मगर समुदायः इतिहास, पहिचान र समान विकासको आधार

मेचीकाली संवाददाता

१५ फाल्गुन २०८१, बिहीबार
234 shares

मिलन गाहा मगर

नेपालको विविधतायुक्त समाजमा मगर समुदायले आफ्नो छुट्टै पहिचान बनाएको छ । मगर समुदायको इतिहास गौरवशाली मात्र नभई, नेपालको शासन व्यवस्थामा समेत महत्वपूर्ण योगदान रहेको छ । राज्य सञ्चालनदेखि सैनिक सेवासम्म, संस्कृति संरक्षणदेखि आर्थिक उत्पादनसम्म, मगर समुदायले नेपाली समाजलाई समृद्ध बनाउन खेलेको भूमिकालाई बिर्सिन सकिँदैन ।

इतिहास र शासनमा मगरको योगदान
१८औँ शताब्दीसम्म मगर समुदाय बाइसे–चौबिसे राज्यका प्रमुख शासकहरूमध्ये एक थिए । उनीहरूले समानताको अवधारणामा आधारित समाज निर्माण गरेका थिए, जहाँ सबैलाई बराबरी अवसर प्राप्त थियो । नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहलाई मगर जातिको ठूलो सहयोग प्राप्त भएको थियो । मगर योद्धाहरूले नेपाल एकीकरणमा आफ्नो साहसिक योगदान दिएका थिए, जुन नेपालको राष्ट्रिय एकताको आधारभूत पाटो बन्यो ।

बेलायती सेनादेखि भारतीय गोरखासम्म, मगर समुदायका वीर योद्धाहरू विश्वभर परिचित छन् । विश्व युद्धमा भिक्टोरिया क्रस (भीसी) पाउने मगर योद्धाहरूले नेपाललाई सैनिक बहादुरीको अन्तर्राष्ट्रिय मानचित्रमा स्थापित गराए । मगर योद्धाहरूले मात्र नभई, मगर बुद्धिजीवी, समाजसेवी, राजनीतिज्ञ र सांस्कृतिक अभियन्ताहरूले पनि मुलुक निर्माणमा योगदान पु¥याएका छन् ।

मगर समुदायको सांस्कृतिक पहिचान
नेपालको सबैभन्दा ठूलो आदिवासी जनजाति समुदायमध्ये एक मगर समुदाय हो । यो मुलुकको तेस्रो ठूलो जाति हो । मगर समुदायको भाषा, संस्कृति र परम्पराहरू नेपाली समाजका अनमोल सम्पत्ति हुन् । मगर समुदायले आफ्नो संस्कृति जीवनशैलीसँग जोडिएको छ, जसमा लोकगीत, नृत्य, परम्परागत पोशाक तथा धार्मिक विश्वासहरू प्रमुख छन् । मगर भाषा नेपालमा बोलिने प्रमुख जनजातीय भाषामध्ये एक हो ।

मगर समुदायले सहकार्य, आपसी सहयोग र समानताको संस्कृति निर्माण गरेको छ । मगर संस्कृतिमा सामूहिक श्रम (परम्परागत ‘परमा’ प्रथा), समान सम्पत्ति वितरण र सबैलाई एकै नजरले हेर्ने प्रवृत्ति पाइन्छ । राज्यले मगर समुदायको यी गुणहरूलाई अध्ययन गरी विकास नीतिहरूमा समाहित गर्न सकेमा समावेशी समाज निर्माण गर्न सकिन्छ ।

संघीयता, समावेशिता र मगर समुदाय
नेपालको संविधान २०७२ ले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र धर्मनिरपेक्ष राज्य निर्माणको परिकल्पना गरेको छ । संविधानले आदिवासी जनजाति समुदायहरूका हक अधिकार सुरक्षित गर्न संघीयताको अवधारणा ल्याएको हो । जातीय सद्भाव, एकता र समावेशी सहभागिताबाटै मुलुक समृद्ध बन्ने हो ।

तर, संघीयता कार्यान्वयन गर्न नसक्ने वा यसलाई कमजोर बनाउने प्रवृत्तिहरू बढ्दै गएका छन् । मगर समुदायजस्ता आदिवासी जनजाति समूहहरूका लागि संघीयता महत्वपूर्ण छ किनभने यसले पहिचान र स्वायत्तताको अवसर दिन्छ । नेपालमा मगरात क्षेत्र ऐतिहासिक महत्व बोकेको भूगोल हो । १२ मगरात र १८ मगरात गरी गण्डकी तथा लुम्बिनी प्रदेश मगर समुदायको ऐतिहासिक थातथलो पनि हो ।

संघीयताले समुदाय विशेषलाई अधिकार प्रत्यायोजन गर्ने अवसर दिन्छ । यदि यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिएन भने, समावेशी शासन व्यवस्थाको अवधारणा कमजोर हुन सक्छ । नेपालमा मगर समुदायजस्तै अन्य आदिवासी जनजातिहरूलाई समेत समान अवसर दिनु आवश्यक छ, जसले मात्र लोकतन्त्रलाई वास्तविक अर्थमा संस्थागत गर्न सकिन्छ ।

