बौद्ध धर्म–दर्शनमा जातीय दृष्टिकोण

मेचीकाली संवाददाता

२ जेष्ठ २०७९, सोमबार
74 shares

बीपी गौतम
लेखसारः
शाक्यमुनि बुद्धलाई दार्शनिकको रुपमा मात्र बुझ्नु उहाँप्रतिको अल्पज्ञान ठहर्छ । गौतमबुद्ध तत्कालीन समयका प्रगतिशील व्यक्ति हुनुहुन्थ्यो । तत्कालीन समाजमा व्याप्त असमानता, विभेद, थिचोमिचोको विरुद्ध उहाँ खरो रुपमा उत्रिनुभयो । त्यसैले उहाँलाई त्यस समयको क्रान्तिकारी व्यक्तिको रुपमा चित्रित गर्दा अतिशयोक्ति नहोला । गौतमबुद्ध आफ्नो समयको ‘महान् समाज सुधारक’ वा ‘प्रगतिशील समाज सुधारक’ हुनुहुन्छ । उहाँले कहिल्यै पनि जातीय विभेद, छुवाछुतलाई प्रश्रय दिनुभएन । समाजमा समानता कायम गराउन उहाँले दिएका बुद्धवचनलाई नियमको रुपमा विनयपिटकमा उल्लेख गरिएको छ । आजभन्दा २६ सय वर्षअघि नैं गौतमबुद्धले समतामुलक समाजको परिकल्पना गर्नुभएको हो । मान्छे सबै एकै हुन्, उनीहरूमा विभेद गरिनु हुँदैन भन्ने भावना गौतमबुद्धमा रहेको पाइन्छ । ‘सत्तो प्राणी हितायः सत्तो प्राणी सुखाय’ भन्ने पवित्र बुद्धवचन आफैंमा जातीयताभन्दा पनि माथि उठेको पाइन्छ ।
मुख्य शब्दावलीः बुद्धवचन, निर्वाण, अष्टांगिक मार्ग, शीलपालन, विनय ।

विषय प्रवेशः हाम्रो समाज आज २१ औं शताब्दीमा आइपुग्दा पनि विभे दबाट ग्रस्त छ । अनेक प्रकारका विभेद हाम्रो समाजमा विद्यमान छन् । आर्थिक, सामाजिक विभेदभन्दा जातीय विभेद ठूलो समयस्याको रुपमा छ । जातीय विभेदको कारण आज पनि कयौं व्यक्तिले अनाहकमा ज्यान गुमाउनु परेको छ । सूचना प्रविधिको आजको युगमा पनि जातीय विभेद कायम रहनु हामी सबै को लागि कलंक हो । यस्तो परिदृश्यमा महामानव गौतमबुद्धले जातीय दृष्टिकोणको सन्दर्भमा राख्नुभएको अभिमत र यसलाई व्यवस्थित गराउन उल्लेख गर्नुभएको विनयको बारे मा चर्चा यो आलेखमा गरिन्छ ।

