पहाडमा जथाभावी डोजरको प्रयोग रोकौं

मेचीकाली संवाददाता

१३ श्रावण २०७८, बुधबार
509 shares
????????????????????????????????????

विकासको नाममा हिजोआज डोजर र एक्साभेटरले ग्रामीण सडक बनाउने होड नै चलेको छ । यसले वातावरणीय रुपमा मात्रै होइन, सामाजिक र मानवीय अवस्थामा पनि सहजतासँगै संकट निम्त्याएको छ । यातायातको सहजता एकातिर छ भने अर्कोतिर त्यसले उत्पन्न गराएको संकटको सामना गर्नुपर्ने अवस्था छ । प्राविधिकको सल्लाहबिना अव्यवस्थित रुपमा जथाभावी खनिएका ग्रामीण सडकहरु दुर्घटनाका कारक पनि बन्ने गरेका छन् । यसलाई नियामक निकायले बेलैमा नियन्त्रण नगर्ने हो भने प्राकृतिक विपद् र मानव सिर्जित विपद्को सामना गर्न कठिन पर्ने छ ।

नेपालका पहाडी भूगोलमा सुगमता, उत्पादन, हावापानीलगायत विविध कारणले गर्दा महाभारत र चुरे पर्वतीय क्षेत्रमा मानिसकोे बसोवास अन्य क्षेत्रको तुलनामा बढी छ । त्यस्ता कोमल भू–बनोटयुक्त भिराला पहाडमा विगतदेखि दीर्घकालीन सोचविना द्रुततर गतिमा सडक निर्माण गर्दा प्राविधिकको सल्लाह आवश्यक पर्दछ । कतिपय स्थानमा त विचौलिया र व्यापारीले आफ्नो स्वार्थका लागि वनजंगल क्षेत्रलाई नै लक्षित गरी सडक खन्न डिजाइन गराउने गरेका गुनासा आएका छन् । ग्रामीण सडकले विकासभन्दा बढी विनाशलाई निम्त्याइरहेका घटनालाई गम्भीर रुपमा लिन जरुरी छ ।

मानवीय श्रमको प्रयोग गरेर खनिएका सडकहरु वातावरणीय दृष्टिकोणले अनुकूल मानिन्छन् । प्रविधिको प्रयोगलाई पनि वातावरणमैत्री बनाउन सकिन्छ । तर, त्यसतर्फ खासै ध्यान गएको पाइँदैन । मानव संसाधानको तथा श्रमको प्रयोग गरेर बनाउन सकिने सम्भावना भएका ठाउँमा पनि जथाभावी डोजर कुँदाउनु दुखद कुरा हो । कमलो र भिरालो प्रकतिको पहाडी क्षेत्रका सयौँ स्थानका वनजगल र खेतीयोग्य जमिन खल्बलिई क्षति पुगेको छ भने पानीका प्राकृतिक मुलहरु सुक्ने र मासिने क्रम जारी छ ।

अवैज्ञानिक तवरले ग्रामीण सडकको निर्माण गर्दा अल्पकालीन र दीर्घकालीन असर देखिन्छ । भूक्षयमा वृद्धि, वातावरणीय एवं जलाधारीय अवस्थामा ह्रास, सडक निर्माण गर्दा जथाभावी रुपमा फालिएका ढुङ्गा, माटो, गिटीका कारण खेतीयोग्य भूभाग पुरिन गई हजारौँ हेक्टर खेत बगरमा परिणत भएका छन् । सडक निर्माणसँगै पानी बग्ने नाली नबनाइनु, टेवा पर्खालको निर्माण नगरिनु, वातावरणीय संरक्षणका उपाय एवं इन्जिनियरिङ अध्ययन नगरिनु, न्यूनतम प्राविधिक मापदण्ड पनि पूरा नगरी बनाएको सडक चाँडै बिग्रिने, मर्मत गर्न बढी रकम लाग्ने समस्याले स्थानीय स्तरमा ठूलो रकम खर्च हुने गरेको छ । अहिलेको सन्दर्भमा ग्रामीण सडक निर्माणका क्रममा देखिएका समस्याको अध्ययन गर्दै, जथाभावी डोजरको प्रयोग रोक्दै र मानवीय कमीकमजोरीलाई हटाउँदै लग्नुपर्दछ ।