धर्मलाई विद्वेषको विषय नबनाऔँ, बुद्धलाई साझा बनाऔँ

मेचीकाली संवाददाता

३ मंसिर २०७८, शुक्रबार
704 shares

घनश्याम कोइराला
सत्यं वद सत्य बोल । धर्मं चर धर्मयुक्त व्यवहार गर । स्वाध्यायन्मा प्रमदः अध्ययन गर्न अल्छ्याइँ नगर । ….मा विद्विषावहै विद्वेष—झगडा नगरौँ आदि उपनिषद्मा यस्ता विषय छन् । यी विषय धर्मशास्त्रका विषय बनेका छन् । सनातन धर्म—संस्कृतिका यस्ता महत्वपूर्ण विषय सारा संसारका लागि हितकारी छन्, उपदेशात्मक छन्, प्रेरक र ग्रहणीय छन् ।

अहिले केही मानिसहरू वेद, उपनिषद्, शास्त्र, पुराण भन्नासाथ हिन्दु र गैरहिन्दुका कुरा उछाल्ने काम गर्दछन् । यी भनाइ यति बेलाका हिन्दुहरूले अवलम्बन गरिरहेको हुनाले यसलाई र यसका अवलम्बनकर्ताहरूलाई साम्प्रदायिक भएको आरोप लगाउँछन् । अर्काथरि, यस्ता विषयलाई आफ्नै धर्मको मूलस्रोत मान्नेहरूले पनि यसका मर्मलाई आत्मसात गर्न सकेको देखिँदैन ।

एकातिर धर्म यति राम्रो उपदेश दिन्छ, अर्कातिर यही धर्मका नाममा लडाइँ, ध्वाँस, ललकार, चुनौती दिएको पाइन्छ । धर्मका नाममा युद्धकै घोषणासम्म गर्न पुगेको देखिन्छ । संसारमा धर्मयुद्ध भएका छन्, नभएका होइनन्, तर ती धर्मयुद्धका परिणाम कहाँ सुखद र हितकारी भएको छ त ? सनातन संस्कृतिका विषयवस्तु र आधारहरू हेर्दा वास्तवमा धर्मयुद्ध भन्ने शब्दको अर्थ एउटा धर्मका अनुयायीहरूले अर्को धर्मका अनुयायीहरूसँग लड्ने वा दुई भिन्न धर्मावलम्बीहरू बीचको युद्ध भनेको हुँदै होइन । बरु, महाभारतको युद्धलाई धर्मयुद्ध भनिएको पाइन्छ । धर्मपूर्वक गरिने न्यायिक युद्ध वा लडाइँ धर्मयुद्ध हो । सबैलाई थाहा छ, महाभारतको युद्ध कसरी, केका लागि र कसका बीचमा भएको थियो भन्ने कुरा कसलाई थाहा नहोला र ?

अनि, उपनिषद् रचना गरिएको—निष्कर्ष निकालिएको समय, महाभारत युद्धको समयमा क्रिश्चियन, इस्लाम, बौद्ध, शिख आदि धर्म थिए र ? कालका हिसाबले त त्यस्तो देखिँदैन । त्यसैले वेद, उपनिषद्, पुराणमा वर्णन गरिएका, निर्देश गरिएका विषय हिन्दु र अहिन्दु बीचको विषय हुनै सक्दैन ।

यहाँ धार्मिक मान्यताहरूबारे चर्चा गर्ने आसय होइन, केवल धर्मका नाममा लडाइँ, झगडा, कलह, विद्वेष गर्नु धर्मको विषय नभई अधार्मिक विषय हो भन्न खोजिएको हो । धर्मको व्याख्या ठाउँ, परिस्थिति अनुसार फरक फरक ढंगले हुन सक्दछ र हुँदैआएको छ । अधिकांश धार्मिक मान्यताहरूमा धर्म भनेको सदाचार, दया, माया, करुणा, कर्तव्य, स्वभाव, गुण आदिलाई मानिएको पाइन्छ ।

