दसैं : शिक्षा र सोच दिएर गयो

मेचीकाली संवाददाता

७ कार्तिक २०७८, आईतवार
715 shares

घनश्याम कोइराला
दसैँ आयो, दसैँ गयो । दसैँ आउँदा उमंग, उत्साहसँगै शंका, विवाद लिएर आयो । यी सबै स्वाभाविकै हुन् । उही उही पक्ष, तिथिमा आउने भए पनि हरेक वर्षको दसैँ केही नयाँ जिज्ञासासहित आउँछ । यस वर्षको दसैँ पनि त्यसरी नै आयो र गयो । आर्थिक रूपले सम्पन्नहरूमा आउँदा पनि खुसी र जाँदा पनि खुसी देखियो । मध्यम वर्गका लागि आकाँक्षा र आपूर्तिबीच सोचेजस्तो भएन होला । निम्न आर्थिक अवस्था भएको वर्गका लागि आत्मीयता त दियो, तर ऋणको भारी बोकाएर गयो । कोरोना त्रासदी त छँदै थियो, दसैंको मुखमै भएका केही सबारी दुर्घटनाले सधैका लागि दसैँ खल्लो हुने बनाएर गयो ।

घर चलाउनकै लागि घर छोडेर विदेशिएका नेपालीहरूका लागि दसैँले आफ्नो मन–मस्तिष्क घरवासी परिवार र देशले तान्यो । मन नरमाइलो मात्र बनाएन, मन भक्कानिएर हिक्का नै छुटायो । रुँदैरुँदै भिडियो कल गरेर अर्को साल सँगै हुने वाचा गराएर गयो । घरमा दहीमा मुछिएको अक्षता कटकटी सुकाएर र पहेँलपुर पारिएका जमरा लल्याक लुलुक ओइलाएर, बुढा भएका बाबाआमालाई गहभरि आँसुका ढिक्का र भावुकताका हिक्का दिएर गयो । सँगै हुन नपाएका दम्पत्ति टोलाएर, बाबाआमासँग सँगै हुन नपाएका बालबालिका लोलाएर गयो ।

दसैँको विषयमा लेखपढ, चर्चापरिचर्चा गरिरहँदा कतिपयले यसलाई काल्पनिक कुरा हो भने । काल्पनिक देवी, काल्पनिक राक्षस–असुर, काल्पनिक कथा भनेर पनि भने । कल्पना नै सही, यति युगान्तकारी कल्पना कसले र कसरी गरियो होला ? कल्पना नै सही, समाजलाई यति बढी प्रभाव किन र कसरी परिरहेको होला ? यसबाट आजको पुस्ताले लिनपर्ने के होला ? सच्याउनपर्ने के होला ? छोड्न या मिल्काउन पर्ने के र कति होला ? यसतर्फ आवश्यक ध्यान दिने र नदिने दुवैथरि पाइए । दुर्गाकवचमा लेखिएको ‘यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम् मानिसले जे जे चिताउँछ वा परिकल्पना गर्दछ, त्यही त्यही नै प्राप्त गर्दछ’ लाई काल्पनिक भने र कल्पनालाई महत्वहिन ठाने । यिनै विज्ञान विज्ञान भनेर वैज्ञानिक देखिन खोज्नेहरूले महान् वैज्ञानिक अल्वर्ट आइन्स्टीनले भनेको ‘ज्ञानभन्दा परिकल्पना शक्तिशाली हुन्छ [Imagination is Powerful than knowledge] भनेको कुरा पनि बिर्से र कल्पनाको पनि आधार हुन्छ, कल्पनाको पनि शक्ति हुन्छ भन्नेतिर ध्यान नदिएरै गयो ।

