जितगढी सम्पदा र बटौली पर्यटन सर्किट

मेचीकाली संवाददाता

२९ मंसिर २०७८, बुधबार
1051 shares

अमृत गिरी
बुटवल । बुटवललाई बुद्धावलीको र आदिमानव रामापिथेकसको विचरण भएको क्षेत्रका रुपमा लिइन्छ । यहाँ बुद्ध डुल्दै आउने गरेको बताइन्छ । तत्कालीन नेपाल–अंग्रेज युद्धमा अंग्रेजलाई परास्त गरेको किल्ला यहीँ बुटवलमा छ । बुटवल उपमहानगरले आर्थिक केन्द्रका साथै बुद्धावलीको पर्यटनको केन्द्रका रुपमा रहेको बुटवललाई बृहत् बुटवलका रुपमा विकास गर्ने अवधारणाका साथ काम गरिरहेको बताएको छ ।

बुटवलको सीमाना केबल १९ वडा मात्रै होइन । पूर्वमा दाउन्ने पहाड र पश्चिममा धानखोलाको पहाड हुनुपर्छ । यस्तै उत्तारमा तानसेन र दक्षिणमा भारतीय सीमाना बेलहिया हुनुपर्छ । यो बीचको भूभाग सबै बृहत् बुटवल हो । सोही अवधारणाका साथ बुटवलको आवधिक र दीर्घकालीन महत्वका योजना छनौट गरी साकार पार्नेतर्फ केन्द्रित रहेको उपमहानगरका प्रमुख शिवराज सुवेदीको भनाइ छ ।

प्रमुख सुवेदीका अनुसार बटौलीलाई सांस्कृतिक सहरका रुपमा विकास गर्न जितगढीलाई केन्द्रमा राखेर यहाँका सबै वडामा रहेका पर्यटनका सम्भावनालाई साकार पार्ने योजनाका साथ काम भइरहेको छ । बुटवलको सहरी कृषि प्रवद्र्धन, उद्योग, व्यापारका क्षेत्र, नयाँ तथा उपसहरका क्षेत्रका लागि जग्गाको भौगोलिक अध्ययन गरेरै सहरी विकास गुरुयोजना बनाएको प्रमुख सुवेदीको भनाइ छ ।

यो बुटवल तत्कालीन समयमा तिब्बत र भोटबाट भारतमा भारत गर्न जाने बाटो पनि थियो भन्ने इतिहासविद्हरुको दाबी छ । यहीँबाट पहाडमा नुनतेल बोकेर लैजाने गरिन्थ्यो र प्राचीन कालमा व्यापारका लागि यहीँ बाटो प्रयोग हुन्थ्यो । बटौलीको पहिचानका रुपमा लिइने यहीँ सहरलाई सबल आर्थिक केन्द्र र समुन्नत बुटवल बनाउनेतर्फ यहाँका जनप्रतिनिधि केन्द्रित छन् ।

समृद्ध बुटवल निर्माणमा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको सुरुदेखिको भिजन र संकल्प छ । तिनै संकल्पलाई अझ समृद्ध बनाउने काममा प्रमुख सुवेदीको नेतृत्वमा काम भइरहेको छ । सबल र समुन्नत बुटवलका लागि यहाँका प्रदेश सभाका सदस्यहरु लिला गिरी, भोजप्रसाद श्रेष्ठ, पूर्वसांसद दधिराम न्यौपाने देखि यहाँका सबैतहका जनप्रतिनिधिको साथ र सहकार्य छ ।

जितगढी: बुटवलको पहिचान, राष्ट्रिय स्वाभिमान
बटौली अर्थात् प्राचीन सहरको बीचमा जितगढी र माथि नुवाकोट गढी रहेका छन् । यिनैलाई केन्द्रमा राखेर बटौली पर्यटन सर्किट निर्माण भएको छ र यसलाई विस्तार गर्ने काममा उपमहानगर केन्द्रित छ । जितगढीको गुरुयोजना बनेको छ भने नुवाकोट गढीको विकासमा निजी क्षेत्रको पनि सहकार्य छ ।
जितगढीमा कहिले लडाइँ भयो, कहिले नेपाल विजयी भयो भन्ने मितिमै यकिन थिएन । उपमहानगरमा जनप्रनिधि निर्वाचित भएपछि इतिहासविद्हरुको अध्ययन र छलफलमा उपमहानगरले वैशाख ७ गतेलाई जीतगढी विजयोत्सव दिवसका रुपमा मनाउने निर्णय गरेका थियो ।
जितगढी राष्ट्रिय स्वाभिमानको किल्ला हो र बुटवलको पहिचान हो । यसको गुरुयोजना बनाएर काम गरेका छौं । अहिले गुरुयोजना अन्तर्गतको पहिलो चरणका काम पूरा हुने अवस्थामा पुगेका छन् । जितगढीमा कर्णेल उजिरसिंहको पूर्ण कदको शालिक निर्माण, १३ जना सेनाको अर्धकदको शालिक निर्माण, सरायँ डबली निर्माण, राष्ट्रिय झण्डा, लक टायल, हरियाली उधान निर्माणका काम पूरा भएका छन् । जितगढीको प्रवेशद्वार अर्थात् गेट पनि आकर्षक बनाइएको छ ।

