चुरे क्षेत्रमा पटक–पटक पहिरोः अधिकांश बस्ती जोखिममा

मेचीकाली संवाददाता

२० भाद्र २०७८, आईतवार
1190 shares

रमेश पराजुली
बुटवल। २३ वर्षपछि बुटवलको ज्योतिनगरमा पहिरो खसेको छ । पहिरोले ५२ घर उच्च जोखिममा छन् । भदौ १३ र १४ मा आएको पहिरोले १० घरमा बढी क्षति पुरायो भने ६० भन्दा बढी घरमा पहिरोको लेदो पसेको छ । चुरे पहाडबाट लेदोसहितको पहिरोले ज्योतिनगर बस्ती नै जोखिममा छ । पहिरोपछि १२ घरपरिवार बिस्थापित भए भने अरु केही उच्च जोखिममा छन् ।

बुटवलका प्रमुख, इन्जिनियर र प्राविधिकहरु केही दिनयता पहिरो प्रभावित क्षेत्रमा निरन्तर पुगेका छन् । कहिले खोला किनारका बस्ती र कहिले पहिरो प्रभावित क्षेत्रको अवस्था बुझ्न प्रमुख शिवराज सुवेदी, वडाका जनप्रतिनिधि र प्राविधिकहरुको पछिल्ला केहीदिनदेखिको दैनिकी यस्तै क्षेत्रको अवलोकन, निरीक्षण र जोखिम न्यूनीकरणका उपाय खोज्नमै केन्द्रित भएको छ । चुरेपहाडमा घुसेका तराईका अधिकांश बस्ती पछिल्ला केही समययता जोखिममा परेका छन् । बुटवलका मात्रै होइन, चुरे र तराईको संगममा लहरै बसेका बस्तीहरु वर्षेनी यस्तै प्रकोपको जोखिममा परेका छन् ।

बुटवल–४ ज्योतिनगरमा यस्तो पहिरो पहिलोपटक आएको भने होइन । ज्योतिनगर, आदर्शनगर र लक्ष्मीनगरमा २०५५ साल भदौमा आएको यस्तै प्रकृतिको पहिरोले ५७ घर पुरेको थियो । ०५५ सालको पहिरोपछि विभिन्न निकायले गरेको अध्ययनले ज्योतिनगर क्षेत्रमा बस्ती हटाउन र चुरे पहाडलाई असर गर्ने कुनैपनि काम गर्न नहुने निष्कर्ष निकालेको थियो । त्यसअघि २०५३ मा गरिएको अर्को एक अध्ययनले बुटवल आसपासका चुरे पहाडबाट प्रतिवर्ष ३० मिटरका दरले भूस्खलन हुँदै गइरहेको निचोड निकालेको थियो ।

सो अध्ययनले बुटवलनजिक टेक्नोलिक प्लेट रहेको र सो क्षेत्र प्राकृतिक भूक्षय, भूविचलन र भूकम्पको निम्ति खतरनाक हुने भनेको थियो । त्यसको केहीवर्ष जोखिमको पूर्वतयारी गरेपनि पछिल्लो दशकमा चुरे पहाडमा पुनः अतिक्रमण र मनपरी भयो । त्यसलाई २०७२ को भूकम्पले अरु खलबलायो । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यान्वयन इकाइ बुटवलका प्रमुख अजय कार्की भन्छन्, ‘यो प्राकृतिक रुपमा कच्चा पहाड हो, भूकम्पपछि यो पहाडमा धाँजा फाटेको रहेछ, ती धाँजाहरुमा पानी पसेपछि बग्दै आयो र बस्तीमा पस्यो ।’

समितिका अनुसार बस्तीसम्म पहिरो आउने गरी मानव अतिक्रमण भएको छ । ‘बुटवलका ३ र ४ नम्बर वडाको पहाडी भेग उच्च जोखिममा छ, उनी भन्छन्,‘उच्च जोखिम रहेको क्षेत्रमा भएको अतिक्रमणले जोखिम अरु बढायो र विनास निम्त्याएको हो ।’ हुनपनि स्थानीयले मात्रै हैन, सरकारी निकायको आँखा छलेर र कतिपय अवस्थामा प्रभावित पारेर चुरेमा अतिक्रमण र मनपरी भयो ।

