बुटवलको ईतिहासका बारेमा

मेचीकाली संवाददाता

३ मंसिर २०८१, सोमबार
252 shares

मेघराज भट्टराई

मानिसको लागि यो जीवन र जगत के हो भन्ने कुरा आज पनि धेरै चासोको विषय बनेको छ । हामी वरिपरीको यो सौर्यमण्डल, यो बह्रमाण्ड, हामी बस्ने पृथ्वी, हाम्रा अगाडी देखिने यि हिमाल, पहाड, पर्वत, खोलानाला, वनजंगल र जीवजन्तु कसरी बने होलान, अनि यो मानवको उत्पति कसरी भयो होला भन्ने विषय धेरै मानिसहरुका लागि गहिरो खोज र अनुसन्धानको विषय बन्दै आएको छ । विज्ञान र प्रविधिको विकासले एकातिर यि विषयमा खोज अनुसन्धान गरी तथ्यहरु पत्ता लगाउन सजिलो भएको छ भने अर्कोतिर नयाँ नयाँ प्रश्नहरु समेत उब्जाएको छ ।

यो बुटवल भौतिक रुपमा कहिले बन्यो होला, यसको ईतिहास कस्तो होला, कति पुरानो होला, यो बुटवलमा पहिला के थियो होला, कहिले देखि यहाँ मानिसहरु बस्न थाले होलान् र यो कसरी आजको अवस्था सम्म आइपुग्यो होला भन्ने विषय पनि बुटवलका बारेमा सरोकार राख्ने मानिसहरुका लागि चासोको विषय बनेको छ । बुटवलको ईतिहासका बारेमा अझै पनि प्रयाप्त खोज तथा अनुसन्धानहरु अगाडी बढाई तथ्यहरु प्रकाशमा ल्याउनुपर्ने आवश्यकता देखिन्छ । तथापी आज सम्म प्राप्त भएका ऐतिहासिक तथा पुरातात्विक सामग्रीहरु र जनश्रुतिका आधारमा विभिन्न बौद्धिक व्यक्तित्वहरु र खोज अनुसन्धानकर्ताहरुले बेला बेलामा केही तथ्यहरु बाहिर ल्याएका छन् जसले गर्दा बुटवलको ईतिहासका बारेमा केही कुराहरु जान्ने अवसर प्राप्त भएको छ । यस लेख मार्फत आजसम्म प्रकाशमा आएका लेख, रचना, तथ्य र जनविश्वासमा आधारित रहेर बुटवलको ईतिहासका बारेमा सन्र्दभ सामग्रीका रुपमा केही जानकारी प्रदान गर्ने प्रयास गरिएको छ ।

