घनश्याम कोइराला
भन्न त भनिन्छ, ‘कि पढेर जानिन्छ, कि परेर जानिन्छ ।’ वास्तवमा मानिसले ज्ञान प्राप्त गर्ने दुई प्रमुख माध्यम यिनै हुन्—पढाइ र अनुभव । जे कुरा पढेर जानिन्छ, त्यो नपढी जानिँदैन; र जे कुरा अनुभवबाट बुझिन्छ, त्यो केवल पढेर मात्र बुझ्न सकिँदैन । उदाहरणका लागि चिनी गुलियो हुन्छ भन्ने कुरा पढेर वा अरूको भनाइबाट थाहा पाइन्छ । तर ‘गुलियो’ वास्तवमा कस्तो हुन्छ भन्ने अनुभूति गर्न चिनी चाखेकै हुनुपर्छ । मिठासको अनुभव किताबका पानाबाट प्राप्त हुँदैन । जीवनका धेरै सत्यहरू यस्तै हुन्छन् । केही कुरा अध्ययनबाट सिकिन्छ, केही कुरा परिस्थितिमा परेपछि मात्र बुझिन्छ ।
यही सन्दर्भ राजनीति र सार्वजनिक जीवनमा पनि लागू हुन्छ । प्रायः मानिसहरू निर्णायक बन्न चाहन्छन् तर प्रतिस्पर्धी बन्नुभन्दा निर्णायक बन्नु धेरै सजिलो काम हो । अझ टिप्पणी गर्नु, कुरा काट्नु त झन् सजिलो । कुनै विषयको गहिराइमा नपुगी, प्रमाण र स्रोत नखोजी, बाहिरबाट टिप्पणी गरिहाल्नु कठिन काम होइन ।
सजिलो बाटो खोज्नेहरूका लागि अरूको आलोचना गर्नु सबैभन्दा सहज माध्यम बन्छ । कला नभई कलाकार, गुण नभई गुणी, क्षमता नभई क्षमतावान् र ज्ञान नभई ज्ञानी बन्न चाहनेहरूका लागि पनि आलोचना र टिप्पणी एउटा आकर्षक क्षेत्र हुन सक्छ । हिन्दीमा एउटा उखान छ, ‘हिङ लगे न फिटकरी, रङ चोखा होय ।’ अर्थात् कुनै लगानी नगरी परिणाम चम्किलो देखाउने प्रयास ।
तर अर्काको अनावश्यक आलोचना गर्नु, खोट लगाउनु, कुरा काट्नु र व्यवहारमा खरो उत्रनुबिच निकै लामो दूरी हुन्छ । बोल्नु र गरेर देखाउनु फरक कुरा हो । बाहिरबाट देखिने विषय वा घटनाको आलोचना गर्न सजिलो हुन्छ, तर त्यही जिम्मेवारी आफ्नै काँधमा आउँदा त्यसको जटिलता महसुस हुन थाल्छ ।
यही सन्दर्भमा हालै सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनलाई हेर्न सकिन्छ । यो पार्टी पुराना राजनीतिक दलहरूको आलोचना गर्दै आएका स्वतन्त्र व्यक्तिहरू, पुराना दलका नेतृत्वबाट असन्तुष्ट नागरिकहरू तथा नयाँ शक्तिले केही फरक परिणाम दिन सक्छ भन्ने आशा राख्ने इमान्दार मानिसहरूको जमातबाट बनेको हो । स्वाभाविक रूपमा यसमा विभिन्न प्रकारका आकांक्षा र अपेक्षाहरू पनि जोडिएका छन् । कतिपयमा साँच्चै परिवर्तन गर्ने उत्साह होला, कतिपयमा आफूले चाहे फरक परिणाम देखाउन सक्छौँ भन्ने आत्मविश्वास वा ईख पनि रहेको हुन सक्छ । राजनीतिमा आकांक्षा र महत्त्वाकांक्षा दुवै स्वाभाविक कुरा हुन् ।
