परमात्मा परमेश्वर र उहाँको अस्तित्वको प्रश्न

मेचीकाली संवाददाता

६ कार्तिक २०८१, मंगलवार
185 shares

हेमन्त गौतम

यसभन्दा अघिल्लो अङ्कमा प्रकाशित लेखमा मैले श्री सूर्य नारायणज्यू उहाँ आफूमा विद्यमान तापशक्तिजन्य अलौकिक विशिष्ट विशेषता समेतका कारण कुनै एउटा बलिरहेको ग्यासको निर्जीव भौतिक पिण्ड नभई एकमात्र परम चैतन्य स्वरुप परम प्रभु परमात्मा परमेश्वर नै सिद्धि हुनुहुन्छ भन्ने यथार्थलाई प्रस्तुत गर्ने थप जमर्को गरेको थिएँ । त्यसमा मैले एक दुईवटा दृष्टान्त समेत दिएको थिएँ । अब पनि म उक्त विषय वा प्रसङ्गलाई नै थप दृष्टान्त सहित निम्नबमोजिम उठान गर्न चाहन्छु ।

(२१) श्री सूर्य नारायणज्यूबाट प्राप्त हुने तापशक्ति र कुनै बलिरहेको ग्यास पदार्थबाट निस्कने आगोको ज्वालाबाट प्राप्त हुने तापशक्तिको मानव स्वास्थ्य वा शरीरमा पर्ने फरक फरक प्रभावलाई लिएर विचार गर्दा पनि यसभन्दा अघिल्लो लेखको बुँदा नम्बर २० मा प्रस्तुत दृष्टान्तबाट नै स्पष्ट हुन जान्छ कि हामी मानिस पनि जन्तु जगत् भित्रकै प्राणी हुनाले गाई, भैँसी, भेडा, बाख्रा जस्ता पशुहरूको स्वास्थ्य वा शरीरमा पर्ने प्रभाव जस्तै हाम्रो स्वास्थ्य वा शरीरमा पनि श्री सूर्य नारायणज्यूबाट प्राप्त हुने तापशक्ति र कुनै बलिरहेको ग्यास पदार्थबाट निस्कने आगोको ज्वालाबाट प्राप्त हुने तापशक्तिमध्ये पहिलोबाट मात्र सदा एवं सर्वथा पूर्णरुपेण अनुकूल प्रभाव पर्ने देखिन्छ, दोस्रोबाट कदापि होइन । किनकि हामी बाँच्नको लागि अनिवार्य रुपमा चाहिने तापशक्तिजन्य जीवनदायिनी शक्ति वा सामथ्र्य केवल श्री सूर्य नारायणज्यूको तापशक्तिमा मात्र पूर्ण स्वरूपको पाइन्छ, कुनै बलिरहेको ग्यास पदार्थबाट निस्केको आगोको ज्वालाको तापशक्तिमा कदापि होइन ।

हो, वर्षा याममा पानीमा भिजेको बेला वा हिउँदको समयमा आकाशमा बदली भएको र पानी परिरहेको बेला कहिलेकाहीँ हामी आगो पनि ताप्दछौँ र न्यानो लिन्छौँ चाहे त्यो ग्यास पदार्थ बाल्दा अथवा दाउरा, कोइला आदि जे बाल्दा आएको होस् । त्यस न्यानो (ताप)ले हामीलाई जाडोबाट बच्न क्षणिक रुपमा भएपनि मद्दत त गर्दछ तर त्यसबाट हामीलाई मिल्ने जीवनदायिनी शक्ति श्री सूर्य नारायणज्यूबाट प्राप्त हुने तापशक्तिले दिने जीवनदायिनी शक्तिको तुलनामा असख्य गुना न्यून कोटीको हुन्छ । यस कारण नै हो कि विशेष जाडोको समयमा समेत न्यानो लुगाको आधारमा आगो नतापिकनै पनि हामी लामो कालसम्म नै निरन्तर रुपमा बाँच्न सक्दछौं, किन्तु श्री सूर्य नारायणज्यूको तापशक्ति बिना क्षणभर पनि बाँच्न सक्दैनौ । किनकि उहाँको तापशक्ति हामीसम्म आउन पूर्णतया बन्द हुने हो भने हाम्रो वरिपरिको वातावरण क्षणभरमै यसरी चिसिन्छ कि हाम्रो शरीरको रगत जम्न गई हामी मृत्युको प्राप्त हुन्छौं । त्यसैले हामी उपर्युक्त समग्र विवेचनाको आधारमा समेत श्री सूर्य नारायणज्यूलाई पूर्ण वास्तविक रुपमै एकमात्र परम चैतन्यस्वरूप परम प्रभु परमात्मा परमेश्वर नमानेर कसरी एउटा निरन्तर रूपमा बल्दो ग्यास पदार्थको निर्जीव भौतिक पिण्ड मान्न सक्दछौं ? कदापि सक्दैनौँ, होइन र ? फेरि यसको अर्थ यो पनि किञ्चित होइन कि प्रज्वलनशील भौतिक वस्तु–ग्यास, दाउरा, कोइला आदि बाल्दा प्राप्त हुने तापशक्तिको हाम्रो जीवनमा कुनै महत्व नै छैन ।