दसैँको आधार जातपातमा भेटिँदैन । शास्त्रीय आधारहरू केलाउँदा नवदुर्गा–महामाताका जमानामा मानिस जातपातमा बाँडिएको थिएन । त्यति बेलाका ऋषि हुन् वा राजा, जातका आधारमा नभई कर्मपौरखका आधारमा थिए । कर्म र पौरखका क्षेत्र रूचिका आधारमा हुन्थ्यो । जस्तो परिवारमा जन्म्यो, त्यस्तै संस्कार बन्दै जानु विज्ञानसम्मत विषय नै हो । पक्ष वा विपक्षमा अपवाद नहुने कुरा भएन । नौ दिनसम्म जसको पूजा गरिन्छ, ती देवीहरू कुन जातका थिए भन्ने विषय कहीँ, कतै पाइँदैन । तर, यसभन्दा बाहिर सत्ताशक्तिका बलमा स्थापित गरिएको सामाजिक वर्णभेदलाई दसैँमा पनि जबर्जस्ती मिसाएर विवाद र विभाजन ल्याउने प्रयत्नको निरन्तरता पनि देखियो । दसैँ नमान्ने, मातृशक्तिमाथि विश्वास र सम्मान नगर्नेहरूको कुरा छोडौँ, हामी मान्नेजति सबैको साझा र समान हो विषयमा अलिअलि बल थपिए पनि पूर्ण रूपमा नछर्लङ्गिएर गयो ।

साथै, यस्तो पौराणिक आधारमा सनातनदेखि मानिआएको पर्वलाई नाक–नश्लका आधारमा समेत बाँड्ने विषय पनि कायमै रह्यो । महिषासुर–देवीमाथि आक्रमण गर्न आएको राँगोको वध गरेको कथा सुन्दासुन्दै पनि महिषासुर अनार्य थियो, हामी पनि अनार्य हौँ, अनार्यलाई मारेको रगतको प्रतिक मानेर रातो रँगाइएको टीका लगाइने दसैँ नमान्ने प्रवृत्ति पनि देखियो । देवी हुन् वा असुर, युद्धमा पक्ष–विपक्ष हुन्छ । सत्रु–सत्रुका बीच भएको युद्धमा हारजित हुनु स्वाभाविकै हो । तर, आफूलाई हारेको, मारिएको कित्तामा राख्न किन पर्छ र ? काल्पनिक पनि भन्ने, घटनासँग आपूmलाई आफैले जोड्ने प्रतिक्रियात्मक प्रवृत्ति पनि हरेक दसैँमा देखिन्छ र यस वर्ष पनि धेरथोर देखिएरै गयो ।

नेपालमा पितृसम्मान गर्ने सोह्रश्राद्ध र महामाताको सम्मान गर्ने यो दसैँ पर्व पूरा पक्षभरि (१५ दिन) मनाइने प्रचलन छ । यो १५ दिनलाई दुर्गा पक्ष भन्ने चलन पनि रहेको छ । अन्यत्रका हिन्दुको जस्तो विजया दशमीको दिन मन्दिरमा पुजेरीको हातबाट टीका(चन्दन र फूल) प्रसाद लिने प्रचलन यहाँ छैन । घर, मावल, ससुराली आदि परिवारका मान्यजनको हातबाट अक्षता र जमरा लगाएर आशीर्वाद–आशीर्वचन प्राप्त गर्ने नेपालीहरूको प्रचलन रहिआएको छ । यस्तो अभ्यास छँदाछँदै ‘रामले रावण वध गरी लंका विजय गरेको खुसियाली’मा मनाइने गरेको विजया दशमी केन्द्रित भएर शुभकामना दिने प्रवृत्तिमा केही सुधार आए पनि अलमल बाँकी राखेर गयो ।

यही राम र रावणको विषयलाई पनि ‘आर्य राम र अनार्य रावण’ भनेर पनि केही मानिसहरूले आपूmलाई रावणको कित्तामा उभ्याएको सुनियो । रामायण आदि कथा प्रमाण हेर्दा राम क्षेत्रिय थिए र रावण ब्राह्मण थिए । रावणलाई हिन्दुहरू (आर्यहरूले) पढेका र मान्दै आएका देवी–देवता, शास्त्रपुराण, ज्योतिष, योग, ध्यान, पूजा पद्धतिकै विद्वान् थिए । राम र रावण दुवैका इष्टदेवता महादेव (शिव) नै थिए । यस विषयमा पनि केही आग्रह–पूर्वाग्रह शेष राखेर गयो ।

