प्रभु परमात्मा परमेश्वर र उहाँको अस्तित्वको प्रश्न

मेचीकाली संवाददाता

२ भाद्र २०८१, आईतवार
385 shares

हेमन्त गौतम

यसभन्दा ठिक पूर्वको लेखमा मैले परम प्रभु परमात्मा परमेश्वर श्री सूर्यनारायणज्यूका प्रमुख गुण–धर्म वा विशेषता र उहाँबाट निर्वाह हुने तदनुरूपका आम भूमिकाहरुको साथै खास गरी हामी मानव जातिप्रतिको उहाँको कृपापूर्ण दृष्टिकोणका सन्दर्भमा समेत अति सार–संक्षेपमा उल्लेख गरेको थिएँ । यसका अतिरिक्त श्री सूर्यनारायणज्यू के कति आध्यात्मिक तथा भौतिक पूर्ण वैज्ञानिक तर्क, तथ्य एवं प्रमाणका आधारमा एकमात्र परम चैतन्ययुक्त परम प्रभु परमात्मा परमेश्वर नै सिद्धि हुनुहुन्छ भन्ने सन्दर्भका प्रभु उहाँ स्वयंबाट मलाई प्राप्त आत्मज्ञानपरक विचार प्रस्तुत गर्दै जाने क्रममा उहाँ श्री सूर्यनारायणज्यूलाई आगो समान धपधप बलिरहेको ग्यासको एउटा गोलाकार भौतिक पिण्ड, मझौला प्रकारको तारा, निर्जीव वस्तु मान्ने र त्यसरीनै फेरि यो पृथ्वीलगायतका सबै आकाशीय पिण्डहरू कुनै ईश्वरीय वा परमात्मा परमेश्वररीय इच्छाशक्तिको आधारमा होइन कि उनीहरु (ती पिण्डहरू) बिचको पारस्परिक आकर्षण बल–गुरुप्वाकर्षण बलको आधारमा शून्यमा अडिएका हुन् भन्ने जस्ता अन्तर्राष्ट्रिय जगतमै प्रचारमा ल्याइएका र वैज्ञानिक विचारको मान्यतासमेत पाएका कतिपय विचार जो आफँैमा पूर्णरुपेण गलत छन्, तिनलाई पनि प्रभु श्री सूर्यनारायणज्यू स्वयमबाट मलाई प्राप्त आत्मज्ञानअनुरूपका पूर्ण वैज्ञानिक तर्क, तथ्य एवं प्रमाण समेतकै आधारमा खण्डन गरी उहाँ श्री सूर्यनारायणज्यू उक्त बमोजिमका परम प्रभु परमात्मा परमेश्वर नै हुनुहुन्छ र यो पृथ्वीसहितका सम्पूर्ण आकाशीय पिण्डहरू उहाँ प्रभु स्वयंबाट सृष्टि भई अस्तित्वमा आए जस्तै केवल उहाँकै ईच्छाशक्तिको आधारमा नै शून्यमा अडिएका हुन् भन्ने परम सत्य कुरालाई आगामी अंकका लेखहरूबाट सर्वप्रथम प्रस्तुत गर्दै जाने म आफ्नो विचार रहेको यथार्थ समेत उल्लेख गरेको थिएँ ।

