जीवन बदल्ने १० सर्वश्रेष्ठ किताब

मेचीकाली संवाददाता

१६ भाद्र २०७८, बुधबार
942 shares

ओम बानियाँ
एउटा प्रसिद्ध लोकोक्ति छ–पढेरभन्दा परेर जानिन्छ । तर, यो लोकोक्ति पूर्णसत्य छैन, अर्धसत्य छ । त्यो किनभने पढेर पनि जानिन्छ, परेर पनि जानिन्छ । तर पढेर धेरैलाई परेको जानिन्छ, परेर आफूलाई परेको मात्र जानिन्छ । त्यसैले पढेर भन्दा परेर जानिन्छ भन्ने भ्रममा बस्नु कदापि ठीक छैन ।

जुनसुकै पेशाव्यावसाय अपनाए पनि किताब पढ्न छोड्नु हुँदैन । त्यो किनभने जीवनमा केही नयाँ गर्न पढ्नैपर्छ । अघि बढ्न पढ्नै पर्छ । नपढी कुनै पनि क्षेत्रमा राम्रोसँग अगाडि बढ्न सकिँदैन । सफलता प्राप्त गर्न सकिँदैन । कुनै बिल गेट्सले दिनको १५÷ १५ घण्टा पढ्ने गर्थे, अहिले पनि पढ्ने गर्छन् ।

पढाइको कुरा गर्दा मानिसको दिमागमा के पढ्ने ? कति पढ्ने ? कसरी पढ्ने ? जस्ता प्रश्नहरु खडा हुन्छन् । अहिलेको जमनामा पढ्नु पर्ने किताबहरु भनेको स्वास्थ्य, शिक्षा, उत्प्रेरणा र आफ्नो पेशा व्यावसाय वा लक्ष्यसँग सम्बन्धित किताबहरु हुन् । तर किताबको महासागरमा कतिपय यस्ता किताबहरु छन्, जुन सबैले पढ्नुपर्छ, एक पटक होइन, बारम्बार पढ्नुपर्छ । किताबरुपी महासागरका यस्ता मोतीहरु कुनकुन हुन् त ? यस आलेखमा म यस्ता १० प्रसिद्ध किताबहरुको चर्चा गर्न गइरहेको छु, जुन किताबहरुले मानिसलाई स्वस्थ, निरोगी, सधैँ उत्प्रेरित, ऊर्जाशील राख्न मात्र होइन कि दिमागको बत्ती बाल्न सहयोग गर्ने छन् ।

नम्बर १० किताबः
१० सर्वश्रेष्ठ किताबको लिस्टमा मैले दशौँ नं. मा डा. दिपक चोपडाको किताब परफेक्ट हेल्थलाई राखेको छु । परफेक्ट हेल्थ विषयको एक श्रेष्ठ सेल्फहेल्प किताब हो । यो किताब प्राचीन आयुर्वेदिक ज्ञानमा आधारित छ । यसलाई माइण्डबडी मेडिसिनको एक सम्पूर्ण किताब भने पनि हुन्छ । तनमनलाई स्वस्थ राख्न यो किताब निकै उपयोगी छ । यो किताब सबैले पढ्नै पर्ने किताबहरुमध्ये एक हो ।

नम्बर ९ किताब:
नवौँ नम्बरको किताब हो, डेल कार्नेगीको विश्वप्रसिद्ध किताब हाउ टु विन फ्रेण्डस् एण्ड इन्फलुन्स पिपुल । सन् १९३६ मा प्रकाशित यस किताब अहिले पनि उत्तिकै चर्चित छ, उपयोगी पनि त्यत्तिकै छ । यस किताबले तपाईंलाई सबैको प्रिय, आर्कषक तथा अझ सफल बनाउनका लागि सामाजिक तथा वार्तालाप कौशललाई कसरी प्रभावकारी बनाउने कुरा सिकाउँछ ।

नम्बर ८ किताबः
आठौँ नम्बरको किताब हो, थिंक एण्ड ग्रो रिच । नेपोलियन हिलद्वारा लिखित यस किताब सन् १९३७ मा प्रकाशित भएको थियो । यस किताब अहिलेसम्म १० करोड प्रति विक्री भइसकेको छ र लाखौं मानिसहरुको जीवन परिवर्तन गर्न सफल भएको छ । यस किताबले तपाईंलाई पनि त्यस्तै सहयोग गर्ने छ । यो किताब सबैले पढ्नै पर्ने किताब हो ।

