ब्रेन फुड बेसार

मेचीकाली संवाददाता

१६ श्रावण २०७८, शनिबार
692 shares

ओम बानियाँ
हिजोआज अधिकांश मानिसहरुले ब्रेनलाई भन्दा ब्युटिलाई महत्व दिने गरेका छन् । अनुहारलाई राम्रो गराउन खास गरी महिलाहरुले अनेक प्रकारका महँगा सौन्दर्य प्रसाधनहरु प्रयोग गर्ने गर्छन् । तर सौन्दर्यको मनोवैज्ञानिक सत्य के हो भने जबसम्म मानिस स्वस्थ हँुदैन, उसको मस्तिष्कले ठीकसँग कार्य गर्दैन, तबसम्म उसको मनमा शान्ति आउँदैन, अनुहारमा कान्ति छाउँदैन । वास्तवमा हेल्दी बोडी हेल्दी बे्रन भएको मानिस नै ब्युटिफुल देखिन्छन् । यसका लागि मानिसहरुले महँगा–महँगा बजारिया टनिक तथा सौन्दर्य प्रसाधनहरु प्रयोग गर्न आवश्यक छैन, बेसार जस्ता स्वास्थ्यवद्र्धक तथा सौन्दर्यवद्र्धक प्राकृतिक पदार्थहरु ठीक ढंगबाट प्रयोग गरे पुग्दछ ।

के हो बेसार ?
नेपालमा सदियौंदेखि मसला र औषधीको रुपमा उपयोग हँुदै आएको एक चर्चित कन्दमूल हो, बेसार (टरमरिक) । जिन्जिबेरसी परिवारको यस कन्दमूलको वानस्पतिक नाम हो, करक्यूमा लोन्गा । विशेष गरी दक्षिणी तथा दक्षिण पूर्वी एसियाको यस कन्दमूल पछिल्लो समय अनेक वैज्ञानिक अनुसन्धानका कारण आज विश्वभर लोकप्रिय हँुदै गएको छ । त्यसो त परापूर्व कालदेखि नै नेपालको अधिकांश भुभागहरुमा खेती गरिने यस बेसारको गुणहरूका बारेमा आयुर्वेदमा पर्याप्त वर्णन पाइन्छ ।

सुपर स्पाइस
बेसार मसलाहरुको राजा हो । यस वनस्पति पौष्टिक तथा औषधीय गुणहरुले भरिएका कारण नै दैनिक रुपमा उपयोग गर्न वैदिक ऋषिमुनीहरुले यसलाई भान्छामा ल्याएका हुन् । बेसारमा हुने कुर्कुमिन नामक जैविक रसायनका कारण नै बेसार पहेँलो देखिएको हो । कुर्कुमिनमा विभिन्न औषधीय तत्व पाइन्छ । पौष्टिक तत्वहरूको रूपमा बेसारमा भिटामिन ए, केही मात्रामा भिटामिन बी, बी २, सि र क्यालोरी (३९० क्यालोरी प्रति एक सयग्राममा) पाइन्छ भने क्याल्सियम, फस्फोरस, फलाम आदि जस्ता खनिज प्रचुर मात्रामा पाइन्छ । बेसारले हाम्रो भोजनलाई रंग दिएर आकर्षक त अवश्य बनाउँछ नै । यसको अतिरिक्त शरीरलाई विशेष पौष्टिक तत्वहरू पनि प्रदान गर्छ ।

ब्रेन फुड बेसार
बेसार एक निकै प्रभावकारी एन्टीअक्सिडेन्ट हो र यसको नियमित प्रयोगले शरीरमा उत्पादन हुने फ्रीरेडिकल्सलाई निस्क्रिय पार्दछ । यसले रगतमा कोलेस्टेरोलको मात्रालाई बढ्न दिँदैन र उच्च रक्तचाप तथा हृदयसम्बन्धी रोगहरुलाई नियन्त्रण गर्छ । बेसारले रक्त सञ्चारलाई प्रभावकारी बनाउने हुँदा बे्रनलगायत शरीरका हरेक अंगहरुलाई स्वस्थ बनाउन सहयोग गर्छ । स्मरणशक्ति बढाउँछ । मुलकुरो यसले अल्जाइमर जस्तो घातक बिर्सिने रोगको रोकथाम गर्छ । बेसार सेवन गर्ने मानिसहरुको तुलनामा बेसार सेवन नगर्ने मानिसहरु बढी अल्जाइमरको शिकार भएको तथ्यांकहरुले देखाएको छन् ।

औषधी हो बेसार
बेसार बहुउपयोगी औषधीय गुण भएको वनस्पति हो । आचार्य चरकले बेसारलाई कुष्ठ र लुतो हटाउने, विष नष्ट गर्ने गुणयुक्त मानेका छन् । यस्तै आचार्य सुश्रुतले श्वास रोग, खोकी, रक्तपित्त, आँखा रोग, कुष्ठ र प्रमेहलगायत निर्मूल गर्न बेसारलाई प्रभावकारी मानेका छन् भने अमेरिकास्थित पेन्सिलभेनिया विश्वविद्यालय, मेडिकल सेन्टरका डा. अमोन ए नान्जील बेसार नियमित खाँदा रक्सीले कलेजोलाई पुराउने क्षतिसमेत कम हुने तथ्य प्रमाणित गरेका छन् । क्यानाडाको टोरन्टो जनरल अस्पतालका अनुसन्धानकर्ताहरूले जनरल अफ क्लिनिकल इन्भेस्टिगेसनमा प्रकाशन गरेको प्रतिवेदन अनुसार बेसारले हार्ट फेल हुनबाट बचाउँछ, क्षतिग्रस्त मुटुलाई थप नोक्सान हुनबाट रोक्छ । बेसार प्राकृतिक रक्तशोधक हो । यसले रगत सञ्चलान राम्रो गर्छ । आर्टरिजलाई मजबुत बनाउँछ । खराब कोलेस्टोरललाई घटाउँछ । यसमा पाइने एन्टीमाइक्रोबाइलका कारण यसले कलेजो डेटक्स गर्छ, वाइल उत्पादन बढाउँछ ।