रामपिथेकस सभ्यताको बुटवल
करिब ६ अरब वर्ष अगाडी ब्याल्क होलको विस्फोट भएर यो ब्रहमाण्डको साथै सूर्य र सूर्यको वरिपरि घुम्ने ग्रह उपग्रहहरु सहित सौर्यमण्डलको उत्पति भएको वैज्ञानीकहरुले अनुमान गरेका छन् । शुरुमा जाज्वल्मान् ग्याँस (वायू) को रुपमा रहेको सौर्यमण्डलमा सूर्य सबैभन्दा ठूलो ग्याँस पिण्ड भएको हुनाले अन्य ग्रहहरु गुरुत्वार्कषणले खिचिई त्यसको वरिपरि घुम्न थाले । लाम्चा, तेस्रो आकारमा रहेका ग्याँसका थुप्राहरु घुम्दा घुम्दै क्रमश बाटुला डल्ला बनी एक एक वृत बनाई घुम्न थाले । ति ग्याँसका डल्लाहरु अरबौ वर्षमा सेलाउदै गएर ग्याँसका कणहरु जुड्दै नयाँ नयाँ तत्वमा फेरीदै ठोस अवस्थामा आइपुगे । पृथ्वीको उत्पति भएको २ अरब वर्षपछी ग्याँसहरु जम्दै गएर ठोस बन्न थाल्यो र यसको बाहिरी भाग ठोस हुदै गई भक्भकी उम्लिरहने पानी र जमिनको भाग छुट्टीन थाल्यो (प्रश्रित, २०७१) । पृथ्वी बहिर ठोस र भित्र तरल तथा अर्ध तरल हुदै गयो । त्यसपछिको १ अर्व वर्ष सम्म पनि पृथ्वीको तापमान ज्यादै भएकोले जीवको उत्पति सम्भव थिएन । आजको ३ अर्व वर्षदेखि जब पृथ्वीको बहिरी भागको तापक्रम १०० डिग्री सेल्सियसबाट तल ओर्लन थाल्यो, त्यसपछि विस्तारै पृथ्वीमा जीवहरुको उत्पतिका निम्ति अनुकुल वातावरण सृजना भयो (प्रश्रित, २०७१) । जीवनको शुरुवातका निम्ति आवश्यक कार्बन योग र जीवनको संवाहक प्रोटिनका अणुहरुको उत्पति भएपछी जीवनको शुरुवात सम्भव भयो । सूर्यको प्रशस्त प्रकाश पर्ने र नूनिलो पानी भएका समुद््र एवंम नदीका किनारहरुको छिपछिपे पानीमा स्वतस्फूर्त प्रजन्न वा रासायनिक रुपान्तरण बाट शुरुमा अति प्रारम्भिक अकोशिय जिवाणुहरु अस्तित्वमा आउन थाले र क्रमश एककोशिय र बहुकोषिय जीवको उत्पति भयो । पृथ्वीको तापमान घट्दै जाँदा भौतिक र रासायनिक तत्वहरुको सम्मिश्रण बढ्दै गई उति उति वनस्पति र जीवजन्तुहरुको आकार प्रकार फेरिदै गई आजको मानिसजस्तो जटिल प्राणीको विकास सम्भव भयो (प्रश्रित, २०७१) ।

पृथ्वीको उत्पति भईसकेपछिको लामो अवस्था सम्म पनि पृथ्वीको तापमान ज्यादै भएकोले ठूला ठूला भुईचालो र ज्वालामुखी आई पृथ्वीको धुरीको चक्र र जमिनमा असन्तुलन र अस्थिरता ल्याउथे (प्रश्रित, २०७१) । यसको परिणाम स्वरुप महासागर र महाद्धिपहरुको स्थिती फेरिएर एक ठाउँमा भएका सागर, द्धीप, पहाड, पर्वत, उपत्यका र मैदान अर्को ठाउँमा पुग्दथे (प्रश्रित, २०७१) । जति जति पृथ्वी सेलाउदै गयो उति उति यसको बाहिरी बोक्रा ठोस र बाक्लो भई ज्वालामुखी र भुईचालो कम हुदै गयो अनि महासागर र महाद्धिपहरुका स्थान पनि स्थायी हुदै गए (प्रश्रित, २०७१) । यो हिसाबले पनि महासागर र महाद्धिपहरुको स्थान स्थायी हुदै जानेक्रममा सबैभन्दा कान्छो पहाड भनेर चिनिने यस बुटवल संग जोडिएकोे चुरे पहाडको स्थान समेत स्थायी भएकोे समय देखी नै बुटवलकोे भौतिक अवस्थिती पनि बन्यो होला कि भन्ने अनुमान गर्न सकिन्छ ।

अर्को तर्फ मानवको उत्पति कहिले भयो भन्ने बारेमा विभिन्न खोजकर्ता तथा वैज्ञानिकहरुले गरेका अनुसन्धानहरु मध्ये विक्रम सम्वत २०३७ साल तिर अमेरिका र नेपालको संयुतm टोलीले गरेको खोजमा बुटवल र पाल्पाको सिमानामा पर्ने सिद्धबाबा मन्दिर क्षेत्रमा तिनाउ नदीको किनारमा आजभन्दा करिब १ करोड १० लाख बर्ष भन्दा पुरानो मानव जाति रामपिथेकसको दाँत भेटियो (जोशी, २०५३) । बानरबाट मानिसतिरको संक्रमणको शुरुवात गरेको नर वानर रामपिथेकस÷शिव पिथेकस नै वर्तमान मानवको पूर्व रुप भएको तर्क गरिएको छ । यसरी बुटवलको तिनाउ नदीको किनारका पहरामा टाँसिएको अवस्थामा फेला परेको दाँतका आधारमा विश्वमा आजसम्म फेला परेको केन्या र पाकिस्तान पछिको तेस्रो पुरानो आदिम मानव अवशेष भेटिएको स्थानका रुपमा बुटवलले मानव सभ्यताको प्राचिन इतिहास बोकेको छ (प्रश्रित, २०७१) । यस कारणले पनि बुटवल प्राचिन नरवानर र आदि मानवको विकास भएको क्षेत्रका रुपमा रहेको छ । यसबाट पनि के स्पष्ट हुन्छ भने बुटवल र मानवजीवनको सम्बन्ध लगभग मानवको उद्भवकाल देखी नै रहि आएको छ र बुटवलले आफुलाई आधुनिक मानवको उद्गम स्थलका रुपमा उभ्याएको छ ।

