान तथा घाँटीका रोगहरुबाट बच्न निम्न उपायहरु अपनाउन सकिन्छ । कानमा पानी नपार्ने, तेल सकेसम्म नराख्ने, स्वीमिङ गर्दा वा नुहाउँदा ध्यान दिने, कानेगुजी निकाल्न सिन्को, प्वाँख आदिले कान नकोट्याउने वा नघोच्ने, नाकको हकमा चिसो, धुवाँ धुलोबाट बच्ने, पानी तताएर खाने तथा आवश्यक परे बाफ लिने, रुघा लागेमा बढी सिसी नगर्ने । बढी सिसी गर्दा कानतिर असर पर्न सक्दछ । कानको जालीमा इन्फेक्सन भएर जाली फुट्ने डर हुन्छ । नाकबाट रगत बगेमा नाक अठ्ठाएर प्राथमिक उपचार गर्ने र रगत बग्न नरोकिएको खण्डमा तत्काल चिकित्सककोमा गइहाल्ने । लामो समयदेखि घाँटीमा केही अड्केको जस्तो लागेमा तथा घाँटी खसखस गरिराखेमा वा दुखेमा सामान्य रूपमा नलिई चिकित्सकलाई देखाउनु राम्रो हुन्छ । अहिले नेपालमा जताततै धुलोधुवाँ छ, निकै प्रदूषण छ । त्यसैले बाहिर हिँड्दा मास्कको प्रयोग गर्नु राम्रो हुन्छ । धुवाँ तथा धुलोले नाक, कान र घाँटीमा समस्याहरु हुन्छन् ।

नाक, कान तथा घाँटीका रोगहरुको उपचारको सन्दर्भमा डा. पराजुली भन्छन्–नाक, कान तथा घाँटीका अधिकांश रोगहरु औषधीबाटै रोग निको हुन्छन् । औषधीबाट निको नहुने रोग छ भने मात्र शल्यक्रिया गरिन्छ । जस्तो कि शल्यक्रिया गरेर कानको जाली बनाइन्छ । हड्डी खाने रोग छ भने त्यसलाई पनि शल्यक्रिया गरेर निकाल्नुपर्छ । यदि नाक बाङ्गो छ भने शल्यक्रिया गरेर सिधा बनाइन्छ । नाकमा मासु पलाएको छ भने इन्डोस्कोपीबाट मासु निकाल्नुपर्छ । कतिपय अवस्था औषधीले काम गरेन भने टन्सिलाइटीस (टन्सिल सुन्निएको) शल्यक्रियाद्वारा टन्सिल निकाल्नुपर्छ । घाँटीमा नोडुल छ भने पहिला भ्वाइस रेस्ट दिने, त्यसपछि भ्वाइस थेरापी दिने, त्यतिले पनि निको नभएमा त्यसलाई शल्यक्रियाद्वारा निकाल्नुपर्ने हुन्छ । अधिकांश क्यान्सर रोगहरुको अप्रेसन नै गर्नुपर्ने हुन्छ तर कतिपय क्यान्सर रोगहरुको सुरुवाती अवस्थामा नै निदान भएको खण्डमा किमोथेरापी तथा रेडियोथेरापीबाट उपचार गर्ने गरिन्छ ।

अन्त्यमा डा.रमेशको सल्लाह र सुझाव छ, नेपालमा नाक, कान, घाँटीका रोगीहरु धेरै छन्, दिनप्रति दिन बढ्दै छन् । तर नेपाली जनमानसमा नाक, कान, घाँटीका रोगहरुलाई रोगै होइन जस्तो ठानिन्छ । प्रायः नाक, कान तथा घाँटीका स्वास्थ्य समस्याहरुलाई खासै वास्ता गरिँदैन र नाक, कान तथा घाँटीमा कुनै समस्या आए, घरेलु उपचारतिर लागेको देखिन्छ । कतिपय अवस्थामा घरेलु उपचारले काम पनि गर्न सक्दछ तर साथीसंगी, आफन्त तथा छिमेकीहरुको सल्लाहमा घरेलु उपचारको नाममा जे पायो त्यही हाल्ने र खाने गरियो भने समस्या झनै बढ्ने र समयैमा यस्ता रोगहरुको ठिक उपचार नभएको खण्डमा रोग जटिल बन्न सक्दछ, क्यान्सरसमेत हुन सक्दछ । त्यसैले यसतर्फ हामी सबैको ध्यान जान अति आवश्यक छ । अतः नाक, कान तथा घाँटी रोगहरुबाट बचौं र बचाऔं ।