सनातन संस्कृति र बलि !

मेचीकाली संवाददाता

१७ मंसिर २०७८, शुक्रबार
964 shares

घनश्याम काेइराला
बलि भनेको समर्पण गर्नु हो | सनातन हिन्दु संस्कृतिमा बलिको परम्परा छ, तर यसबारे मतैक्यता छैन र प्रक्रियामा पनि एकरूपता छैन | मूलत: वैष्णवहरू पशुहत्या गरी बलि दिने, मांसाहार गर्ने कुरामा सहमत हुँदैनन् | बलि परम्परा हो | तर बलि भन्नासाथ पशु-पक्षी मारेर रगत बगाएर नै दिनुपर्ने प्रावधान नभए पनि मानिसहरूको बुझाइमा बलि भनेको रगत बगाएर नै दिइन्छ भन्ने छ ।

यथार्थमा श्वानबलि, काकबलि, गोबलि, पिप्पिलिकादि बलि शब्दको अर्थ कुकुर काटेर चढाउनु, काग काटेर चढाउनु, गाई काटेर चढाउनु, कीरा- कमिला काटेर चढाउनु भनिएको हो र ? अवश्य होइन | कुकुर, काग, गाई, कीरा – कमिलाका लागि उनीहरूका रूची र अनुकूल अनुसारका खाने वस्तु समर्पण गर्नु भनिएको हो र यमपञ्चक/ तिहारका बेला र अन्य धर्म-कर्मका क्रममा पनि यसै गर्ने गरिन्छ | खाना खान बसेका बेला अर्पण गरिने गासलाई पनि बल हाल्ने वा बलि चढाउने भन्ने पाइएको छ । बलिको अर्थ सम्मानका साथ भाग दिनु भन्ने पनि लाग्दो रहेछ ।

तर, हिन्दु सनातनीहरूद्वारा परम्परादेखि देवीका नाममा पशु-पक्षीहरूको वध गरेर बलि दिने चलन रहँदै आएको छ | अहिले केही वर्षदेखि यो विषय “पशु-पक्षी”को अधिकारका नाममा हिन्दु सनातन परम्परामाथि सुनियोजित रूपमा प्रहार गर्ने गरी आवाज उठाइँदै आएको छ | जीवहत्या राम्रो होइन, जीवरक्षा राम्रो हो | तर हिन्दुहरूद्वारा हुने जीवहत्या आपत्तिजनक मानिने र ईसाइ वा अरू धर्मका मानिसहरूद्वारा गरिने जीवहत्या जायज मान्न सकिन्छ र ? राम्रो र जायजजस्ता लाग्ने विषय उठाएर “हिन्दु सनातन ” संस्कृति विरूद्ध चलखेल गर्ने नियतका विरूद्ध सचेत हुन आवश्यक देखिन्छ | कमजोरी र चरबाट छिर्नेहरूबाट सतर्क रहँदै परम्परालाई विकसित र रूपान्तरित गर्न भने लाग्नै पर्दछ |

अहिले क्रिष्टियन कोणबाट यो विषय उठिरहेको छ | गढीमाई मेलामा दिइने पशुबलि उनीहरूको पशुअधिकारको वकालतको केन्द्र बनाइने गरिन्छ | सुन्नमा आए अनुसार कुनै बेला बेलायतीहरूले यस्तो बलिप्रथाका कारण आफ्ना नागरिकहरूलाई नेपाल यात्रा नगर्न उक्साइरहेका थिए | के अब बेलायती र अरु गैरहिन्दुहरू पशु-जीवहत्या विरोधी भएकै हुन् ? के उनीहरूको धर्ममा पशु-जीवहत्याको प्रावधान छैन ? उनीहरू मासु खाँदैनन् ? मासु खाँदा पशु-जीवको बाँच्ने अधिकार हनन् हुुँदैन ? हिन्दुलाई मात्र पशु-जीवहत्या पाप हुने अरूलाई नहुने हुन्छ ?