गौतम बुद्धः लुम्बिनीमा जन्मिनु भएका गौतम बुद्ध एक दार्शनिक व्यक्तित्व हुनुहुन्छ । उहाँको समयका अधिकांश कुराहरू अलिखित नै थिए र उहाँको समयपश्चात उहाँले दिनु भएका ज्ञानलाई लिपिबद्ध गरी संसारभर शान्तिको सन्देश दिने काम भयो । उहाँ जीवित छँदै आफूलाई भगवान नमान्न, नभन्न र पछि पनि त्यसो नगर्न सुझाउनु भएको थियो । यद्यपि बुद्धले महापरिनिर्वाण लिएपछि भक्तिमार्गीहरूले भगवानको रुपमा पुज्न थाले । हिन्दू धर्मले समेत बुद्धलाई विष्णुको एक अवतारको रूपमा स्वीकार गरेको छ भने उहाँको दर्शनबाट प्रभावितहरूले त बुद्ध धर्म नै मानिरहेका छन् । बुद्ध आफैले संसारमा कुनै भगवान नै छैनन् र भगवानका नाममा गरिने अनेक कार्यहरू वाहियात हुन् भन्ने गर्नुहुन्थ्यो । उहाँले कर्ममा मात्र विश्वास गर्नुहुन्थ्यो । उहाँका उपदेश र सिद्धान्तमा यस्तै कुराहरू नै बढी पाइने हुँदा उहाँलाई नास्तिक दर्शनका व्याख्याता मानिन्छ तर हाल उहाँ आफै एक भगवानका रूपमा पूजनीय हुनु भएको छ । यसका लागि उहाँले गरेका काम, उहाँले दिएका उपदेश र संसारलाई देखाएको उज्यालोका कारण लाइट अफ एसियाका नामले तथा भगवान गौतम बुद्धका नामले उहाँलाई चिनिन्छ । हिन्दू र चार्बाक दर्शनको बीचबाट अघि बढ्न खोजेको बौद्ध दर्शन गौतम बुद्धको उपदेशबाट प्रादुर्भाव भएको हो । तत्कालीन समयमा व्याप्त अन्धविश्वास तथा रुढीवादी संस्कारको विरोधमा यो दर्शन आएको थियो । गौतम बुद्धको अहिंसा, विनय, दया र करुणामा आधारित सिद्धान्त जनताहरूका लागि अमृत बराबर भएको थियो । ई.पू. ५६३ मा लुम्बिनीमा जन्मिनु भएका शाक्यमुनि बुद्ध वा राजकुमार सिद्धार्थ २९ वर्षको उमेरमा दरबार परित्याग गरी (महाभिनिष्क्रमण) बाहिर निस्के र करिब ६ वर्षको तपस्यापछि बोधी ज्ञान प्राप्त गरे पछि बुद्ध बन्नुभयो । वृद्ध, रोगी, सन्नयासी र मृत्युभएका मानिस दे खे र दुखित भई दुःखबाट मुक्त हुन तपस्या गर्ने क्रममा गौतम बुद्धले ज्ञानको खोजी गर्नु भएको हो । यस दर्शनले ४ आर्य सत्य र ८ मार्गहरूको साधना गर्नाले अज्ञानता नष्ट भई पूर्ण शान्ति (निर्वाण) प्राप्त हुन्छ भन्ने कुरामा विश्वास गर्दै ८ मार्गको अनुसरण गर्न निर्देश (देशना) गरेको छ । भगवान गौतमबु्द्धले अद्भूत ज्ञान प्राप्त गरेपछि अरूलाई यो ज्ञान कसरी दिने, ज्ञान ग्रहण गर्ने क्षमतावान मानिस छन् की छैनन् भनी ध्यानदृष्टिले हेर्दा गुरुलगायत अन्य विद्वानको मृत्यु भइसकेको कुरा थाहा पाएपछि ५ जना आफूसँगै तपस्यारत अन्य व्यक्तिलाई पहिलो ज्ञान दिने विचार गरेको बौद्ध साहित्यमा पाइन्छ ।