जितगढीको गुरुयोजना पूरा गर्नका लागि आवश्यक पर्ने बजेट एकै कार्यकालमा अर्थात् एक्लो बुटवलबाट छोटो समयमै सम्भव छैन । यसका लागि करिब दुई तीन सय करोड चाहिन्छ । त्यो रकमबाट जितगढी सम्पदाको गुरुयोजना साकार पार्दा यहाँको पर्यटन जुरुक्क माथि उठ्ने छ । राष्ट्रिय स्वाभिमान बढाउने छ ।

नेपाल–अंग्रेज युद्ध सम्झाउने बटौली जितगढी युद्ध संग्रहालय
जितगढी बटौली युद्ध संग्रहालय निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म करिब ८० प्रतिशत काम पूरा भएको छ । यहाँ जितगढी युद्धताका प्रयोग भएका हातहतियार, खजना, पोषाकको झल्को दिने गरी सामग्रीहरु राखिने छ । नेपाल–अंग्रेज युद्धताकको झल्को दिने गरी संग्रहालयमा सामग्री र डकुमेन्ट्री राखिने छ ।

सहरको व्यस्तताका बीचमा पनि घुमफिर गर्न मिल्ने रमाइलो पार्क बनाउने योजना साकार हुँदैछ । बुटवल–१२ मिलनपार्कमा बटौली फनपार्कको अवधारणाका साथ विस्तारका काम अगाडि बढेका छन् । मिलनपार्कको गुरुयोजना नै बनाएर काम भइरहेका छन् । बहुउद्देश्यीय सभाहल निर्माणदेखि पहिलो चरणका काम लगभग पूरा भएका छन् ।

मोतिपुर सांस्कृतिक संग्रहालय
आदिवासी समुदाय थारुको पहिचान विस्तार र चिनारी बढाउने उद्देश्यले बुटवलको मोतिपुरमा थारु सांस्कृतिक संग्रहालयको गुरुयोजना तयार पारेर निर्माण कार्य अगाडि बढाएका छौं । यसको डीपीआर तयार गरेर काम भइरहेको छ । त्यहाँसम्म पहुँच मार्ग निर्माण, कल्भर्ट निर्माण, बाउण्ड्री वाल निर्माणलगायतका काम पूरा भएका छन् । सानिसा अवधारणामा थारु सांस्कृतिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको छ ।

बटौली सिमसार क्षेत्र बौठलिया तालको विस्तार
पाँच विगाहामा रहेको ताललाई अहिले करिब ३० विगाह क्षेत्रफलमा विस्तार गरिएको छ । ताल क्षेत्रमा फुटपाथ, साइकिल पथ, लाइटिङ, डुंगा, पर्खाल निर्माण, सेल्फीजोन निर्माण, चमेनागृह निर्माण, सुरक्षा गार्डरुम निर्माण, टिकट घर निर्माण गरिएको छ । ताल परिसरमा होमस्टे निर्माण देखि समुदायलाई पर्यटन प्रवद्र्धनमा जोड्नेगरी योजना बनाएर काम गरेका छौं ।

धार्मिक पर्यटनको केन्द्र नरेनापुर धाम
पशुपतिनाथ पछिको धाम नरेनापुर धामको गुरुयोजना तयार पारेर सोहीअनुरुपका काम भइरहेका छन् । नरेनापुरमा पिनिक स्पट निर्माण गरिएको छ । करिब ५ विगाह क्षेत्रफलमा व्यवस्थित वनभोज स्थल निर्माण गरिएको छ । यो ऐतिहासिक धार्मिक महत्वको क्षेत्रलाई धार्मिक पर्यटनको पवित्र भू–भागका रुपमा संरक्षण र विस्तार गर्ने काम भइरहेको छ । ऐतिहासिक पुरातात्विक महत्वको नरेनापुरधाम क्षेत्रमा वाउण्ड्रीवाल, लकटायलसहितका आन्तरिक पथ निर्माण गरिएको छ । व्यवस्थित फुलबारी निर्मार्ण तथा मन्दिरका संरचनाहरुको जिर्णोद्वार तथा रंगरोगन भएको छ ।

