धर्म, सामाजिक सद्भाव र राज्यको दायित्व

मेचीकाली संवाददाता

२० श्रावण २०८३, बुधबार
3 shares

घनश्याम कोइराला

सामान्यतया धर्म भन्नाले पूजापाठ, कर्मकाण्ड, ईश्वर वा परलोक प्राप्तिको माध्यमलाई मात्र बुझ्ने गरिन्छ । अझ आधुनिक युगमा धर्मलाई विभिन्न सम्प्रदाय—हिन्दू, बौद्ध, बोन, किराँत, इस्लाम, सिख, क्रिस्चियन, जैन आदि अथवा वैष्णव, शैव, शाक्त, सौर, गाणपत्य जस्ता पन्थहरूमा मात्र सीमित गरेर हेर्ने संकीर्ण दृष्टि हाबी भएको छ । तर, धर्म केवल उपासनाको पद्धति वा सम्प्रदाय मात्र होइन ।

धर्म भनेको अवधारणा हो, धारण गर्नु हो, सकारात्मक धारणा बनाउनु र सोही धारणा अनुसार जीवन व्यतीत गर्नु हो । यस्तो धारणा व्यक्तिपिच्छे फरक हुन सक्छ; कसैसँग मिल्न पनि सक्छ र नमिल्न पनि सक्छ । धर्म शब्दको वास्तविक मूल अर्थ कुनै पनि वस्तु वा प्राणीको स्वाभाविक गुण र स्वभाव हो । जस्तै—आगोको धर्म तातोपन हो, जलको धर्म शीतलता हो, त्यसरी नै मानिसको धर्म उसको कर्तव्य, नैतिक आचरण र सामाजिक अनुशासन हो ।

धर्म कहिल्यै एकनाश वा स्थिर मात्र हुँदैन । परिस्थिति र सम्बन्ध अनुसार यसका विविध आयामहरू हुन्छन्। राष्ट्रधर्म, समाजधर्म, परिवारधर्म, साधारणधर्म, विशेषधर्म र आपद्धर्म जस्ता आयामहरूले मानिसलाई दायित्वबोध गराउँछन् । धर्म व्यक्तिगत मान्यता पनि हुन सक्छ र सामूहिक स्वीकार्यता पनि । यहाँसम्म कि, ईश्वर वा परलोक नमान्ने नास्तिकको पनि आफ्नै जीवनदर्शन वा नैतिक निष्ठाको धर्म हुन्छ । कर्तव्य र आचरण गुण र स्वभाव सामाजिक सद्भाव धर्मको वास्तविक स्वरूप हो । धर्म र कट्टरताः प्रतिबद्धता र आक्रमणबीचको भिन्नता हुन्छ । कुनै पनि धर्मले अर्को धर्ममाथि प्रहार गर्न, घृणा फैलाउन वा आक्रमण गर्ने आदेश दिँदैन । तर, आज समाजमा धर्मका नाममा ’कट्टरता’को गलत व्याख्या भइरहेको छ ।

कट्टरताको सही अर्थ अर्काको आस्थामाथि हमला गर्नु होइन; बरु आफ्ना नियम, मूल्य र मान्यताप्रति स्वयम्मा कठोर भएर दृढ रहनु हो । आफ्ना धार्मिक वा नैतिक नियम आफूमा लागू गर्नु प्रतिबद्धता हो, तर त्यसलाई अरूमाथि जबर्जस्ती लाद्न खोज्नु अधर्म हो । आफूलाई आफ्नो धर्ममा अडिग राख्नुलाई कट्टरता भन्नुभन्दा ‘प्रतिबद्धता’ भन्नु उपयुक्त हुन्छ । यस सन्दर्भमा श्रीमद्भगवद्गीतामा भनिएको छः स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः यसको गूढ अर्थ अरूको धर्म वा आस्थामाथि आक्रमण गर्नु होइन, बरु अरूको देखासिखी नगरी आफ्नो कर्तव्य र नैतिक निष्ठाप्रति आफूलाई समर्पित र प्रतिबद्ध बनाउनु हो ।
त्यसैगरी मनुस्मृतिमा पनि भनिएको छः स्वं स्वं चरित्रं शिक्षेरन् पृथिव्यां सर्वमानवाः अर्थात्, संसारका सम्पूर्ण मानवले आ–आफ्नो चरित्र, कर्तव्य र मर्यादाको शिक्षा लिनुपर्छ र सोही अनुसार आचरण गर्नुपर्छ । धर्मको मूल मर्म मानिसको मन जित्नु हो, त्रास वा आक्रमणद्वारा कसैलाई पराजित गर्नु होइन ।

