२३ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव

मेचीकाली संवाददाता

१५ असार २०८३, सोमबार
1 shares

तेजनारायण गैरे

धान नेपालको प्रमुख खाद्यान्न बाली हो, जसले विश्वभरि ३.५ अर्बभन्दा बढी मानिसको जीवनयापनमा महत्वपूर्ण भूमिका खेल्छ । यसको उत्पत्ति हिन्दकुश हिमालयको फेदमा करिब ६,००० वर्ष अघि भएको मानिन्छ र नेपालमा यसको खेती ऐतिहासिक रूपमा आर्यन सभ्यतासँगै विकसित भएको थियो । नेपालको भौगोलिक विविधताका कारण तराईदेखि हिमाली क्षेत्रसम्म (६० मिटरदेखि ३, हजार ५० मिटर उचाइसम्म) धान खेती हुन्छ, जहाँ जुम्ला विश्वकै सबैभन्दा अग्लो स्थानमा धान उत्पादन गरिन्छ । यहाँ स्थानीय रूपमा अनुकूलित ८२ भन्दा बढी उन्नत जातहरू र सयौं रैथाने जातहरूको संरक्षण गरिएको छ ।

विश्व खाद्य सुरक्षाको दृष्टिकोणबाट धान महत्वपूर्ण अन्न बाली हो । धान विश्वको करिब आधा जनसंख्याको आधारभूत खाद्य वस्तुको रूपमा रहेको छ । धान विश्व खाद्य तथा पोषण सुरक्षाको दृष्टिकोणबाट मानिसलाई आवश्यक पर्ने क्यालोरीको प्रमुख स्रोत हो । धान खेती संसारमा करिब १६२ मिलियन हेक्टरमा लगाइन्छ र उत्पादन ५४३ मिलियन मेट्रिक टन भएको पाइन्छ । धानको उत्पादन तथा खपत करीव ८५ प्रतिशत एशियाली मुलुकहरूमा हुन्छ । उत्पादनको दृष्टिले विश्वमा सबैभन्दा बढी धान उत्पादन गर्ने देश चीन हो, भारत स्थान दोस्रो छ भने नेपाल १७ औं स्थानमा पर्दछ ।
धान नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपमा समेत महत्वपूर्ण बाली हो । असार १५ नेपाली संस्कृतिको अभिन्न अंश हो, जहाँ हिलो खेल्ने, दही–चिउरा खाने, सामूहिक रोपाइँ र गीत गाउने परम्परा छ । धान जन्मदेखि मृत्युसम्मका धार्मिक कर्मकाण्डमा प्रयोग हुनुको साथै वर्षभरि मनाइने विभिन्न चाडपर्वहरूमा समेत यसकै बर्चस्व रहन्छ । धान जन्मदेखि मृत्युसम्मका संस्कारहरूमा प्रयोग हुन्छ, जसले हाम्रो सम्पूर्ण जीवनचक्रलाई समेट्छ ।

 

नेपालमा मौसमको आधारमा वर्षे धान, चैते धान, भदैया धान, घैया धान र हिउँदे धान (बोरो) को रूपमा धान खेती हुने गर्दछ । नेपालमा खेती गरिने कुल क्षेत्रफलको ४७ प्रतिशत जमिनमा धान खेती गरिन्छ, जसमध्ये क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा बढी छ भने पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धानबाली लगाइन्छ । अन्नबाली उत्पादनको कूल क्षेत्रफलको करिब ४३ प्रतिशतमा धान खेती हुने गरेको र कुल अन्नबाली उत्पादनमा ५५ प्रतिशत धानको हिस्सा रहेको छ । नेपालमा वार्षिक करिब २ खर्ब रुपैयाँ बराबरको धान तथा यसका उपउत्पादनहरू प्राप्त हुने गर्दछ । धानले नेपालको कुल गार्हस्थ्य उत्पादनको करिव ५५ योगदान गर्छ र कृषि क्षेत्रको गार्हस्थ्य उत्पादनमा १५५ समावेश छ । नेपालमा कुल खाद्यान्य उत्पादनको करिब ५०५ खाद्यान्न धानबाट हुन्छ ।