बुद्ध सभ्यताको उद्गम स्थल
बुटवलको ईतिहासका बारेमा चर्चा गर्दा बुटवललाई बुद्ध सभ्यताको उद्गमस्थलका रुपमा समेत चिनिन्छ । बुटवल प्राचीन शाक्य बंशीय राज्यको भूभाग अन्र्तगत पर्दथ्यो भने भगवान गौतम बुद्धको जन्म यही राज्य अन्र्तगत बुटवल देखि करिब ४० किलोमिटर दक्षिणी भेगमा भएको थियो । जितगढी र बुटवलको ईतिहासका बारेमा लामो समय देखी खोज अध्ययन गर्दै आउनुभएका रविन्द््र गोपाल लाकौलले डा. फोहररको The Birth Place of Buddha in Terai किताबमा शाक्य राज्य अन्र्तगत रुपन्देहीमा दहरगावा, केदली, सैनामैना, ढवाहा, लुम्बिनी, पडरिया सहित भटौली गाउँ प्रमुख गाउँका रुपमा रहेका कुरा उल्लेख भएको बताउनु हुन्छ । लाकौलले त्यस बेलाको भटौली गाउँ अहिलेको बुटवल आसपासको गाउँ भएको तर्क गर्नुहुन्छ । अर्को तर्फ उहाँका अनुसार राजा शुद्धोदनका गुरु ऋषि कालदेवल नुवाकोट डाँडाँको आसपास तपस्या गरेर बस्नुहुन्थ्यो र राजकार्यका लागि राजधानी जाँदा आउँदा यही बाटोको प्रयोग गनुहुन्थ्यो । यस कारणले पनि बुटवल त्यस बेला पनि मानव बसोबासको क्षेत्र रहेको थियो । यस्तै गरी बुटवलको पूर्वी सिमानामा रहेको देवदह गौतम बुद्धको मावली थियो । सिद्धार्थ शाक्यमुनि बुद्ध आफ्नो मावली जाँदा र आफ्नो राज्यका विभिन्न भागहरुमा जाँदा बुटवल क्षेत्र वरपर पनि आउने जाने गर्नुहुन्थ्यो भन्ने जनविश्वास रहेको छ । यस कारणले पनि बुटवललाई गौतम बुद्ध बाल्यकालमा खेल्ने स्थानका रुपमा समेत चिनिन्छ । अर्को तर्फ शाक्य गणराज्य र कोलिय गणराज्यको सिमानाका रुपमा रहेको तिनाउ–रोहणी नदीको पानी कसले प्रयोग गर्ने भन्ने विषयमा कोलीय र शाक्य राज्य बिच भएको झगडाको मध्यस्थता शाक्यमुनि बुद्धले गरेको प्रसंगले समेत गौतम बुद्ध बुटवल वरपर क्षेत्रमा आउने कुरा स्वभाविकै थियो (भट्टराई, २०५९) । यसरी गौतमबुद्धको जन्म र बुद्धको ज्ञानको उद्भव समेत यही क्षेत्रबाट नै भएकोले यसलाई बुद्ध सभ्यताको उद्गम स्थलका रुपमा समेत चिनिन्छ ।