वनमा मानवीय अतिक्रमण, डढेलो, बस्तीविकास, विकासका नाममा चुरेमा मनपरी गर्दा चुरे खलबलियो र बग्न थाल्यो । आफ्नै सुखसुविस्ताका लागि प्रकृतिमाथि मनपरी गर्दा त्यसको पीडा बुटवलको उपल्लो बस्तीले भोग्नुपरेको छ । बुटवलको सिरानमा रहेको चुरेमा मात्रै हैन, देशभरकै चुरेमा अतिक्रमण बढ्दो छ । नेपालको दक्षिणी भेगमा पूर्वदेखि पश्चिमसम्मै फैलिएको कमजोर र पत्रे चट्टानले बनेको भूभागमाथिको अतिक्रमणले मानवीय जीवनशैलीलाई नै प्रभावित गरिरहेको छ ।

मानवीय अतिक्रमणका कारण भएको विनासले मानवीय जीवनशैली नै प्रभावित गरेको भूगोलविद् डा.भोजराज कडेरिया बताउँछन् । ‘चुरे एकदमै कमजोर पहाड हो, संवेदनशील क्षेत्रलाई चलाएपछि यसले विनास निम्त्याउँछ नै, यहाँ भएको त्यही हो, उनी भन्छन्,‘ज्योतिनगर र लक्ष्मीनगर बस्ती पहाड नै धस्सिएर बसेको हो, त्यसमाथि भूकम्पले अरु कमजोर बनाएको थियो, त्यसमा अतिक्रमण भयो, अतिक्रमण भएको ठाउँमा पानीले खोल्दै गयो र लेदोसहितको पहिरो गयो ।’

समृद्धि र समस्या दुवैको स्रोत
चुरे कमजोर बनाउने कुनै पनि गतिविधिहरु उपमहानगरले बन्देज लगाएको छ । यद्यपि जलवायु परिवर्तन, लुकिछिपि हुने मानवीय लापरबाही र प्राकृतिक कारणले चुरे क्षेत्र कमजोर बनिरहेको छ । खासमा बुटवलको लागि समृद्धि र समस्या दुवको स्रोतका रुपमा चुरे नै रहेको छ । चुरेको हरियाली र पानीका प्राकृतिक स्रोतले बुटवलको समृद्धिमा योगदान गरेको छ भने सतह क्रमशः कमजोर बन्दै जानु समस्या र चुनौतिका रुपमा बढिरहेको छ । मानवीय लापरबाही र प्रकृतिक कारणले पनि चुरेको नजिकका बस्ती विपत्तिको जोखिममा छन् ।

एकातिर चुरेमा केही पूर्वाधार निर्माण भएका र अर्कोतिर तिनाउ नदी गहिरिँदै जाँदा त्यसले जोखिम बढाएको छ । चुरेको हरियालीपन कमजोर हुँदा सतहमा जलप्रवाह बढी हुने गरेको छ । यो चुरे बग्ने एउटा खास कारण हो । अहिले बुटवलका लक्ष्मीनगर, चाँदबारी, ज्योतिनगर, पारि बुटवल, बेलबास क्षेत्रमा चुरेको फेदमा रहेका बस्तीहरु उच्च जोखिममा रहेका छन् । सबैभन्दा धेरै जोखिम ज्योतिनगर र लक्ष्मीनगर क्षेत्र बनेका छन् । त्यहाँ चुरेबाट बगेर आएको गेग्रेटो पहिरो स्थानीयको घरमा पसेको छ ।

उपमहानगरको एक्लो प्रयासले थेग्दैन
चुरेबाट बग्ने खोल्साहरु पहिलेदेखि नै अतिक्रमणमा परेका छन् । पानीको स्वभाविक प्रवाहलाई रोक्ने, छेक्ने, अन्तै तर्काउन खोज्ने मानवीय लापरबाही रोकिएको छैन । कमजोर बनिरहेको चुरेमा सानो पानी परेपनि पहिरो बग्ने अवस्था सिर्जना भएको छ । जोखिमका बस्तीहरुलाई सुरक्षित पार्ने, स्थानान्तरण गर्ने र क्षतिको न्यूनिकरणका लागि उपमहानगरको मात्रै एक्लो प्रयास सम्भव छैन । यसका लागि तीनै तहका सरकारको साझा पहलको खाँचो रहेको प्रमुख शिवराज सुवेदीको भनाइ छ ।

