घनश्याम कोइराला
हिजोआज हाम्रा परम्परागत सांस्कृतिक पर्वहरू सारहीन बन्दैगइरहेका छन् । पछिल्लो पुस्ताले हाम्रो संस्कृतिलाई सारहीन रमाइलोका रूपमा मात्र बुझ्ने खतरा बढ्दै गइरहेको छ । यसले सांस्कृतिक अराजकता र उपभोक्तावादलाई बढावा दिने छ । सनातन संस्कृति भनेको सारवान् संस्कृति हो भन्ने बुझ्न पर्व मनाउने क्रममा नै ध्यान दिनु आवश्यक छ ।
बजारबाट हामी मानिसहरू लाभान्वित हुने हो, तर हामी बजारका कारण सांस्कृतिक क्षयीकरणतर्फ अग्रसर हुँदैछौँ । बजार–उद्योग, व्यापार क्षेत्रले आफ्नो मालको व्यापार बढाउन समयअघि नै विज्ञापन गर्नु स्वाभाविक हो । साउनदेखि नै तयारी र प्रचार प्रसार भएन भने सोचेजति व्यापार नहुन सक्दछ । यस कारण उनीहरूले तीजदेखि तिहारसम्म खपत हुने वस्तुहरूको विज्ञापनमा नै सबै पर्वको शुभकामना दिनु गलत होइन, सही नै हो । त्यही देखासिकी गरेर हामी सबैले साउनमा नै, सोह्रश्राद्धमा नै चार महिनापछि सम्मको शुभकामना दिनु आवश्यक र उचित हुन्छ र ? अवश्य हुँदैन । कार्यक्रम नै आयोजना गर्ने सङ्घसंस्थाहरूले प्रचारप्रसारका लागि केही दिनअघि सन्देश दिनु स्वाभाविकै हो ।
चौबीसै घन्टा आफ्नो हातमा मोबाइल हुने र सामाजिक सञ्जाल नहेरी मन शान्त नहुने सूचना प्रविधिप्रेमीहरूले सोह्रश्राद्ध नसकिँदै छठ पर्वसम्मको रेडिमेड शुभकामना सन्देश विश्वव्यापी बनाइसक्दछन् । केको हतारो हो कुन्नि ? यिनीहरूका मोबाइल विदा बस्ने भएर हो कि यति दिन मोबाइल नछुने सङ्कल्प गरेका हुन्छन् कि ? यस्तैमध्ये कतिपयले नवदुर्गा प्रारम्भ भएदेखि हरेक दिनको शुभकामना र यमपञ्चक सुरु भएपछिका प्रत्येक दिनको शुभकामना दिइरहेका हुन्छन् । बडादसैँलाई ‘विजया दशमी’ र यमपञ्चक (तिहार) लाई ‘दीपावली’ लेखेर शुद्ध मौलिक सांस्कृतिक परम्पराको चिरहरण गर्दछन् । हो, बडादसैँभित्र एक दिन विजया दशमी र यमपञ्चकभित्रै एक दिन दीपावली गरिन्छ ।
हाम्रो समाजमा नियम मिचिने क्रम सबै क्षेत्रमा छ । नियम जहाँ जहाँ मिचिए पनि त्यसले राम्रो गर्दैन । संस्कृतिको सारप्रतिको उदासीनता र अराजकताले समाजमा प्रभाव पर्दछ, परेको छ र पारिरहने छ । सामाजिक अराजकता रोक्न चाहनेहरूले संस्कृतिका क्षेत्र फेलिइरहेको अराजकताबारे बुझ्न र रोक्न जरुरी छ । अहिले हाम्रो समाजका विभिन्न क्षेत्रमा जस्तै चाडपर्व मनाउने विषयमा पनि नियम मिचिँदै गएको छ । नियम मिच्दा शक्तिशालीलाई त खासै फरक पर्दैन तर निर्धालाई फरक पर्छ । नियम मिच्नु भनेको शक्तिको दुरुपयोग हो । नियम मिच्नु भनेको भ्रष्टाचार पनि हो । नियम अज्ञानतवश पनि मिचिएको हुन सक्दछ । अज्ञानतावश मिचिएको छ भने इमान्दारले सच्याउनुपर्छ र सच्याउँछन् । या त नियम फेर्नुपर्छ या पालन गर्नुपर्छ ।