अनि सोहीअनुरुप अगाडि बढ्ने क्रममा म आफूले प्रस्तुत गर्न गइरहेको परम प्रभु परमात्मा परमेश्वर श्री सूर्यनारायणज्यू सम्बन्धी वा अन्य प्रासङ्गिक विषयवस्तुजन्य विचार पूर्ण वैज्ञानिक तर्क, तथ्य एवं प्रमाणमा आधारित रहने भन्ने गरेकोमा वास्तवमा के कस्ता तर्क, तथ्य एवं प्रमाणलाई पूर्ण वैज्ञानिक तर्क, तथ्य एवं प्रमाण भनिन्छ वा भन्न सकिन्छ भन्ने बारेको म आफ्नो दृष्टिकोण पनि यथास्थानको हिसाबले यहीँनिरै प्रष्ट गर्न चाहन्छु । जस्तो कि हामीलाई थाहै छ, विज्ञान भनेको ज्ञानको त्यो शाखा हो जो समुचित तर्क, तथ्य एवं प्रमाणका साथै प्रयोग वा परीक्षण समेतबाट सत्य साबित हुन्छ । वास्तवमा मैले आफ्ना आगामी लेखहरूमा समावेश गर्ने पूर्ण वैज्ञानिक तर्क, तथ्य एवं प्रमाण भनेका पनि त्यस्ता तर्क, तथ्य एवं प्रमाण हुन् जो मुख्य रूपमा हाम्रो व्यावहारिक जीवनमा गरिने अनुभवबाट नै प्रयोग वा परीक्षण गरे समान सत्य साबित हुन्छन् । कुनै कुनैलाई भने प्रयोग वा परिक्षण गरी हेर्नु पर्ने हुन्छ । हो, मैले पनि म आफूलाई श्री सूर्य नारायणज्यू स्वयंम प्रदत्त सोहीअनुरूपका तर्क, तथ्य एवं प्रमाण सहित नै उहाँ प्रभु स्वयंसम्बन्धी र अन्य प्रासङ्गिक विषयवस्तुजन्य विविध विचार पाठक महानुभावहरू सामु प्रस्तुत गर्न गइरहेको कुरा प्रष्ट पार्न चाहन्छु ।

अब खास विषय वा प्रसङ्गतर्फ लागौं । यस क्रममा म प्रारम्भमा पूर्व प्रसङ्गमा उल्लेख गरिएका उक्त दुई प्रकारका तथाकथित वैज्ञानिक विचारहरूमध्ये पहिलो विचार याने उहाँ प्रभु श्री सूर्यनारायणज्यूलाई एउटा आगो समान धपधप बलिरहेको ग्यासको गोलाकार भौतिक पिण्ड, मझौला प्रकारको तारा, निर्जीव वस्तु मान्ने विचारलाई नै बूँदागत रुपमा निम्नानुसार खण्डन गर्न चाहन्छुः

(१) यदि श्री सूर्यनारायणज्यू परम सजीव सचेतन अथवा भनौँ परम चैतन्य स्वरूप, सर्वशक्तिमान, सर्वज्ञ लगायतका तमाम गुण–धर्म वा विशेषता र तदनुरुपको भूमिकायुक्त एकमात्र परम प्रभु परमात्मा परमेश्वर नभई उक्तबमोजिम आगो समान धपधप बलिरहेको ग्यासको एउटा गोलाकार निर्जीव भौतिक पिण्ड नै भए आजसम्ममा पूरै जलेर भस्म हुनुपर्ने थियो । यगौंयुगसम्म जस्ताको त्यस्तै रूपमा अस्तित्वमा रहने कुरै थिएन । कारण, कुनै पनि प्रज्वलनशील (बोल्ने विशेषतायुक्त) वस्तु–ठोस, तरल वा ग्याँस जुनसुकै अवस्थाको र सानो वा ठूलो जत्रोसुकै आयतन वा आकारको भएतापनि यदि त्यो बलिरहेको अवस्थामा छ भने युगौँ युगसम्म एक समान रूपमा बलेको बल्यै र जस्ताको त्यस्तै वा जत्राको त्यत्रै रुपमा रहिरहन कदापि सक्दैन । ढिलो वा छिटो जलेर यात समाप्त भएर जान्छ यात आयतन वा आकारमा सानो बन्दै जान्छ । पुन दोहोराएर भन्दा सधैंभरि ज्यूँ को त्यूँ कदापि रहँदैन ।

