बौद्ध शिक्षामा दशराज धर्म र नैतिकता

मेचीकाली संवाददाता

२ असार २०८३, मंगलवार
56 shares

बलबहादुर आचार्य

बौद्ध शिक्षामा शासकहरुलाई असल शासक र जनताको असल सेवक बनाउने गरि गौतम बुद्धले दशवटा राजधर्मको घोषणा गरेको पाइन्छ । बुद्धले देशना गरेको यहि शिक्षालाई बौद्ध शिक्षामा दश राजधर्मका नामले चिनिन्छ । यस महत्वपूर्ण विषय बौद्ध साहित्यमा जातक कथाहरुमा पाइन्छ र यसको उल्लेख चक्कवति सिहनाद सुत्तको २६ औं श्लोकमा पनि पाइन्छ । चक्कवति भनेको धर्मपूर्वक शासन गर्ने सार्वभौम राजा र सिंहनाद भनेको सिँयको जस्तो निर्भिक घोषणा वा गर्जन । यसमा भागवान गौतम बुद्धले आदर्श शासक। समाजको नैतिक पतन, अपराधको कारण आदी विषयमा देशना दिएका छन् ।

हाम्रो जस्तो राज्य जहाँ राज्यको कुनै पनि निकायमा पुग्नु वा सांसद बन्नु भनेको राज्यका विभिन्न श्रोत साधनहरु कसरी दोहन गरी व्यक्तिगत उन्नति र प्रगति गर्न सकिन्छ भन्ने मान्यताका साथमा लामो समयसम्म राज्यहरु संचालित भए । जसका कारण आज देश बहुदलीय व्यवस्था आएको दशकौ पछि पनि दिन प्रति दिन रिणको भार र बाह्य निर्भरतामा रुमलिएको छ । यहि दिक्दारीवाट बाक्क भएका नागरिकले गत निर्वाचनमा केहि नयाँपन आउँछ की भनी नयाँ तथा युवाहरुलाई शासन हस्तान्तरण गरेका छन् र यसको नतिजा कस्तो होला भन्न अहिले हतारौ नै होला । तर पनि यी नयाँ शासकहरुलाई बौद्ध काल र बुद्धले राज्य संचालन र राजधर्मका बारेमा के भनेका रहेछन र यीनीहरुको नैतिकता तथा व्यवहार कस्तो हुनु पर्दछ भन्ने सोच आम नागरिकलाई समेत थाहा होस भन्ने उदेश्यका साथमा यो लेख प्रकाशन गरिएको छ ।
बौद्ध शिक्षामा दस राजधर्म भनेको बौद्ध धर्ममा शासक (राजा, राष्ट्र प्रमुख, नेता) ले पालन गर्नुपर्ने दस प्रकारका नैतिक गुण वा कर्तव्यहरू हुन् । यी शिक्षाहरू विशेष रूपमा गौतम बुद्धद्वारा आदर्श शासन र जनकल्याणका लागि प्रतिपादित गरिएका हुन् । पालि साहित्यमा यसलाई दसराजधर्म भनिन्छ ।

बौद्ध दृष्टिकोणमा राजा वा शासकको कर्तव्य केवल शासन गर्नु मात्र होइन, जनताको हित, न्याय, शान्ति र समृद्धिको संरक्षण गर्नु पनि हो । यदि शासकले दशराजधर्मको पालन गर्छ भने राज्यमा शान्ति, समृद्धि र नैतिक व्यवस्था कायम हुन सक्दछ । ती दश बुदामा रहेका राजधर्महरु यस प्रकार रहेका छन् ।

१. उदारता (दान)
शासकले स्वार्थभन्दा माथि उठेर जनताको हितका लागि काम गर्नुपर्छ। उनीहरुले गरिब, दुःखी र असहायलाई सहयोग गर्ने, सार्वजनिक कल्याणका कार्यक्रम सञ्चालन गर्ने, व्यक्तिगत विलासिता भन्दा जनहितलाई प्राथमिकता दिने र सार्वजनिक हितका लागि पहिलो प्राथमिकताकासाथमा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी जस्ता सेवामा लगानी गर्ने गर्नु पर्दछ ।

२. नैतिक आचरण (शील )
शासकले उच्च नैतिक चरित्र प्रदर्शन गर्नुपर्छ। उनीहरुले झूट, चोरी, भ्रष्टाचार र अनैतिक कार्यबाट टाढा रहनु पर्दछ, सर्व प्रथम स्वयमले कानुनको सम्मान गर्ने र आदर्श व्यक्तित्व प्रस्तुत गर्नु पर्दछ र शासकको आचरणले नै समाजलाई प्रभावित गर्नु पर्दछ ।

