

मिनप्रसाद पौडेल
राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डता कुनै पनि मुलुकका लागि सर्वोच्च मूल्य हुन् । सानो वा ठूलो, धनी वा गरिब जस्तोसुकै मुलुक भए पनि सार्वभौमिकताको सन्दर्भमा सबै समान हुन्छन् भन्ने सिद्धान्त अन्तर्राष्ट्रिय सम्बन्धको आधार हो । नेपालजस्तो भौगोलिक, आर्थिक र राजनीतिक रूपमा संवेदनशील मुलुकका लागि राष्ट्रिय स्वाभिमान अझ महत्वपूर्ण छ ।
चीन भ्रमणका क्रममा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको अडान यसै सन्दर्भमा नेपालको राष्ट्रिय हित र सार्वभौमिकता सुदृढ पार्ने ऐतिहासिक कदमका रूपमा मूल्याङ्कन गर्न सकिन्छ । यसैपनि प्रम ओली एक राजनेता हुनुहुन्छ र उहाँको देशप्रेमका बारेमा कुनै दुईमत नै छैन । त्यसमा पनि प्रम ओलीबाट भइरहेका साहशी र चट्टानी अडानले नेपालको स्वाभिमानलाई उचो बनाउने काम गरेको छ ।
सीमासम्मान र सार्वभौमिकताको सुदृढीकरण
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले राष्ट्रियता र देशभक्तिप्रतिको उहाँको अडान फेरि एकपटक उजागर भएको छ । नेपालको सार्वभौमिकता र सीमा अखण्डतामा ओली सधैं अटल रहँदै आउनुभएको छ । नेपालको आधिकारिक नक्सा सार्वजनिक गरी संविधानमै समावेश गर्ने ऐतिहासिक निर्णयदेखि लिएर, छिमेकी राष्ट्रसँगका सम्बन्धमा चट्टानी अडान लिनु, शक्तिसँग नझुक्ने, सत्यसँग नलड्ने ओलीको विशेषता हो । यसपटक चीन भ्रमणमा उहाँले राष्ट्रपति सी जिनफिङसमक्ष लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूभाग भएको विषय प्रष्टसँग प्रस्तुत गर्नु दृढ देशभक्तिको अर्को उदाहरण बनेको छ ।
समृद्धि र खुशियालीको सपना देख्ने मात्र होइन, राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने नेताका रुपमा ओली निरन्तर स्थापित हुँदै आएका छन् । यद्यपि कतिपय पूर्वाग्रही सोचले प्रम ओलीको योगदानलाई कमजोर पार्ने प्रयास भइरहे पनि तथ्य र ऐतिहासिक दस्तावेजका आधारमा उहाँले प्रस्तुत गरेको अडान युगीन महत्वको छ, एकदमै स्वागतयोग्य र प्रशंसनीय छ । राष्ट्रियताको सवालमा कसैसँग सम्झौता नगर्ने ओलीको धारणा स्पष्ट देखिन्छ । ओलीका यी साहसिक कदम राजनेताका असल शैलीका रुपमा स्थापित छन् । संक्षेपमा भन्नुपर्दा यो ओलीको नेतृत्वमा राष्ट्रियता: सीमासम्मान र सार्वभौमिकताको सुदृढीकरणको कदम हो ।
राष्ट्रिय स्वाभिमानको नवनिर्माण, आहारिसेका दूषित आलोचना
प्रधानमन्त्री ओलीले नेपालको आधिकारिक नक्सा प्रकाशन गरी संविधानमा समावेश गर्ने ऐतिहासिक कदम चालेको कुरामा कतिपय पूर्वाग्रहीका दूषित टिकाटिप्पणीबाहेक दुईमत छैन । सीमासम्बन्धी मुद्दामा उहाँले छिमेकी मुलुकसँग कहिल्यै सम्झौता नगरी चट्टानी अडान देखाउँदै आउनुभएको छ । शक्तिशाली छिमेकीसँग पनि सत्य र तथ्यका आधारमा अडान लिन सक्ने उहाँको शैली नेपाली राजनीतिमा विशिष्ट देखिन्छ । यो शैलीले नै ओलीलाई एक नेताबाट राजनेताका रुपमा स्थापित गरेको छ ।
हो, कतिपय मानवीय स्वभावहरु होलान्, मानवीय कमीकमजोरी हुन सक्छन्, कतिपयलाई यस्तो स्वभाव मन नपर्न सक्छ, नरुचाउन सक्लान् । तर, यो भनेर समग्रमा खराब मूल्यांकन गर्ने पूर्वाग्रही मानसिकता राख्नु हुँदैन । अहिले केपी ओलीको नेतृत्वप्रति सोही प्रकारको पूर्वाग्र्रही र हीन मानसिकताको उपज स्वरुपमा आलोचना गरिएको छ ।