मासु खानु र पशु बलिको भिन्नता बुझ्न आवश्यक छ । यी दुई विषय नितान्त फरक विषय हुन् । खाने कुरा पेट, रूचि, स्वास्थ्यसँग सम्बन्धित विषय हो भने बलि मान्यतासँग सम्बन्धित विषय हो । यसमा कसैको चित्त दुख्ने गरी टिप्पणी गर्नु उपयुक्त नहोला । पक्ष या विपक्षमा तर्क गर्न सकिन्छ, तर हठ पाल्नु उचित हुँदैन । देश, काल नसुहाउँदा धार्मिक मान्यताहरूमा परिवर्तन–परिमार्जन गरिएका अनेकौँ उदाहरण तथा प्रमाण शास्त्रमा र जीवन व्यवहारमा पनि छन् । केही विद्वान्हरूले पशुबलिको पक्षमा शास्त्रका पङ्क्ति उधृत गरेको पनि सुनियो ।

शास्त्र सबैका साझा हुन्, त्यो सबैले पढ्न सकिन्छ । तर, एक ठाउँमा आपूmले जे पढियो, जे देखियो, जे बुझियो त्यसैलाई अन्तिम सत्य ठान्ने प्रवृत्ति शास्त्रकै ‘वादे वादे जायेते तत्वबोध अर्थात् छलफलबाट नै सत्य बोध हुन्छ, सही निस्कर्षमा पुग्न सकिन्छ ।’ को प्रतिकूल हो । हिन्दू प्रवन्ध शास्त्र मनुस्मृतिमा श्राद्धमा मासुको परिकारबारे लेखिएको छ–‘भक्ष्यं भोज्यं च विविधं मूलानि च फलानि च । हृद्यानि चैव मांसानि पानानि सुरभिणि च अर्थात् अनेक प्रकारका खाने वस्तुहरू, फलफूल, मिठो गरी पकाइएका मासु आदि परिकार, सुगन्धित जल आदि सबै जुटाउनु पर्दछ ।’ (मनुस्मृति ३ । २२७) तर, के आजको हिन्दु, (अझ ब्राह्मण)ले श्राद्धमा मासु पकाउँछन् त ? पकाउँदैनन् । यसबाट शास्त्रीय प्रावधान सधै उस्तै रहन्छन् तर समाजले व्यवहार फेर्छ र संस्कृति बनाउँछ भन्ने स्पष्ट हुन्छ । तर, यस वर्षको दसैँ पनि यस विषयमा अलमलिएरै गयो ।

मान्यताका हिसाबले पशुबलि–रक्तबलिबारे चर्चा हुनु, यसको विकल्प खोज्नु, घर–मन्दिरलाई वधशाला नबनाउन र देवी—देवतालाई मांसभक्षी नबनाई प्राणी मात्रका संरक्षक मान्ने अवस्था सिर्जना गर्ने विषय सही नै भए पनि बलिप्रथा सनातन धर्म संस्कृतिमा मात्र भए जसरी भ्रम फैलाउने काम पर्याप्त भयो र यो भ्रमसँगै दसैँ गयो ।

पशु बलिसँग सम्बन्धित विषयको चर्चा गर्दा प्रायः देवीलाई दिने गरिएको पाइन्छ । तर, सबै देवीहरूलाई पशु–रक्तबलि दिइएको देखिँदैन । नव (नौ) दुर्गामध्ये पनि सबैलाई दिइएको हुँदैन । यदि सबैलाई दिइन्थ्यो भने पहिलो दिनदेखि नै दिइन्थ्यो होला । यहाँ पशु–रक्तबलि दिइने देवी सिंहवाहिनी अर्थात् सिंहलाई वाहन बनाएकी छन् । अन्यत्र हेर्दा पनि लक्ष्मी, सरस्वती, ऋद्धि, सिद्धि, सन्तोषी आदि देवीहरूलाई पशु बलि दिइएको देखिँदैन । यसबाट के अनुमान गर्न सकिन्छ भने पशुबलि देवीलाई नभई देवीको वाहन सिंहलाई दिइएको हुनुपर्दछ । आमरूपमा यस्तो अनमान पनि नगरेरै दसैँ गयो ।