तर महाधिवेशनको सुरुदेखि अन्त्यसम्म हेर्दा धेरैलाई अपेक्षित नयाँपन भने खासै देखिएन । मञ्च व्यवस्थादेखि बसाइको शैली, भाषणको ढाँचा र कार्यक्रम सञ्चालनको तौरतरिका आदि सबै पुरानै राजनीतिक दलहरूको अभ्याससँग मिल्दोजुल्दो देखियो ।
यदि साँच्चै फरक र सिर्जनात्मक अभ्यास गर्ने सोच आएको भए उद्घाटन समारोहमै केही नयाँ प्रयोग गर्न सकिन्थ्यो । उदाहरणका लागि, सबै मञ्चासीन व्यक्तिहरूलाई पार्टीको चुनाव चिह्न ‘घण्टी’ बजाएर सामूहिक रूपमा उद्घाटन गराउने जस्ता काम गर्नु पर्दैन थियो । अन्य प्रतीकात्मक अभ्यास गर्न सकिन्थ्यो सक्थे । तर कार्यक्रमको संरचना परम्परागत शैलीकै वरिपरि सीमित रह्यो ।
यस्ता विषयमा टिप्पणी गर्दा एउटा सहज जवाफ आउन सक्छ, ‘हामी नयाँ हौँ, अनुभव कम छ ।’ अव्यवस्थाको प्रश्न उठे, ‘पुरानाको रोग सरेको हो’ भनेर पनि भन्न सकिन्छ । तर यस्ता जवाफले मात्र उत्तरदायित्व पूरा हुँदैन । नयाँ भनेर आलोचनाबाट पूर्णतः मुक्त हुन सकिँदैन । परिवर्तनको दाबी गर्नेहरूले परिवर्तन व्यवहारमा पनि देखाउनुपर्छ ।
यसैगरी, राजनीतिक दलहरूको कार्यक्रममा खानपान र जीवनशैलीबारे हुने टिप्पणी पनि विचारणीय छ । मानिस कुनै पार्टीमा होस् वा नहोस्, उसले खाना त खानैपर्छ । आफ्नो हैसियत र आवश्यकताअनुसार सफासुग्घर, पोषिलो र स्वस्थकर भोजन गर्नु स्वाभाविक कुरा हो ।
विगतमा पुराना राजनीतिक दलका कार्यक्रमहरूमा मासुभात खाएको, झोला बाँडेको वा कार्यकर्ताको व्यवस्थापन गरेको विषयलाई लिएर निकै कडा आलोचना हुने गथ्र्यो । कतिपयले त यस्ता गतिविधिलाई राजनीतिक विकृतिको प्रतीककै रूपमा चित्रण गर्थे । ती आलोचकहरूमध्ये धेरैजसो पुराना दलप्रति असन्तुष्ट वा नयाँ राजनीतिक विकल्पको पक्षमा उभिएका व्यक्तिहरू नै थिए ।
तर अहिले नयाँ भनिएको पार्टीको महाधिवेशनमा पनि उस्तै प्रकारका परिकार, उस्तै व्यवस्थापन र सहभागीहरूलाई झोला वितरण गरिएको देखियो । अब स्वाभाविक रूपमा प्रश्न उठ्छ—अरूलाई ‘मासुभाते’ र ‘झोले’ भन्नेहरूले आफू त्यही अभ्यास गर्दा त्यसलाई के नाम दिने ?
यहाँ कसैलाई दोषारोपण गर्नु मुख्य उद्देश्य होइन । मुख्य कुरा यति मात्र हो कि बाहिरबाट आलोचना गर्दा जुन कुरा अत्यन्तै गलत र अस्वीकार्य लाग्थ्यो, व्यवहारमा पुग्दा त्यही कुरा यति सरल र स्वाभाविक किन देखिन थाल्छ ?