मगर समुदायको समसामयिक अवस्था
मगर समुदायको जनसंख्या नेपालमा २३ लाख (२०७८ को जनगणना अनुसार) रहेको छ, जसले मगरलाई नेपालको तेस्रो ठूलो जाति बनाएको छ । आदिवासी जनजातिमा मगर समुदाय पहिलो स्थानमा रहेको छ ।
तर, यति ठूलो जनसंख्या भए तापनि मगर समुदायले आफ्नो राजनीतिक पहुँच मजबुत बनाउन सकेको छैन । मगर समुदायका थुप्रै व्यक्ति विभिन्न राजनीतिक दलहरूसँग आबद्ध छन्, तर आन्तरिक विभाजनका कारण सामूहिक रूपमा प्रभाव देखाउन सकिरहेका छैनन् । मगर समुदायले समग्र रूपमा आफ्नो राजनीतिक रणनीति स्पष्ट बनाएमा नेपालका कुनै पनि निर्वाचन परिणामहरूमा प्रभाव पार्न सक्छ ।

मगर समुदायको आर्थिक अवस्था
इतिहास हेर्दा, मगर समुदायको मुख्य पेशा कृषि, पशुपालन र श्रमसँग जोडिएको थियो । आज पनि, मगर समुदायको ठूलो संख्याले विदेश रोजगारीमा आश्रित हुनुपरेको छ । विशेषगरी, ब्रिटिश, भारतीय र नेपाली सेनामा मगर समुदायको उल्लेखनीय सहभागिता छ । तर, राज्यले मगर समुदायको आर्थिक उन्नतिमा सुरुमा त्यति ध्यान नदिँदा उनीहरूको व्यावसायिक विकास सीमित बनेको छ । अब यसलाई सुधार गर्न जरुरी छ ।
नेपालमा मगर समुदायका लागि आर्थिक विकासका अवसरहरू सिर्जना गर्न जरुरी छ । मगर समुदायको परम्परागत सीप, जस्तै–हस्तकला, पर्यटन, कृषि र स्थानीय उत्पादनहरूलाई संस्थागत गर्न सकेमा आर्थिक उन्नति सम्भव छ । विविधताको संरक्षण गर्दै परम्परागत सीपको पनि नयाँ पुस्तामा हस्तान्तरण गर्दै समृद्ध मुलुक सुखी जनताको लक्ष्य हासिल गर्न सकिन्छ । राज्यले मगर समुदायको उद्यमशीलता र सीपलाई प्रवद्र्धन गर्न विशेष योजना ल्याउनु आवश्यक छ । तीनै तहका सरकारको ध्यान यसतर्फ केन्द्रित होस् ।

मगर एकता दिवस र यसको सार्थकता
हरेक वर्ष मगर समुदायले मगर एकता दिवस मनाउँछ । एकता दिवसले मगर समुदायलाई आत्मविश्लेषण गर्ने अवसर दिनुपर्छ । केवल एक दिन मात्र मगर पहिचानबारे बोल्ने तर वर्षभर समुदाय विभाजित रहने प्रवृत्तिले विकास सम्भव हुँदैन । राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा मगर समुदायले अब संगठित हुनुपर्छ । जातीय पहिचानलाई विकाससँग जोडेर, शिक्षा, रोजगार, नीति निर्माणमा सहभागिता र सांस्कृतिक प्रवद्र्धनलाई सँगै लैजान आवश्यक छ । मगर समुदायले राज्यको सम्पत्ति तोडफोड गर्ने वा हिंसात्मक आन्दोलनको बाटो रोज्नुभन्दा आफ्ना मुद्दाहरूलाई संस्थागत रूपमा उठाउनुपर्छ ।

निष्कर्ष: मगर समुदाय नेपालकै गौरवशाली समुदायहरूमध्ये एक हो, जसले इतिहासदेखि वर्तमानसम्म मुलुक निर्माणमा महत्वपूर्ण योगदान दिएको छ । मगर समुदायले आफ्नो भाषा, संस्कृति, परम्परा र इतिहासलाई जगेर्ना गर्दै आर्थिक तथा राजनीतिक रूपमा सशक्त बन्न आवश्यक छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले मगर समुदायका हक–अधिकार सुनिश्चित गर्न सक्नुपर्छ । समावेशी नीति, समान अवसर र समान प्रतिनिधित्वमार्फत मात्र मगर समुदायको समुचित विकास सम्भव छ । मगर समुदायले राज्यसँग अधिकार माग्ने होइन, राज्य निर्माणमा आफ्नो भूमिका मजबुत बनाउने दिशामा अघि बढ्नुपर्छ ।
मगर दिवसले मगर समुदायलाई मात्र नभई सम्पूर्ण नेपालीहरूलाई एकता, राष्ट्रियता, जातीय सद्भाव र सामाजिक समावेशीताको सन्देश दिन सकोस् भन्ने कामना गरौँ । नेपालका सबै समुदायले आपसी सहकार्य गरेर मात्र समृद्ध नेपाल निर्माण गर्न सक्छन् । (लेखक लुम्बिनी प्रदेश सञ्चार परिषद्का अध्यक्ष तथा विभिन्न सामाजिक संघ संस्थामा आबद्ध हुनुहुन्छ ।)