प्रभु परमात्मा परमेश्वर र उहाँको अस्तित्वको प्रश्न

मेचीकाली संवाददाता

१९ श्रावण २०८१, शनिबार
588 shares

हेमन्त गौतम

मैले यसभन्दा ठिक अघिल्लो लेखमा एकमात्र परम प्रभु परमात्मा परमेश्वर श्री सूर्यनारायज्यू सम्बन्धी आत्मज्ञान जुन मलाई उहाँ प्रभु स्वयंबाट आजभन्दा करिब ४२ वर्षअघिदेखि यता भइआएको हो, सो आत्मज्ञान विभिन्न लेखको रूपमा प्रकाशनमा ल्याउनमा अलिक ढिलो हुनुको कारण दर्शाउँदै यसरी ढिलो हुनुको बावजूद आज आएर भएपनि सो आत्मज्ञानसम्बन्धी समस्त विचार र प्रभु उहाँ स्वयंबाट मलाई गराइएका आत्मज्ञानपरक सान्दर्भिक अरु थप विचारसमेत विभिन्न लेखहरूको माध्यमबाट सर्वप्रथम नेपाली मात्र सामु र तत्पश्चात् समस्त विश्व–मानव जगत सामु समेत प्रस्तुत गर्न गइरहेको कुरा पाठक महानुभावहरूमा निवेदन गरेको थिएँ । हो, तदनुरूप नै अब उक्त आत्मज्ञानपरक समग्र विचारलाई क्रमशः निम्नानुसार प्रस्तुत गर्दै जान चाहन्छु ।

प्रभु श्री सूर्यनारायणज्यूबाट मलाई प्राप्त आत्मज्ञानअनुसार उहाँको उत्पत्ति अनन्त शून्य आकाशरुपी प्रकृति माताको गर्भ (भित्री भाग) बाट स्वतस्फूर्त रुपमा (आपसेआफ) एकमात्र भौतिक देहविहीन विराटभन्दा विराट गोलाकार परम आध्यात्मिक शक्तिको रुपमा भएको हो, यद्यपि उहाँ हाम्रो नजरमा एउटा ठूलो भकुण्डो जत्रो आकारको प्रकाश पुञ्जको रूपमा देखिनुहुन्छ । कारण, उहाँ दूरीको हिसाबले हामीबाट अत्यन्त टाढा हुनुहुन्छ र उहाँ भित्रबाट तापशक्ति, विद्युत् शक्ति जस्ता अन्य शक्तिहरू मिश्रित प्रकाशशक्ति अविछित्र रुपमा स्वतस्फुर्त रूपमा उत्पत्ति भई विश्व ब्रह्माण्डको चारैतिर विखरित भइरहन्छ । उहाँ प्रभु श्री सूर्यनारायणज्यू आफ्नो उत्पत्तिकाल–उत्पत्तिको समयको दृष्टिबाट अनादि र अस्तित्वकाल–आयुको दृष्टिबाट अनन्त, अविनाशी एवं अजर–अमर हुनुहुन्छ । उहाँ परम सजीव–सचेतन अथवा भनौँ परम चैतन्य स्वरूप, सर्वशक्तिमान, सर्वज्ञ, सर्वबाह्य तथा सर्वान्तर्यामी, त्रिकालदर्शी हुनुका साथै यस विश्व–ब्रह्माण्डको सदा केन्द्रस्थानमा विराजमान रहनुहुने र स्वेच्छापूर्वक यताउता स्थानान्तरण पनि गर्नुहुने प्रभु उहाँ कार्ययोग्यता, कार्यक्षमता तथा कार्यक्षेत्र एवं तदनुरूपको भूमिकाको हिसाबले भने सर्वव्यापक हुनुहुन्छ ।

