कपिलवस्तुमा हैजा विरुद्धको खोप अभियान सुरु

हैजा निवारणका लागि सरसफाईमा ध्यान दिनुपर्ने

मेचीकाली संवाददाता

६ मंसिर २०७८, सोमबार
386 shares

पार्बती आचार्य
कपिलवस्तु । कपिलवस्तुमा हैजा बिरुद्धको खोप अभियान आईतबार देखि शुभारम्भ भएको छ । यशोधरा गाउँपालिका अन्तरर्गत आधारभूत स्वास्थ्य अस्पताल बैदौलिमा हैजा खोप अभियानको स्वास्थ्य जनसंख्या परिवार कल्याण मन्त्री ईन्द्रजित थारुले ब्यानर पढेर अभियानको उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन लगत्तै यशोधरा गाउँपालिकाका अध्यक्ष गिरीजेश कुमार पाण्डेयलाई हैजा बिरुद्धको ओरल कोलेरा खोप खुवाएर खोपको सुभारम्भ गरिएको हो ।

सुभारम्भ कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथी एवं स्वास्थ्य जनसंख्या परिवार कल्याण मन्त्री थारुले चेतनाको कमीका कारण यस जिल्लाका नागरिकहरुलाई दिशा गर्न सिकाउनु पर्ने अवस्था देखिएको बताए । शिक्षाको कमी देखिएको हुँदा यहाँका नागरिकहरुलाई सौचालयमा सौच गर्नका लागि शिक्षा दिन स्थानियतहलाई आग्रह गरेका छन् ।

शैक्षिक क्षेत्रमा कमजोर रहेको कपिलवस्तु र बाँके जिल्लालाई अन्य जिल्ला सरह उठाउनका निम्ति प्रदेश सरकारले योजना बनाएर अगाडी बढीरहेको बताए । आधारभुत शिक्षा, माध्यमिकतह सम्मको शिक्षा र आधारभूत स्वास्थ्य, निःशुल्क स्वास्थ्य संचालनको लागि गाउँपालिकाको जिम्मेवारी रहेको हुँदा सरसफाई, सौचालय, शुद्ध पिउने पानी लगाएतका बिषयमा स्थानियतहको ठुलो भुमिका रहेको मन्त्री थारुले जानकारी दिए । खुला दिशामुक्त क्षेत्र घोषणा भईसकेको जिल्लामा यस्ता समस्या देखापर्नु लज्जास्पद हो उनले भने ।

नगरपालिका र गाउँपालिकाहरुले घरमा सौचालय छ वा छैन, खाने पानीको ब्यबस्था कस्तो सो को अनुगमन गरी सापेक्षिक रुपमा कार्यक्रम बनाएर जान सकिने बताए । हैजा नियन्तरणको निम्ति दिर्घकालिन कार्यक्रमका लागि स्थानिय सरकार र प्रदेश सरकार जिम्मेवार ढंगले बजेट र योजनालाई केन्द्रित गरेर जाने हो भने समस्याको समाधान गर्न सकिने बताए ।

उपचार गर्नु भन्दा रोग लाग्न नदिनुनै मुख्य कुरा भएको हुँदा स्वास्थ्य क्षेत्रको मुल सिद्धान्तलाई आत्म साथ गर्दै अगाडी बढाउनुपर्नेमा जोड दिएका थिए । खोप निर्मलको निम्ति होईन नियन्त्ररणको लागि मात्र हो भन्ने कुरा सबैले बुझ्न जरुरी छ । दिर्घकालिन रुपमा अगाडी बढाउने भनेको यहाँका जनाताहरुको चेतना स्तर बृद्धि गर्ने र आबश्यक स्वास्थ्य पुर्वाधारहरु खडा गर्ने बताए ।

यस्तै समस्यालाई समाधान गर्न हरेक स्थानियतहमा १५ शैयाको अस्पताल स्थापना गर्नको लागि संघिय सरकारले बजेट बिनियोजन गरि सकेको छ । संघिय सरकारले देशब्यापी रुपमा १५ शैयाको अस्पताल सिलान्यास गरेको छ र टेण्डर प्रक्रियामा समेत गईसकेको हुँदा त्यसको दरबन्दी देखि लिएर भौतिक पुर्वाधार निर्माणमा संघिय सरकारले छिटो भन्दा छिटो कार्य सम्पादन गरोस भन्ने माग रहेको बताए ।

लुम्बिनी प्रदेशका १ सय ९ वटा स्थानियतहका १५ शैयाको अस्पताल निर्माणको निम्ति प्रदेश सरकारले पनि आफ्नो ठाउँबाट पहल गर्ने मन्त्री थारुले प्रतिबद्धता जनाए । यस्तै कार्यक्रमका बिशिष्ट अतिथी स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा.दिपेन्द्र रमण सिंहले हैजा तिब्र खालको संक्रमण भएको हुँदा बिश्वब्यापी रुपमा खतराको रुपमा रहेको जानकारी दिए । बिश्वका अधिकांश बिकासोन्मुख देशहरुमा महामारीको रुपमा रहनुकोसाथै अफ्रिकी लगाएतका देशहरुमा बढी फैलिने गरेको बताए ।

