इन्दिरा अर्याल
बुटवलको चौराहामा चहलपहलका बीच टायल मार्बल र हाडवेयरका सामान बेच्न व्यस्त रहने सेमलारमा खमबहादुर थापा आजभोलि तरकारी खेतीमा रमाउन थालेका छन् । २० हजारबाट सुरु भएको उनको तरकारी खेतीको यात्रा अहिले लाखको हाराहारीमा पुगेको छ ।
आफ्नो स्वामित्वको जमीनमा दुई वर्षअघि एक्लै व्यवसायिक खेती थालेका थापा आजकाल १२ जना स्थानीय कृषकहरूसँगै काममा हुन्छन् । उनकै नेतृत्वमा कृषक समूहको पनि गठन भएको छ । गाउँमै तरकारी संकलन तथा विक्री केन्द्र सञ्चालन भएको छ । केही कृषक, कृषक समूह र स्थानीय सहकारीको समेत लगानी रहनेगरी बुटवल जैविक कृषिउपज संकलन सहकारी संस्थाको गठन भएको छ । समय बिताउन साँझ–बिहान वरपर टहलिने र गफिने उनीहरू आजभोलि बिहान घाम नझुल्कँदै खेतमा पुग्छन् र तरकारी खेतीको गोडमेलमा लाग्छन् ।
खमबहादुरको समूह प्रायः बिहान ४ बजे नै उठ्छ । घरायसी काम सखारै सक्छन् र ६ बज्दा नबज्दै सामूहिक खेतीमा जुट्छन् । प्रत्येक घरका एकएकजना निस्कने नियम छ । कोही गोडमेल गर्छन्, कोही रोग फैलाउने किरा छन् कि भनेर हेर्छन् त कोही टिप्न तयार भएका तरकारीहरू टिप्छन् । समूहका सचिव ६६ वर्षीय चिरञ्जीवी लम्साल अलि रसिला छन् । उनी कथा–कहानी सुनाउँदै काम गर्छन् । काममा लाग्नेलाई हसाँएर समूह सदस्यहरूको थकाइ मारिदिन्छन् । शिक्षण पेसाबाट सेवा निवृत्त भएका लम्साल २०७२ सालमा बसाइ सरेर सेमलारको यो बस्तीमा आएका हुन् । तराई त झरियो के कसो हुन्छ भन्ने आशंका मिश्रित डर मनमा लुकाएर हिँडेका उनलाई सामुहिक तरकारी खेतीले फुरुङ्ग गराएको छ ।
जग्गा भाडामा लिएर खेती गर्नेलाई प्रोत्साहन
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १५ को सेमलार बजारदेखि दक्षिण पश्चिममा रहेको सिर्जना टोलमा स्थापित जागरुक बहुउद्देश्यीय कृषक समूह थोरै लगानीमा पनि तरकारी खेतीबाट जीवन चलाउन सकिन्छ भन्ने उदाहरण बन्दै गएको छ । वार्षिक प्रतिकठ्ठा २ हजारको दरले भाडा तिरेर २२ कठ्ठामा लगाएको तरकारी खेतीमा अहिले काँक्रा, टमाटर, फर्सीका मुन्टा तयार भएर दैनिक बिक्रीमा छन् । हलहल्ती मल्केर झाँगएका थरिथरिका बोडी, घिरौंला र करेला अब फल लाग्ने तयारीमा छन् । कतै भर्खरै लगाइएका खुर्सानी, फर्सी, काँक्रा, सिम्लामिर्चहरू भर्खर जमिन छोड्दैछन् । हेर्दै रहर लाग्दो यो तरकारी खेतीको सुरुवात त्यति सजिलो भने थिएन ।
