सुखी जीवन बिताउने तरिका

मेचीकाली संवाददाता

१३ मंसिर २०८१, बिहीबार
85 shares

टेकराज पन्थी

आत्मसन्तुष्ट हुनुलाई सुख भनिन्छ । आन्तरिक आत्माको शान्ति र आफूले चाहेको चिज प्राप्ति हुनु पनि सुख हो । सुखको खोजीमा मानिस जन्मदेखि नै भौतारीरहेको हुन्छ । सुखी हुने इच्छा सबैमा हुन्छ, तर चाहना भएर मात्र के गर्ने सुख भन्ने चिज न त कसैको वशमा हुन्छ न त कसैले इच्छा गर्दैमा पाइन्छ । मानिस सुख प्राप्तिका लागि जुझारू भएर लागिरहेका हुन्छन् । त्यसको विपरीत सुख भने टाढाटाढा भागिरहेको हुन्छ । सुखलाई यकिन अर्थमा मापन गर्ने कुनै साधन छैन । कुनै व्यक्ति एउटा परिस्थिमा सुखी हुन्छ भने अर्को व्यक्तिलाई सुखी हुन उक्त परिस्थिति काफी नहुन सक्छ । त्यसैले सुखी हुनका लागि प्रत्येक व्यक्तिलाई अलग परिस्थिति र भिन्न तत्वको आवश्यक हुन्छ । विभिन्न मनोवैज्ञानिक तथा विश्लेशकहरूले सुखलाई आ–आफ्नै अर्थमा परिभाषित गरेका छन् ।

कसैले सुखलाई धन सम्पति संघ तुलना गर्छन् भने कसैले मनभित्रको शान्तिलाई सुख सम्झन्छन् । त्यसैले धन सम्पति नहुने मान्छे कसरी धेरै पैसा कमाएर सुखी हुने भन्ने प्रयत्न गर्छन् तर अथाह धन र सम्पतिले मात्र मानिस कहाँ सुखी हुन्छ र ? सम्पन्न मानिसहरू सुखी हुन्छन् भन्ने भनाइ सत्य होइन । त्यस्ता मानिस आफन्तको अभाव, पारिवारिक चिन्ता, राजनीतिक संकट आदिजस्ता समस्याले दुःखी हुन सक्छन । त्यसैले सुख भन्ने चिज न त धन सम्पतिको वसमा छ, न त पारिवारिक ममतामा सिमित हुन्छ । यो संधै एक पछि अर्को आवश्यकता बढे जस्तै अजङ्ग भएर बढी रहन्छ ।

तर यसो भन्दैमा संसारमा सुखी मान्छे नै छैनन् भन्न खोजेको चाहिँ अवश्य होइन । यो विश्वमा यति धेरै सुखी मान्छेहरू पनि छन् जो आफूमात्र बाँच्न होइन, आफूमात्र सुखी हुनको लागि होइन, विश्वका हरेक मानिसलाई सुखी बनाउन चाहन्छन् र सम्पूर्णलाई जगतलाई बचाउन चाहन्छन् । त्यसैले सुखी मानिसहरू नै विश्वका सफल मानिसहरू हुन् ।

भगवान् गौतम बुद्ध सधैँ सुखी थिए तर उनले आफ्नो मात्र सुख चाहेनन्, विश्व मानव जगतको सुखको खोजीमा उनि भौतारिए । फ्लोरेन्से नाइटिगेलले अरूको सुखको लागि आफ्नो सुखलाई भुलिन् र अरूको सेवामा रूझिन् । त्यसैले सुखी हुनको लागि कसैलाइ भौतिक वस्तुको आवश्यकता पर्छ भने कसैलाई आन्तरिक मोक्षको जरूरत पर्छ । एउटा बालक खेलौना पायो भने रम्न थाल्छ र सुखी हुन्छ तर त्यो बालक जब जवान हुन्छ उनलाई त्यो चिज सुखी हुनको लागि काफी हुन्न । त्यसैले सुखी हुने चिज समय, परिस्थित र व्यक्तिको अन्तर्निहित इच्छा मोहसँग गाँसिएको हुन्छ ।

