बुटवलको ज्योतिनगरमा फेरि पहिरो, ९ घर पुरिए २० घरमा क्षति

‘दीर्घकालीन रूपमा बस्तीलाई सुरक्षित बनाउँछौँ’

मेचीकाली संवाददाता

४ आश्विन २०७८, सोमबार
871 shares

बुटवल । बुटवलमा सोमबार आरिघोप्टे वर्षा हुँदा फेरि ज्योतिनगरमा पहिरो गएर ९ घर पुरिएका छन् । निरन्तर पानी परिरहेकोले उक्त क्षेत्रमा ढुंगा र रूखसहितको लेदो झरेको थियो । पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडकसमेत बगाएको छ । चुरेबाट झरेको पहिरोले ज्योतिनगरमा बितण्डा मच्चाएको छ । यसअगाडि पनि गएको भदौ १३ गतेदेखि तीन दिनसम्म भिषण वर्षा हुँदा ७ घर पुरिनुका साथै २० घर बस्नै नमिल्नेगरी घरभित्र हिलोसहितको लेदो पसेको थियो । ज्योतिनगर बुटवल वडा नम्बर ३ स्थित चुरेका काखमा पर्छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) मदन कुँवरले ७ घर पुरिएको र १ दर्जनभन्दा बढी घरमा लेदोसहितको पहिरो खसेको जानकारी दिए । चुरेको काखबाट बाटो बनाउँदा ज्योतिनगर र लक्ष्मीनगर क्षेत्र चिरिएको छ । सोमबार बिहानैदेखि बुटवल तथा यस आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको छ । त्यस क्षेत्रमा अहिले धेरै जोखिममा परेका घरहरुलाई अन्यत्र सार्ने पहल भइरहेको छ ।

ज्योतिनगर र लक्ष्मीनगरमाथि चुरेको शिरमा धाँजा फाटेर २०५५ सालदेखि नै पहिरो झर्न थालेको हो । त्यतिबेला पहिरोले झरेर ५७ घरमा क्षति पुगेको थियो । २३ वर्षपछि अहिले फेरि पहिरो झरेर स्थानीय त्रसित बनेका छन् । पहिरो निरीक्षणमा पुगेको बुटवल उपमहानगरपालिकका प्रमुख शिवराज सुवेदीलाई आक्रोशित एक युवाले मुक्का समेत प्रहार गरेका छन् ।

पहिरोले सडकमा क्षति पु¥याएर आवागमन अबरुद्ध भएको छ भने सडक किनारमा राखिएका बिजुलीका पोल पनि बगाएको छ । बुटवलको शिरमा पर्ने ज्योतिनगरको पहिरो नरोकिए यसबाट सिंगो बुटवल नै प्रभावित हुने विज्ञहरूले चेतावनी दिएका छन् ।

अनुसन्धानकर्ताहरूले बुटवलसँग जोडिएको चुरे क्षेत्र कमजोर रहेको र भू–स्खलनको समस्या निम्तिने भएकाले फेदीका बस्ती व्यवस्थापन गर्न सुझाएका थिए । राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण विकास समितिले पाँच वर्षअघि त्रिविको केन्द्रीय वातावरण विज्ञान विभागसँगको सहकार्यमा २२ जिल्लाका चुरेको पहिरोबारे अध्ययन गरेको थियो । समिति कार्यान्वयन एकाइ बुटवलका प्रमुख उपसचिव अजय कार्कीले २५ वर्षअघिको सुझाव सरोकारवाला निकायले कार्यान्वयन नगर्दा भदौ दोस्रो साता बुटवल–३ र ४ मा पहिरोले बितन्डा मच्चाएको बताए ।

। पहिरो प्रभावित क्षेत्रमा उद्धार, पुनस्र्थापना र तत्कालीन राहतसहित करिब डेढ करोड बराबरको सुरक्षा प्रवन्धका काम गरेको बुटवल उपमहागनरपालिकाले जनाएको छ । पानीले पहिरो खसेर केही घरमा क्षति पुगेको र नाली थुनिएको सूचना पाउँदासाथ उपमहानगरका प्राविधिक लिएर प्रमुख शिवराज सुवेदी प्रभावित क्षेत्रमा गएका हुन् ।