नम्बर ७ किताबः
सातौं नं.को किताब हो, द फिलिंग गुड । फिलिगं गुड मनोचिकित्सक डेबिड बर्नको एक श्रेष्ठ किताब हो । यो किताब कग्निटिभ थेरापिमा आधारित सेल्फहेल्प किताब हो । यस किताबमा नकारात्मक सोच तथा संज्ञानात्मक विकृतिहरुको पहिचान गर्ने र त्यस किसिमको सोचहरु हटाइ कसरी मुड ठीक राख्ने मनोवैज्ञानिक टेक्निकहरु उल्लेख छ । यो किताब हरेक मानिसहरुको लागि उपयुक्त छ ।

प्रसिद्ध गणितज्ञ तथा तर्कशास्त्री पीडी आस्पेन्स्कीको किताब, टर्शियम आर्गनम मलाई निकै मन परेको किताब हो । टर्शियम आर्गनमका मतलव हो, विचारको तेस्रो सिद्धान्त । आस्पेन्सकीले यस अदभूत तथा अतुलनीय किताबको नाम किन राखे भने यस किताबभन्दा पहिला दुई वटा अन्य किताबहरु लेखिएका थिए । पहिलो किताब एरिस्टोटलले लेखेका थिए, जसलाई एरिस्टोटलले आर्गनम भनेः विचारको पहिलो सिद्धान्त । अनि दोस्रो किताब बेकनले लेखे, जसलाई बेकनले नाम दिए, नोवम आर्गन, विचारको नवीन सिद्धान्त । अनि आस्पेन्सकीले विचारको तेस्रो सिद्धान्त लेखे । अनि भने, तेस्रो सिद्धान्त पहिलोभन्दा पूर्व मौजुद थियो । यस किताब यति रहस्यले भरिएको छ कि किताबको हरेक पृष्ट, हेरक वाक्यांश, हरेक वाक्य तथा हरेक शब्द अर्थगर्मित छ ।

नम्बर ६ किताब
छैठौँ नम्बरको किताब हो, द अल्केमिस्ट । द एल्केमिस्ट पाउलो कोइल्होद्वारा लिखित एक चर्चित उपन्यास हो । सन् १९८८ मा प्रकाशित यस उपन्यास पोर्चुगिजमा लेखिएको थियो । अहिलेसम्म यस किताब बिभिन्न भाषामा गरेर ६ करोड ५० लाख प्रति विक्री भइसकेको छ । यो उपन्यास रोचक मात्र छैन, ज्ञानबद्र्धक र मानिसको जीवन नै परिवर्तन गर्ने खालको छ ।

नम्बर ५ किताबः
पाचौँ नम्बरको किताब हो, मैन्स सर्च फर मिनिंग । यस किताब भिक्टर फ्रैंकलद्वारा सन् १९४७ मा लेखिएको किताब हो । अहिलेसम्म यस किताबका एक करोडप्रति विक्री भइसकेका छन् । एक अध्ययनका अनुसार यो किताब अमेरिकाका १० प्रभावशाली किताबहरुमध्येको एक हो । यो किताबले दोस्रो विश्वयुद्धको बेला आशविट्ज शिविरमा कैदीको रूपमा रहदा फ्रैंकलको अनुभव वर्णन गर्दछ । आमाबुबा, भाइ र गर्भवती पत्नीको मृत्यु हँदा उनी के कस्ता मनोचिकित्सा पद्धतिहरुको अपनाएर कैदमा बाँचेको थिए भन्ने कुरा उल्लेख छ । फ्रेंकल तर्क दिन्छन् कि–हामी दुःखपीडाबाट बच्न सक्दैनौं, तर हामी यसलाई कसरी प्रतिक्रिया दिने हो भन्ने छनौट गर्न सक्छौं । र, अगाडि बढ्नको लागि हाम्रो अनुभवको उपयोग गर्न सक्छौं ।

नम्बर ४ किताबः
चौथौँ नम्बरको किताब हो, द पावर अफ पोजिटिभ थिकिगं । नर्मन भिन्सेन्ट पिलद्वारा लेखिएको किताब हो । यस किताब अहिलेसम्म ५० लाख प्रति विक्री भइसकेको छ । यस पुस्तकले तपाईँलाई कसरी आफैंमा विश्वास गर्ने, चिन्ता गर्ने बानी हटाउने, र आफ्नो दृष्टिकोण परिवर्तन गरेर जीवन नियन्त्रित गरेर सफलतातिर अगाडि बढ्ने सिकाउँछ ।