सरसफाईमा कमी, सुरक्षित पिउनेपानीको पौंचमा कमी हुनु, घनाबस्ती तथा कुपोषण जस्ता रोगहरु फैलिने बताए । बाहीय पर्यटनहरुको आगमन हुने भएको हुँदा यो रोगको फैलावट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत फैलिन सक्ने संभावना भएको समेत जानकारी दिए ।
स्वास्थ्य निर्देशनालय बुटवलका निर्देशक डा. बिनोद गिरीले कोलेरा रोगको किटाणु मान्छेको दिशामा हुने भएको बताए । जहाँ मान्छेले सौचालयमा दिशा गर्दैन त्यस क्षेत्रमा कोलेला रोग फैलिने गर्दछ । यो रोग मान्छेको दिशा खाएरै लाग्ने रोग भएको हुँदा आम नागरिकले सौचालयमा दिशा गर्ने, साबुन पानीले हात धुने र सरसफाईमा ध्यान दिन सकेमा रोग आफै निवारण हुने बताए ।

कार्यक्रममा यशोधरा गाउँपालिकाका अध्यक्ष गिरिजेश कुमार पाण्डेय, बिश्व स्वास्थ्य संगठन नेपालका प्रतिनिधी डा.राकेश सम्भाजिराव पाण्डव, ईपिडिमियोलिजी तथा रोग नियन्त्ररण महाशाखाका प्रमुख डा. अम्रित पोखरेल, युनिसेफ भैरहवाका फिल्ड अफिसर प्रमुख रिद्धि शर्मा लगाएतले खोप संचालन भएकोमा शुभकामना दिदैं आगामी दिनमा सरसफाईमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । कपिलवस्तुमा फैलिएको हैजालाई नियन्त्रण गर्न जिल्लामा बृहद अभियान संचालन थालिएको हो । जिल्लाका हैजा प्रभावित ५ पालिकामा हैजा बिरुद्धको ओरल कोलेरा खोप खुवाउन थालिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले प्रतिबेदन प्रस्तुत गर्दै हैजाबाट सुरक्षित हुन र सम्भावित मृत्युलाई रोक्न जिल्लाको यशोधरा गाउँपालिकाबाट खोप खुवाउने कार्यको थालनी गरिएको बताए । यशोधरा गाउँपालिकालाई ३७ हजार ७ सय ८३ जनालाई खोप खुवाईने छ । पाण्डेका अनुसार कृष्णनगर नगरपालिका, शिवराज नगरपालिका, महाराजगंज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकामा दुई चरणमा खोप खुवाइने जानकारी दिए ।

जसअनुसार यशोधरा गाउँपालिकामा ३७ हजार सात सय ८३, महाराजगन्ज नगरपालिकामा ५३ हजार एक सय ५६, कृष्णनगर नगरपालिकामा ६० हजार सात सय ४३, शिवराज नगरपालिकामा ६४ हजार सात सय ७८ र विजयनगर गाउँपालिकामा ३५ हजार नौ सय तीन डोज खोप खुवाउने लक्ष्य रहेको छ । दुवै मात्रा खोप खाएपछि यसले कम्तीमा ५ वर्षसम्म सुरक्षा प्रदान गर्ने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । दुषित पानीका कारण जिल्लामा हैजा फैलिएको अध्ययनबाट पुष्टी भएको थियो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत असोज १८ गते देखि कृष्णनगर नगरपालिकाको वडा नम्बर ७, ८ र ९ बाट शुरु भएको हैजा जिल्लाको ५ स्थानियतहमा फैलिएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार हालसम्म शिवराज अस्पताल बहादुरगन्जमा १ हजार ३ सय ७१ जना, बैदौली स्वास्थ्य चौकीमा ९० जना र शिवराज आधारभूत अस्पतालमा ६ जना उपचारको लागि भर्ना भएका थिए । भने हैजाको कारण ६ जनाले ज्यान गुमाएका थिए ।
कार्यक्रम जिल्ला समन्वय समितीका संयोजक नारायण प्रसाद खनालको अध्यक्षतामा हैजा प्रभाबित स्थानियतहका मेयर, उपमेयर, प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य शाखा प्रमुखहरु, स्वास्थ्यकर्मीहरु, साँझेदार संघसंस्थाका प्रतिनिधीहरु, महिला स्वास्थ्य स्वयम सेविकाहरु, समाजसेवी अगुवाहरु, सुरक्षाकर्मी र संचारकर्मी लगाएतको उपस्थिती रहेको कार्यक्रममा महामारी फोकल पर्सन उमेश घिमिरेको संचालनमा सम्पन्न भएको थियो । महामारीमा उत्कृष्ट कामगर्ने कमृचारी तथा पालिकालाई सम्मानपत्रले सम्मान गरिएको थियो ।