(२२) पाश्चात्य मुलुकका वैज्ञानिक मानिएका कतिपय मानिसहरूले श्री सूर्य नारायणज्यूलाई विज्ञानको नाउँमा एउटा पारमाणविक भट्टी समानको एउटा बल्दो निर्जीव भौतिक पिण्ड भनेर प्रचार गरेको समेत पाइन्छ जसले गर्दा हाम्रो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा उहाँ श्री सूर्य नारायणज्यूको बारेमा पूरै भ्रामक एवं असत्य धारणा बनिआएको छ । जब पारमाणविक भट्टी भनेको एउटा बन्द उपकरण मार्फत पारमाणविक शक्ति उत्पादन गर्ने उत्पादन केन्द्र हो र खुला आकाशमुनि खुला वातावरणमा कहीँ पनि सञ्चालन गरेको पाइँदैन भने कुनै भौतिक आधारसम्म नभएको शून्य आकाशमा श्री सूर्य नारायणज्यू रूपी पारमाणविक भट्टी प्राकृतिक रूपमा आफसेआफ कसरी सञ्चालनमा रहिआएको होला, शत प्रतिशत असम्भव कुरा । त्यसैले उक्त भनाइ सोहै्रै आना (पूर्णरूपेण) मिथ्या एवं निराधार हास्यास्पद भनाइबाहेक अरु केही हुन सक्दैन भन्ने कुरामा कुनै शङ्का–सन्देह छैन नै ।

त्यसरी नै फेरि यदि सूर्य नारायणज्यू साँच्चै नै एउटा पारमाणविक भट्टी समान भित्रैदेखि पूर्णरूपेण सिङ्गो रुपमा धपधप बलिरहेको ग्यासको भौतिक पिण्ड नै भएको र उहाँ भित्र पारमाणविक न्युक्लियर विखण्डन Atomic Nuclear Fission वा पारमाणविक न्युक्लियर संगलन Atomic Nuclear Fusion हुने गरेका कारण विघ्न ठूलो तापशक्ति एवं प्रकाशशक्ति उत्पादन भइरहेको मान्ने हो भने पनि उहाँ श्री सूर्य नारायणज्यू रुपी बल्दो ग्यासको निर्जीव भौतिक पिण्डको सर्वाधिक केन्द्र भागमा हुने त्यस्तो पारमाणविक न्युक्लियर विखण्डन वा पारमाणविक न्युक्लियर संगलनको क्रममा त्यस केन्द्रभागमा विद्यमान जे जति ग्यास पदार्थको जे जति अंशको उक्त प्रकारको विखण्डन वा संगलन हुने हो त्यसदेखि बाहेक उहाँ श्री सूर्य नारायणज्यूको बाँकी सबै अंश पनि त्यस प्रकारको विखण्डन वा संगलनका कारण पैदा हुने तापशक्तिको विशाल राशीले गर्दा जलेर समाप्त हुनुपर्ने होइन र ? एउटा बिजुलीको बल्लभित्रको मसिनो तार त ठोस अवस्थाको हुँदाहुँदै पनि कालान्तरमा जलेर नष्ट हुन्छ जसलाई हामी ‘फ्युज’ हुनु भन्दछौं भने अझ ग्यास अवस्थाको मानिनु भएका श्री सूर्य नारायणज्यू त्यति विघ्न ठूलो तापशक्तिबाट पनि जलेर नष्ट नभई आफ्नो उत्पत्तिकालदेखि वर्तमान समयसम्म पनि सदा सर्वदा ज्ूयँ का त्यूँ–जस्ताको त्यस्तै रहनु कहाँ सम्भव कुरा हो ? थप भनौँ भने एक त जुनसुकै ग्यास पदार्थ धर्ती वा आकाश जहाँ भएपनि सदा चलायमान रहन्छ, एक स्थानमा मात्र स्थिर रहँदैन । अझ प्रज्वलनशील ग्यास पदार्थ भएका कारण त्यसमा आगो लागिहालेमा ठोसको त कुरै छोडौँ, तरलको अपेक्षा पनि कैयौँ गुणा बढी तीव्र गतिमा जल्न सुरु गर्दछ र सो क्रममा उक्त ग्यास पदार्थ जल्दै पनि रहने र आगोको लप्काको रूपमा चारैतिर फैलिँदै पनि जाने गर्दछ । श्री सूर्य नारायणज्यू जस्तै जतिसुकै ठूलो आयतन वा आकारको भएमापनि ग्यास पदार्थबाट बनेको एउटा भौतिक पिण्ड युगौँ युगसम्म बलेको बल्यैै रही निरन्तर रुपमा तापशक्ति तथा प्रकाशशक्ति पनि दिँदै रहने र गोलाकारको गोलाकारै रुपमा जस्ताको त्यस्तै र जत्राको त्यत्रै पनि रहिरहने प्रश्न नै आउँदैन, बरु आजसम्ममा पुरै जलेर समाप्त भई अन्ततः अस्तित्वबाटै लोप भएको हुनुपर्दछ । परन्तु त्यस्तो कुनै केही नहुनुबाट पनि श्री सूर्य नारायणज्यू एउटा पारमाणविक भट्टी समान निरन्तर रुपमा धपधप गरी बलिरहेको निर्जीव भौतिक पिण्ड हुनुहुन्छ भनी मान्नेकुरा पूर्णरुपेण कपोलकल्पित, मिथ्या एवं निराधार साबित हुन्छ नै ।