नेपाली समाजमा एउटा भनाइ प्रचलित छ, ‘कुण्ड कुण्ड पानी, मुन्ड मुन्ड बुद्धि ।’ अर्थात् जति मानिस, उति विचार । जहाँ धेरै मानिस हुन्छन्, त्यहाँ मतभिन्नता पनि हुन्छ, पक्ष–विपक्ष पनि हुन्छ । मन मिल्नेहरूका बिचमा समूह बन्छन् र ती समूहहरू विस्तारै गुटका रूपमा देखापर्न सक्छन् ।
जहाँ चुनाव हुन्छ, त्यहाँ प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धा भएपछि जित र हार दुवै हुन्छन् । आफ्नो सोचअनुसार परिणाम आए सन्तुष्टि हुन्छ, नभए असन्तुष्टि । यो केवल कुनै एक दलको विशेषता होइन । राजतन्त्रको समयमा पनि थियो, नेपाली कांग्रेसमा पनि छ, एमालेमा पनि छ, माओवादीमा पनि छ र नयाँ दलहरूमा पनि यस्तै देखिन्छ । मानिस र संगठनको स्वभावसँग जोडिएका यस्ता प्रवृत्तिहरूलाई केवल पुराना वा नयाँ भन्ने आधारमा व्याख्या गर्न सकिँदैन ।
वास्तवमा, बाहिर बसेर अरूका बारेमा टिप्पणी गर्न जति सजिलो हुन्छ, आफै जिम्मेवारी सम्हालेर परिणाम दिन त्यति नै गाह्रो हुन्छ । यही कारणले जीवन र राजनीति दुवैले मानिसलाई निरन्तर सिकाइरहेका हुन्छन् ।
त्यसैले यस्ता विषयलाई अत्यधिक सैद्धान्तीकरण गर्नु उचित हुँदैन । ‘उनीहरूले त्यसो भने’, ‘यिनीहरूले यसो गरे’ भनेर अनन्त बहसमा अल्झिनुभन्दा समय र परिस्थितिले सबैलाई सिकाउँछ भन्ने तथ्य बुझ्नु आवश्यक छ । अनुभव आफैमा ठूलो शिक्षक हो ।
तर एउटा वास्तविकता भने स्वीकार गर्नुपर्छ— धेरै शक्तिशाली व्यक्ति र समूहहरू पढेर भन्दा परेर बढी सिक्छन् । अरूले भनेका कुरा सुन्दा, पढ्दा वा देख्दा नबुझिने कुरा कहिलेकाहीँ आफ्नै जीवनमा आइपरेपछि मात्र स्पष्ट हुन्छ । नपरेसम्म अरूका अनुभवलाई गम्भीरतापूर्वक नलिने प्रवृत्ति समाजका अन्य क्षेत्रमा मात्र होइन, राजनीतिमा पनि देखिन्छ ।
यस कारण पुराना दलका राम्रा पक्ष नयाँले सिक्नुपर्छ । पुरानाका अनुभवलाई केवल अस्वीकार गर्नु बुद्धिमानी होइन । त्यसैगरी नयाँ दलका कमजोरी र अपरिपक्व अभ्यासबाट पुराना दल प्रभावित हुनु पनि हुँदैन । सिकाइ दुवैतर्फबाट हुनुपर्छ— अनुभवबाट पनि, नवप्रयोगबाट पनि ।
अन्ततः राजनीति केवल सत्ता प्राप्त गर्ने माध्यम मात्र होइन, एउटा निरन्तर चलिरहने शिक्षा पनि हो । यसले पढ्न सिकाउँछ, अनुभव गर्न सिकाउँछ, गल्तीबाट पाठ सिकाउँछ र समयसँगै मानिसलाई यथार्थको धरातलमा उभ्याउँछ । त्यसैले राजनीति बुझ्न चाहनेले केवल पढेर मात्र होइन, अनुभवबाट पनि सिक्नुपर्छ । जीवनका केही सीमित मात्र सत्यहरू किताबले बताउँछन्, तर धेरै सत्यहरू परिस्थितिले मात्र बुझाउँछन् । यही कारणले भनिएको होला—‘कि पढेर जानिन्छ, कि परेर जानिन्छ ।’ वास्तविकता के हो भने कसैका पनि कमजोर अभ्यासबाट नभई सबल अभ्यासबाट मात्र लाभान्वित हुन सकिन्छ । (लेखक नेकपा (एमाले), केन्द्रीय पार्टी स्कुल विभागका पूर्वसचिव हुनुहुन्छ ।)