तिलोत्तमा– तिनाउ–रोहिणी नदीे सभ्यताकोे बुटवल
विभिन्न खोज अनुसन्धानका आधारमा मानव सभ्यताको विकास नदीघाटीमा नै भएको देखिन्छ । संसारका सबैभन्दा पुराना मानव सभ्यताहरु पनि नदीको किनारमा विकसित भएका छन् । बाहिरी आक्रमण बाट सुरक्षित हुन, खेतीपाती र पशुपालनका निम्ति आवश्यक पानी सहज तरिकाले उपभोग गर्न र जीविको—पार्जनका लागि आवश्यक अन्य बस्तुहरु जुटाउन पनि सजिलो हुने हुनाले मानिसहरु नदीघाटीको समथर भूभागमा बस्ती बसेको अनुमान छ । बुटवल पनि महाभारत र चुरे पहाडलाई मूल बनाई बगेको तिलोत्तमा नदी तराईको समथर भूभाग प्रवेश गर्ने शिरबाटै अवस्थित छ । तिलोत्तमा सभ्यताको रुपमा समेत परिचित तिनाउ र दानव नदीको किनारमा अवस्थित यस बुटवलको आफ्नै मौलिक सभ्यता रहेको छ । पाल्पाको देवीनगर लेमधेम र देवगिर बाट उद्गम भई माडी हुदै दोभान बाट बगेको यस नदीको नाम पाल्पाको माडीमा रहेको माण्डव्य ऋषिको तपस्या स्थलमा नाँचगान गर्न आउने तिलोत्तमा नामकी अप्सराको नामबाट राखिएको कुरा ईतिहासका जानकारहरु बताउनु हुन्छ । यस तिलोत्तमा नदी कालान्तरमा अपभ्रन्श भई तिनाउ नदीका रुपमा चिनिन थालिएको कुरा ईतिहासका अध्येता झपेन्द्र जिसी बताउनु हुन्छ । बुटवलको उत्तरी भेगबाट दक्षिण तिर बग्ने यस नदीको किनारका विशाल समथर भूभागमा प्राचिनकाल देखी नै मानव बसोबास रहेको तथ्यहरु पाइन्छ । अर्को तर्फ त्यस बेला अहिलेको तिनाउ नदी सिद्धबाबा नजिकबाट दक्षिण तर्फ लागी बुटवलको पूर्वमा रहेको धागो कारखाना तिरबाट दक्षिण–पूर्व बग्दै पूर्वबाट आएको नदी संग मिलेर रोहिणीका नामले चिनिन्थ्यो भन्ने गरिन्छ (भट्टराई, २०५९) । रोहिणी नदीको पानी कसले प्रयोग गर्ने भन्ने विषयमा प्राचिन कोलिय र शाक्य गणराज्य बिच बारम्बार हुने गरेको विवादका प्रसंगमा समेत यस तिलोत्तमा नदीलाई जोडेर हेर्ने गरिन्छ । यस कारणले पनि बुटवल प्राचिन कालदेखी नै तिनाउ–तिलोत्तमा–रोहिणी नदीको सभ्यता संग जोडिएको पाइन्छ (भट्टराई, २०५९) ।