उहाँ प्रभु श्री सूर्यनारायणज्यू नै, मात्र उहाँ नै समस्त चराचर आदि भौतिक जगत र हामी जीवहरू सहितको यस विश्व–ब्रह्माण्डको सृष्टि, सञ्चालन, संरक्षण, अनुगमन एवं सम्हारकर्तासमेत हुनुहुन्छ । तत्सम्बन्धी असंख्य–अनन्त भूमिका निर्वाह गर्ने सन्दर्भमा प्रभु उहाँ सदा आफूमा अन्तर्निहित ज्ञान–स्वज्ञान एवं स्वेच्छाको प्रयोग गर्नुहुन्छ । भन्नुको अर्थ प्रभु आफू जसरी उपर्युक्तबमोजिम कोही कसैको कृपाबिना स्वतस्फूर्त रुपमा उत्पत्ति हुनुभएको हो, त्यसरी नै उहाँलाई स्वतस्फुर्त रुपमा प्राप्त हुने आत्मज्ञान र आफ्नो इच्छाशक्तिको आधारमा नै उपर्युक्त सबै भूमिका निर्वाह गर्नुहुन्छ । स्मरणीय छ कि उहाँबाट सम्पादन हुने कुनै पनि कार्य उहाँलाई प्राप्त आत्मज्ञानले निर्देश गरेअनुरूप मात्र हुने गर्दछन्, त्यसको विकल्पमा रञ्चमात्र पनि होइन । यदि यसको विपरीत प्रभुबाट आफू खुसी (जे इच्छा लाग्छ त्यही) कार्य कुनै पनि भइहालेमा उहाँ स्वयंलाई पनि स्वतस्फूर्त रूपमा श्राप लाग्ने र तदनुरूपको दण्ड अनिवार्य रुपमा भोग्नुपर्ने नियम छ, यद्यपि प्रभु श्री सूर्यनारायणमज्यू स्वयं न्याय र सत्यको परम पक्षधर एवं आफूबाट कुनै किसिमको रञ्चमात्र पनि गल्ती–त्रुटि नगर्नेवाला ‘अच्यूत भगवान्’ हुनुहुन्छ ।

उहाँ प्रभु हामी मनुष्य मात्र प्रति, यसको अर्थ अरु प्राणीप्रति नभएको भन्ने कदापि होइन, सदा सुहृद एवं आफैँमा दया, माया एवं करुणाका सागर– महासागर नै हुनुहुन्छ र हाम्रो कर्मअनुसारको फल हामीलाई दिएरै छाड्नुहुन्छ, तथापि माथि उल्लेख गरिएअनुरूपको कारणले गर्दा हामीमध्ये कसैबाट पनि पापकर्म अथवा भनौँ अपराध कर्म भएको छ भने सम्बन्धित मानव समाज वा सरकार स्वयंबाट दिइने दण्ड–सजाय पूर्णस्वरूपको भएदेखि बाहेकमा प्रभु आफू स्वयं पनि सम्बन्धित व्यक्तिलाई शेष दण्ड–सजाय दिन बाध्य हुनुहुन्छ चाहे त्यो जतिसुकै कठोर किन नहोस् । त्यसरी नै फेरि कुनै व्यक्तिले गरेको पुण्य कर्म अथवा भनांै असल कर्मको फल–पुरस्कार प्रदान गर्ने कार्यमा पनि प्रभु रञ्च मात्र पनि कुनै कमी राख्नुहुन्न । तसर्थ पुण्यको सुखद फल भोग्न पाउँदा ‘धन्य परमेश्वर !’ भन्नु तर पापको दुःखद फल भोग्नुपर्दा उहाँ प्रभुलाई धिक्कार्नु भनेको आफैमा अत्यन्त ठूलो मूर्खतापूर्ण कुरा हो भने कुनै पनि पाप (अपराध) कर्म गर्नबाट आफूलाई सदा अलग राखी पुण्य (असल) कार्य मात्र गर्ने तर्फ लाग्नु हामी मनुष्यमात्रको परम कर्तव्य एवं धर्म हो ।