यहाँ सनातन धर्म–संस्कृतिमा मात्र बलिप्रथा भएको प्रचार गर्दा अन्य धार्मिक प्रावधानमा ‘ईश्वर’ वा ‘आराध्य’लाई समर्पण नगरी–नगरिएको वस्तु नखाने प्रचलन रहेको तथ्यमाथि पर्दा हालियो । इस्लाममा अल्लाहलाई कुर्बान(कुर्बानी) नगरी खाइँदैन र हरेक पशु हलाल गर्दा अल्लाहलाई समर्पण गर्ने भाव राखिन्छ । ईदको समयमा काटिने खसी अल्लाहका नाममा ढालिन्छन् । ख्रिष्टहरू निस्तारको चाड मनाउँछन् । यस चाडमा सग्लो बाच्छोको विशेष प्रकारले बलि दिने प्रावधान छ । त्यस्तै, क्रिस्टमसपछि परमेश्वरलाई धन्यवाद ज्ञापन Thanks Giving मा टर्कीको मासु खाने प्रचलन रहेको छ । यी प्रथा परम्पराबारे ध्यानै नदिई सनातनमा रहेको पशुबलिको विरोध गर्दै मासु खाईखाई दसैँ गयो ।

अझ गज्जब कुरा त यही दसैँकै अवसर पारेर पशु अधिकार र पशु कल्याणका विषयमा समेत वहस चलाउने प्रयास देखिए । सही वा गलत आफ्नो ठाउँमा छ, हाम्रो नेपाली समाजको मासु खाने गरेका घरपरिवारमा दसैँलाई मासु खाने पर्वको रूपमा बुझिन्छ । बलि नदिनेहरूले पनि मासु खान्छन् । तर, नेपाली हिन्दूहरू सबै पशु बलि दिने र मासु खाने छैनन् । बलि शब्दको अर्थ पनि रक्तबलि–पशुबलि मात्र होइन भन्ने मान्यता पनि प्रबल छ । बलि त्याग, समर्पण हो । संस्कृतमा करलाई पनि बलि भनिन्छ । अमरकोशमा ‘भागधेय करो बलि लेखिएको छ यसको अर्थ अंश, कर र बलि एउटै अर्थ दिने शब्द हुन् ।’ जसको खानाको भागमा ७०–८० प्रतिशतसम्म मांसाहार हुने गर्दछ, उनीहरूको पशु कल्याण र पशु अधिकारका विषय पत्याउने र वहस गर्ने मानिसहरू देख्दा उदेक लाग्दछ । दसैँ यति कुरा पनि नबुझाएरै गयो ।

कतिपय आफूलाई द्वन्द्वात्मक भौतिकवादी भनेको मन पराउने नेताहरूले दसैँको टीका लगाइदिँदा भनिने आयुद्र्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे । ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्याधने । शीलं शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते । विज्ञाने बिदुरे भवति भवतां कीर्तिश्च नारायणे । (भावार्थः द्रोणाचार्यको छोरा अस्वत्थामाको आयु होस्, दशरथको जस्तो वैभव होस्, रामको जस्तो शत्रु नाश होस्, नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्म पितामहको जस्तो अनुशासन होस्, बलरामको जस्तो बल होस्, युधिष्ठिरजस्तो सत्यवादी होस्, बिदुरको जस्तो ज्ञान होस्, नारायण (विष्णु) को जस्तो कीर्ति होस् ।) मन्त्रमा जडसूत्रवादी गनगन गरिरहे । देवीको प्रसाद ग्रहण गर्दा सबै पुरुष देवता–महापुरुषको जस्तो हुने आशीर्वाद किन दिइएको होला भन्नेतिर होस् राखेको देखिएन । नयाँ संस्कृति निर्माणमा सिन्को नभाँच्ने, चलिआएका परम्पराको विरोध गर्दै निधार रँगाउने र कानमा जमरा घुसार्ने गरेको देखियो । जान्न नखोज्न–विरोध गर्ने, नयाँ नगर्ने–पुरानो नछोड्ने प्रतिक्रियात्मक प्रवृत्ति देखियो । दसैँले यो पाटो यसै छोडेर गयो ।