मिलन पार्कलाई बटौली विश्राम पार्क बनाइँदै
मिलनपार्कलाई बटौली विश्राम तथा रमाइलो पार्कका रुपमा विकास गर्न गुरुयोजना तयार भएको छ । त्यहाँको डीपीआरअनुसार निर्माणकार्य जारी छ । व्यवस्थित बहुउद्देश्यीय सभाहल निर्माण भएको छ । वाउण्ड्रीवाल, फुलबारी तथा सेड, पहुँचमार्ग, बहुउेश्य सभाहल निर्माण भएको छ । यस्तै त्यहाँ ट्रीरेष्टुरेण्ट सहितको रिसोर्ट निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार पारी सानिसा अवधारणमा निर्माणको प्रक्रिया सुरु भएको छ ।

हिलपार्कमा बिग बुद्ध र ध्यान केन्द्र
हिलपार्क अब बिगबुद्ध पार्क निर्माणको गुरुयोजना तयार भएको छ । माटो जाँच, सर्भे, डीपीआर र इआइए पूरा भएर जग्गा प्राप्ती र ठेक्का प्रक्रिया अगाडि बढेको छ । समुदायको चाहना पनि बिगबुद्ध र ध्यान केन्द्रको निर्माणकार्यलाई छिटो अगाडि बढाउनुपर्ने रहेको छ । यसका आवश्यक प्रक्रियागत काम अगाडि बढेका छन् ।

पार्कहरुको विस्तार र १२ विगाहामा पिकनिकस्थल
बुटवल–१६ सेमलारमा नदी उकासको क्षेत्रमा वगरका रुपमा खेर गएको जग्गालाई संरक्षण गरेर त्यहाँ व्यवस्थित मनोरञ्जन स्थल निर्माण गरिएको छ । सेमलारमा करिब १२ विगाहा क्षेत्रफलमा प्राकृतिक सुन्दरता सहितको नयाँ गन्तव्य नरेनापुर पिकनिकस्थल निर्माण भएको छ ।
गुरुयोजना बनाई रामपिथेकस पार्क, लक्ष्मी पार्क, जेबी पार्क, विभूति पार्क, भैरव पार्क, हरियाली पार्कलगायतका पार्कहरु निर्माण तथा स्तरोन्नति गर्ने काम भएको छ । मणिमुकुन्द सेन उद्यान, सिद्धबाबा धाम क्षेत्रलाई शौन्दर्यकरण गर्ने काम चलिरहेको छ । रामापिथेकश पार्क निर्माणकार्य जारी छ । लक्ष्मीपार्क, बटौली परिक्रमा पथ निर्माण जारी छ ।

विभूति पार्क निर्माणको काम भइरहेको छ । राष्ट्रका विभूतिहरु र बुटवल चिनाउने सपूतहरुको एकै ठाउँमा व्यवस्थित पार्क बनाएर राख्ने र त्यसलाई अनुन्धान केन्द्रका रुपमा विकास गर्ने उद्देश्य छ ।
यसैगरी शिवनगरमा जेबी पार्क निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । जेबीलाई मजदुर नेताको अगुवाका रुपमा लिइन्छ र उनकै स्मृतिका रुपमा पार्क बनाउन लागिएको हो ।
बुटवल–१३ को चुरे वनमा व्यवस्थित र आकर्षक भैरवपार्क निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । त्यहीँ नजिकै वनमा पोखरी पनि निर्माण गरिएको छ । निजी क्षेत्रको सहकार्यमा बुटवल–बसन्तपुर–नुवाकोट केबलकार निर्माणका लागि आवश्यक काम अगाडि बढाउन उपमहानगरले समन्वय र सहजीकरण गरिरहेको छ ।

बुटवल: बृहत् लुम्बिनी क्षेत्रको केन्द्रस्थल
बुद्ध जन्मिएको लुम्बिनी र त्यस वरपरका तीन जिल्लाका विभिन्न क्षेत्रहरु बृहत् लुम्बिनीका क्षेत्र हुन् । यो भेग बुद्धक्षेत्र हो । प्राचीन भारतको इतिहासलाई केलाउँदा इ.पू. छैठौं शताब्दीतिर भारतमा सोह्रवटा राज्य (महाजनपद) भएको वर्णन पाइन्छ । ती महाजनपदहरुमा गाँधार, कंवोज, अस्सक, वत्स, अंवती, शूरसेन, चेदी, मल्ल, पांचाल, मत्स्य, बज्जि (ब«ज्जी), अंग, कुरु, काशी, मगध र कौशल राज्यहरु थिए । कौशल राज्यको सीमा पश्चिममा गोमती नदी, दक्षिणमा सर्पिका अथवा स्यदिका (साय) नदी, पूर्वमा सदानीरा (जहिले पनि धमिलो देखिने गण्डकी) नदी उत्तरमा नेपालको पहाडले घेरेको देखिन्छ ।