समूहका अध्यक्ष खमबहादुर थापा आफ्नो पुरानो व्यापारभन्दा यसैलाई समय दिँदैछन् । उनकै सोंच र नेतृत्वमा समूहले गति लिएको हो । सामूहिक खेतीको सुरुवात बारे उनी भन्छन्,‘कोरोनाले टायलमार्बलको पसल नचलेको बेला के गर्ने, कसो गर्ने भनेर सोंच्दै थिएँ, बुटवले सुरु गरेको सहरी कृषि प्रवद्र्धन कार्यक्रमले मालामाल बनायो ।’ २०७७ जेठ महिनाको एक दिन बुटवल उपमहानगरपालिकाले कोरोनाको विशेष कार्यक्रमअन्तर्गत तरकारी खेतीको लागि उपमहानगरले निवेदन मागेको थियो । बढीमा ४० हजारको कार्यक्रम थियो । त्यो पनि ५० प्रतिशत उपमहानगरपालिका र ५० प्रतिशत निवेदकको लगानीमा काम गर्नुपर्ने सर्त । जे होला भनेर निवेदन दिएका थापाजस्ता धेरैलाई यो कार्यक्रम फलिफाप भयो ।
तीन कठ्ठामा बोडी लगाएको १५ क्विन्टल फल्यो । पहिलो लटमै मैले डेढलाख आम्दानी गरिसकेको थापाको भनाइ छ । खमबहादुरलाई व्यावसायिक तरकारी खेतीको यो नै पहिलो अनुभव थियो । राम्रो भएपछि उपमहानगरपालिकाबाट पष्मुक शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्यसहित पुगेको प्राविधिक टोलीले धन्यवाद पनि दियो । अनि समूह बनाएर काम गरेका थापाजस्ता धेरै किसानका लागि बरदान सावित भयो ।
प्राविधिक ज्ञान, सीप, उपकरण, बीउ बिजन र सुविधा पाएपछि को थप सहकार्य गर्ने र सुविधा पनि पाएपछि किसानहरुमा हौसला बढेको छ । खेती गर्न जमिन नहुनेले पनि कौसीमा खेती गर्न थालेका छन् । कोरोनाले घरभित्रै थन्किएका धेरैलाई काममा जोडिने अवसर सिर्जना भयो । थापासहितका स्थानीय १३ जना मिलेर २०७७ असोजमा जागरुक बहुउद्देश्यीय कृषक समूह गठन ग¥यौँ । समूहका सदस्यले सुरुमा १०÷१० हजार उठाए । गाउँकै २२ कठ्ठा जग्गा भाडामा लिएर काम सुरु गरे ।
थोरै समयमा नै उनीहरूले व्यवसायिक कृषिको लागि व्यवस्थित योजना बनाए । काम थाल्न पैसो अघि लगाउन पर्ने । खोजबिन गर्दैैजाँदा उपमहानगरपालिकाको अर्को योजना पनि भेटाए । तर १३ लाखको सो कार्यक्रमको लागि उपभोक्ता कृषकले आधा लगानी गर्नै पर्ने प्रावधान रहेछ । कृषकसँग पैसा उठाउने सम्भावना उनीहरूले देखेनन् । नजिकका सहकारी र बैंकमा धाए तर ऋण सापटीको केही उपाए लागेन । बरु ५÷७ हजार अनुदान धेरैले दिए । नमूना महिला सहकारीले भने उनीहरूलाई पत्यायो र ऋण लगानी गर्ने भयो । उनीहरू जोस र जाँगरका साथ काममा जम्न थाले । अहिले उनीहरूले जैविक मल र विषादी पनि आफैँ बनाउँछन् । त्यसको प्रयोग गरेपछि तरकारीको गुणस्तर पनि सुरक्षित भएको छ ।
एक गाउँ: एक उत्पादन
बुटवलका कृषि विकास शाखा प्रमुख सन्तोष जिसीले उनीहरूको काममा हौसला थप्ने र केही सुझावहरू पनि दिँदै गए । वडा अध्यक्ष डम्बरबहादुर भण्डारीले पनि चासो र साथ दिए । २०७७ माघमा उपमहानगरपालिकाको कोभिड विशेष कृषि कार्यक्रम अन्तर्गत ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमको तरकारी बाली अनुदान पाउन पनि यो कृषक समूह सफल भयो । उपमहानगरपालिकाबाट ३ लाख ८२ हजार, कृषक समूहको ३ लाख ६१ हजार र अन्य सहयोग ३६ हजार गरी कुल ७ लाख ८१ हजारको यो कार्यक्रमले जागरुक कृषि सहकारीका कृषकहरूलाई सहकारीको नामजस्तै जागृत बनाएको छ । २०७८ चैतमा यो परियोजना सकिएतापनि जागरुकको कामको गति घटेको छैन बरु दिनानुदिन विस्तारित हुँदै छ ।