वर्तमान अवस्था
नेपालमा धान उत्पादनको अवस्था चिन्ताजनक रूपमा उतारचढावयुक्त रहेको छ । आर्थिक वर्ष २०८१÷८२ मा १४ लाख २० हजार ६ सय हेक्टर क्षेत्रफलमा धान लगाइएको र ५९ लाख ५५ हजार ४ सय मेट्रिक टन धान उत्पादन भएको थियो, जुन रेकर्ड उत्पादन थियो तर आव २०८२÷८३ मा धानको उत्पादन घटेर ५४ लाख १० हजार मेट्रिक टन पुग्ने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ९.२५ कम हो । यो गिरावटको मुख्य कारण २०२५ जुन र जुलाईमा पर्याप्त वर्षा नहुँदा मधेश प्रदेशका प्रमुख धान उत्पादक जिल्लाहरूमा रोपाइँ क्षेत्रफल घट्नु हो । सोहीअनुसार उत्पादकत्व पनि घटेर ४.१४ मेट्रिक टन प्रति हेक्टर पुग्ने अनुमान छ ।

नेपालको वार्षिक चामल खपत करिब ४० लाख मेट्रिक टन रहेको छ । २०८२/८३ को धान उत्पादनबाट करिब ३३.५ लाख मेट्रिक टन चामल प्राप्त हुने अनुमान गरिएको छ । यसले वार्षिक चामल माग र उत्पादनबिच झण्डै ७/८ लाख मेट्रिक टनको खाडल रहेको देखाउँछ । यसै कारण, सन् २०२६ मा नेपालले ९ लाख २० हजार टन चामल आयात गर्नुपर्ने प्रक्षेपण गरिएको छ, जुन औसतभन्दा धेरै माथि हो । आयातको यो बोझले वार्षिक अर्बौं रुपैयाँ विदेसिनुको साथै देशको खाद्य सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ ।

धान दिवसको नारा
यसै पृष्ठभूमि तथा परिस्थितिमा धानको उत्पादन वृद्धि गरी यस बालीलाई राष्ट्रिय समृद्धि हासिलका लागि सहयोगी क्षेत्रको रूपमा स्थापित गर्न सम्पूर्ण सरोकारवालाहरूले ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ मूल नाराका साथ २३ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव २०८३ विभिन्न तह र स्थानमा मनाइँदै छ । यस नाराले वर्तमान समयको सबैभन्दा ठुलो चुनौती जलवायु परिवर्तनलाई धान उत्पादनको केन्द्रमा राखी दिगो समाधानतर्फ उन्मुख गराउने उद्देश्य राखेको छ ।

चुनौती र समाधानका उपायहरू
लक्ष्यअनुसार धानको उत्पादन बढाउन तथा सम्भाव्य उत्पादकत्व र वास्तविक उत्पादकत्वबिच रहेको अन्तर कम गर्न सकिने सम्भावना भएता पनि थुप्रै चुनौतिहरू छन् । ती चुनौती तथा समस्याहरूमा जलवायु परिवर्तनको असर, अनियमित मनसून र प्राकृतिक प्रकोप (बाढी, पहिरो, सुख्खा), भरपर्दो सिँचाइ सुविधाको कमी (केवल ५८५ जमिनमा सिँचाइ सुविधा छ, बाँकी ४२५ आकाशे पानीमा निर्भर), खेतीयोग्य जमिन घट्दै जानु, युवा श्रमशक्ति पलायन, अपर्याप्त बजेट (कृषि क्षेत्रलाई कुल बजेटको ३५ भन्दा कम), गुणस्तरीय मल समयमा उपलब्ध नहुनु, कृषकहरूको चाहना अनुसारको गुणस्तरीय बिउको अभाव तथा पुरानै जातहरूको प्रयोग, उपयुक्त प्राविधिक सेवा, कृषि श्रमिकको अभाव, सहुलियत ऋण, बजारको सुनिश्चितता नहुनु, र धानरचामलमा परनिर्भरता बढ्नुमा जनसंख्या वृद्धिको तुलनामा उत्पादन वृद्धि कम हुनु, खेतीयोग्य जमिन खण्डिकरण, र भात खाने संस्कृतिको प्रभाव हो ।