ईशा मसीहले निश्चित परिवेशमा र परिस्थितिमा गरिएको अगुआइ र मार्गदर्शन मूलतः त्यहाँका लागि अनुकरणीय मान्न सकिन्छ । कतिपय विषय अन्यत्रका लागि पनि काम लाग्ने हुन सक्दछ । मोहम्मद पैगम्बरका सन्देशहरू पनि निश्चित क्षेत्र— भूगोलका लागि ठ्याक्कै मेल खाने, अपरिहार्य हुन सक्दछ र अन्यत्रका लागि सामान्यतया ग्रहणीय हुन सक्दछ । अन्य धर्माचार्य—धर्म प्रवर्तकहरूका सन्दर्भमा पनि यही विषय लागू हुन सक्दछ । सनातनको विषयवस्तु र सन्देश अलि बढी व्यापक छ, तापनि भूगोल र प्रकृतिका दृष्टिले यसको पनि निश्चित आधारभूत क्षेत्र छ । यद्यपि, यसको प्रभाव, यसका शाखा, प्रशाखा आदिको विस्तार ठूलो छ । यो बहुदेववादी प्रकृतिको भएको हुनाले यसमा धार्मिक कट्टरता कम र ग्रहणीयता बढी छ । तर, सबै भूगोलमा उत्तिकै यो पनि छैन ।

अर्को कुरा मानिस कुनै जड जात होइन, आफ्नो खुसी र बाध्यता दुवै कारणले मानिस स्थानान्तरण गरिरहने जात हो । तसर्थ आपूm जहाँ जहाँ पुग्दछ, आफ्नो धर्म, संस्कृति, कला, सीप, मूल्य—मान्यता त्यहाँ त्यहाँ लैजान्छ । यातायात तथा सञ्चार सुविधाका कारण अहिले संसारका जुनसुकै कुनामा विकसित भएका जुनसुकै विषय संसारका सबै ठाउँमा पुग्न सहज छ । यसमा धर्म—संस्कृति कसरी छुट्टिन सक्छ र ? यस्ता विषयलाई सभ्य मानिसले स्वाभाविक रूपमा लिनुपर्दछ । आफ्ना असल पक्षहरू असल तरिकाले अवलम्बन गर्ने तर, अरुमाथि नथोपर्ने र अरुको विरोध, निन्दा पनि गर्दै हिँड्नु हुँदैन । अन्यत्रबाट आएका त पाहुना हुन्, पाहुनालाई सम्मान गर्नुपर्छ, सम्मान गरौँ, पाहुनाकै पछि लाग्नु हितकर हुँदैन ।

बरु, हामी सबै नेपालीहरूले गौतम बुद्धका विषयमा, बौद्धमार्ग वा बौद्ध दर्शनका विषयमा थप ध्यान केन्द्रित गर्न आवश्यक देखिन्छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय व्यक्तित्व र नेपालका राष्ट्रिय विभूति हुन् । बुद्धलाई हिन्दूहरूले भगवान विष्णुको अवतार र बुद्ध धर्मका संस्थापक हुन् । बुद्धका विषयमा संसारमा धेरैथरि अध्ययन भएको छ । धार्मिक हिसाबले पनि संसारको निकै ठूलो जनसंख्या बौद्ध मतावलम्बी रहेको छ ।

राजकुमार सिद्धार्थ गौतमबाट शाक्यमुनि बुद्ध, महात्मा बुद्ध, महामानव, शान्तिका अग्रदूत, भगवान बन्न उनले प्राण नै संकटमा पर्ने गरी कठोर तप गरेको प्रसंग छ । कठोरताबाट नभई जीवन र लक्ष्यका बीच सन्तुलनको मध्य मार्ग अपनाएर सफलता प्राप्त हुने व्यावहारिक निष्कर्षको अवलम्बनबाट बुद्धले शान्तिको मार्ग पहिल्याएका थिए । यसबीच उनको तपश्चर्याबाट प्रभावितहरूले उनको व्यावहारिक तथा सन्तुलित जीवनचर्याको आलोचना र निन्दा समेत गरेका थिए । निन्दा र आलोचनाबाट विचलित नभई, आदर्शबाट च्यूत नभई, सन्तुलित साधनाबाट सिद्धि प्राप्त गरेका बुद्धको गृह त्यागदेखि बुद्धत्व प्राप्ति सम्मको विषय मनन गर्दा बुद्धलाई चिन्न गाह्रो पर्दैन ।

बुद्धलाई कहिलेकाहीँ विवादको विषय बनाइन्छ । बुद्ध विवाद होइनन्, बुद्ध त समाधान हुन् । बुद्ध खोजी मात्र होइनन्, उपलब्धि हुन् । बुद्ध खोजीका अन्त्य होइनन्, खोजिरहन सकिने व्यक्तित्व हुन् । नाक—नस्लमा देखिने आर्य—अनार्यमा बुद्ध भेटिँदैनन् । बुद्धको खोजी जात, धर्म र नस्लमा खोज्नु र निष्कर्ष निकाल्नु बुद्धप्रतिको अन्याय ठहर्छ । महान् व्यक्तित्वहरू जात, धर्म, नस्ल आदिभन्दा माथि हुन्छन् । बुद्धलाई कसैको स्वीकारोक्तिको चुलीमा र अस्वीकारोक्तिको खाडलमा खोजिनु, तोकिनु र सीमित पारिनुहुँदैन । बुद्धलाई सबै देश, सबै जाति समुदाय, सबै नस्ल, सबै धार्मिक मान्यता भएका मानिसहरूले मानून् भन्ने सोच्नु पर्दछ ।