जागरुक कृषि समूहको परिवारमा स्थानीय सेवानिवृत्त शिक्षक, नेपाली सेना तथा बैदेशिक रोजगारीबाट फर्केका र कोरोनाका कारण विदेश जान नपाएर बसेकाहरूसमेत छन् । अहिलेसम्म उनीहरूले घरबाट प्रति घर १० हजार मात्रै नगद उठाएका छन् । तर काम भने १० लाखभन्दा बढीको गरेका छन् । आँटेपछि हुँदो रहेछ भन्ने अनुभव उनीहरूले गरेका छन् । तरकारीबाट आम्दानी धेरै भएको बेला ज्याला पनि धेरै हुन्छ । थोरै भएको बेला थोरै हुन्छ । यसरी आफ्नै कामको ज्याला पाउँदा उनीहरूलाई घरखर्च चलाउन पनि सजिलो भएको छ । कोषाध्यक्ष टीकाकुमारी थापा भन्छिन्,‘अरुकोमा ज्याला मजदुरी गर्न जान परेन । कसैको अधिनमा बस्न पनि परेन । सँगै काम गरेर नाफाअनुसारको ज्याला बाँड्न थालेपछि सबैको मन खुसी छ । ‘काठमाण्डौ कताकताबाट हाम्रो समूह हेर्न आउनुहुन्छ । धेरैले चासो लिनुभएको छ । हामीलाई हौसला पनि दिनुहुन्छ । त्यो सुन्दा राम्रै गरिएको रैछजस्तो लाग्छ ।’ उनले थपिन् ।
खेतबारीमै किन्न आउँछन् उपभोक्ता
पर्वत, बाग्लुङ्ग, पाल्पा, अर्घाखाँचीलगायतका जिल्लाबाट बसाइ सरेर बुटवलको सेमलार आएका उनीहरूले घरघरमा निर्वाहको लागि फलफुल तथा तरकारी खेती गरे । परिवारका एकदुईजना कुनै न कुनै जागिर तथा पसल व्यवसायमा थिए । तर, कोरोना संक्रमणको त्रासको बेला व्यापार व्यावसाय ठप्पप्राय भयो । मानिसहरूमा स्वदेश र गाउँठाउँका तरकारी फलफुलको खोजी हुन थाल्यो । उनीहरूले पनि घरघरमै केही बढाएर तरकारी खेती गर्न थाले । केही हुन्छ कि भन्ने उत्साहले थालिएको तरकारी केही त राम्ररी बिक्यो । तर कतिकति बेला भने तरकारी उत्पादन राम्रो भएपनि बिक्री भएन । कहिलेकाहीँ त नजिकका बंगुर फारामलाई अनुरोध गरेर पचास रुपैयाँ बोरा काउली लैजान पनि भनियो । अगुवा कृषकहरूको पहलले अहिलेभने तरकारी फलाउन सकेमात्र भयो । घर–घर, खेत–खेतमै तरकारी लिने गाडी आउँछन् र लैजान्छन् । दैनिक ६–८ हजारको तरकारी बिकेकै हुन्छ ।
बुटवल उपमहानगरपालिकाको सहकार्यमा कृषक समूहले २ वटा हाते ट्याक्टर, मल तथा तरकारी बोक्ने ठेला, थोपा सिँचाइ, मल्चिङ्ग प्लाष्टिक र बलियो टनेल बलाउन सकेका छन् । कृषक समूहका उपाध्यक्ष दुर्गा घिमिरेका अनुसार सामूहिक कृषि खेतीले घरघरमा गरिने खेतीमा पनि प्रविधिको प्रयोग वढेको छ । घरका नर्सरी र तरकारी खेतीमा उनीहरूले तापक्रम सन्तुलन बढाउने फोगरा प्रविधि पनि जोडेका छन् । समूहमा काम गर्न थालेपछि उनीहरूलाई अवकास पछिको समय बिताउन पनि सजिलो भएको छ । समूहका सदस्यबीच आत्मीयता पनि बढेको छ । व्यवसायिक खेतीमा अनुभवहरू थपिएको छ ।