जब एकले अर्कालाई अप्ठ्यारो पार्ने, दबाउने वा सिध्याउने प्रयास गर्छ, तब समाजमा द्वन्द्वको सिर्जना हुन्छ । द्वन्द्व बढ्दै जाँदा झगडा, संघर्ष र युद्धको रूप लिन्छ । तर सोच्नुपर्ने गम्भीर प्रश्न के हो भने—के युद्धबाट धर्मको जित वा हार हुन्छ ? कुनै पनि धर्म आफै हातमा तरवार, खुकुरी, भाला, बन्दुक वा बम–बारुद लिएर युद्धमैदानमा उत्रिँदैन । धर्मका नाममा लड्ने त मानिसहरू नै हुन् । मानिसको शक्ति, संख्या र शक्ति–सन्तुलन सधै एउटै रहँदैन । त्यसैले युद्धमा हुने जित वा हार धर्मको सत्यता वा शक्तिको आधारमा नभई मानिसको भौतिक बल र रणनीतिमा निर्भर हुन्छ ।

के तपाईं आफ्नो धर्मलाई जित र हारको दाउमा राख्न चाहनुहुन्छ ? के सिङ्गो धर्मलाई यसरी दाउमा राख्ने वा हराउने अधिकार कुनै व्यक्ति वा समूहलाई छ ? पक्कै पनि छैन । समाजमा हुने दुई व्यक्ति वा समूहबीचको झगडालाई प्रायः ’धार्मिक द्वन्द्व’को रूपमा चित्रित गर्ने गरिन्छ, जुन सर्वथा गलत छ । घटनामा संलग्न हुने केही उपद्रवी वा अवांछित मानिसहरू हुन सक्छन् । कसैको व्यक्तिगत व्यवहार वा अवाञ्छनीय कार्य कसैलाई मन नपर्नु व्यक्तिगत विषय हो ।
जब हिंसा वा उपद्रव हुन्छ, तब कानुनले अनुसन्धान गर्दा धर्मको सिद्धान्तको परीक्षण गर्छ कि संलग्न मानिसको अपराधको ? दोषी ठहरिने मानिसलाई कारबाही हुन्छ कि उसले मान्ने धर्मलाई ? उत्तर स्पष्ट छ—दोषी मानिस हुन्छ, धर्म होइन ।
वास्तवमा, न सबै मुस्लिम, न सबै हिन्दू, न त अन्य कुनै सम्प्रदायका मानिसहरू नै एक–अर्कालाई सिध्याउन लागेका छन् । बहुसंख्यक नागरिक शान्ति, सहअस्तित्व र सद्भावको पक्षमा छन् । तर केही व्यक्ति वा समूहको आवेग र आक्रोशको प्रकटीकरणलाई सिङ्गो धर्मसँग जोड्नु धर्मकै अपमान गर्नु हो ।
दीर्घकालीन समाधानका उपायहरू हुँदै नभएको होइन । समाजमा धर्मका नाममा हुने द्वन्द्व, दंगा र हिंसा अन्त्य गर्न भावनामा बगेर होइन, चेतना र नीतिका आधारमा दीर्घकालीन समाधान खोज्नु आवश्यक छ ।

आत्मनियन्त्रण र व्यक्तिगत सचेतना, सांस्कृतिक सद्भाव र संस्कार र राज्य र राजनीतिक उत्तरदायित्व दीर्घकालीन समाधानका आधार हुन सक्दछन् ।

आत्मनियन्त्रण र विविधताको स्वीकार्यता
हामीलाई थाहा छ—एउटै जात, एउटै धर्म, एउटै पार्टी वा एउटै परिवारभित्र पनि सबै मानिसको रुचि र सोच एउटै हुँदैन । मानिसको स्वभाव नै नयाँ, फरक र भिन्न कुराको खोजी गर्ने हुन्छ । यो भिन्नतालाई स्वीकार गर्नु र आफूलाई संयमित राख्नु नै आत्मनियन्त्रण हो । आत्मनियन्त्रण नै द्वन्द्व व्यवस्थापनको पहिलो र उत्तम उपाय हो ।

मूल्य, मान्यता र संस्कृति
हाम्रा सामाजिक रीतिथिति र संस्कृतिले मानिसलाई बाँध्ने काम गर्छन्। भिन्नताभित्र सहिष्णुता र आदरको भाव विकास गर्ने सांस्कृतिक मूल्य–मान्यताहरूलाई प्रवद्र्धन गरिनुपर्छ ।