राष्ट्रियताभन्दा माथि पूर्वाग्रहलाई राख्ने कुकर्म र कुप्रचार भइरहेको छ । कतिपय परिचालित र फण्डिङ द्रोहीहरुले यस्ता हर्कत गरिरहेका छन् । सामाजिक सञ्जालमा गोब्याएका छन्, प्रदूषण फैलाएका छन् र त्यहीँ विषाक्त परिवेशमा लठ्ठिएका छन् । तिनै विज्ञ, तिनै जान्नेसुन्ने, तिनै कामकाजी, तिनकै विचार सही, तिनकै बुद्धि र विवेक ठूलो झैं गरिरहेका छन् । कतिपय मिडिया जो अदृष्य शक्तिबाट परिचालित छन्, जसलाई देशको हित, राष्ट्रिय स्वाभिमान भन्दा तिनका मालिकको चाकडीमा रमाउन र पूर्वाग्रहमा लिप्त हुनुपरेको छ । तिनका कुविचार, तिनका विषाक्त र भ्रमपूर्ण प्रचारबाजीले समाजमा नकारात्मकता फैलाइरहेको छ ।
तिनै नकारात्मकताको लहलहै लाग्ने अरु पनि छन् जो विभिन्न अवसरमा रमाइरहेको छ । निराशा र कुण्ठा मात्रै पोख्ने, आक्रोस मात्रै फैलाउने, दुर्घन्धित भ्रमपूर्ण कुप्रचारमा रमाउने त्यस्तो तत्वले नै हो सामाजिक एकतालाई कमजोर बनाउने । सचेत र देशभक्त नागरिकहरुले तथ्यका आधारका सत्य स्थापित गर्नेगरि प्रस्तुत हुनुपर्ने छ ।
सधैं पार्टीमा कर्नरमा पर्दै आउनुभएका, निरन्तर समर्पित रहेर पनि अवसरबाट बञ्चित रहनुभएका ओली जब नेतृत्वदायी भूमिकामा आउनुभयो तब एक राजनेताका रुपमा स्थापित हुनुभएको छ । यसमा अरुले आहारिस गरेर, डाहा गरेर केही हुनेवाला छैन ।
लिपुलेकको प्रश्न, चीन भ्रमण र ओलीको दृढता
अहिले प्रम ओली उत्तरी छिमेकी मुलुक र विश्वको शक्तिशाली मुलुक चीनको भ्रमणमा हुनुहुन्छ । शक्तिशाली मुलुकको भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनफिङसमक्ष लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूभाग भएको विषय प्रमाणसहित प्रस्तुत गरेर सारा विश्वको जसरी ध्यान आकर्षित गर्नुभएको छ यसले हामी नेपालीको शिर उचो बनाएको छ, खुशीले गदगद बनाएको छ ।
यस्तो महत्वपूर्ण र राष्ट्रियता जस्तो संवेदनशील विषयमा पनि दूषित टिप्पणी गर्ने दुःखी आत्माहरु देख्दा उदेक लाग्छ । मानौं ओलीले चीनबाट आउँदा लिपुलेकलाई झोलामा हालेर लिएर आउन्, जमिन बोकेर लिएर आउन् जस्तो गरेर विरोधमा पूर्वाग्रही र कुप्रचार गरिरहेका छन् । यसप्रकारको चिन्तन बोकेका नेपालीहरु अझ सचेत वर्ग भनाउँदाहरु रहेसम्म समाजले काँचुली फेर्न सक्तैन । यिनीहरु कि त कतैबाट देशका विरुद्ध लाग्नेगरि परिचालित छन्, कि त यिनीहरुको मगज खराब भइरहेको छ ।
भारत र चीनले नेपाललाई जानकारी नै नदिई लिपुलेकलाई व्यापारिक मार्ग बनाउने सहमति गरेकोप्रति प्रम ओलीले देखाएको आपत्ति सम्पूर्ण नेपाली जनताको साझा भावना थियो । सन् १८१६ को सुगौली सन्धि र अन्य ऐतिहासिक दस्तावेजहरूले महाकाली नदीको पूर्वतटदेखि लिम्पियाधुरा, कालापानी र लिपुलेकसम्मको भूभाग नेपालकै हो भन्ने प्रष्ट गर्दछ । यसै आधारमा प्रस्तुत अडानले नेपालको सार्वभौमिकतामा सम्झौता नहुने स्पष्ट सन्देश दिएको छ । के यसअघि नेपालमा अरु प्रम भएका थिएनन् ? के उनीहरुले यो भूमिलाई नेपालको हो भनेर नक्सा निकाल्न किन सकेनन् ? आवाज किन उठाएनन् ? प्रधानमन्त्री त धेरै नै फेरिए नि ?