गाउँका कृषकको तरकारीलाई सजिलोसँग बजार र उपभोक्तासम्म पु¥याउन अहिले सिर्जना टोलबाट केही पूर्वको गाउँ उजेलापूरमा अर्गानिक कृषि उपज संकलन केन्द्र तथा सहकारी पनि खुलेको छ । २०७६ सालमा खुलेको केन्द्रले किसानको तरकारी उठाउने काम ग¥यो । जागरुक कृषक समूह पनि त्यसको सदस्य छ । योसँगै नगरभित्रमा ८ वटा कृषक समूह, १ सहकारी र बाँकी किसानहरू नै व्यक्तिगतरुपमा सदस्य बनेर १७ जनाको सहभागितामा हाल यो सहकारीको रुपमा दर्ता भएको छ । लकडाउनको वेला स्थानीय किसानलाई तरकारी बेच्न समस्या परेपछि कृषि उपज संकलन केन्द्र खोल्ने सोंच आएको केन्द्रका अध्यक्ष रामनाथ मालीले बताए । हामीले पहिला कृषि एम्बुलेन्स चलाउने सोंचेका थियौँ । पछि प्रक्रिया बुझ्दै जाँदा समूह बनाएर धेरै तरकारी भएपछिमात्रै त्यसो गर्न सकिने थाहा भयो ।
उपमहानगरपालिकाका प्रमुख सुवेदी, उपप्रमुख आचार्य, कृषि शाखा प्रमुख जिसी तथा विभिन्न वडाका अध्यक्षहरुले कृषि विकासका सम्भावनाका बारेमा विज्ञहरुसँग पनि छलफल गर्न थाले, किसानसँग समस्याका बारेमा छलफल चलाए र समाधानका उपाय बनाए ।
कृषकले घरमै बसेर आफ्नै मोबाइलबाट बजारमा आफ्नो तरकारी कतिमा बिक्यो भन्ने जानकारी पाउने व्यवस्था गरिएको छ । तरकारी लगाउन नभ्याउनेले संकलन केन्द्रमा आएर तरकारी किनेर लग्छन् । गाउँमा पाएको यो सुविधाले उनीहरूमा धेरै सजिलो भएको छ ।
बुटवल उपमहानगरपालिकाले सहरी कृषि प्रवद्र्धन कार्यक्रमअन्तर्गत यो कामलाई सहयोग गरेको हो । वडा नम्बर १५ सेमलारमा जस्तै अन्य ठाउँमा गरी १६ वटा कृषक समूहहरू दर्ता भइ काम गरिरहेको र व्यक्तिगतरुपमा पनि घर वरपर तथा कौँसीखेती पनि बढ्दोक्रममा रहेको कृषि शाखा प्रमुख जिसीले बताए । बुटवलको यो अभ्यासले सहरमा केवल चिल्लाबाटा मात्रै होइन, खेतीपाती पनि सम्भव छ भन्ने देखाएको छ । सहरका मानिसहरू काम गर्न खोज्दैनन् भन्ने कुरालाई चुनौति दिँदै मिलेर काम गर्दा कम लगानीमा पनि ठूलो योजना सम्पन्न गर्न सकिन्छ भन्ने कुरालाई पुष्टि गरेको छ ।
यसरी सानो समूह, सानो लागानीबाट सुरुवात गरेको सामुहिक तरकारी खेतीले किसानहरूमा जागरणमात्र ल्याएको छैन, कोरानाको कारणले अस्ताउँदै गएको ब्यापार—व्यावसायमा चाँदीको चम्किलो घेरासमेत देखिन थालेको छ । यसलाई उज्यालोको संकेतकोरुपमा लिन र बुझ्न सकिन्छ ।