३. त्याग (परिच्चाग)
जनताको हितका लागि आफ्नो सुख–सुविधा र स्वार्थ त्याग्न सक्ने गुण हुनु पर्दछ र उनीहरुमा व्यक्तिगत लाभ भन्दा राष्ट्रको हितलाई प्राथमिकता दिने, आवश्यक परे आफ्नो सेवा सुविधा त्याग्न सक्नु पर्दछ र संकटको समयमा स्वयम जनताको सेवामा समर्पित हुनु पर्दछ ।

४. इमानदारी (आज्जव)
शासक निष्कपट, सत्यवादी र पारदर्शी हुनुपर्छ ,छलकपट नगर्ने,जनतासँग सत्य बोल्ने र प्रशासनमा पारदर्शिता कायम गर्ने हुनु पर्दछ ।

५. नम्रता (मद्दव)
शासक अहङ्काररहित र विनम्र व्यवहार गर्ने गुण हुनु पर्दछ,पद र शक्तिको घमण्ड नगर्ने, जनताको कुरा सुन्ने र सबैसँग सम्मानपूर्वक व्यवहार गर्ने गुण चाहिन्छ ।

६. आत्मसंयम (तप)
शासकले आफ्ना इन्द्रिय नियन्त्रणमा राख्ने र अनुशासित जीवन जीउनु पर्दछ,विलासिता र भोगमा नफस्ने,राज्यको स्रोतको दुरुपयोग नगर्ने, साधारण र संयमित जीवन बिताउने हुनु आवश्यक छ ।

७. क्रोधरहितता (अक्कोध)
रिस, घृणा र प्रतिशोधबाट मुक्त हुनु पर्दछ शासक, आलोचनालाई सहन सक्ने, क्रोधमा निर्णय नगर्ने र धैर्य र विवेक प्रयोग गर्ने हुनु आवश्यक हुन्छ ।

८. अहिंसा (अविहिंसा)
कुनै पनि प्राणीलाई अनावश्यक दुःख नदिनु, शान्तिपूर्ण उपाय अपनाउने, हिंसा र दमनबाट टाढा रहने र
मानव अधिकारको सम्मान गर्ने हुनु पर्दछ ।

९.धैर्य र सहनशीलता (खन्ति)
शासकहरु विपरीत परिस्थितिमा पनि धैर्य रहन सक्ने क्षमता चाहिन्छ,कठिनाइमा विचलित नहुने, अरुको आलोचना सहन सक्ने र दीर्घकालीन हितलाई ध्यानमा राख्ने हुनु पर्दछ ।

१०. न्याय र निष्पक्षता (अविरोधन)
असल शासक धर्म, न्याय र जनइच्छाको विरुद्ध नजाने, सबै नागरिकलाई समान व्यवहार गर्ने, कसैलाई पक्षपात नगर्ने र आफनो क्षेत्रमा न्यायपूर्ण शासन सञ्चालन गर्ने ।

निष्कर्षः दशराजधर्म बौद्ध राजनीतिक दर्शनको महत्वपूर्ण आधार हो । यसले शासकलाई शक्तिको दुरुपयोग नगरी दान, नैतिकता, त्याग, सत्यनिष्ठा, नम्रता, संयम, अहिंसा, धैर्य र न्यायका आधारमा शासन गर्न प्रेरित गर्दछ । बौद्ध धर्ममा आदर्श शासक त्यो हो जसले आफ्नो व्यक्तिगत हितभन्दा जनताको कल्याणलाई सर्वोपरि राख्छ । यही कारणले दशराजधर्मलाई सुशासनको प्राचीन बौद्ध अवधारणाका रूपमा पनि हेरिन्छ ।

आज भन्दा करिव २६ सय बर्ष पहिला बुद्धले आफ्नो क्षेत्रमा शासकहरुलाई दिएका देशना आज पनि उत्तिकै महत्वका छन् । मानव समाजले यति लामो समय पार गर्दा पनि शासकहरु असल शासक बन्न नसक्नु र अझ पनि हाम्रो देश र विश्वका शासकहरुमा यो चेत आउन नसक्नु चिन्ताको विषय हो । अहिलेको यो पारदर्शी युगमा पनि शासक तथा प्रशासकहरु राज्यका विभिन्न निकायहरुमा जाने देश तथा जनताको हितमा लात हान्दै व्यक्तिगत हित र उन्नतिका लागि मरिमेटी भ्रष्टचार गर्ने, एउटा परिवारको पालन पोषणका लागि लाज नमानी अरवौ सम्पति जोड्ने र निमुखा जनताहरु एक्काइसौ शताव्दिमा पनि गाँस, वास, कपास, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत विषयवाट गौतम बुद्धको देशका हामी जनताहरु बन्चित हुनुपर्ने ज्यादै दुखद र लाजको विषय भएको हो । नेपालका शासकहरुले पहिलेवाट बौद्ध दर्शनलाई नेपालको शासनको आदर्श बनाउदै बौद्ध नैतिकताको पालन गरेको भए सायद आज हामी यो स्थितिमा अवश्य पनि रहने छैनौ भन्ने विषयमा सायद कसैको फरक मत होला ।