सेन राज्यको बुटवल
ईतिहासका विभिन्न काल खण्डमा बुटवल शाक्य वंशिय राज्य, लिच्छीवी राज्य, पश्चिमको खस राज्य र पाल्पा सेन राज्यका रुपमा रहेको कुरा विभिन्न अध्यनहरुले जनाएका छन् । मध्यकालमा मुगलहरुको आक्रमणका कारणले भारतको प्रयागबाट धपिएर आएका तुथासेनले राजपुर तथा बुटवल वरपरको क्षेत्र आफ्नो अधिकारमा लिएको पाइन्छ (शाक्य, २०५५) । पछि गएर यसै बंशका रुद््रसेनले विक्रम सम्वत १५५० तिर पाल्पामा सेन वंशको राज्य स्थापना गर्दा बुटवल यसै राज्य अन्र्तगत रहेको पाइन्छ (नेपाल, २०५३) । उनका छोरा (मणी)मुकुन्द सेन प्रथमले पाल्पालाई विभिन्न राज्यमा विभाजन गरी आफ्ना उत्तराधिकारीहरुलाई शासन गर्न जिम्मा दिएपछि बुटवल छुट्टै राज्यको रुपमा रहेको पाइन्छ (शाक्य, २०५५) । मुकुन्द सेन प्रथमले बुटवल राज्य जेठी रानी पुष्पमालाका छोरा विनायक सेनलाई दिएकोले विनायक सेन स्वतन्त्र बुटवल राज्यका प्रथम राजा भएको पाइन्छ र यिनले नै बुटवल राज्यको नाम विनायकपुर राखेको पाइन्छ (नेपाल, २०५३) । विनायक सेन पछि बुटवल राज्यमा विभिन्न राजाहरुले शासन गर्दै अमर सेनका पालासम्म आइपुगेको देखिन्छ । अमर सेनका पालामा पाल्पा राज्यका राजा त्रिलोक सेन निसन्तान रहेकोले उनको निधनपछि पाल्पालाई समेत मिलाई अमर सेनले राज्य गरेको देखिन्छ (शाक्य, २०५५) । यसरी विक्रम सम्वत १७१० देखी बुटवल फेरी पाल्पा राज्यमा विलय भएको पाइन्छ (नेपाल, २०५३) । त्यसपछी पाल्पा राज्य अन्र्तगत अमर सेनका उत्तराधिकारीहरु गन्र्धव सेन, मणिमुकुन्द सेन द्धितिय हुदै पाल्पाका अन्तिम राजा पृथ्वीपाल सेनको विक्रम सम्वत् १८६३ मा हत्या नहँुदा सम्म पाल्पा राज्यमा सेन वंशले शासन शुरु गरेको बुझिन्छ (न्यौपाने, २०५५) ।
सेन राज्यकालमा बुटवलमा विभिन्न मन्दिर, महल र गढीहरुको निर्माण भएको पाइन्छ भने मुकुन्द सेन प्रथम कालिन शिलालेख बुटलको फुलबारीमा भेटिएको मानिन्छ । बुटवलको फुलबारीमा रहेको दरबार मुकुन्द सेन प्रथमको पालामा बनेको अनुमान छ (नेपाल, २०५३) । राजा मुकुन्दसेनले शितकालमा यस दरबारमा बसी प्रशासनिक कार्यहरु सम्पादन गरेको पाइन्छ । यो दरबार विभिन्न पाल्पाली राजाहरुले अन्तिम समयसम्म पनि प्रयोग गरेको पाइन्छ । यसका अतिरिक्त नेपाल अंग्रेज युद्धमा समेत यसको प्रयोग भएको पाइन्छ (नेपाल, २०५३) ।

जितगढी किल्लाको बुटवल
बुटवललाई जितगढी किल्लाको शहरका नामले समेत चिनिन्छ । सेन वंशिय पालामा बाहिरी दुश्मनहरुबाट हुने आक्रमणको प्रतिरक्षाका लागी बुटवल पाल्पा आवतजावत गर्ने नुवाकोटमा रहेको नुवाकोट गढी देखी तिनाउ नदीको किनारसम्म सुरुङ खनेर तिनाउ र दानव नदी किनारमा पर्खाल निर्माण गरेको अनुमान छ (नेपाल, २०५३) । विक्रम सम्वत् १८७२ तिर नेपाल अंग्रेज युद्धका बेला कर्णेल उजिरसिह थापाले नेतृत्व गरेको नेपाली सेनाले तत्कालिन विट्रिस सेनालाई जितगढी किल्लामा हराएको थियो । संसारमा कतैपनि पराजित नभएको तात्कालिन साम्राज्यवादी सेनालाई हराएर नेपालले जितगढी किल्लाको युद्ध मार्फत आफ्नो विरताको गौरवगाथा लेखेको छ । ऐतिहासिक विजयको प्रतिक यो जितगढी किल्लाले नेपालीको रणकौशलता, अदम्य साहस, पौरख, विरता र देशभक्तिलाई सदा चित्रित गर्दै बुटवलको इतिहास बोकेको छ ।

