आज हरितालिका तीजः निषेधाज्ञाबीच घरमै बसेर मनाइँदै

मेचीकाली संवाददाता

२४ भाद्र २०७८, बिहीबार
545 shares

रमेश पराजुली
बुटवल । हिन्दू नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज आज मनाइँदै छ । भाद्र शुल्क तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवादिदेव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । तर, यो वर्ष पनि कोरोना भाइरसको महामारीका कारण महिलाहरु घरमै बसेर तीज पर्व मनाउन बाध्य भएका छन् । सरकारले कुनै पनि धार्मिक मन्दिरहरुमा भिडभाड हुनेगरी उपस्थित नहुन आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकोले धेरै जिल्लामा निषेधाज्ञा अझैपनि जारी छ ।

रुपन्देहीमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै भदौ ३१ गतेसम्म लम्ब्याएको छ । जिल्लामा कोरोना संक्रमण दर घटेसँगै निषेधाज्ञा केही खुकुलो बनाइएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । ‘निषेधाज्ञा केही खुकुलो भएपनि मानिसको बढी भिडभाड हुने क्षेत्र, विद्यालय, पार्टी प्यालेस, सिनेमा हल अहिले पनि बन्द नै छन् । संक्रमण दर केही घटेपनि देशमा कोरोना महामारी कायमै रहेको छ त्यसैले स्वास्थ्य सावधानी जरुरी छ ।’ तामाङले भने । स्वास्थ्य सुरक्षा मापदण्डलाई अनिवार्य रुपमा पालना गरेरे सतर्क, सहज तथा सरलरुपमा चाडपर्व मनाउन प्रजिअ तामाङले आगह गरे ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले निराहार व्रत बसी महादेवलाई प्राप्त गरेको धार्मिक मान्यताअनुसार तीज पर्वलाई धार्मिक संस्कृतिका रुपमा मनाउने प्रचलन रहेपनि पछिल्ला वर्षमा फरक शैलीमा तीज मनाउने क्रम बढ्दै गएको छ । धार्मिक मान्यताअनुसार भगवान शिवजी र पार्वतीको सम्बन्धसँग सम्बन्धित यो पर्वलाई अविवाहित महिलाले सुयोग्य पति पाऊँ भन्दै र विवाहिताले श्रीमान् श्रीमतीबीचको सम्बन्धलाई चिरस्थायी र सुमधुर बनाउन तीजको व्रत बसी पूजाआराधना गर्ने प्रचलन रहेको छ ।

आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा नारीहरू व्रत बस्ने गर्दछन् । सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार गरेर पनि तीजको व्रत बस्छन् । तर, यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने होइन । कोरोना संक्रमणको जोखिम नभएको भए आज बिहानैदेखि पूजाआजका लागि शिव मन्दिरहरुमा व्रतालुहरुको भीड हुने गथ्र्यो तर, अहिले पनि विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिम कायमै रहेकोले धेरै मन्दिरहरु बन्द नै छन् । त्यसैले पनि व्रतालुहरुले कारोनाबाट बच्न आफ्नै घरमा पूजाआजा गर्नुपर्ने अवस्था सिर्जना भएको छ । तीजलाई महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट पोख्ने पर्वका रुपमा समेत लिने गरेका छन् ।

निशेधाज्ञाले सहज रुपमा सवारीसाधन चल्न नसक्दा धेरै छोरीचेलीको माइत जाने योजना पनि बीचमै तुहिएको छ । कोरोना संक्रमणको त्रास नभए गाउँशहरमा तीज मेला, उत्सव चल्थे । विद्यालय, सामाजिक संघसंस्था, महिलाका संगठनलगायतले गच्छेअनुसार तीज पर्व मनाउँथे, महिलालाई दर खुवाउँथे । यसपालिको तीज पर्व खल्लो र निरस छ । तीजको रमझम खासै छैन । महिलाको स्वतन्त्रताको पर्व घर र कोठामा खुम्चिएको छ । सबैलाई कोरोना महामारीमा ज्यान जोगाउन छ । महामारीमा बाँचियो भने चाडपर्व अर्कोवर्ष मनाउँला भन्ने धेरै छन् ।

नेपाल बहुजातीय र बहुसांस्कृतिक देश भएकाले आफ्नो धर्म संस्कृतिअनुसार मनाइने तीज पर्व पछिल्ला केही वर्षयता पर्व मनाउने नाममा तीजको एक महिना अघिदेखि नै भड्किलोरूपमा विभिन्न होटल तथा पार्टी प्यालेसमा दर खाने तथा भेटघाट कार्यक्रम गर्ने, कपडा तथा गहना प्रदर्शन गर्ने, फजुल खर्च गर्ने, विभिन्न साङ्गीतिक कार्यक्रमका नाममा ध्वनि प्रदूषण गराउनेजस्ता असामाजिक क्रियाकलाप गरी तीज भड्किलो भइरहेपनि कारोना महामारीले यी सबै कुराहरुलाई नियन्त्रण गरी तीजलाई भड्किलो हुनबाट जोगाएको छ ।

समय परिवर्तन भएको छ । मानिसका सोचाइ पनि फेरिएका छन् । समयअनुकूल परिवर्तन जरुरी पनि छ । समयअनुसार बदलिनुपर्छ तर बदलिनु छ भन्दैमा आफ्नो संस्कृति नै जोगाउन नखोज्नु हाम्रो लागि अत्यन्तै घातक हुन सक्छ । नेपाली पहिचान, रीतिरिवाज अर्थात् चालचलन र संस्कृति मात्र होइन, सम्पदा बनेको पर्व जगेर्ना गर्नु हामी सबैको कर्तव्य हो । तीज पर्व हुने खानेको मात्र नहोस् । तीज पर्वलाई हुनेखाने वर्ग र हुँदा खाने वर्गबीचको बढ्दो दूरी कम गर्दै आफ्नो मौलिक संस्कृतिलाई संरक्षण गर्न सबै जुट्नुपर्छ । अनावश्यक खर्च गर्ने यस्तो परिपाटीलाई सधैँका लागि निरुत्साहित गर्न सकिएमा तीज पर्वको महत्व झन् बढ्दै जानेछ ।