हाम्रो समाजमा प्रचलित परम्पराको गजुरमा संस्कृतिकको जरा छ । हामीकहाँ गरिने कार्य पर्वमय हुन्छन्, यज्ञमय हुन्छन् । यज्ञमय हुनु भनेको कार्यसम्पन्नतामा सामूहिक संलग्नता हुनु हो । पितृस्मरण गर्ने श्राद्धादि कर्म हुन् वा देवपूजनका कर्म हुन्, एक्लै सटाक्सुटुक्क गर्ने चलन छैन । यसमा संलग्न हुनुपर्ने (छोड्नै नहुने) सम्बन्धको परम्परागत सूची नै रहेको हुन्छ । कुनैमा फुपाजु (पुसाजु), भिनाजु, ज्वाइँ, भाञ्जा आदि प्राथमिकतामा रहेका हुन्छन् भने कुनैमा फुपू, दिदी, बहिनी, भाञ्जी आदि हुन्छन् । माता, पिता, गुरुका लागि पनि पर्वहरू छुट्याइएका छन् ।
हाम्रा पर्वहरूको अर्को विशेषता भनेको मास (महिना), पक्ष (शुक्ल या कृष्ण), तिथि, नक्षत्र, घडीपलासमेत निर्धारित गरिएको हुन्छ । सबै कुरा निर्धारित हुन्छ । प्रयोगका वस्तु र निषिद्ध वस्तुहरू छुट्याइएको हुन्छ । हरेक दिन दिनको हिसाब गएिको हुन्छ र कुन दिन के गर्न हुने र कुन दिन के गर्न नहुने भन्ने समेतको हिसाब किताब छ ।
श्राद्ध गर्दा होस् वा पूजा गर्दा स्थान निर्धारित गरिन्छ । कसै कसैले श्राद्धमा बेसारको रेखी हाल्ने चलन भए पनि आमरूपमा श्राद्धमा रेखी हालिँदैन । पूजा आदि देवकार्यमा चामलको पिठोले निश्चित क्षेत्रभित्र विभिन्न आकार प्रकारका चित्र बनाइन्छ र तिनैमाथि दियो, कलश, गणेश आदि स्थापना गरिन्छ । अन्य सामग्रीहरू राख्ने आदि स्थान पनि सुनिश्चित गरिन्छ । कसलाई कुन क्रममा, कुन दिशामा, कता फर्काएर राख्ने विषय सुनिश्चित हुन्छ । कसको पूजा पहिले वा पछि गर्ने भन्ने त निर्धारित हुन्छ नै पूजामा प्रयोग गरिने वस्तु चढाउने पनि क्रम हुन्छ । पर्वपरम्पराको साह्रै मसिनो प्रावधानबाट हाम्रो संस्कृति हुर्केर आएको हो । यी पद्धति जीवन पद्धतिका, व्यवस्थापकीय पद्धतिका पूर्वरूप हुन् । संस्कृतिका नियमबद्ध पद्धति र यिनीहरूको परिपालनाले हामीलाई सभ्य र व्यवस्थित बनाउन सहयोग गर्दछन् । हामीलाई हरेकको सीमाबोध गराउँछन् । सनातन संस्कृतिका कर्मकाण्डहरूले दुःखको अवस्थामा पनि क्रम नछोड्ने र सुखको हर्षोल्लासमा पनि विधि नछोड्ने शिक्षा दिन्छन् । यी कर्महरूमा पढिने मन्त्रहरू छन्दमा हुन्छन् । यिनीहरूको लय, यति, गति, वर्ण, मात्रा, अनुप्रास मिलेका हुन्छन् । यी सबैका अर्थ छन् । कर्मकाण्डका यावत् पक्षहरू जीवनका कर्महरूलाई अनुशासित बनाउने अभ्यास हुन् । यसमा रहेको विज्ञानको अध्ययन र अनुशीलन आवश्यक छ । अनि बल्ल कति आवश्यक, कति अनावश्यक, कति र के परिवर्तन आवश्यक भन्ने ठम्याउन सकिन्छ ।
काजकिरिया १३ दिनबाट ३ दिनमा झार्ने वकालत गर्ने तर तीज, दसैँ, तिहार महिनौँ मनाउने । एक साता पहिले जन्म दिनको शुभकामना दिइँदैन, एक सातापछि यात्रामा निस्कनेलाई एक साताअघि शुभ यात्रा भनिँदैन, तर सोह्रश्राद्ध नलाग्दै दसैँको शुभकामना ओइरा¥याउने । अनि, सनातनका संस्कृतिमाथि आक्रोस पोख्ने वा आक्रोस पोख्ने वातावरण बनाइदिने । ईद, मुहर्रम, बुद्धपूर्णिमा वर्षाबासको प्रचलन भएकाहरूले कहिल्यै यसो गरेको सुनिदैन, देखिँदैन त !