हरेक वर्ष विश्वमा बिभिन्न निकायले कुन देशमा कति मानिस सुखी छन् भनेर अनुसन्धान गर्ने गरेका छन् । झट्ट हेर्दा विकसित मुलुक अविकसित तथा विकासोन्मुख राष्ट्रभन्दा सुखी हुनु पर्ने हो तर अध्ययनले एकिन रूपमा त्यस्तो देखाएको छैन । मानव स्वतन्त्रता, स्वास्थ्य, शिक्षा, उदारता, मृत्युदर आदिजस्ता तत्वलाई आधार बनाएर गरिएको सर्वेक्षणले डेनमार्कलाई बिश्वको प्रथम सुखी राष्ट्रको रूपमा पाएको छ भने त्यसपछिका देशहरूमा नर्वे, नेदरल्यान्ड, स्विजरल्यान्ड, स्विडेन, क्यानाडा, फिनल्याण्ड, अस्ट्रेलिया, आइसल्याण्ड आदि रहेका छन् । तर अमेरिका धनी राष्ट्र भएर पनि सुखीको स्थान पछाडि छ । नेपाल १५६ स्थानमा रहेको उल्लेख गरेको पाइन्छ ।

सुखी हुनको लागि विभिन्न समय र परिस्थितिले असर पारेको हुन्छ । सुखी हुनु खोज्नु मानिसको नैसर्गिक अधिकार हो । जीवन लामो लागे पनि हामी सबै यस लोकमा थोरै समयको लागि आएका छौं । त्यसैले बाचुन्जेल सुखी जीवन खोज्नु अन्यथा होइन । तर सुखी कसरी हुने भन्ने अप्ठ्याराहरू सधैँ हामीसँग खडा भएको हुन्छ । हामी कहिलेकाहीँ जानी नजानी आफैँ समस्या निम्ताइरहेका हुन्छौँ र सुखको ठाँउमा दुखलाई आमन्त्रण दिइरहेका हुन्छौँ । यिनै हाम्रा अनगिन्ती चिजहरूले हामीलाई दुःखी बनाइरहेको हुन्छ ।

बढी सोच्ने बानीको त्याग गर्नु
अतीत र भविष्यको चिन्तामा जब बढी सोच्न थालिन्छ तब त्यो व्यक्ति सधैँ दुःखी हुन्छ । अतित सधैँ बितिसकेको समय हो, न त पश्चाताप गरेर त्यसलाई फर्काउन सकिन्छ न त त्यसमा कुनै परिवर्तन ल्याउन नै सकिन्छ । त्यसैले अतीतलाई सम्झेर चिन्ता गर्नाले समयको बर्बादी र दुःखी शिवाय केही हुन्न । भविष्यको चिन्तादेखि डराउने व्यक्ति पनि सुखी जीवनबाट सधैँ टाढा हुन्छन् । भोलिको चिन्ताले सधैँ मानिसलाई दुःखीबाहेक सुखी बनाउन सक्दैन । भोलि अर्थात् भविष्य सधैँ अनिश्चित हुन्छ, त्यो समयमा आफू रहन पनि सकिन्छ र नरहन पनि सकिन्छ । आज अर्थात् वर्तमान हामी सबैको लागि महत्वपूर्ण छ । यदि सुखी बन्ने हो भने भूत र भविष्यको चिन्तालाई छाडेर वर्तमानको आवश्यकता के हो त्यसैमा दत्तचित्त भएर लागौ ।

अरूसँग तुलना गर्ने आदत
ओहो ! मसंग यो चिज छैन तर उसंग त्यो चिज छ, उसले मभन्दा बढी कमाउँछ, ऊ मभन्दा राम्रो छ आदि जस्ता अरूसँग तुलना गर्ने आदतले मानिसलाई सधैँ दुःखी बनाउँछ । सुखी बन्नको लागि अरूसंग तुलना गर्ने बानी त्याग्नुपर्छ । सबैलाइ आफू राम्रो हुन मन पर्छ, धेरै पैसा कमाउन मन पर्छ र आफू सुन्दर हुन मनपर्छ । यी सब चिजहरू प्रकृति, समय र परिस्थितिका फलहरू हुन् त्यसैले अरूसंग धेरै छ, अर्थात् आफूसँग छैन भनेर चिन्ता गर्नु नकारात्मक सोचको विकास हुनु हो, यसले मानिसलाई सधैँ दुःखी बनाउँछ । यस्तो प्रवृतिले मानिसको सुख खोसेर लान्छ । आफू हुनुको महत्व आफैँमा खोज्नुपर्छ । प्रत्येक व्यक्ति यो विश्वमा नै अलग अलग चिज हुन् त्यसैले अरूसंग तुलना गर्नुभन्दा आफूमा भएको चिजमा रमाउन सक्यो भने जीवन सुखी हुन्छ ।

