बौद्धिक अपाङ्गता भएका बालबालिकाकी गुरूआमा मीना !

मेचीकाली संवाददाता

१२ पुष २०७८, सोमबार
1001 shares

बुटवल । बुटवलकी मीना भुसालकी बहिनी वर्षा बौद्धिक अपाङ्गता भएर जन्मिइन् । वर्षाका लागि शिक्षाको खोजीमा थालिएको अभियानबाट दिदी मीना बौद्धिक अपाङ्गता भएका बालबालिकाको गुरुआमा बन्न पुगिन् । रूपन्देहीको बुटवल उपमहानगरपालिका–७ दीपनगरस्थित सुस्तमनस्थिति बाल विद्या मन्दिरमा संस्थापक भएर वर्षाजस्तै अन्य ४ बालबालिका पढाउँदै मीना प्रधानाध्यापक भएकी हुन् ।

४५ वर्षीया भुसालले २७ वर्षदेखि बौद्धिक अपाङ्गतासम्बन्धी शिक्षण पेशा अँगाल्दा थु्रपै अप्ठ्यारो परिस्थिति सामना गरे पनि सुस्त मनस्थिति भएका बालबालिकालाई पढाउँदा आफूलाई निकै सन्तुष्टि मिलेको बताइन् । भुसाल अहिले १०२ जना सुस्तमनस्थिति भएका बालबालिकाकी ज्योति बनेकी छन् ।

स्नातक तह उत्तीर्ण भुसाल बौद्धिक अपाङ्गता भएका बालबालिकाको शिक्षा र स्याहारसुसारमा कुनै कसर बाँकी राखेकी छैनन् । त्यस्ता बालबालिकाको गुरुआमा र आफ्नो अधिकारको वकालतका लागि समर्पित बनिन् उनी ।
उमेरको वृद्धिसँगै सचेतनाको विकास हुन नसकी बौद्धिक विकास नभएका कारण उमेर र वातावरणसापेक्ष क्रियाकलाप गर्न समस्या हुने अवस्थाका व्यक्ति बौद्धिक अपाङ्गतामा पर्छन् । त्यस्ता व्यक्तिहरू उमेरसापेक्ष राम्ररी बोल्न, अरूले बोलेको बुझ्न, सुन्न र हिँडडुल गर्न सक्दैनन्, स्मरणशक्ति पनि कमजोर हुन्छ । अरू बच्चाजस्तै सामान्य विद्यालयमा उनीहरू जान नसक्ने मीना बताउँछिन् ।

२०५१ सालमा वर्षासँगै अविरल, कल्पना र मनोज श्रेष्ठलाई अभिभावकको एउटा कोठाबाट थालिएको बाल विद्या मन्दिर अहिले मीनाकै प्रयास र अभियानबाट सुविधासम्पन्न भवनसहितको विद्यालय बन्न पुगेको छ । झण्डै ३ दशकदेखि शारीरिक र मानसिक रूपमा कमजोर बालबालिकालाई शिक्षण गराउन दरिलो खम्बा बनेर काँध थाप्दै अग्रसर रहिन् मीना । ४ जना बालबालिकालाई बुटवलको भुड्की चोकमा अभिभावकको घरबाटै मीना र उनका बुवा लोकनाथको प्रयासमा कक्षा सुरु गरियो । ३ वर्ष मीना र अर्को १ जना दिदी देवकुमारी श्रेष्ठ (हाल मृत्यु) ले स्वयंसेवी रूपमा काम गरेर विद्या मन्दिरलाई बामे सार्दै अघि बढाए । चन्दा, दान, घरघरमा पुगेर पैसा संकलन गर्दै विद्यालयलाई अगाडि बढाइयो ।

बुटवलमा सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) स्थापनासँगै अस्पतालले बाल विद्या मन्दिरलाई केही सहयोग ग¥यो । २०६३ सालमा सबैको प्रयास र दबाबले सरकारले विद्यालयलाई स्रोत कक्षा (एक शिक्षक र एक सहयोगी) कोटा उपलब्ध गराइदियो । मीनाको प्रयास सार्थकतातर्फ अगाडि बढ्यो । मीना अहिले विद्यालयमा प्रधानाध्यापक छिन् । बालबालिका विद्यालयमा आएपछि व्यावहारिक ज्ञान सिकाउने गरिन्छ । उनीहरूलाई शौचालय जान, साबुनपानीले हात धुन, लुगा र चप्पल सुल्टो गरी लगाउन सिकाइन्छ ।

मीनासहित अन्य २ जना शिक्षकलाई यी काम गर्न नियमित रूपमा सुस्त बालबालिकालाई गराउन कुनै अप्ठ्यारो लाग्दैन । ‘प्रत्येक विद्यार्थीलाई फरक–फरक सिकाउनुपर्छ । १०० जना विद्यार्थीलाई सयथरी सिकाउनुपर्छ । एउटै कुरा सबैमा लागू हुँदैन,’ मीना भन्छिन्, ‘एउटाको कुरा अर्कोसँग मेल खाँदैन । यस्ता विद्यार्थी ठूलो उच्च पदमा पुग्न नसके पनि व्यावसायिक सीप सिकेर केही गर्न सक्छन् ।’ विद्यालयमा गर्नुपर्ने काम मीनाले वर्षौंदेखि गराउँदै आएकी छन् । सुस्त बालबालिकासँग मीनाको माया र सेवा गर्ने नसा नै भइसकेको मीना बताउँछिन् ।
‘१०२ जना बालबालिका मेरा छोराछोरीजस्तै भइसके,’ मीना भन्छिन्, ‘मलाई मेरा बच्चाले खान मानेन, केही गर्न पनि मान्दैन भनेर दैनिक १०–१५ वटा अभिभावकका फोन आउँछ । अहिले त मेरा आफ्ना २ छोरा र सुस्त बालबच्चा एउटै जस्तो लाग्छ । उनीहरू साँच्चै भगवान् हुन् । उनीहरूको सेवा गर्न पाउनु साँच्चै गर्व लाग्छ ।’