प्रदेश सरकार बनेपछि चुरेको संरक्षण र भूक्षयको जोखिम न्यूनीकरणका लागि सहयोग गर्न भन्दै बुटवल उपमहानगरले तीन वर्षअघि नै मुख्यमन्त्रीलाई पत्राचार गरेको प्रमुख सुवेदीले बताए । चुरेको जोखिमको क्षेत्र, पहिले पहिरो गएको क्षेत्र र अहिले बढिरहेको जोखिमसमेतको विस्तृत रिपोर्ट बनाएर उपमहानगरले प्रदेश सरकारमा दिएको सुवेदीको भनाइ छ । जोखिममा रहेको बस्तीलाई स्थानान्तरण गर्ने, त्यहाँको पहाड नै काटेर ढुंगामाटो बेच्ने र त्यहाँ आकर्षक संरचना बनाएर हरियाली क्षेत्र बढाउने जस्ता विकल्प छन् । यी विकल्पमा पनि उपमहानगरको एक्लो प्रयास सम्भव छैन ।

चुरेमा गएको पहिरो रोकथामका लागि उपमहानगर, प्रदेश सरकार, संघीय सरकार मातहतका विभिन्न कार्यक्रम पनि सञ्चालित थिए । गतवर्ष भएका यी सबै प्रयास अहिले निस्प्रभावी बनेका छन् । चुरेको भूबनोट नै कमजोर हुने भएकाले दीर्घकालीन रुपमा ज्योतिनगर र लक्ष्मीनगर क्षेत्र बसोबासको लागि उपयुक्त नदेखिएको विज्ञहरुको निक्र्यौल छ ।

बस्ती अन्यत्र सार्नका लागि राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिसँग समन्वय गरेर काम अघि बढाउने बुटवल उपमहानगरका प्रमुख सुवेदी बताउँछन् । उनी भन्छन्, ‘ज्योतिनगर र लक्ष्मीनगर क्षेत्र जोखिममा देखिएको छ, अहिले तत्कालको समस्या समाधान गर्छौं र अहिलेको समस्या समाधान भएपछि समितिसँग छलफल गरेर के गर्नुपर्ने हो, त्यसतर्फ लाग्छौं ।’

पटक–पटक पहिरो, वर्षेनी बढ्दो जोखिम
वि.सं. २०२७ सालमा चुरे खस्दा तिनाउ थुनिएर बनेको ताल फुट्दा तिनाउमा बाढी आएर तत्कालिन दाउरे टोल र तिनाउ छेउछाउका ९२ जना मानिसहरु बगेका थिए । २०३२ सालको बाढीले मैनाबगर बगाएको थियो भने २०३७ सालमा सहश्रधारा नजिक चुरेमा आएको पहिरोले निर्माणाधीन पक्की पुललाई मात्र भत्काएन, पारि बुटवलको भविष्यनै ओझेलमा पा¥यो । त्यही पहिरोको कारणले बनेको ताल फुट्दा ४१ जना मानिस र १२० घरहरु बगेका थिए ।

चुरे पहिरोको सबैभन्दा ठूलो क्षति बुटवलले २०५५ भदौ १९ र २० गते ब्यहोरेको छ । बुटवल ज्योतिनगर क्षेत्रमा पहिरो खसेर कैयौं घर बगाएको थियो । संयोग त्यतिबेला मानवीय क्षतिका रुपमा एक जनाको ज्यान गएको थियो । झण्डै २०० मिटर माथिबाट पहिरो झर्दा १०१ वटा घर र १९ वटा घडेरीहरु पुरिएका थिए ।