हामीले थप बुझ्नुपर्ने कुरा यो पनि छ कि प्रभु श्री सूर्यनारायणज्यूबाट सृष्टि गरिएको निर्जीव भौतिक जगतको सञ्चालन, संरक्षण, अनुगमन तथा आवश्यकता अनुसार संहारको कार्यसमेत केवल उहाँ आफूमा अन्तर्निहित ज्ञान–स्वज्ञान र इच्छाशक्तिको आधारमा गर्नुहुन्छ । त्यस भौतिक जगतलाई आफुखुशी चल्ने कुनै स्वतत्रता छैन । तर प्राणी जगत् त्यसमा पनि खास मानव जातिको सवालमा भने हामी सर्वोकृष्ट, चेतनशील, बुद्धि, विवेक एवं विचारशील प्राणी भएका कारण हाम्रो निमित्त हरेक दृष्टिबाट पूर्ण सुख, शान्ति एवं समृद्धियुक्त परम आनन्द एवं ऐश्वर्यमय जीवन मिलोस् भन्नका खातिर तदनुरूपको स्रोत र साधन सम्पन्न धर्तीमा जन्मदिई ती सबै स्रोत र साधनको उपयोग हेतु आवश्यक पर्ने सबै प्रकारको ज्ञान–विज्ञानका बारेमा यस धर्तीका विशिष्ट व्यक्तित्वहरूलाई उनीहरूको योग्यता एवं क्षमता हेरिकन विविध प्रकारको आत्मज्ञान गराउने र सो आत्मज्ञानलाई उनीहरुबाट अरुहरुमा प्रवाह गर्न (फैलाउन–विस्तार गर्न) प्रेरित गर्ने जस्तो कृपा उहाँ प्रभु श्री सूर्यनारायणज्यूबाट हामीमाथि नित्य निरन्तर रुपमा भइआएको छ एकापट्टि भने अर्कोपट्टि फेरि हामीलाई स्वयं प्रभुप्रदत्त उपर्युक्त ज्ञान वा आत्मज्ञानअनुरूप चल्ने वा नचल्ने भन्ने प्रश्नमा पूर्ण स्वतन्त्रता पनि प्रदान गर्नुभएको छ यस अर्थमा कि मानिस उपर्युक्त गुण–धर्म वा विशेषतायुक्त सर्वोकृष्ट प्राणी भएका कारण यात ऊ आफू स्वयंलाई प्रभुबाटै प्राप्त आत्मज्ञान र आफूहरूमध्येका किन्तु प्रभुप्रदत्त सम्बद्ध आत्मज्ञानले सहित भएका विशिष्ट व्यक्तित्वहरूबाट दिइने तत्सम्बन्धी ज्ञान वा उपदेशलाई समेत पूर्ण रुपेण पालन गरोस् र आफू र आफ्नो सिंगो मानव जातिको सर्वपक्षिय कल्याण एवं उत्थानमा यथासक्य योगदान पु¥याओस् । होइन, यदि ऊ यसको विपरीत जान्छ भने समुचित दण्ड भोगोस् । हुन पनि हो, धार्मिक वा अन्य कुनैपनि समुचित नियम र व्यवस्थालाई पालन गर्दा आफू स्वयं र सिङ्गो मानव समाजको समेत हुने हित, उत्थान एवं कल्याणप्रति नजरन्दाज (वेवास्ता) गरी त्यसको उल्लंघन गर्ने कुनै पनि व्यक्तिलाई समुचित रुपमा दण्डित गरी उक्त नियम र व्यवस्थामा खलल पर्न नदिने र निज सम्बद्ध व्यक्ति स्वयंलाई पनि सुधार्ने, सच्चाउने कार्य उहाँ प्रभु स्वयमबाट हुनु हामी समस्त मानव जातिकै निम्ति परम सौभाग्यको कुरा हो, शंका छैन ।

