तुइन विस्थापनमा अरुको ध्यान किन गएन ?

मेचीकाली संवाददाता

१९ श्रावण २०७८, मंगलवार
574 shares

प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओली पहिलोपटक नियुक्त भएका बेलामा एउटा सुन्दा सामान्य जस्तो लाग्ने तर साह्रै महत्वपूर्ण निर्णय भयो–तुइन विस्थापनको । ओली प्रधानमन्त्री बन्नुभन्दा कैयन् पहिलेदेखि नदीहरु वारपार गर्न तुइनको सहारा लिनुपर्ने बाध्यता थियो । त्यसरी तुइन तर्ने क्रममा कैयौंको ज्यान गइरहेको विडम्बना कम भएको थिएन बरु बढ्दो थियो । ओलीको कार्यकालमा मुलुकमा तुइनको विस्थापन सुरु भयो र अहिले पूरा हुने चरणमा छ ।

विरोधीले पनि ऐतिहासिक मानेका काममध्येको यो तुइन पनि ओलीको कार्यकालको एउटा ऐतिहासिक काम हो । यहीँ साउन १५ गते महाकाली नदीको मालघाटमा तुइन तर्दा भारतीय एस्एसबीले तुइन काटेर जयसिंह धामीको मृत्यु भएपछि तुइन विस्थापनको विषयलाई लिएर सञ्चार माध्यममा धेरै चर्चा परिचर्चा भएको छ । घटनाको वास्तविकता छानविन गर्नेभन्दा यसलाई अनावश्यक राजनीतिकरण गर्न खोजिएको छ । कतिपयले त तुइनमुक्त भनेको होइन खै ? भन्दै पूर्वाग्रहप्रेरित टिप्पणी गर्ने गरेका छन् ।

ओली पहिलोपटक प्रधानमन्त्री हुँदा पहिलो निर्णयस्वरूप २०७२ असोज २५ गते तुइन विस्थापन गर्ने निर्णय गर्नुभएको थियो । त्यतिबेला देशभर तुइनको संख्या १७१ वटा थिए । हालसम्म १३० वटा तुइन विस्थापित भएर त्यहाँ झोलुङ्गेपुल निर्माण भएका छन् । तीन ठाउँमा त मोटरेवल अर्थात् सडकपुल निर्माण भइसकेको अवस्था छ । बाँकी १२ स्थानमा झोलुङ्गेपुलको निर्माणाकार्य अन्तिम चरणमा पुगेको छ । अरु २६ ठाउँमा प्राविधिकसहित विभिन्न कारणले निर्माण गर्न सम्भाव्य नभएको अवस्था भएपनि पहल जारी छ ।

नेपाल र भारतको सिमाना नदी महाकालीमा मात्रै ५ वटा ठाउँमा भारततर्फबाट झोलुङ्गेपुल निर्माणको अनुमति नदिएको कारण २०७३ सालमा लागेको ठेक्का रद्ध हुन पुगेको थियो । त्यहाँ पनि ओलीले नै भारत गएर कुरा गरेपछि काम सुचारु भएको छ । महाकालीमाथिको मालघाटलगायत ४ स्थानमा पून ठेक्का लागेको विवरण ओलीको सचिवालयमा प्राविधिकतर्फको काम हेरेका विज्ञहरुले नै सार्वजनिक गरेका छन् । महाकाली नदीको ४ ठाउँमध्ये २ ठाउँमा ९५ प्रतिशत र मालघाटलगायतमा ३० प्रतिशत निर्माण सम्पन्न भइसकेको प्राविधिकहरुको भनाइ छ । अन्य ८ स्थानमा पनि ५० प्रतिशतभन्दा बढी काम निर्माण सम्पन्न भएका छन् । जनताको जीवन रक्षाको लागि बाँकी काम छिटो सम्पन्न गरौं । राम्रो कामलाई राम्रो भनौं र प्रशंसा गरौं, गलतलाई सुधार्न अवसर दिऔं र खबरदारी गरौं ।