बौद्ध दर्शनः गौतम बुद्धले ३५ वर्षको उमेरमा बोधगयामा बुद्धत्व प्राप्त गरे पछि उहाँको मान्यता र दृष्टिकोणमा आधारित दर्शन हो–बुद्ध दर्शन । त्यसपछिका ४५ वर्ष उहाँले मानिसहरूलाई धर्म–दर्शन तथा सामाजिक जीवनका कुरा बुझाएर बिताउनुभयो । बुद्धका उपदेशलाई उहाँका अनुयायीहरू ‘बुद्ध वचन’ का रूपमा स्मृतिमा सँगाल्थे र छलफल समेत गर्थे । तर त्यसबेला लिपिबद्ध गर्ने काम भएन । बुद्धको महापरिनिर्वाणपछि उहाँका उपदेश बिर्सने वा विकृत हुने आशंकाले भिक्षु महाकाश्यप महास्थविरको नेतृत्वमा भएको अर्हत् भिक्षु सहितको प्रथम संगायनमा ती उपदेश संकलन गर्न थालियो । बुद्धले आफूले विभिन्न ठाउँमा दिएका हरेक उपदेश उपस्थापक (सहयोगी वा सचिव) भिक्षु आनन्दलाई पुनः सुनाउनुहुन्थ्यो, तीक्ष्ण स्मरणशक्ति भएका आनन्दले ती सबै सम्झिराख्थे । प्रथम संगायनमा यिनै भिक्षु आनन्दले ‘मैले एक समय यस्तो सुनें’ भन्दै एकपछि अर्को उपदेश सुनाउँथे र भिक्षु संघबाट अनुमोदन हुँदै जान्थ्यो । त्यसपछि अन्य भिक्षुहरूले पनि उपदेशलाई स्मरणमा राख्न थाले । ती उपदेश त्रिपिटकभित्रको ‘सूत्त पिटक’ मा सुरक्षित रहेको मानिन्छ ।

संघमा बुद्धद्वारा निर्दिष्ट नीतिनियमलाई अत्यन्तै श्रद्धाका साथ लिइन्छ । बुद्ध शासनको (बौद्ध धर्मको प्रभाव रहुञ्जेल) आयुका रूपमा लिइने यी नीति नियमलाई भिक्षु उपालीले स्मरणमा राख्थे । बुद्धको जीवनकालमै पनि नीति नियमबारे कुनै भिक्षुलाई संशय लागे वा विवाद भए उपालीसँग बुझन जान्थे । सोही संगायनमा नीतिनियमहरूको पनि संकलन गर्ने काम भयो, जसलाई त्रिपिटकको ‘विनय पिटक’ मानिन्छ । यस्तै, बौद्ध दर्शन सम्बन्धी कुरा ‘अभिधम्म पिटक’ मा संकलित छन् । विनय पिटक ः भिक्षु तथा भिक्षुणीहरूका लागि निर्दिष्ट गरिएका नियमको संकलन ‘विनय पिटक’ हो । ‘विनय पिटक’ भित्र पाराजिकपाली, पाचित्तियपाली, महावग्गपाली, चुल्लवग्गपाली र परिवारपाली छन् । यी नियम बुद्धले एकै पटक बनाएको नभएर आवश्यक अनुसार विभिन्न समयमा सन्दर्भ र प्रसंगमा बनाउनु भएको हो । र, यसरी बनेका विनय वा नियम भिक्षु उपालीले चनाखो भएर स्मरणमा राख्थे । बुद्धको जीवनकालमै अन्य भिक्षु विनयका बारेमा बुझ्नुप¥यो भने भिक्षु उपालीसँग सोध्न जान्थे । बुद्धको महापरिनिर्वाणपछि पहिलो बौद्ध संगायनमा उनको स्मरणलाई संकलन गरी ‘विनय पिटक’ को व्यवस्था गरिएको हो ।