आलोचना, पूर्वाग्रह र यथार्थ
यस किसिमका साहसिक कदमलाई कतिपय पूर्वाग्रही सोचले कमजोर पार्ने प्रयास गरेका छन् । विदेशी प्रभाव वा व्यक्तिगत स्वार्थका कारण केही मिडिया र समूहहरूले दूषित प्रचारबाजी गर्ने गरेका छन् । तर यस्ता भ्रमपूर्ण गतिविधिले राष्ट्रिय एकतालाई कमजोर मात्र बनाउँछ । ऐतिहासिक तथ्य र प्रमाणमा आधारित ओलीको प्रस्तुतिलाई कमजोर पार्ने प्रयास भने मुलुककै स्वाभिमानप्रति अन्याय हो । राष्ट्रिय स्वाभिमानभन्दा ठूलो पूर्वाग्रह हुँदैन । जतिसुकै घृणित हर्कत गरेपनि यस्ता तत्वले देशप्रेमीको अभियानमा बाधा हाल्न सक्तैनन् भन्ने कुरा स्पष्ट छ । यसो सामाजिक सञ्जाल हेर्दा ती दुःखी आत्माहरु सधैं रोइलो नै गरेको देखिन्छ । कति त फेक आइडीवाला परिचालित जमात छन् ।
राष्ट्रिय हितमा साझा जिम्मेवारी
सीमासम्बन्धी मुद्दा कुनै दल वा नेतामात्रको जिम्मेवारी होइन, सम्पूर्ण नेपालीको साझा सरोकार हो । यसैले नागरिक समाज, राजनीतिक नेतृत्व र सञ्चार माध्यम सबैले राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर एकताबद्ध भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता छ ।
आजको परिस्थितिमा नागरिक समाज, राजनीतिक नेतृत्व र मिडिया सबैले राष्ट्रिय हितलाई केन्द्रमा राखेर सकारात्मक भूमिका निर्वाह गर्न आवश्यक छ । भ्रमपूर्ण प्रचार वा विदेशी शक्तिको चाकडीले होइन, सत्य र तथ्यका आधारमा देशलाई अगाडि बढाउनैपर्छ । प्रधानमन्त्री ओलीले चीनमाझ देखाएको दृढता देशभक्त नेतृत्वको उत्कृष्ट उदाहरण बनेको छ । यही आत्मविश्वास र अडान नेपालको राष्ट्रिय स्वाभिमान र सार्वभौमिकता सुदृढ बनाउने प्रमुख आधार हो । लिपुलेक–लिम्पियाधुरा–कालापानीको सवाल केवल कूटनीतिक औपचारिकता मात्र होइन, राष्ट्रियता र सार्वभौमिकताको विषयमा नेपालले कहिल्यै सम्झौता नगर्ने दृढ सन्देश हो ।
प्रम ओलीले ऐतिहासिक प्रमाणका आधारमा प्रस्तुत गरेको अडानले सम्पूर्ण नेपालीको शिर उचो बनाएको छ । यस्ता कदमहरूलाई पूर्वाग्रहका दृष्टिले होइन, राष्ट्रिय हित र स्वाभिमानको दृष्टिले मूल्याङ्कन गर्न आवश्यक छ । ओलीले देखाएको आत्मविश्वास, देशभक्तिपूर्ण नेतृत्व र दृढ अडानले नेपाललाई भविष्यमा अझ मजबुत र स्वाभिमानी राष्ट्रको रूपमा अघि बढाउने आधार तयार गर्नेछ । (लेखक नेकपा एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख हुनुहुन्छ ।)