राज्य र राजनीतिक दलहरूको उत्तरदायित्व
द्वन्द्व नियन्त्रण र नियमन गर्ने अन्तिम र निर्णायक निकाय राज्य नै हो । राज्य भनेको शासन हो र शासन भनेको नागरिकलाई दिइने शिक्षा र सुरक्षा पनि हो । लोकतान्त्रिक व्यवस्थामा राज्य सञ्चालनको बागडोर राजनीतिक दलहरूको हातमा हुन्छ ।
तर, वर्तमान नेपालको सन्दर्भमा हेर्ने हो भनेः गाउँ–गाउँमा राजनीतिक दलका कमिटीहरू छन्, गाउँ–गाउँमा विद्यालयहरू छन्, गाउँ–गाउँमा राज्यका प्रशासनिक र सुरक्षा निकायहरू छन् ।

यति हुँदाहुँदै पनि समाजमा हुने विभिन्न प्रकारका द्वन्द्व, अशान्ति र दंगा रोक्नका लागि जुन स्तरको पूर्व–तयारी र सचेतना हुनुपर्ने हो, त्यो न राज्यले गरेको छ, न त राजनीतिले नै ।

राजनीतिक दलहरू संगठन विस्तार गर्छन्, सदस्यता थप्छन्, चुनाव जित्ने रणनीति बनाउँछन्—जुन स्वाभाविक होला । तर, आफ्ना भ्रातृ संगठन वा सांस्कृतिक विभागहरूमार्फत धर्मको व्यापकता, सांस्कृतिक एकता, विविधतामा सहिष्णुता र भातृत्व कायम गर्ने अभियान चलाउँदैनन् । नागरिकलाई धार्मिक र सांस्कृतिक रूपमा सचेत र शिक्षित बनाउनेतर्फ दलहरूको ध्यान पुगेको छैन ।
प्रायः घटना घटिसकेपछि वा हिंसा भइसकेपछि मात्र राज्य र दलहरू तात्छन् । बाढी वा पहिरो जस्ता प्राकृतिक विपत्ति आएपछि उद्धार गरेजस्तै, दंगा भएपछि शान्ति र्याली निकाल्ने, सद्भाव¥याली गर्ने र मञ्चमा बसेर भाषण गर्ने परम्परा बनेको छ ।

मौनता र सम्बोधनहीनताको खतरा
राज्यले दंगा नियन्त्रण गर्नु, छानबिन गर्नु र दोषीलाई कारबाही गर्नु प्राथमिक कर्तव्य हो । तर, यसलाई दीर्घकालीन समाधान बनाउनका लागि शिक्षा र सांस्कृतिक जागरणको विषय बनाउनु अनिवार्य छ ।
आजको अर्को दुखद पाटो के हो भने— दंगा र द्वन्द्वमा नलागेका, शान्त र निष्ठावान् धार्मिक–सांस्कृतिक समुदायहरू भने क्रमशः राज्य र समाजबाट पहिचानहीन र सम्बोधनहीन जस्तै बन्दै गएका छन् । जसले उपद्रव गर्दैन, उसको आवाज नसुनिने र उसलाई उपेक्षा गरिने परिपाटी घातक छ । अहिलेको यो मौनता र सम्बोधनहीनता भविष्यमा ठूलो असन्तोष वा विष्फोटको कारण बन्न सक्छ ।
धर्म मानिसलाई सिध्याउने वा आपसमा लडाउने हतियार होइन, मानिसलाई अनुशासित, नैतिकवान् र कर्तव्यनिष्ठ बनाउने जीवनपद्धति हो । धार्मिक कट्टरताको नाममा अरूमाथि हिंसा लाद्नु अधर्म हो ।

कुनै पनि धार्मिक द्वन्द्वको दीर्घकालीन र स्थायी समाधान शिक्षा, सचेतना र जिम्मेवार राजनीति नै हो । राज्य र राजनीतिक दलहरूले चुनाव र सत्ताकेन्द्रित राजनीतिबाट माथि उठेर सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र नागरिक चेतना अभिवृद्धिमा दीर्घकालीन योजनाका साथ काम गर्नु आजको अपरिहार्य आवश्यकता हो । तब मात्र समृद्ध, शान्त र अनुशासित समाजको निर्माण सम्भव हुनेछ ।