भिक्षु उपाली समाजको मान्यताअनुसार जन्मका आधारमा तल्लो जातिका व्यक्ति थिए । शाक्य राजकुमारहरूको से वामा खटिएका यिनी भिक्षु बन्न जाँदाको प्रसंगले जातीय व्यवस् थामाथि बुद्धको दृष्टिकोण छर्लंग पार्छ । बसारनाथमा ‘धर्मचक्र प्रवर्तन’ पछि तत्कालीन युवकहरू आफ्नो कूल–परम्परा छाडी बुद्धसँग बौद्ध धर्ममा दीक्षित हुने र भिक्षु बन्ने लहर नै चले को थियो । यसक्रममा कपिलवस्तुबाट पनि ठूलो संख्यामा युवाहरू भिक्षु बने । भद्दीय, अनुरुद्ध, आनन्द, भगु, किम्भिल र देवदत्त गरी ६ जना शाक्य कुमार कतै सयर गर्न गइरहेका थिए, उनीहरूका धेरै जसो साथी भिक्षु बन्न गइसकेका थिए । यी ६ शाक्य कुमारको मनमा के कुरा खेल्यो, आपसमा सल्लाह गरी घर नफर्की बुद्धकहाँ भिक्षुत्व ग्रहण गर्ने निष्कर्षमा पुगे । त्यो बेला बुद्ध मल्ल राजाहरूको अनोमा नदी किनारमा रहेको अनुप्रिय नामक आम्र वनमा बसिरहनु भएको थियो । कपिलवस्तु नगरतर्फ फर्किरहेका उपालीलाई लाग्यो, आफू पनि भिक्षु बन्न किन नजाने ? शाक्य कुमारहरूका गरगहनाको पोको बाटोको छेउमा रहेको रूखमा झुन्ड्याएर उनी बुद्ध रहे कै दिशातर्फ सो झिए । उपाली आम्रवन पुग्दासम्म ६ शाक्य कुमारलाई प्रव्रज्या दिने काम (भिक्षु बनाउने विधि) भइसकेको थिएन । यी शाक्य कुमारलाई भन्दा पहिले उपालीलाई प्रव्रज्या दिने काम भयो । बुद्धको संघमा ज्येष्ठताको निर्धारण उमेरका आधारमा नभएर प्रव्रज्या लिएको समयको आधारमा हुने गर्छ । कुनै पनि भिक्षुले आफूभन्दा ज्येष्ठलाई वन्दना गर्नुपर्छ । भिक्षुत्व ग्रहण गरे र पनि शाक्य कुमारहरूमा जातीय अभिमान हुन सक्ने भयले यसरी उपालीलाई सर्वप्रथम भिक्षु बनाइएको थियो ।

सुमित नामका एक व्यक्ति बुद्धको समयमा थिए । तल्लो जातको भनिएका उनी बिहान सबे रै उठे र बाटो बढार्ने काम गर्थे । त्यो बे ला समाजमा छोइछिटोको अवधारणा यति चर्को थियो कि, उनको छाया मात्र पर्दा पनि अन्य व्यक्तिले नुहाउनुपर्ने मान्यता थियो । तसर्थ दिनमा उनी नगरमा देखा पर्दैनथे । कोही मान्छे बाटोमा हिँड्नुअघि नै बाटो बढार्ने काम सकाइसक्थे । यो कुरा थाहा पाएर एकाबिहानै बुद्ध, सुमितले बाटो बढारिरहे को ठाउँमा पुगे । बुद्ध आफूतर्फ आइरहेको देखे पछि सुमित बाटो मुनि लुक्न गए । बुद्धले उनलाई बोलाएर कुरा गरे । हिजो सम्म छिःछि र दूरदूर गरिएका सुमितलाई स्वयंम् बुद्ध भेट्न जानु र बडो मैत्रीभावले अपार करुणा राखी कुरा गर्नु आफै मा कल्पनातीत थियो । बुद्धले उनलाई उपदेश मात्रै दिनु भएन्, भिक्षु बन्नका लागि आमन्त्रित गर्नुभयो । भिक्षु संघमा जातीय विभेद हुँदैनथ्यो । बरु शील, सदाचारले सम्पन्न हुने जो –को हीलाई सम्मानित गरिन्थ्यो । सुमितको कुरा एउटा उदाहरण हो । भिक्षु आनन्दसँग मोहित भएकी प्रकृति नाउँकी युवती चाण्डाल (शूद्र) जातिकी थिइन् । बुद्धले बडो युक्तिसंगतले ती युवतीलाई जीवनको सार्थकता मात्रै बुझाउनु भएन, भिक्षुणी पनि बनाउनुभयो ।