ब्युटिफुल बेसार
बेसार सौन्दर्यवद्धक पनि छ । छाला स्वास्थ्यका लागि बेसार निकै गुणकारी मानिन्छ । त्यसैले वैदिक संस्कृतिमा यसलाई उवटनको रुपमा प्रयोग गर्दै आएको पाइन्छ । बेसारको उचित उपयोग गर्ने हो भने महँगा र हानिकारक रसायनयुक्त सौन्दर्य प्रसाधानको कुनै आवश्यकता पर्दैन ।

बेसारको फेसमास्क
एक चम्चा बेसन, आधा चम्चा बेसार, दुई चम्चा दही तथा आधा चम्चा मह लिने र राम्रोसँग मिसाउने । अब प्राकृतिक फेसमास्क तयार भयो । यसलाई हप्ताको २ पटक अनुहारमा लगाउने र १५ मिनेटपछि धुने । यो पेस्टलाई शरीरमा पनि लगाउन सकिन्छ । यसरी बेसारको प्रयोग गर्ने हो भने अनुहार सफा र उज्जालो हुन्छ । यसले बजारमा पाइने महँगा पेसप्याकले भन्दा निकै फाइदा गर्छ । यदि अनुहारमा दागधब्बा तथा डण्डिफोर छ भने त्यहाँ पनि यो पेस्ट लगाउन सकिन्छ ।

कालो तथा घना कपालः
कपाल झर्ने, फुल्ने तथा चाया पर्ने समस्या छ भने बेसार एक समाधान हुन सक्दछ । यसका लागि दुई चम्चा नरिवलको तेलमा आधा चम्चा बेसार मिसाउने र कपालको जरोमा राम्रोसँग लगाउने । अनि आधा घण्टापछि कपाल धुने । एक महिनामा नै सकारात्मक परिणाम देखा पर्छ ।

दाँतको दबाइः
एक चिम्टी बेसार, एक चिम्टी सिधेनून अलिकति तोरीको तेलमा मिसाउने । प्राकृतिक तुथपेस्ट तयार भयो । योभन्दा उत्तम तुथपेस्ट संसारमा छैन । दिनहँु यस पेस्टले ब्रस गर्ने र औंलामा यो पेस्ट लगाएर गिजा मसाज गर्ने हो भने दाँत चम्किलो र बलियो हुन्छ । गिजा मजबुत हुन्छ । दाँत र गिजाका रोगहरु निर्मूल हुन्छन् ।

बेसारको सेवन
बेसार यति गुणकारी छ कि दिनहँु यसको सेवन तथा प्रयोग गर्नु स्वास्थ्य र सौंदर्यका दृष्टिकोणले निकै उत्तम छ । एक व्यस्क मानिसले दिनहँु लगभग २ ग्राम जति बेसार सेवन गर्न सक्छन् । त्यसैले दिनहुँ १–२ चम्चा बेसार दूध वा पानीसँग लिन संकोच मान्नु पर्दैन । यसको कुनै प्रतिप्रभाव हँुदैन । तर बेसार शुद्ध र गुणस्तरीय चाहिँ हुनुपर्दछ ।

गोल्डन वाटर
एक गिलास मनतातो पानीमा आधा चम्चा बेसार अलिकति मरिचको धुलो मिसाउने र बिहान खाली पेट यो पेय पिउने । आधा घण्टा कुनै कुरा सेवन नगर्ने । यस पेयमा आधा चम्चा कागतीको रस तथा एक चम्चा मह पनि मिसाउन सकिन्छ ।

गोल्डन मिल्क
एक गिलास दुधधलाई उमाल्ने र मनतातो भएपछि त्यसमा आधा चम्चा बेसार हालेर घोल्ने र सुत्ने बेलामा पिउने । दुधमा बेसारका साथै आधा चम्चा बदामको तेल वा ३ बदामको पेस्ट, आधा चँम्चा नरिवलको तेल, आधा दालचिनी तथा सकुमेलको धुलो तथा एक चम्चा मह हालेर पिउन सकिन्छ ।

बेसार मानिसको प्राकृतिक तथा स्वभाविक आहार हो र यसलाई हाम्रा पुर्खाहरुले सेवन गर्दै आएको हँुदा यसलाई कलेजोले स्वभाविकरुपमा ग्रहण गर्छ । उचित मात्रामा बेसारको सेवन गर्दा यसले ब्रेन र बोडीलाई फाइदा नै फाइदा गर्छ, तनमनलाई स्वस्थ र मजबुत बनाउँछ । त्यसैले बेसारलाई दालतरकारी आदिमा प्रयोग गरेर सेवन गर्नुको साथै शुद्ध बेसार करिब आधा देखि एक चम्चा बिहान–बेलुकी दुध वा पानीसंग लिने गरौं, अनि रोग मुक्त होऔँ । (लेखक साइकोथेरापिष्ट तथा मेमोरी ल्याब प्रमुख हुन् ।)