सानो चकटीमा खेलिने होस् वा ठूलाठूला मैदान र वनमा खेलिने, सबैका नियम हुन्छन् । खेल रमाइलोको लागि खेलिन्छ, तर यसमा साह्रै कडा सीमांकन र अनुशासनका नियम हुन्छन् । सबैका उदाहरणका लागि लुडो, क्यारम, बुद्धिचाल, कपर्दी, फुटबल, भलिबल, क्रिकेट, टेनिस, गल्फ आदि खेल हेरौं । अन्य पनि अनेकौँ साहसिक खेलहरू छन्, जसका साह्रै कडा नियम छन् ।
हामी गीत–संगीत सुन्छौँ, नृत्य–नाटकहरू हेर्छौँ । कविता सुन्छौँ । यी सबैका नियम छन् । यिनमा लय, यति, गति छन् । अभ्यास गर्नेहरू निपुण हुन्छन्, हेर्ने र सुन्नेहरू आनन्दित हुन्छन् । नियमविनाका कुनै पर्व–उत्सव, चाडबाड, कविता, गीत–संगीत, नृत्य–अभिनय, पूजा, जन्मोत्सव, श्राद्ध, खेल आदि केही पनि हुँदैन । नियम नै यिनीहरूका महत्व हुन् ।
यस्तो संस्कारबाट हुर्काइएका हाम्रा संस्कृति नियमबद्ध छन् ? छैनन् । यिनका नियम मिचिएका छन् । अनुशासन तोडिएका छन् । जसरी खेल, गीत, नृत्यका नियम भंग हुनुहुँदैन, त्यसै गरी पर्व परम्पराका पनि नियम मिच्न हुँदैन । यसरी नियम मिचिदै गएर हो, समाजमा अनियमितताको बोलबाला बढेको ।
मानवजीवनसँग प्रकृतिको सुसम्बन्धको लागि बाघजस्ता हिंस्रक जनावर, सर्पजस्ता विषाक्त जीव, मासु नभई नबाँच्ने पक्षी गिद्ध आदिको रक्षा गर्नुपरिरहेको छ । बाहिरी वातावरणको रक्षा गर्नुलाई वातावरणीय सुरक्षा/संरक्षण गरिएजस्तै मानिसहरूको आन्तरिक÷मानसिक स्वास्थ्य एवं पारिवारिक सुसम्बन्धका लागि र सिंगो समाजको अनुकूल गराइराख्न संस्कृतिको संरक्षण परमावश्यक छ । भड्किनु भनेको बाटो बिराउनु वा बिग्रनु हो । असन्तुलन भनेको दुर्घटनाको कारक हो । तसर्थ, हाम्रा सांस्कृतिक चाडपर्वहरूलाई भड्किन÷भड्किलो हुनबाट र असन्तुलित हुनबाट जोगाउनु सबै सचेत मानिसहरूको दायित्व हो ।
संस्कृतिको सम्बन्ध मानिसको जीवनसँग छ । मानिसको जीवनको दायित्व र सरसताका लागि मानव जातिले नै धर्म, संस्कार, संस्कृतिको निर्माण गरेको हो । यसो गर्दा मानिसले प्रकृतिको अनुकूलतालाई हेक्का राख्न भने छोडेको छैन । जन्म र मृत्युका विषय मानिसले तोक्न सक्ने विषय भएन । त्यसैले जन्म र मृत्युसँग सम्बन्धित कर्महरू बाहेकका विषय सक्दो अनुकूलतामा हुने प्रावधानहरू छन् । तिउरी लगाउने–लुतो फाल्ने होस् वा नागको पूजा गर्ने; खिर खाने, क्वाँटी खाने होस् वा चेलीबेटीलाई दर खुवाउने; घ्यू–चाकु खाने होस् वा खिचडी खाने; बेल खाने, जौको सातु खाने होस् वा गिँठा खाने होस् सबैको मौसमी संगति मिलेको पाइन्छ ।
यी सांस्कृतिक परम्पराले हाम्रो जीवनलाई प्रकृतिसँग जोडिइरहन, प्रकृतिको प्रतिकूलतामा नजान, प्रकृतिसँग अनुकूलतामा रहन सिकाइरहेको पाइन्छ । यसरी मानिसको संस्कृतिमा प्रकृतिसँगको संगति हाम्रो संस्कृतिको खास पक्ष हो । मानवीय आवश्यकताले खास अध्ययन–अनुसन्धानको आधारमा प्रकृतिबाट अतिरिक्त लाभ लिन गरिएका संघर्षका पक्ष बेग्लै हुन् । त्यो पनि पानीबाट बिजुली निकाल्ने त्यसको प्रवाह व्यवस्थित गरेर नै हो । हाबा र घामबाट बिजुली निकाल्ने पनि तिनीहरूकै शक्ति सञ्चय