यस प्रकार भिक्षु तथा भिक्षुणी संघमा कुनै निश्चित जाति वा समुदाय मात्रै नभएर सबैलाई समावेश गरिएको थियो । बुद्ध र बौद्ध धर्मका अनुसार मान्छे–मान्छे बीचमा मात्रै होइन, तमाम जीवजन्तु बीचमा तात्विक भेद छैन । वैदिक समाज वर्ण र जातिका सवालमा बडो संवे दनशील रहँदा एउटा निश्चित तहको जातिलाई अन्य निश्चित तहले अत्यन्तै आदर सत्कार गर्ने तथा तल्लो तहलाई स्वभावतः दुत्कार्ने गरिन्थ्यो । हेप्नु र हेपिनुको औचित्य पुष्टि गर्न अनेक कथा–कहानी तथा तर्क–वितर्कको सिर्जना गरिएको पाइन्छ । यस्तो विभे दपूर्ण सामाजिक मान्यता बुद्धको समयमा विद्यमान थियो । तत्कालीन ब्राह्मण विद्वानबीचमै कतिपय अवस्थामा जातीय कुरामा एक मत हुँदैनथ्यो, यस्तो अवस्थामा समाधानका लागि बुद्धसँग परामर्श लिन पुग्थे । अथवा यस विषयमा बुद्धसँग विवाद गर्न आउँथे । यस क्रममा ब्राह्मणहरूसँग जातीय व्यवस्थाबारे भएका संवादहरू त्रिपिटकको दीघनिकाय, मज्झिमनिकाय, संयुक्तनिकाय आदिमा छरिएर रहेका ‘अट्ठकथा सुत्त’ , ‘एसुकारी सुत्त’ , ‘वासेट्ठ सुत्त’ , ‘वसल सुत्त’ , ‘सुन्दरिक भारद्वाज सुत्त’ , ‘सो णदण्ड सुत्त’ लगायतमा परे को पाइन्छ ।

बुद्धको महापरिनिर्वाणपछि राजा मधुरले मधुरा (मथुरा) स्थित गुन्दावन (वृन्दावन) मा भिक्षु महाकात्यायनसँग गरेको संवाद पनि जातीय व्यवस्थासँग नै सम्बन्धित छन् । ‘मधुर सुत्त’ नाममा रहे को यसमा ब्राह्मणहरू मात्रै शुद्ध हुन सक्छन्, अब्राह्मणहरू शुद्ध हुन सक्दै नन् तथा ब्राह्मणहरू मात्र ब्रह्माका औ रसपुत्र, मुखबाट निस्केका, ब्रह्मज, ब्रह्मनिर्मित तथा ब्रह्मदायाद भन्ने कुरा हो हल्ला मात्रै रहेको र धनद्वारा ब्राह्मण पनि नोकर हुन सक्ने र जातिले पाप–पुण्य छेक्न नसक्ने कुरा परेको छ । यसरी नै ब्राह्मण कसलाई भन्ने वा नभन्ने प्रसङ्गमा बुद्धले दिएका कतिपय गाथाहरू त्रिपिटककै ‘धम्मपद’ मा संकलित छन् । समकालीन नेपाली समाजः समकालीन नेपाली समाजमा जातीय भेदभाव छ । कानुनी रुपमा मुलुकलाई जातीय भेदभाव, छुवाछुतमुक्त घोषणा गरिएको भए पनि त्यसको सफल कार्यान्वयन हुन सकिरहेको छैन । अझै पनि कथित ब्राह्मणले कथित दलित समुदायलाई हेप्ने क्रम रोकिएको छैन । एउटै जातभित्र पनि तमाम विभेद छ । ब्राह्मणभित्र पनि जैसी र उपाध्यायबीच छियोछुटो छ । भारत तथा नेपालका कतिपय समाज जातिवादले कतिसम्म जकडिएको छ भन्ने सन्दर्भमा स्वयं ब्राह्मण समाजले नै जातिवादको अनौचित्यमाथि प्रकाश पार्दा पनि त्यसको प्रभाव हटाउन नसक्नुबाट बुझिन्छ । यस्ता कतिपय सामाजिक कुरीतिले गर्दा समाजको विकासमा बाधा पुगेको छ । बुद्धले सयौं वर्ष पहिले राखेको मान्यता अहिले पनि उत्तिकै सान्दर्भिक छ । बुद्धले सबै मानिस एउटै हुन् भन्ने कुरालाई आज हामीले आधुनिक भनिने समाजमा समेत भनिरहनु परेको छ । जातीय सन्दर्भमा गौतमबुद्धले जुन दृष्टिकोण राख्नुभयो, त्यो सधै ंअजम्बरी छ । त्यो बेलाको समाजमा विज्ञान र प्रविधिको तमाम विकास भएकै थिएन । तैपनि बुद्धको वचनलाई मनन गरी बौद्धकालीन समाजले जातीय भेदभावलाई प्रश्रय दिएन । गौतमबुद्धले कथित तल्लो जातका मानिसलाई आफ्नो अनुयायी बनाउन प्रोत्साहन मात्र होइन, प्राथमिकता समेत दिएको कुराले पनि बौद्धकालीन समाजमा छुवाछुत थिएन भन्ने कुरालाई स्पष्ट पार्छ ।