बलि भनेको हत्या होइन, समर्पण हो | तर क्रिष्टियनहरूको पवित्र धर्मग्रन्थ “बाइबल” हाे । बाइबलको “प्रस्थानको पुस्तक, प्रस्थान १२ निस्तार-चाडको स्थापना”मा यसो भनिएकाे छ : “मिश्रदेशमा परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, …….महिनाको दशौं दिनमा तिमीहरू हरेकले आफ्नो-आफ्नो परिवारको निम्ति, हरेक घरानाअनुसार एक-एक पाठो ल्याएर राखोस् | कसैको घरानामा एउटा पाठाका लागि मानिस थोरै भए त्यसले आफ्नो घरका नजिकको छिमेकीसँग मानिसहरूको गन्तीअनुसार मिलोस् | हरेक मानिसको खुवाइअनुसार पाठोको गन्ती गर्नू |

तिमीहरूको पाठो खोटरहित होस्– एक वर्षको पाठो | तिमीहरूले त्यो भेडा अथवा बाख्राबाट लिनू | त्यो तिमीहरूले त्यस महिनाको चौधौं दिनसम्म राख्नू र इस्रायलको समुदायका सबै मानिसहरूले यो बेलुकीपख मारून् | तब तिमीहरूले त्यसको रगत लिएर जुन-जुन घरमा त्यो खाइन्छ, त्यसको ढोकाको चौकोसका दुइपट्टिका खम्बाहरू र माथिल्लो भागमा लाऊन् | तिनीहरूले त्यही रात त्यसको मासु आगोमा पोलेर खमीर नहालेको रोटीसित खाऊन् | तीतो सागसित तिनीहरूले त्यो खाऊन् | त्यो काँचै नखाओ, पानीमा उमालेर पनि होइन, तर आगोमा पोलेर त्यसका शिर, खुट्टाहरू र भित्री भागहरूसमेत खाओ | त्यसबाट केही पनि बिहानसम्म नउबार्नू, तर केही बिहानसम्म रह्यो भने त्यो आगोमा जलाइदिनू | पटुका कसेर, खुट्टामा जुत्ता लाएर, हातमा लहुरो लिएर र हतार-हतार गरी तिमीहरूले त्यो खानू | यो परमप्रभुको निस्तार-चाड हो | [पवित्र बाइबल, प्रस्थान १२, निस्तार-चाडको स्थापना, पृ. ९४]

यस्तो परम्परा त रहेछ । जुन धर्ममा यस्ता अनेकौँ प्रथा रहेको छ, तिनै क्रिष्टियनहरू हिन्दु सनातन संस्कृतिको कतै रहेको जनताको परम्परालाई आधार बनाएर सिङ्गो नेपाल र सनातनीलाई दुत्कार्छन् | हामी तिनीहरूभित्र विज्ञान र आफ्ना संस्कृतिमा मात्र अज्ञान देख्दछौँ | यो त एउटा सानो उदाहरण मात्र हो | यस्ता अनेकौँ परम्परा क्रिष्टियनहरूमा रहेका छन् |

इस्लाममा त ईद् ऊल् अजहा(बकर् ईद) छँदैछ | अल्लाहको नाम उच्चारण नगरिएका/समर्पण नगरिएका जनावर (मासु) नखान नै भनिएको छ | पवित्र कुरानमा भनिएको छ : जुन जनावरमाथि अल्लाहको नाम उच्चारण गरिएको छैन त्यो नखाऊ; यसो गर्दा अवज्ञा हुनेछ | {कुरान मजीद, आठौं खण्ड, सूरह ६ अल्-अन्आम, १२१, पृ. २२७}

समर्पण गरेर खाने आदेश नै बलिको अवधारणा हो | यस्तो प्रथा हिन्दु सनातनीहरूमा मात्र होइन, अन्य वैज्ञानिक ठानिएका तर तर्क र आधारहीन धर्महरूमा झन् बढी रहेको छ | बरु, सबै हिन्दुहरू रक्तबलिका पक्षमा छैनन् | तसर्थ पशुबलिका नाममा सनातन हिन्दु संस्कृतिलाई लाञ्छित गर्नु कुटिल नियत, मूर्खतापूर्ण अभिव्यक्ति र अज्ञानको प्रकटीकरण हो |