नम्बर ३ किताब
तेस्रो नम्बरको किताब हो, द सेभन हेबिट अफ हाइली इफेक्टिभ पिपुल । द सेभन हेबिट अफ हाइली इफेक्टिभ पिपुल सिटिफन कोवीद्वारा १९८९ मा लेखिएको एक चर्चित किताब हो । यस किताब अहिलेसम्म २ करोड ५० लाख प्रति विक्री भइसकेको छ । यस किताबमा कोवीले प्रायजसो सेल्फहेल्प किताबहरुमा उल्लेख गरिने व्यक्तित्व नैतिकताको विरुद्धमा तर्क दिएका छन् । उनेले चारित्रिक नैतिकतालाई महत्व दिएका छन् ।

नम्बर २ किताब ः
दोस्रो नम्बरको किताब हो, रिच डैड पुर डैड । रिच डैड पुर डैड किताब रोबर्ट कियोसाकीद्वारा लिखित एक चर्चित किताब हो । यो किताब फाइनान्स म्यानेज्मेन्टको एक श्रेष्ठ किताब हो । किताबमा रोबर्ट कियोसाकीको दुई पिताहरु छन्, एक धनी छन् । अर्को गरिब छन् । तपाईंलाई लाग्न सक्छ २ पिता कसरी ? एक उनको जनमदाता पिता हुन्, जो गरीब थिए । अर्को उनको बेस्ट फ्रेण्डको पिता हुन् जसलाई रोबर्टले आफ्नो पिता नै मान्थे । जन्मदाता पिता गरीब थिए, तर उनी निकै पढेलेखेका थिए । अर्को धनी पिताले भने स्कुलको पढाइलेखाइ पनि पूरा गर्न सकेका थिएनन् । दुवैले जीवनका खुब मेहनत गरे । तर पैसाको मामलाको दुवैको राय बिलकुल अलग थियो ।

नम्बर १ किताबः
दश सर्वश्रेष्ठ किताबको लिष्टमा पहिलो नम्बरको किताब हो, श्रीमद्भगवत्गीता । श्रीमद्भगवत्गीता हिन्दूहरुको पवित्र ग्रन्थ मात्र होइन, यो मनोचिकित्सा हो, सकारात्मक मनोविज्ञान हो, मोटिभेसन तथा सफलताको मार्गदर्शक हो । भनिन्छ, संसारका जति पनि किताबहरुमा जे जे छ, त्यो सबै यस किताबमा छ, यस किताबमा जे छैन, त्यो संसारका कुनै किताबहरुमा पनि छैन । अतः यो किताब सबैले पढ्नै पर्ने किताब हो । गहन रुपमा यो किताब पढ्ने र बुझ्ने हो भने अरु किताबहरु पढ्नै पर्दैन । तपार्इंले खोजेका हरेक कुराहरु यस किताबमा छ ।

अतः यी किताबहरु आफ्नो लाइब्रेरीमा राख्नुहोस् । एक पटक होइन, पटक–पटक पढ्नुहोस् । किताबामा उल्लेखित विषयमा चिन्तनमनन गर्नुहोस् । कहिलेकाहीँ त किताबको एउटा वाक्यले नै शारा जीवन बदलिन सक्दछ । घरमा लाइब्रेरी छैन भने एउटा चिटिक्कको लाइबे्ररी बनाउनुहोस् । घरमा लाइब्रेरी भएपछि घरमा पढ्ने वातावरण पनि बन्छ । लाइब्रेरी भोलिका सन्ततीका लागि अमुल्य उपहार पनि हो ।
अर्को कुरा दशैंतिहारमा, अन्य चाडपर्वमा, जन्मदिनमा, विवाह तथा पास्नी आदिमा कट्कटिया नोट तथा लुगाफाटा दिनु भन्दा नयाँ कट्कटिया किताब दिन सुनमा सुगन्ध छरे जस्तो हुन्छ, मेरो बिचारमा । (लेखक साइकोथेरापिष्ट तथा मेमोरी ल्याब प्रमुख हुन् ।)