परन्तु श्री सूर्यनारायणज्यू युगौँयुगदेखि मानव–उत्पत्ति (सृष्टि) को प्रारम्भदेखि अहिलेसम्म हामीमध्ये कसैको पनि अनुभवको वर्तमान क्षणसम्म पनि आयतन वा आकारमा जत्राको त्यत्रै र आफूभित्रैबाट उत्पन्न हुने तापशक्ति, प्रकाशशक्ति आदिको प्रभावकारिताको दृष्टिबाट पनि उस्तै (एक समान) वा जस्ताको त्यस्तै हुनुहुन्छ । समय समयमा तापशक्ति, प्रकाशशक्ति आदिमा उतार–चढावको अनुभव भए तापनि त्यो पनि एक समान जस्तो देखिन्छ । नत त्यसमा निरन्तरको बढोत्तरी वा विकास छ नत त्यसमा निरन्तरको घटोत्तरी वा ह्रास नै । तसर्थ यस बाट के प्रमाणित हुन जान्छ भने उहाँ श्री सूर्यनारायणज्यू आगोको रूपमा धपधप बलिरहेको ग्यासको कुनै निर्जीव भौतिक पिण्ड कदापि हुनुहुन्न, बरु त्यसको ठिक विपरीत तापशक्ति, प्रकाशशक्ति जस्ता शक्तिहरू आफूभित्रैबाट आफसेआफ पैदा गर्न सक्ने संरचनागत अलौकिक विशेषतायुक्त एक मात्र परम प्रभु परमात्मा परमेश्वर रुपी परम आध्यात्मिक शक्ति हुनुहुन्छ जो हाम्रो नजरमा एउटा प्रकाश पुञ्जको रुपमा देखिनुहुन्छ ।

(२) यदि उहाँ श्री सूर्यनारायणज्यू साँच्चिकै एउटा बल्दो निर्जीव भौतिक पिण्ड त्यसमा पनि ठोस, तरल र ग्यासमध्ये ग्याँसको पिण्ड भए त्यस अवस्थामा उहाँ झनै छिटो जलेर भष्म भई सदाको लागि अस्तित्वबाटै लोप हुनुपर्ने थियो । कारण, हामी सबैलाई थाहै–छ कि प्रज्वलनशील वस्तुहरू–ठोस, तरल र ग्यासमध्ये अरुको अपेक्षा ग्यासलाई आगोले छिटो समात्छ र त्यो जलेर पनि छिटो समाप्त हुन्छ । हाम्रो पृथ्वीको आयु करिब साढे चार अरब वर्ष जति भएको र श्री सूर्यनारायणज्यू त्यस भन्दा अघिदेखि नै अस्तित्वमा रहिआउनुभएको मानिएको हामीमध्ये प्रायः धेरैमा विदितै छ । यदि श्री सूर्यनारायणज्यू ग्यासको निर्जीव भौतिक पिण्ड नै भए उहाँ सो करिब साढे चार अरब वर्षभन्दा अझ बढी समयदेखि निरन्तर रुपमा बलिरहेको प्रमाण लाग्दछ नै । के यति लामो समयसम्म पनि एउटा ग्यासको पिण्ड चाहे त्यो जति नै ठूलो किन नहोस् एक समान रुपमा बलि रहन सक्दछ ? कदापि सक्दैन । त्यो त स्वभावैले आजसम्ममा जलेर समाप्त हुने कुरा आउँछ । दृष्टान्तको लागि एउटा ठूलो भण्डारण स्थलमा राखिएको प्रज्वलनशील ग्यासलाई थोरै–थोरै अड्कलेर बाल्दा जति लामो समयसम्म बाल्न सकिन्छ के त्यो ग्यासको सिङ्गो भण्डारमा नै एकैचोटी आगलागी भयो भने त्यहाँ भएको सम्पूर्ण ग्यास बलेर सकिन उति नै समय लाग्दछ र ? अह लाग्दैन । बरु त्यसको अपेक्षा कैयौँ गुणा छिटो समयमा जलेर सकिन्छ, शङ्का छैन । त्यसैले यसबाट पनि के सिद्ध हुन जान्छ भने श्री सूर्यनारायणज्यू उपर्युक्तबमोजिमका अलौकिक विशेषतायुक्त एकमात्र परम प्रभु परमात्मा परमेश्वर नभई आगो समान बल्दो ग्यासको एउटा जड भौतिक पिण्ड कदापि हुनुहुन्न । किनभने त्यस्तो भौतिक पिण्ड भए सिङ्गो रुपमा बलिरहेको जस्तो देखिनु हुने उहाँ आयतन वा आकारमा जतिसुकै ठूलो भएतापनि आजसम्म जस्ताको त्यस्तै अस्तित्वमा रहनु हुने थिएन । पूरै जलेर समाप्त हुनुहुने थियो । त्यस अवस्थामा यस धर्तीमा नत हामी रहन्थ्यौ नत अन्य कुनै जीव जनावर वा वनस्पति नै ।