उनीसंगै उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी, इन्जिनियरहरु सुमन श्रेष्ठ, योगेश चापागार्इँ, लक्ष्मण अर्याल, नगर योजना आयोगका अधिकारीसहितको टोली निरीक्षणमा पुगेको थियो । पहिराले विस्थापितलाई तत्काल अस्थायी रुपमै सुरिक्षत स्थानमा व्यवस्थापन गर्ने, विस्थापित भएका पहिरो प्रभावित सबैको सुरक्षित आवासका लागि दीर्घकालीन समाधानको पहल गर्ने बारेमा उपमहानगरले मातहतका सरकारसमेत सँगको सहकार्यमा योजना बनाइरहेको छ ।

पहिरो प्रभावित क्षेत्रका पीडितलाई प्रत्यक्ष भेट्ने, उद्धारका काममा ढिलाई र कमी हुन नदिने, त्यहाँ भइरहेका सुरक्षा प्रबन्धका कामलाई प्रभावकारी बनाउन लगाउने र प्रत्यक्ष अवलोकन गर्न प्रमुख सुवेदी त्यहाँ गएका हुन् । सोहीक्रममा भिडमा कतैबाट दौडिएर आएका गणेश पंगेनीले मेयर सुवेदीमाथि आक्रमणको प्रयास गरेका थिए । उनलाई सुरक्षाकर्मीले पहिचान गरेको छ ।

‘दीर्घकालीन रूपमा बस्तीलाई सुरक्षित बनाउँछौँ’
बुटवल उपहानगरपालिकाले नगरप्रमुख शिवराज सुवेदीमाथि आक्रमणको प्रयास हुनु दुखद, निन्दनीय एवम् खेदजनक भएको बताएको छ । उपहानगरपालिका प्रवक्ता रामप्रसाद रेग्मीले एक विज्ञप्ति जारी गरी अराजक व्यक्तिहरुले नियोजित रुपमा सुरक्षा निकायको उपस्थितिमा प्रमुखमाथि आक्रमणको प्रयास हुनु दुखद, निन्दनीय एवम् खेदजनक भएको बताएका हुन् ।

‘सोमबार बिहानदेखि परेको मुसलधारे वर्षाका कारण थप भूस्खलन भई क्षतिको खबर प्राप्त गरेपछि यस पालिकाका प्रमुखको नेतृत्वमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायतका प्राविधिक टोलीसहित पहिरो स्थलमा निरीक्षण, राहत, उद्धार र व्यवस्थापनका लागि पुगेको अवस्थामा अराजक व्यक्तिहरुले नियोजित रुपमा सुरक्षा निकायको उपस्थितिमा प्रमुखमाथि आक्रमणको प्रयास हुनु दुखद निन्दनीय एवम् खेदजनक छ ।’ विज्ञप्तिमा भनिएको छ । साथै घटनामा संलग्न एवम् दुरुत्साहन गर्नेउपर छानबिन गरी यथासिघ्र कारवाही गर्न पनि उपहानगरपालिकाले माग गरेको छ ।

ज्योतिनगर, लक्ष्मीनगरवासीको सुरक्षा, राहत उद्धारमा लाग्न सम्पूर्ण नगरवासीहरुमा हार्दिक अपिल गर्दै उक्त क्षेत्रको तत्कालीन र दीर्घकालीन रुपमा बस्तीलाई सुरक्षित बनाउन संघ र प्रदेश सरकारको गम्भीर रहेको उनको भनाइ छ । विपद् संकटापन्न सहरमध्येमा पर्ने बुटवल उपमहानगरपालिकाले प्रकोप रोकथाम, प्रतिकार्य, क्षति न्यूनीकरण, पुनस्र्थापना र पुनर्निर्माणलाई प्राथमिकतामा राखी स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना निर्माण गरी कार्यान्वयनको चरणमा रहेको नगरपालिकाले जनाएको छ ।

यसैबीच नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति बुटवल उपमहानगरपालिकाले पनि विज्ञप्ती जारी मेयर सुवेदीमाथि भएको आक्रमणको भत्र्सना गरेको छ । इकाइ समितिका कार्यबहाक अध्यक्ष दिनेशकाजी बज्राचार्य र सचिव रेश्मीराज घिमिरेले विज्ञप्ती जारी गरी यस्ता आक्रमण दोहोरिन नदिन जोडदार माग गरेका छन् ।