आफूलाई आफैँ दोष दिने बानी
आफूले गरेको गल्तीमा आफैँलाई दोष दिने आदतले पनि मानिस सधैँ दुःखी हुन्छन् । जीवन जिउने भनेकै आफ्नै लागि हो, गल्ति जानेर या नजानेर जो कोहीबाट पनि हुन्छ तर त्यही गल्तीलाई लिएर आफैँलाई सजाय दिने प्रवृत्तिले मानिसलाई दुःखी बनाउँछ । आफ्नो भावनाको कदर अरूले गर्ने होइन आफूलाई आफँैले गर्नुपर्छ । संसारमा आफूले आफूलाई जति राम्ररी चिनिन्छ त्यो अरूबाट हुन सक्दैन । त्यसैले आफूले आफैँलाई माया गर्ने तथा आफूले गरेको गल्तीलाई माफ गरेर आफूलाई माफ गर्नाले मानिस सुखी बन्न सक्छ ।

नकारात्मक टिप्पणीको बेवास्ता गर्ने बानी
हामी रहने र बाच्ने समाजमा प्रत्येक दिन कुनै न कुनै सकारात्मक या नकारात्मक टीकाटिप्पणी हुने गर्छन् । आफ्नो बारेमा राम्रो र सकारात्मक सोच्ने मानिस मात्र हुन्नन् कहिलेकाहीँ विभिन्न नकारात्मक टीका टिप्पणी सुन्नु पर्ने हुन्छ । यस्ता आलोचनालाई सकारात्मक रूपमा लिन सक्ने अर्थात् बेवास्ता गर्न सक्ने व्यक्तित्व नै सुखी हुन्छन् किनिकि जीवनमा सधैँ राम्रै पाटो भन्ने अवश्य हुन्न त्यसैले आफूलाई मन नलाग्ने र आफूलाई दुःखी हुने टीका टिप्पणीलाई बेवास्ता गर्नाले एकातिर आफ्नो अमूल्य समयको बचावट हुन्छ भने अर्कोतिर दुःखी हुनबाट बचाउँछ ।

व्यस्त रहने बानी
भनाइ नै छ कि खाली दिमाग राक्षसको घर, त्यसैले सधैँ व्यस्त रहने मान्छे सकारात्मक सोचका हुन्छन् । फुर्सदको समयमा पत्रिका पढ्ने, टिभी हेर्ने, आफन्तसंग भेटघाट गर्ने, साथीसंग रमाइला कुरा गर्ने प्रवृत्तिले मानिसलाई सुखी बनाउँछ । त्यसैले बढी फुर्सदमा रहनुभन्दा समयलाई ब्यस्त गुजार्न सक्यो भने सुखी जीवनको प्राप्ति गर्न सकिन्छ ।

सकारात्मक सोचको विकास
जीवनमा सधैँ सफल र खुसीमात्र कहिले हुँदैन । दुःख–सुख, सफलता, असफलता सबै चिज एक पछि अर्को गर्दै विभिन्न चरणमा आइपर्छन् । त्यसैले दुःख भयो भनेर कहिल्यै आत्तिने गर्नु हुन्न । जीवनको कुनै मोडमा असफल हुँदा हतास हुनु हुन्न किनभने सफलता र असफलता सधैँ आइराख्ने चिजहरू हुन् । त्यसैले आफूलाई फेरि पनि सफल बनाउने हिम्मत लिनुपर्छ । जीवनमा आउने हरेक उतार चडावलाई एउटा पाठको रूपमा लिन सक्नाले सुखी हुन मद्दत गर्छ ।

रूलाई खुशी पार्ने सोच
आफ्नो लागि मात्र सोच्ने मानिस स्वार्थी हुन । त्यसैले अरूको खुसी र सुखलाई सोच्न सकियो भने त्यसबाट पाउने आनन्द अरू कुनै चिजबाट पाउन सकिन्न । आफूबाहेक आफ्नो परिवारलाई कसरी मद्दत गर्न सकिन्छ । अर्थात् अन्य दुःखमा परेका मानिसलाई कसरी सुखी बनाउन सकिन्छ भन्ने बिषयमा दिमाग खर्च गर्यो भने अवश्य पनि अरूलाई केही मात्रामा सेवा गर्न सकिन्छ । अरूलाई सेवा गर्ने व्यक्ति सधै सुखी हुन्छन् ।

सुख प्राप्त गर्न सकारात्मक सोच, विचार र धारणाबाट दैनिक खानपिनमा ध्यान दिने तथा शारीरिक व्यायाममा समेत समय दिन सक्नुपर्दछ । समयको गतिसँगै जीवन परिवर्तन गर्दै योगाभ्यासमा परिवर्तन गर्न सक्नु उपलब्धिमूलक हुन्छ । यसरी यिनै विषयमा ध्यान दिई लागू गरेमा सुखी जीवन बिताउन सकिन्छ ।