रुपन्देहीमा जोर–बिजोर प्रणालीमा सार्वजनिक सवारी चल्ने

मेचीकाली संवाददाता

१४ असार २०७८, सोमबार
832 shares

बुटवल, असार १४ । रुपन्देहीमा एक साता निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को सोमबार बसेको बैठकले निशेधाज्ञा खुकुलो पार्दै असार २१ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । थपिएको निषेधाज्ञामा सार्वजनिक सवारी चलाउन दिने निर्णय डीसीसीएमसीले गरेको छ ।

मंगलबारदेखि रुपन्देही जिल्लाभित्र मात्र सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारीसाधन जोर–बिजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र भौतिक दूरी कायम गरी सवारीसाधन सञ्चालन गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय रुपन्देहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । सवारीसाधनको सिट क्षमताको आधा मात्रै यात्रु चढाउन पाइनेछ भने यातायात भाडामा ५० प्रतिशत वृद्धि भएको छ । चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यनिटाइजरको व्यवस्था हुनुपर्ने बताइएको छ ।

त्यस्तै सहचालकले पञ्जा लगाउनुपर्ने र अनिवार्य रुपमा सवारीसाधन निसंक्रमित गर्नुपर्नेछ । मोटरसाइकल÷स्कुटरसमेत जोर बिजोर प्रणाली लागू (जोर गते जोर नं र बिजोर गते बिजोर नं) चलाउन पाइने छ । स्वास्थ्यकर्मी, पशुस्वास्थ्यकर्मी, एम्बुलेन्स, खानेपानी, विद्युत् मर्मतसम्भारका सवारी साधनले स्वास्थ्य मापदण्ड पालना गरी निर्बाध रुपमा सञ्चालन हुन पाउनेछन् । त्यस्तै औषधी खरिद तथा औषधी उपचार गर्न बाहेक नेपालीहरु बेलहिया नाकाबाट आवतजावत गर्न नपाइने बताइएको छ । निषेधाज्ञामा भेला, भिडभाड, महोत्सव, सभा, जुलुस, सभा, पार्टी प्यालेस, सिनेमा हल, सेमिनार, तालिम, गोष्ठी, सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, ब्युटिपार्लर र स्विमिङ पुल, संग्रहालय, पुस्तकालय, समूहमा खल्ने खेलकुद, जिमखाना लगायतका मानिसको बढी भिडभाड हुनेक्षेत्र बन्द नै रहनेछन् ।

अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स, खानेपानी, विद्युत् मर्मतसम्भार, स्वास्थ्य सम्बद्ध (औषधि, अक्सिजन सिलिण्डर), दूरसञ्चार इन्टरनेट मर्मत, कार्गाे, कुरियर तथा डाँक सेवा र फोहोरमैला व्यवस्थापनसम्बन्धी ढुवानीका साधनमा ब्यानर वा प्रिन्टमा विषय उल्लेख गरी निर्बाध रुपमा सञ्चालन गर्न पाइने छ । विवाह तथा व्रतबन्धका हकमा आफ्नो घर वा बसेको स्थानमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गरी उपस्थित हुन पाइने छ । त्यस्तै यसका लागि दुई सवारीसाधन ब्यानरसहित आवतजावत गर्न दिने बताइएको छ । सरकारी, सार्वजनिक संस्थान, कूटनीतिक नियोग, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, कृषि मल, बीउबिजन, पशु चिकित्सकलगायत अत्यावश्यक सेवा प्रदायक सवारीसाधन निर्बाध रुपमा सञ्चालन हुन पाउनेछन् । तरकारी, फलफूल, खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ सामग्री, कुखुराको चल्ला र पशुपन्छीजन्य पदार्थ, भेटेरिनरीसम्बन्धी, इन्धनलगायत बस्तु ढुवानी गर्न पाउने व्यवस्था मिलाइएको छ ।