निष्कर्ष : बौद्ध धर्म तथा दर्शनमा छुवाछुतको कुनै स्थान छैन । सबै व्यक्ति बराबर देख्ने बौद्ध दर्शन आफैंमा प्रगतिशील छ । तत्काली वैदिक धर्मले जगडिएको समाजलाई बुद्धले फरक दृष्टिकोणले हिँडाउन चाहेको कारण उहाँ तत्कालीन समयका महान् समाज सुधारक हुनुहुन्छ । बुद्धले व्यक्तिबीच कुनै पनि नाममा भेदभाव गरिनु हुँदैन भने र दिएका बुद्धवचनहरू नियमको रुपमा विनय पिटकमा उल्लेख गरिएको छ । बुद्धको महापरिनिर्वाणपछि बुद्ध धर्मलाई वैदिक धर्मले थिच्दै जाँदा यसमा थेरावाद, महायान, बज्रयान सम्प्रदाय देखा परे । यसकै फलस्वरुप कतिपय बौद्ध समाजका व्यवहार जातिवादमा जकडिन पुगेको पाइन्छ । बुद्ध र बौद्ध धर्मका सवालमा जसले जति बोले पनि जातिवादको हाविहुञ्जेल ती सबै कुरा वाणीविलास मात्रै हुन्छन् । बौद्ध धर्म भएको ठाउँमा जातिवाद हुँदैन र जातिवाद भएको ठाउँमा बौद्ध धर्म टिक्न सक्दैन भन्ने कथनले धेरै कुरालाई स्पष्ट गर्छ ।

सन्दर्भ सामाग्रीः
१. सांस्कृत्या, राहुल, बौद्ध दर्शन (नेपाली अनुवाद), ईन्डियो इन्क प्रकाशन ।
२. महर्जन, बसन्त, खश साम्राज्यमा बौद्ध धर्मको उत्थान र पतन, इन्साइट पब्लिकेसन प्रालि ।
३. आचार्य, नेत्र, बुद्ध देवता होइनन् ः मनोचिकित्सक हुन्, अन्नपूर्णपोष्ट दैनिक, २०७४ भदौ १७ ।
४. http: //bodhitv.tv.Com
५. http: //tamangbfmalaysia.blogspot.com
६. पाण्डे, चतुरभुज, बौद्ध विधिशास्त्र, कपिलबस्तु विकास केन्द्र, प्रथम संस्करण
७. शाक्य, देवेन्द्रराज, गौतमबुद्ध एक परिचय, धर्मीशाक्य, प्रथम संस्करण
८. बञ्जाडे , देवीराम, विधिशास्त्रमा विनय, लुम्बिनी दैनिक, अंक ३७, २०७७ कार्तिक १४ गते ।
(लेखक गौतम लुम्बिनी बौद्ध विश्वविद्यालयबाट स्नातकोत्तर हुन् ।)