प्राचिन व्यवसायको संगम स्थल बुटवल
बुटवलले प्राचिन कालदेखी नै व्यवसायको संगम स्थलका रुपमा आफ्नो इतिहास बोकेको छ । प्राचिन तिब्बत–नेपाल–भारत व्यवसायमा यस बुटवलको बाटो प्रयोग भएको, चिनिया नागरिक ह्वाङ स्याङ लुम्बिनी जाँदा यही बाटो भएर गएको लगायत अन्य दृष्टान्तहरुले बुटवलको ऐतिहासिकतालाई प्रष्ट पारेको छ । प्राचिनकालमा रेशमी मार्ग चिनको सियान शहरबाट कालीगण्डकीको तिरैतिर हुदै बुटवल आसपासबाट भारत संग जोडिएको प्रंसगले पनि प्राचिन समयदेखि नै तराई मधेसका सामान पहाड हुदै भोट–चिन र भोट–चिनका सामानहरु मैदानी राज्यहरुमा पुर्याउने प्रसिद्ध व्यापारिक केन्द्रको रुपमा बुटवल रहेको थियो (आर्चाय, २०५९) । सेन राज्यकालमा पनि बुटवल पहाड र तराईको व्यापारिक संगम स्थल रहेको थियो । भारतमा अंग्रेज साम्राज्य नआउदा सम्म बटौलीको हाटमा भोट र पहाड बाट ल्याउने ऊन, नून, पाखी, जडिबुटी, कस्तुरी, घोडा, धातु, बास निगालाका समान र तराईबाट पहाड भोट तिर जाने शंख, मुगा, श्रिखण्ड, गडी आदि कारोबारका लागि प्रसिद्ध थियो । आज भन्दा करिब २०० वर्ष अगाडी बुटवलमा बसोबास गरेका अवधीहरु संगबाट नेपाल, भोट र भुटानका व्यापारीले नून, सुनको धाउ, पित्तल, फलाम, मैन आदि बिक्री गरी कच्चा कपास, कपडा र मसला आदि खरिद गर्ने गर्दथे (शाक्य, २०५५) । विगत देखी नै पहाडबाट नुवाकोटको बाटो बुटवलमा ध्यू झार्ने र बुटवलबाट पहाडतिर नून, मट्टीतेल, मिश्री, गुन्यू अदि लिएर जाने गरिन्थ्यो ।

बुटवल आसपास जिल्लाका मानिसहरु आफुले उत्पादन गरेका वस्तुहरु बेच्ने र नून, तेल, लत्ता, कपडा लगायत अन्य विभिन्न बस्तुहरु खरिद गर्न बुटवल आउथे (नेपाल, २०५३) । यिनै दृष्टान्तहरुले बुटवल प्राचिन काल देखी नै व्यापार व्यवसायको केन्द्र रहेको प्रष्ट हुन्छ । अर्को तर्फ विक्रम सम्वत २०१० साल अगाडी सम्म तिनाउ पारी हालको वडा १ र २ बुटवलको मुख्य बजारका रुपमा रहेको थियो । २०२० सालभन्दा अगाडी सम्म लाहुर बाट आउने लाहुरेहरुका लागि बास बस्ने स्थानका रुपमा केही साना होटल र केही बस्तीहरु मात्र वारी बुटवलमा रहेको थियो । बुटवलको मुख्य शहर पारी बुटवल थियो भने वारी बुटवल बनजंगलले ढाकिएको थियो । औलो मलेरिया जस्ता रोगहरुको बिगबिगी रहेको थियो । तर विस्तारै २०२० साल पछाडि पहाडका विभिन्न ठाउँहरु बाट मानिसहरु आई बनजंगल फाँडेर बस्न शुरु गरे र विस्तारै वारी बुटवल शहरका रुपमा विकास हुदै आजको अवस्थासम्म आई पुग्यो ।