गरेर हो । नत्र प्रकृतिका जीवजन्तु सबैमा प्रकृतिका सामान्य नियम लागु हुन्छन्, भइरहेका छन् । प्रकृतिले गोलाद्र्ध वारि र गोलाद्र्ध पारि अँध्यारो र उज्यालो हुने समय फरक बनाएको भए पनि दिन र रात नियमले नै हुन्छ । जहाँ बासे पनि भाले बिहानमा नै बास्छ । गौँथलीले दिनमा नै परिश्रम गर्छ । पर्वहरू पनि तोकिएको समयमा र निर्धारित विधिसङ्गत हुँदा मात्र हितकर हुन्छन् । केही समययता चाडपर्व मनाउने सन्दर्भमा साह्रै भड्किलोपन देखिन थालेको छ । यसको अन्तर्वस्तु धुमिल हुँदै गइरहेको छ ।
संसारमा मानिसको संख्या बढ्दै आयो । यही तुलनामा उत्पादनका साधन–माध्यम हुँदै गर्छन्, तर ठ्याक्कै बराबर हुने गरी कुनै उत्पादन, कुनै निर्माण र कुनै आविष्कार हुँदैनन् । कहिलेकहीँ अलिकति बढी पनि भएको होला, नत्र उपभोक्ता बढी र उपभोगका वस्तु, साधन कम नै हुने गरेको पाइन्छ । यसैले माग बढिरहेको र मूल्य बढिरहेको हुन्छ । यही कारणहो कि खेतबारीमा बेमौसमी खेती र कारखानामा अतिरिक्त समय काम गर्ने प्रचलन चलेको देख्न पाइएको छ ।
कारखानामा बन्ने वस्तुहरू बढी उत्पादन गर्नको लागि श्रमिकहरूलाई बढी (अतिरिक्त) समय खटाइएको हुन्छ र त्यो लागतसमेत जोडेर उत्पादकले मूल्य तोक्दछन् र त्यस्ता वस्तु केही महँगा अवश्य हुन्छन् । तर तिनीहरूको मूल्य तुलना गर्ने अधिकार र चेतनाको उपयोग उपभोक्ताले गर्न नसक्दा तिनीहरूको मूल्य कारखानाका मालिक र व्यापारीकै मात्र जानकारी, तजबिज र हित अनुकूल हुन्छ । त्यसै गरी तरकारी, अन्न, फलपूmल पनि मौसमीभन्दा बेमौसमी उत्पाद महँगा हुन्छन् । तिनीहरूको उत्पादनमा बढी विषादी, रासायनिक पदार्थहरू प्रयोग हुने भएकोले त्यति स्वास्थ्यकर हुँदैनन् । माग धान्न, थप लाभान्वित हुन यस्ता अतिरिक्त उत्पादन गरिने हुन्छ । हामीले बेमौसमी ढङ्गले हुर्काउँदै गरेका पर्व मनाउने कार्यले पनि पर्वहरू र पर्व मनाउनेहरूलाई अस्वस्थकर बनाउने छन् ।
के हाम्रा पर्वहरू पनि यही अतिरिक्त समयमा गरिने गरी थपिएका का हुन् ? के यी बेमौसमी खेतीझैँ गरिने क्रियाकलापका अङ्ग हुन् ? यो अतिरिक्त समय संस्कृति (Over Time Culture) ले हामीलाई के दिन्छ ? हाम्रो समाजलाई के दिन्छ ? यो बेमौसमी ढङ्गको विषाक्त र फरक रासायन प्रयोगको यो सांस्कृतिक प्रचलनले हाम्रो सामाजिक जीवनमा कस्तो प्रतिक्रिया होला ? कारखानामा अतिरिक्त समय काम गरेर उत्पादन बढाए जस्तो, विषादी प्रयोग गरेर बेमौसमी तरकारी उत्पादन गरे जस्तो संस्कृतिले हामी कसैको हित गर्दैन । यसको क्वारेन्टाइन जाँच कहाँ र कसरी गर्ने हो ? यो तरिका सामाजिक, आर्थिक र सांस्कृतिक दृष्टिले स्वास्थ्यकर हुँदैन । निर्धारित प्रावधानविरुद्धका संस्कृति संस्कृति नै होइनन्, विकृति हुन् । यस्तो सारहीन रमाइलो वास्तवमा सांस्कृतिक आत्महत्या हो । पर्वको मर्म हुन्छ, मर्म अनुरूप मनाउनु संस्कृतिको धर्म हुन्छ । बेमौसमी सांस्कृतिक फैलावट संस्कृति र समाजका लागि हानिकारक हुन्छ । (लेखक कोइराला संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)