यसै छोडेर गए पनि हामीलाई यी विषयमा सोच्न प्रेरित गरेको छ । यसै छोडिएका विषयहरू हाम्रा लागि केही गर्ने अवसर र शिक्षा हुन् । यसर्थ दसैँ मनग्गे शिक्षा दिएर गएको छ । समाज शास्त्रीहरू–समाज विकास विज्ञान वेत्ताहरूका अनुसार पूर्वकालमा मातृसत्तात्मक युग (आमाहरूले नेतृत्व गरेको सामाजिक व्यवस्था भएको समय) थियो । हाम्रो समाजमा अहिले पनि रहेका देवीका प्राचीन मन्दिर, महिला प्रधान सामाजिक–सांस्कृतिक परम्परा त्यसै समयका अवशेष हुन् । त्यसपछि देवता या राजाका युग पुरुष प्रधानताको युग हो ।

यसरी हेर्दा नवदुर्गाको स्थापना, पूजा र कथा श्रवण, महिमा गायन मातृसत्ताका विषय हुन् भने देव, असुर, दानव, राक्षस आदि पुरुष प्रधानता पितृसत्ताका विषय हुन् । हामीले नवदुर्गा मनाउँदा महिला शक्तिको सम्मानमा ध्यान दिने आसयलाई बल पु¥याउनुपर्दछ । हामी अहिले मातृसत्ता वा पितृसत्ता कायम राख्ने या राख्नुपर्छ भन्ने मान्यता राख्दैनौँ, तर लैङ्गिक विभेद अन्त्य होस्, समतामूलक समन्यायिक समाज बनोस् भन्ने चाहन्छौँ । महिला–पुरुषभन्दा भिन्न प्राकृतिक लिंगका मानिसहरूको समाज पनि यही हो र त्यस पक्षको पनि हितकारी र सम्मान गर्ने समाज होस् भन्ने चाहन्छौँ ।

प्रकृतिमा प्राप्त पदार्थहरूको सदुपयोग गर्न सकिन्छ, मानव निर्मित प्रथा–परम्परा, मूल्य–मान्यता र संस्कृति फेर्न सकिन्छ । वेद, पुराणहरू हेर्दा, पढ्दा र बुझ्दा यसरी फेरिँदैआएको भेटिन्छ । मानव हितमा, स्वास्थ्यको प्रतिकूल नहुने गरी, कसैको मनमा चोट नपारीकन दसैँ मनाउन सकिन्छ । विगतका युद्ध र त्यसमा भएका जयपराजय इतिहास र संग्रहालयमा सुरक्षित गर्दै अघि बढ्नु आजको आवश्यकता हो । समानता, सद्भाव, सम्मान र सकारात्मक सोच दसैँ पर्वको अन्तर्वस्तु हो ।

पहिले बुझौँ, अनि फेरिन सक्छौँ । आफूले नबुझी, आफू नफेरिई समाज र संस्कृति फेर्न सकिँदैन । नबुझिएको र नफेरिएको संस्कृतिले अन्धविश्वास र अन्याय बोक्दछ । हामीले हाम्रो संस्कृतिका विज्ञानसम्मत आधारहरूमा टेकेर समसामयिक र समन्यायिक बनाउनु आवश्यक छ ।