बुटवल नामको इतिहास
बुटवल नामका बारेमा विभिन्न प्रकारका धारणाहरु र जनश्रुतिहरु रहेको पाइन्छ । ईतिहासमा कहिले यसलाई बटौली, कहिले खस्यौली र कहिले बुद्धवल्लीका नामले पनि उच्चारण गरेको पाइन्छ । एक धारणा अनुसार गौतम बुद्धकी आमा मायादेवीको माइती हालको बुटवलबाट पूर्वतर्फको सिमाना रहेको देवदहमा थियो । अत बुद्धको मावली नजिकको स्थानमा पर्ने हुदाँ बुद्धको नामबाट बुद्धबल्ली भनिदै कालान्तरमा अपभ्रन्श भई बटौली हुदै बुटवल भन्न थालिएको हो (नेपाल, २०५३) । अर्को जनश्रुति अनुसार सन् १८७२ तिर जितगढी किल्लामा आक्रमण गर्न विट्रिस सेना आएको बेला जनरल उडले पहाडको बाटो घनघोर बनजंगल देखेपछी आफ्ना सैनिकलाई त्यहाँ के छ बुझेर आउनु भनेर आदेश दिएपछि ति सैनिकले There is Nothing But Wall भन्ने जवाफ दिएको हुदाँ पछि त्यो वटवाल हुदै बुटवल भयो भन्ने जनधारणा पाइन्छ (नेपाल, २०५३) । यस्तै अर्को जनधारणा अनुसार बुटवल वरपरका पहाडी र तराईका जिल्लाहरु बाट मानिसहरु आएर आफुलाई आवश्यक नून, तेल, लत्ताकपडा र विभिन्न मालसमानहरु खरिद गरी संकलन गर्ने हुँदा पछि गएर यसलाई बटुल्ने ठाउँ भन्न थालियो र विस्तारै बटुल्ने शब्द अपभ्रश भई बटौली हुदै बुटवल हुन पुग्यो । ठाउँठाउँबाट मान्छे बटुलिएर बटौली बनेको हो भन्ने धारणा रहेको छ (नेपाल, २०५३) ।

अर्कोथरीका अनुसार खस राज्यका सेना काठमाडौं आक्रमण गर्न जाँदा र फर्कदा बुटवल वरपर बसी आराम गर्ने गदथे । यसरी खसहरु बेला बेलामा आई बस्ने गरेकोले यसलाई खस्यौली भनियो भन्ने जनधारणा समेत रहेको छ । तर ईतिहासकार झपेन्द्र जिसीले पश्चिमबाट बुटोला जातिका व्यापारीहरु आएर हालको पारी बुटवलमा बसेको हुनाले बटौली हुदै बुटवल नामाकरण भएको हो र हालको वारी बुटवल स्थित गोलपार्क आसपास पहाडिया खस आई बसोबास गर्न शुरु गरेकोले यसलाई खस्यौली भनिएको हो भन्ने धारणा राख्नुहुन्छ । यसरी बुटवल नामको बारेमा विभिन्न प्रकारका जनधारणाहरु रहेको पाइन्छ ।

अन्त्यमा, आजसम्म प्राप्त भएका जानकारीका आधारमा बुटवलको ईतिहास मानव सभ्यताको उद्गम अवस्थादेखी नै रही आएको छ । चुरे पहाडको काखमा र तिनाउ नदीको किनारमा अवस्थित बुटवलको आफ्नै प्राचिन र मौलिक ईतिहास रहेको छ जसले बुटवललाई विश्वकै प्राचीन शहरका रुपमा उभ्याएको छ । तथापि अझै पनि विभिन्न खोज अनुसन्धानहरु मार्फत बुटवलको प्राचीन ईतिहासलाई थप प्रमाणिक बनाई यसलाई समृद्ध बनाउनु पर्ने आवश्यकता छदैछ ।

सन्दर्भ सामग्री
– आर्चाय, राजेन्द्र कुमार, बुटवलको ऐतिहासिक सांस्कृतिक महत्व, बुटवल स्मारिका, २०५९
– नेपाल, माधव बुटवलको इतिहास, बुटवल स्मारिका, २०५३
– न्यौपाने, डा.कृष्ण बुटवल र नुवाकोटको ऐतिहासिक पक्षलाई खोतल्दा, बुटवल उत्सव, २०५५
– प्रश्रित, मोदनाथ जीवाणुदेखी मानव सम्म, माइलस्टोन प्रकाशन तथा प्रसारण लि., २०७१
– बुटवल उपमहानगरपालिका, आर्थिक वर्ष २०७४/७५ का लागि नगरसभाबाट पारित ऐन, निति तथा नियमहरु, २०७४
– भट्टराई, पं बाबुराम. बुद्ध, बुटवल र तिनाउ–रोहिणीको सम्बन्ध, बुटवल स्मारिका, २०५९
– जोशी, वसन्तध्वज बुटवलमा यातायात र सञ्चारः हिजो र आज, बुटवल स्मारिका, २०५३
– शाक्य, विमल बहादुर बुटवल नगरपालिकाः एक संक्षिप्त परिचय, बुटवल स्मारिका, २०५५