आर्थिक अभाव र जागिर गर्नुपर्ने बाध्यताले यस्ता बालबालिकाको सेवा गर्ने काम मीनाले रोजेकी होइनन् । मनैदेखि गुरुआमा बनेपछि उनले यो कामलाई निरन्तरता दिएकी छन् । उनका पति सागरमणि पाठक गृह मन्त्रालयका उपसचिव हुन्, २ छोरा स्नातक तहमा अध्ययनरत छन् । ‘मैले यी बालबालिकालाई पढाउँदा मलाई यस्ता बच्चा पढाउने भनेर घृणा पनि गर्थे, मलाई हेर्ने दृष्टिकोण फरक राखे तर मैले यिनीहरूको सेवा गर्न छाड्न मनै लागेन,’ मीना भन्छिन् ।

मीना यस्ता बालबालिकालाई भगवान् भन्न रूचाउँछिन् । यस्ता बालबालिका सँगैसँगै बस्दा, पढाउँदा आफ्ना सन्तान पनि त्यस्तै जन्मिन्छन् भन्ने कुरा पनि मीनालाई धेरै सुनाए तर त्यस्ता तथ्यहीन कुराका पछाडि उनी कहिल्यै लागिनन् । ‘कसैले चाहेर यस्तो बच्चा भएको होइन । कि जन्मजात प्रकृतिले नै ठगिएर जन्मिन्छ, कि त ठूलो दुर्घटनामा परेपछि यस्तो समस्या देखिन्छ । त्यसैले यस्ता बच्चा भए भनेर अभिभावकले छिःछि र दूरदूर होइन, सहर्ष स्वीकार गर्नुपर्छ,’ उनले भनिन् । यस्ता समस्या भएका बालबच्चाको औषधी, उपचार नभएकाले उमेर, रूचि र क्षमता पत्ता लगाएर सिकाउनुपर्ने मीना बताउँछिन् ।

‘अभिभावकले पनि समय दिनुपर्छ, मन्दिर जानुभन्दा यिनीहरूको सेवा गरे मन्दिर गएर गरिने पूजाभन्दा बढी पुण्य कमाइन्छ,’ मीना भन्छिन् । मीनाका बुवा लोकनाथ विद्या मन्दिरका अध्यक्ष छन् । लोकनाथ बौद्धिक अपाङ्गतासँगै मानव सेवा आश्रमलगायत विभिन्न सामाजिक संघसंस्थामा रही सामाजिक भूमिका निर्वाह गर्दै आएका छन् । बिहान पौने १० बजे नै मीना विद्यालय पुग्छिन् । उनी विद्यालय पुग्दा केही विद्यार्थी अभिभावकसँगै विद्यालय आइपुगेका हुन्छन्, केही गाडीमा आउँछन् । उनलाई देखेपछि बालबच्चा खुशीले गद्गद् हुन थाल्छन् । विद्यार्थीलाई घरघरबाट लिन विद्यालयले अहिले आफ्नै सानो गाडी (भ्यान) पनि सञ्चालनमा ल्याएको छ । विद्यालय आउन नसक्ने विद्यार्थीलाई २ जना शिक्षकले ‘होम भिजिट’ गर्दै घरमै गएर सिकाउँछन् । देवीकुमारी शर्मा र पवित्रा खवास ‘होम भिजिट’मा जाने गर्छन् ।

राज्यले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको पाठ्यक्रम निर्माण गर्न नसक्दा पढाइमा अन्योल रहेको भुसालको भनाइ छ । ‘दृष्टिविहीनको ब्रेललिपि छ, बहिराको लागि सांकेतिक भाषा भए पनि बौद्धिक अपाङ्गता भएकाहरूका लागि अहिलेसम्म पाठ्यक्रम बन्न नसक्दा पढाइमा अप्ठ्यारो छ,’ उनले भनिन् । कोरोना महामारीले झण्डै २ वर्ष विद्यालय बन्दजस्तै भयो ।

त्यस्तो बेलामा मीनासहितका टीमले फोनबाटै विद्यार्थीलाई सिकाउने प्रयास ग¥यो । फरक क्षमता भएका विद्यार्थीलाई अध्ययन गराउने विद्यालयको भौतिक पूर्वाधारको विकास, शिक्षक, कर्मचारी दरबन्दी थप गर्दै विद्यालयको स्तर वृद्धि गर्न स्थानीय तह सक्रिय छ । बुटवल उपमहानगरपालिकाले विद्यालयलाई वार्षिक ४ लाख रूपैयाँ उपलब्ध गराउन थालेको छ भने १ जना शिक्षकको तलब पनि उपमहानगरपालिकाले दिएको छ । मीनाको संसार नै अहिले यिनै बालबालिका भएका छन् ।

विद्यालयका लोकनाथ भुसाल, विष्णु प्रसाद श्रेष्ठ, चन्द्रमान श्रेष्ठ, केशवकुमार श्रेष्ठ र पीताम्बर खरेल संस्थापन हुन् । उनीहरुको अथक प्रयासबाट नै विद्यालय यो अवस्थामा आएको हो ।