चुरे क्षेत्रमा मात्रै एक वर्षमा दश हजारभन्दा धेरै पहिरो जान सक्ने स्थल पहिचान भएका छन् । त्यसको कारण अत्याधिक वर्षा हो । चुरे क्षेत्रमा प्रति २४ घण्टामा ४३७ मिलिमिटरसम्म वर्षा हुने गरेको छ । जल तथा मौसम विज्ञान विभागले सन् १९८३ देखि २०१३ सम्म देशका ६ वटा केन्द्रमा गरेको अध्ययनअनुसार अत्याधिक वर्षाले चुरेमा भूस्खलनलाई बढाएको छ । जसमध्ये रुपन्देहीको बुटवललाई केन्द्र मानेर गरिएको अध्ययनले बुटवल दोस्रो बढी जोखिमपूर्ण स्थानमा देखिन्छ ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले तयार गरेको विवरणले बुटवल क्षेत्रमा एक वर्षमा प्रति २४ घण्टा ३० मिलिमिटर परिमाणभन्दा बढी २ पटक, २५० देखि ३०० मिलिमिटरसम्म २ पटक, १३० देखि २५० मिलिमिटरसम्म ४४ पटक, १०० देखि १३० मिलिमिटरसम्म ५५ पटक वर्षाका घटना रेकर्ड भएको देखाउँछ । वर्षाको यो क्रम भने बढ्दै गएको देखिन्छ ।

३ सय मिलिमिटरभन्दा बढी वर्षाले सबैतिर एकैसाथ फैलिएर जाने लेदो पहिरो निम्त्याउँछ । अरु खालका वर्षाले क्रमशः ठूला पहिराको उल्लेख्य वृद्धि, माटो धस्सिएर बग्ने, लेदो पहिरो र कम गहिराइका सानासाना पहिरा निम्त्याउने विकास समितिको विवरणमा उल्लेख छ ।

चुरे कान्छो र कमजोर पहाड
करिब चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड शृङ्खला हो चुरे । ‘पश्चिममा पाकिस्तानको इन्डस नदीदेखि पूर्वमा भारतको ब्रम्हपुत्र नदीसम्म फैलिएको चुरे शृङ्खला शिवालिकको नामबाट पनि चिनिन्छ’–राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिले वेबसाइटमा राखेको जानकारीमा भनिएको छ ।

यो क्षेत्रमा राम्ररी नखाँदिएका खुकुलो पत्रे चट्टान भएको र महाभारत पर्वतबाट बग्ने नदीहरू यही चुरे क्षेत्र भई तराईतर्फ बग्ने हुँदा प्राकृतिक रुपले यो क्षेत्र अत्यन्त संवेदनशील मानिन्छ । देशभरका ३७ जिल्लाका चुरे नजिकका बस्ती जोखिममा छन् । विभिन्न समयमा भएका अध्ययनहरुले चुरे पहाडमा टाँसिएका बस्ती स्थानान्तरणको उपाय सुझाएका छन् । २०६७ मा संसद्को प्राकृतिक स्रोत र साधन समितिले गरेको अध्ययनअनुसार तयार गरेको वनसंरक्षण समस्या अध्ययन प्रतिवेदनले चुरेनजिकका बस्ती जोखिममा रहेको निष्कर्ष निकालेको थियो । प्रतिवेदनले चुरेमा मानववस्ती बढ्दै गएर मानवीय चाप परेकाले बस्ती स्थानान्तरणको विकल्प उपयुक्त हुने निचोड निकालेको थियो ।

यसबीचमा संसदीय समितिहरुले धेरै पटक स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार गरेका छन् । चुरेको अतिक्रमण, अवस्था, क्षति, ह्रास लगायतका सबै क्षेत्रको अवलोकन गरेर तयार भएका ती प्रतिवेदनले चुरेमाथि भइरहेको अतिक्रमण रोक्न र नरोकिए चुरेभन्दा दक्षिणको बस्ती जोखिममा पर्ने चेतावनी दिएका छन् । अध्ययन प्रतिवेदनले भनेका छन्,‘चुरे यस्तो जोखिमपूर्ण क्षेत्र हो, जहाँ कुनै डाँडामा अलिकति खोस्रिने हो भने त्यसले दशकौंसम्म त्यहाँको जमीन अस्थीर बनाउँछ, जसको प्रत्यक्ष असर मानव जीवनशैलीमा पर्छ ।’

यो पनि पढ्नुहोस्
बुटवलको ज्योतिनगरमा लगातार पहिरोः ७ घर पुरिए, सिङ्गो बस्ती नै जोखिममा