यसैबीच कपिलवस्तु, बुद्धको जन्मभूमि लुम्बिनी (रुम्मिन देई), देवदह जस्ता साना गणराज्यहरु पनि देखिन्छ । ती स्थानहरुलाई बुद्ध क्षेत्र मानि आएको छ । सम्राट अशोकले कपिलवस्तु, बोधगया, सारनाथ (ऋषिपत्तन), कुशीनगर, जेतवन (श्रावस्ती) साथै लुम्बिनी (रुम्मिनदेई) जस्ता बुद्ध क्षेत्रको यात्रा गरेको इतिहासका पानाहरुमा भेटिन्छन् । यसकारण बुटवलको नामाकरण ‘बुद्धवाल’ बाट अपभ्रंश भएर रहन गएको आधार बलियो देखिन्छ । शाब्दिक अर्थलाई केलाउँदा संस्कृतमा ‘बुद्ध’ शब्दले ज्ञान, जानकारी, शिक्षा र ती गुण हाँसिल गरेका व्यक्तिलाई जनाउँदछ । ‘बाल’ शब्दको विषयमा अलि गहिरिएर अध्ययन गर्नुपर्ने हुन्छ ।

पर्यटन नै समृद्धिको आधार
नेपालमा प्राकृत्तिक सम्पदा अथाह छन् । यिनको सदुपयोग गर्दै समृद्धि हासिल गर्न सकिने प्रचूर सम्भावना छन् । हामीसँग भएका ऐतिहासिक, सांस्कृतिक र धार्मिक धरोहरलाई कसरी संरक्षण संवद्र्धन गरी त्यसलाई क्यापिट्लाइज गर्दै राष्ट्रको प्रमुख आएको रुपमा रहेको पर्यटन उद्योगलाई विकास गर्न सकिन्छ । यसभेग खासगरी एशिया महादेशमा सम्भवत तीन हजार वर्षअघिदेखि सुरु भएको इतिहास पाइन्छ । यस भेगको सम्बन्धमा भारतबाट तीर्थाटन गर्न नेपाल आउनुलगायत तेह्रौं शताब्दीमा तिब्बत र भारतबीचको व्यापारिक मार्ग बृहत् पाल्पा राज्यको कालीगण्डकी क्षेत्रबाट भएको पाइन्छ । यो बुद्धावलीको बुटवलका लागि ठूलो सम्भावना हो ।

आदि मानव रामापिथेकसको विचरण भएको क्षेत्रका रुपमा मात्रै नभई यस ठाउँमा श्रीहरिको विचरण भएको, भतृहरि ऋषिको तपस्या स्थल भएको क्षेत्र, उत्तरगंगाको क्षेत्रका रुपमा पनि बुटवललाई लिने गरिन्छ । त्यतिबेलादेखि यो ठाउँ एन्ट्रीपट टे«डको रुपमा विकास भएको पाइन्छ । बुद्धकालीन समयमा गौतम बुद्धको विचरण गर्ने स्थल, बुटवल बुद्ध क्षेत्रको रुपमा रहेको थियो भने जीसस क्राइष्ट पनि बनारसबाट लुम्बिनी भएर लुम्बिनीमा छ वर्ष बसी त्यहाँबाट बुटवल हुँदै ल्हासा पुगी त्यहाँबाट लद्दाख लागेको इतिहास पाउँदछौँ ।

तत्कालीन अंग्रेज अर्थात् कम्पनी सरकार र नेपाल बीच भएको सुगौली सन्धिपछि वैज्ञानिक खोजी, जैविक अनुसन्धान साथै काठमाण्डौ खाल्डोबाहिर गएर वनस्पति एवं जीवजन्तु संकलन गर्न अंग्रेजहरुलाई अनुमति दिएको देखिन्छ । यही क्रममा तत्कालीन अंग्रेज सेना र अधिकारीहरु बुटवलतिर आएको देखिन्छ । कस्तुरीको सुगन्धितबिना आफूमा भएको पत्ता नपाई सुगन्धको खोजीमा भडकिएझै भडकिनुबाट सचेत हुनुपर्दछ । राष्ट्रिय अर्थतन्त्र र स्थानीयको लागि वैकल्पिक आयआर्जनमा बलियो पकड राख्ने पर्यटन उद्योगलाई बुटवल उपमहानगरले समृद्धिको एउटा बलियो आधारका रुपमा लिँदै सोहीअनुरुपका योजना समेत बनाएको छ । बुटवलवासी र पुर्खाहरुको स्पन्दनसँग साटिएको यस क्षेत्रका लागि यो गौरवको कुरा हो । पर्यटन विकाससँगै राष्ट्रियता र राष्ट्रिय पहिचानलाई पनि मजबुत पार्ने बुटवलको संकल्प साकार होस् ।