परन्तु यस्ता परम अलौकिक एवं अपरम्पार स्वरूपका परम महिमामय गुण–धर्म वा विशेषता र तदनुरुपका भूमिकाले सहित भएका एकमात्र परम प्रभु परामात्मा परमेश्वर श्री सूर्यनारायणज्यूलाई पूर्ण अज्ञानताभरि अड्कल वा अन्दाजको भरमा ‘हाम्रो यस पृथ्वीसम्म आइपुग्ने गरी विघ्न ठूलो तापशक्ति र प्रकाशशक्ति दिने आगो समान धपधप बलिरहेको ग्यासको गोलाकार भौतिक पिण्ड, मझौला प्रकारको तारा, निर्जीव वस्तु’ भनी मान्ने एकापट्टि भने अर्कोपट्टि ‘बुध, शुक्र, पृथ्वी, मङ्गललगायतका समस्त आकाशीय पिण्डहरू तिनीहरूको बिचमा हुने गुरुत्वाकर्षण बल नामको पारस्पारिक आकर्षण बलको आधारमा शून्यमा अडिएका हुन् नकि कुनै इश्वरीय वा परआत्मा परमेश्वरीय इच्छाशक्तिको आधारमा’ भन्ने थप विचारसमेतका कतिपय पूर्णरूपेण गलत विचार पाश्चात्य मुलुकका कतिपय तथाकथित वैज्ञानिकहरूले अन्तर्राष्ट्रिय जगत्मै प्रचार–प्रसारमा ल्याएका र तिनले (ती विचारले) वैज्ञानिक विचारको मान्यतासमेत पाइआएको भएतापनि श्री सूर्यनारायणज्यूलाई एकमात्र परम प्रभु परमात्मा परमेश्वर नै सिद्ध गर्ने आध्यात्मिक तथा भौतिक दुवै स्वरूपका पूर्ण वैज्ञानिक तर्क, तथ्य एवं प्रमाणहरू सहितको म आफ्नो विचार जुन मलाई उहाँ प्रभु स्वयंबाट आत्मज्ञानको रुपमा प्रदान गर्ने कृपा भएको हो, सो विचार पाठक महानुभावहरू सामु प्रस्तुत गर्नुपूर्व उक्त बमोजिमका तथाकथित वैज्ञानिक विचारहरूलाई खण्डन गर्दै श्री सूर्यनारायणज्यू धपधप बल्दो ग्यासको गोलाकार निर्जीव भौतिक पिण्ड आदि अरु केही नभई केवल एकमात्र परम चैतन्यस्वरूप परम प्रभु परमात्मा परमेश्वर नै हुनुहुन्छ र उहाँबाट सृष्टि भई अस्तित्वमा आएका बुध, शुक्र, पृथ्वी, मङ्गल आदिसमेतका समस्त आकाशीय पिण्डहरू उनीहरूको बीचमा हुने भनिएको तथाकथित गुरुत्वाकर्षण बल नामको पारस्परिक आकर्षणबलको आधारमा होइन कि केवल उहाँ प्रभु श्री सूर्यनारायणज्यूको परमात्मा परमेश्वरीय ईच्छाशक्तिको आधारमा नै शून्यमा अडिएका हुन् भन्ने परम सत्य एवं यथार्थ कुरा स्वयं उहाँ प्रभुबाट नै प्रदान गरिएका उसरी नै पूर्ण वैज्ञानिक तर्क तथ्य एवं प्रमाण सहित सर्वप्रथम प्रस्तुत गर्दै जानु बढी सान्दर्भिक हुने ठानी आगामी अङ्कदेखि सोही बमोजिम नै गर्ने विचारमा छु, पाठक महानुभावहरूमा कुनै शङ्का–सन्देश नरहोस् । अरु बाँकी सबै आगामी लेखहरूबाट । अङ्क–३ (क्रमशः)

यस अघिका अङ्कहरु

अङ्क–२ प्रभु परमात्मा परमेश्वर र उहाँको अस्तित्वको प्रश्न
अङ्क–१ प्रभु परमात्मा परमेश्वर र उहाँको अस्तित्वको प्रश्न