हामी बुद्धको जन्मभूमिका मानिसहरूले बुद्धलाई आफ्नो निजी, सामाजिक र राष्ट्रिय(राजकीय) जीवनमा अनुवाद गरेका छौँ ? के बुद्ध चर्चाका मात्र विषय हुन् ? के यिनी धार्मिक मत—मान्यताका विवादका विषय हुन् ? के बुद्धको खोजबाट हामी वर्तमान र भविष्यका लागि लाभान्वित हुन सक्ने मौलिक मार्गदर्शन फेला पार्न र त्यसलाई अवलम्बन गर्न सक्दैनौँ ? बुद्धको संकेतलाई हामीले हाम्रा समस्या समाधान र अवसर विकासको माध्यम बनाउन सक्दैनौँ ? यस्ता प्रश्नहरूप्रति इमान्दार भयौँ भने बुद्धको सार संरक्षण गर्न र त्यसबाट लाभान्वित भइरहन सकिने छ, अन्यथा बौद्धलाई खोक्रा आदर्शवादी कथा र उनको जन्मस्थलको सारहीन भग्नावशेषको कथामा सीमित पारेका हुनेछौँ ।

बौद्ध साहित्यहरू अध्ययन गर्दा उनी राजदरबारमा रहँदैदेखि केही विशिष्ट गुणहरूको वर्णन पाइन्छ । बुद्धमा प्राणीहरू प्रतिको करुणा थियो । बुद्धमा सहनशीलताको गुण थियो । बुद्धमा त्यागको भावना थियो । बुद्धमा दृढ संकल्प थियो । बुद्ध संयमित र धैर्य थिए । बुद्धमा जिज्ञासु र अन्वेषक प्रवृत्ति थियो । उनी अन्तर्मुखी थिए । यी विषयलाई पुष्टि गर्ने अनेकौँ घटनाहरू कथाका रूपमा पढ्न पाइन्छ ।

आफ्नै दरबार बाहिर उनले वृद्ध मानिस देखे, बिरामी देखे र मृतक देखे र यस विषयमा आफ्ना सहयोगी सेवक (सारथि) सँग क्रमशः जिज्ञासा राख्दै गरे र उनको उत्तरबाट जीवनको यथार्थ अवस्थाबारे जानकारी पाएर सिद्धार्थ गृहत्याग गरेको कथा पनि सुन्दछौँ । जीवनको २८—२९ वर्षसम्म बुद्धले यी विषयमा बुझ्दै नबुझेको अर्थ लाग्ने कथामा जस्ताको तस्तै सहमत हुन सकिँदैन । बरु, सिद्धार्थले सारथिलाई जीवनको वास्तविकताबारे स्पष्ट्याएको हुनुपर्दछ । यस अन्तक्र्रियाबाट आफ्नो अन्तर्मनको जिज्ञासालाई निर्णायक रूपमा मूर्तता दिएको संकेत हुन सक्दछ । सिद्धार्थमा बुद्ध बन्ने आन्तरिक गुणहरू पहिलेदेखि नै विद्यमान थिए । त्यसैलाई परिपक्व बनाउन, मानसिक अलमल वा दुविधाबाट मुक्त हुन, वास्तविक शान्तिको मार्ग तथा उपायको खोजी गर्न उनले राजपाट, घर—गृहस्थी छोडेको देखिन्छ ।

हिन्दू धर्मशास्त्रसँग बुद्धलाई जोड्नुको तात्पर्य हिन्दूकरण गर्नु होइन, यसो गर्नु आवश्यक पनि छैन । संसारका सबैका लागि बुद्धको व्यक्तित्व र कृतित्व आफैमा महत्वपूर्ण छ । सनातन संस्कृतिका महत्व बढाउनकै लागि पनि बुद्धलाई हिन्दूकरण गरिरहन आवश्यक छैन । बुद्ध, केवल बुद्ध मात्र यस्ता मत प्रवर्तक हुन्, जसले आफ्ना पूर्ववर्ति व्यक्तित्वका कुनै विषयको आलोचना, विरोध र निन्दा गरेका छैनन् । अन्य मतका प्रवर्तकहरू खण्डन—मण्डन प्रवृत्तिबाट स्थापित भएका छन्, तर बुद्धबाट यस्तो भएको पाइँदैन ।