त्यस्तै, यदि श्री सूर्य नारायणज्यू साँचो अर्थमा एउटा क्रियाशील पारमाणविक भट्टीकै समान निर्जीव भौतिक पिण्ड नै भए उहाँबाट प्राप्त हुने प्रकाशशक्ति तथा तापशक्ति रेडियो धर्मितायुक्त हुनाका कारण वा त्यसै पनि उक्त प्रकाशशक्ति तथा तापशक्तिको आधारमा हामी यस धर्तीका वनस्पति र जीव जनावर कोही पनि बाँच्न सक्ने थिएनौँ । कारण, उक्त प्रकाशशक्तिको आधारमा वनस्पतिमा प्रकाश संश्लेषण क्रिया Photo Synthesis हुन सक्ने थिएन जसले गर्दा न त वनस्पतिको लागि बाँच्नको निमित्त आवश्यक तयारी खाना बन्दथ्यो न त ऊ (वनस्पति) र हामी मनुष्यसमेतका जीव जनावरको लागि सास फेर्नको निमित्त आवश्यक पर्ने (नभइ नहुने) प्राणवायु अक्सिजन नै निरन्तर रूपमा प्राप्त हुने थियो । त्यति मात्र होइन, उक्त तापशक्तिबाट वनस्पति र जीव जनावर हामी कसैले पनि बाँच्नको लागि आवश्यक वास्तविक जीवनदायिनी शक्ति पनि कदापि पाउन सक्ने थिएनौँ । के यसबाट पनि श्री सूर्य नारायणज्यू एउटा पारमाणविक भट्टी समान धपधप गरी बल्दो कुनै निर्जीव भौतिक पिण्ड कदापि हुनुहुन्न भन्ने सिद्ध हुन जाँदैन र ? अवश्य हुन जान्छ भने उपर्युक्त समग्र विवेचनाबाट उहाँ श्री सूर्य नारायणज्यू प्रकाशशक्ति तथा तापशक्तिजन्य आफ्नै खालको अलौकिक विशिष्ट विशेषतायुक्त एकमात्र परम चैतन्यस्वरूप परम प्रभु परमात्मा परमेश्वर नै हुनुहुन्छ भन्ने तथ्य पनि परम सत्य प्रमाणित हुन जान्छ । अरु बाँकी सबै आगामी लेखहरूबाट । अङ्क ११ (क्रमश)…