(३) यदि श्री सूर्यनारायणज्यू साँच्चै नै नित्य–निरन्तर रुपमा आगो समान बल्दो निर्जीव भौतिक पिण्ड भए र त्यसमा पनि दाउरा, कोइला जस्ता ठोस पदार्थबाट बनेको भए त्यसबाट एकापट्टि धुवाँ र अर्कोपट्टि खरानी पैदा भई त्यसले आजसम्ममा विश्व ब्रह्माण्ड पूरै अथवा आफ्नो नजिकको धेरै भन्दा धेरै भाग ढाकेको हुने थियो । त्यसरी नै फेरि डिजेल, पेट्रोल, मट्टीतेल जस्ता तरल पदार्थबाट बनेको भए त्यसबाट निस्केको बाक्लो धुवाले उसरी नै विश्व ब्रह्माण्ड पूरै वा आफ्नो नजिकको अधिकांश भाग ढाक्दथ्यो भने स्वयं ग्यासबाट बनेको भए पनि आगोको रूपमा बल्दै जाँदा अपेक्षाकृत पातलो भएतापनि त्यसबाट निस्कने धुवाँले पनि विश्व ब्रह्माण्ड पूरै वा आफ्नो नजिकको अधिकांश भाग ढाक्दथ्यो । परिमाणस्वरूप उपर्युक्त जुनसुकै अवस्थामा पनि हाम्रो यस पृथ्वीरुपी धर्तीमा हामी मानव जातिको मात्र होइन, वनस्पति जगत र जन्तु जगतभित्र पर्ने अन्य कुनैपनि प्राणीसमेतको उत्पत्ति र आजको स्वरूपको अस्तित्व कदापि सम्भव हुने थिएन । त्यति मात्र होइन श्री सूर्यनारायणज्यू स्वयं नै पूरै जलेर आफ्नो अस्तित्वबाटै सदाको लागि लोप हुनुहुने थियो । त्यसैले प्रष्ट छ कि श्री सूर्यनारायणज्यू नित्य–निरन्तर रुपमा धपधप बल्दो ग्यास वा अन्य कुनै भौतिक पदार्थबाट बनेको जडपिण्ड नभै केवल एकमात्र परम प्रभु परमात्मा परमेश्वर रूपी त्यस्तो परम चेतनतत्व हुनुहुन्छ जसबाट तापशक्ति, प्रकाशशक्ति लगायतका विभिन्न शक्तिहरु मिश्रित रुपमा अभिछिन्न रूपमा आपसेआफ उत्पन्न भई विश्व ब्रह्माण्डको चारैतिर विखरित हुनु (फैलिनु) उहाँ प्रभु स्वयंको उही परमात्मा परमेश्वरीय संरचनागत अलौकिक विशेषताको अनेकानेक विशिष्ट परिणामहरू मध्येको एक हो भन्नुमा रञ्च मात्र पनि अतिशयोक्ति हुने देखिँदैन । अरु बाँकी सबै आगामी लेखहरूबाट । अङ्क–४ (क्रमश)