बुद्धलाई अवतार मान्ने र नमान्नेहरूले पनि बुद्धको त्याग, तप(साधना÷खोज) र निष्कर्षहरूबाट शिक्षा लिन आवश्यक छ । खासगरी, बुद्धका यी निष्कर्षहरू — ‘बुद्धं शरणं गच्छामि अर्थात् ज्ञानको शरणमा जान्छु, ज्ञानलाई सर्वोपरि महत्व दिन्छु । धम्मं शरणं गच्छामि अर्थात् धर्मको शरणमा जान्छु, नीति—नियम, आचरण, कर्तव्य आदिलाई स्वीकार र सम्मान गर्दछु । संघं शरणं गच्छामि अर्थात् संघको शरणमा जान्छु, मेलजोलमा बस्दछु, अर्काको दुःखमा साथसहयोग गर्न र आफ्नो असहजतामा सबैलाई सहभागी बनाउने व्यवहार आत्मसात गर्दछु ।’ यी निष्कर्षहरू मन्त्रका रूपमा स्वीकृत छन् । यति मात्र पर्याप्त छैन, यी निष्कर्षका पछाडि त्यतिबेलाको सामाजिक अवस्थाको संकेत गर्दछन् । ज्ञान, धर्म र संघलाई सर्वोपरि स्वीकार गरी सम्मान गर्नुपर्ने आवश्यकताबारे सामाजिक अध्ययन गरेर नै बुद्ध यस निष्कर्षमा पुगेको सहज अनुमान गर्न सकिन्छ । हुन त बुद्धका यी निष्कर्ष कालजयी छन् र त बुद्ध कालजयी छन् ।

बुद्धको उपदेशमा रहेको अष्टांग मार्गको ‘१.सम्यक दृष्टि २. सम्यक संकल्प ३. सम्यक वचन ४.सम्यक कर्म, ५. सम्यक आजीविका ६.सम्यक व्यायाम ७. सम्यक स्मृति ८. सम्यक समाधि’ लाई वैयक्तिक जीवनदेखि राष्ट्रिय स्तरका योजना तर्जुमा गर्न उपयोग गर्न सकिन्छ । दृष्टिकोण, दृढ संकल्प, सन्तुलित र संयमित वचन, निरन्तर सत्कर्म, सदाचारमा आधारित आजीविका, स्वस्थ शरीर, स्मरणशीलता, सन्तुष्टिका विषयले गरेको स्पष्ट र सारभूत मार्गदर्शन हामीले ग्रहण गर्न सक्नुपर्ने होइन र ? यी विषय उपदेश र प्रवचनका मात्र विषय होइनन्, व्यावहारिक जीवनका उन्नतिका लागि वैज्ञानिक मार्गदर्शन हुन् ।

बुद्धको जाति, वर्ण, वंशको हिसाब गरेर, कसैसँग फरक देखाएर होइन, बुद्धको जीवनी र जन्मस्थल मात्र होइन; बुद्ध सनातन र वैशिष्ट्य दुवै दृष्टिले हाम्रा मार्गदर्शन हुन् । कम्तीमा बुद्ध हिन्दू र बौद्ध दुवैका बराबर हुन् । यस मान्यताले हामी हाम्रो संस्कृतिका आधारहरू एउटै रहेको पाउने छौँ । यसबाट हामी ठूलो अन्तर्विरोधबाट मुक्त हुन सक्दछौँ । बुद्धलाई हिन्दू धर्मग्रन्थमा भेटिनुलाई, विष्णुको अवतारको रूपमा ग्रहण गर्नुलाई ‘हिन्दूकरण’ गर्ने सन्दर्भमा नभई बौद्ध र हिन्दूको मिलन बिन्दुका रूपमा बुझ्नु सबैका लागि श्रेयस्कर हुनेछ ।

कुनै पनि धर्मले शान्तिको खोजी, प्राप्ति र विस्तारको अपेक्षा गर्दछ । तर, जुन स्थान र प्रकृतिमा जुन सुहाउँदो हुन्छ, त्यो नै अनुकरणीय हुन्छ । हामी नेपालीहरू जुन जुन धार्मिक मान्यताका छौँ, आआफ्नै आस्थामा दृढ रहँदै हाम्रै नेपाल भूमिमा जन्मेर देवत्व प्राप्त गरेका, संसार मानेका गौतम बुद्धलाई नबिर्सौँ । (लेखक संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)