बढ्दो जनसंख्या वृद्धि तथा खाद्य सुरक्षालाई सुनिश्चित गर्न धान बालीको उत्पादन वृद्धि गर्न आवश्यक छ । यसको लागि तीनै तहका सरकारहरूले समन्वयात्मक रूपमा तथा रणनैतिक प्रयासलाई अझ प्रभावकारी बनाउनु आवश्यक छ । यसका समाधानका उपायहरू निम्न छन् ।

१.प्रविधि र जात सुधार ः जलवायु अनुकूल (सुख्खा–१, ६, हर्दिनाथ–२, डुबान सहनशील स्वर्णासव–१) तथा उच्च उत्पादन दिने हाइब्रिड जातको प्रयोग बढाउने, सामुदायिक बिउ बैंकमार्फत रैथाने जातको संरक्षण गर्दै उत्पादनशील जातलाई प्रोत्साहन दिने ।
२.सिँचाइ र मल व्यवस्थापन ः सिँचाइ सुविधा विस्तार, वर्षापानी सञ्चयन कार्यक्रम र रासायनिक मलको सहज तथा सुलभ उपलब्धताका लागि अनुदानमा मलखाद वितरणलाई प्राथमिकता दिने । साथै, हरियो मल, गोबर, कम्पोष्ट र एजोला प्रयोगद्वारा माटोको उर्वराशक्ति बढाउने ।
३.यान्त्रिकरण र दक्ष जनशक्ति ः नेपालको भौगोलिक परिवेश सुहाउँदो कृषि यन्त्रहरूको प्रयोगलाई प्रवद्र्धन गरी उत्पादन लागत घटाउने र श्रम अभावलाई सम्बोधन गर्ने ।
४.नीति र बजारको सुनिश्चिततास ः संरक्षित कृषि, सुनिश्चित बचतको नीति कार्यान्वयन, बाली लगाउनुअगावै न्यूनतम समर्थन मूल्य तोक्ने, कृषि बीमालाई प्रभावकारी बनाउने र नेपाली चामलको ब्रान्डिङ गरी वैश्विक बजारमा पहुँच कायम गर्ने ।
५. क्षेत्र विस्तार र प्रवद्र्धन ः चैते धानको क्षेत्र विस्तार तथा हिउँदे सिजनमा बाँझो रहने तराईको जमिनमा हिउँदे धान खेती प्रवद्र्धन गर्ने ।

अन्त्यमा, धान नेपालको अर्थतन्त्र, संस्कृति र खाद्य सुरक्षाको ऋण हो । विगत वर्षको रेकर्ड उत्पादन पछि पनि चालू वर्ष उत्पादनमा आएको गिरावटले जलवायु परिवर्तन र नीतिगत कमजोरीलाई सम्बोधन गर्न ढिला गर्न नहुने सन्देश दिन्छ । जलवायु अनुकूल प्रविधि, सिँचाइ सुधार, आधुनिकीकरण र नीतिगत सहयोगको समन्वय गर्दै तीनै तहको सरकार, निजी क्षेत्र र किसान संगठनहरूको साझा प्रयासले नेपाललाई धानमा आत्मनिर्भर बनाउन सकिन्छ । यसले आयात प्रतिस्थापन गरी विदेशी मुद्रा बचत गर्नेछ र ग्रामीण अर्थतन्त्रलाई सबल बनाउनेछ । यस दिवसले खाद्य तथा पोषण सुरक्षामा धानको योगदान एवं धानबाली प्रवद्र्धनमा ऊर्जा प्रदान गर्ने विश्वास लिइएको छ । यसर्थ २३ औं धान दिवस मनाइरहँदा हामी सबै तह, क्षेत्र र तप्काबाट जलवायु सहनशील धानखेती प्रविधि अपनाउँदै देशलाई धानमा आत्मनिर्भर बनाउन प्रयास गरौं । ‘कृषि मूलश्चः जीवनम्’ ।