उपचार अभावमा नारकीय जीवन कटाउँदै अबोध बालक

मेचीकाली संवाददाता

१३ भाद्र २०७९, सोमबार
378 shares

टोपलाल अर्याल
गुल्मी । कच्ची घरको बलेनीमा एउटा अबोध बालक हातखुट्टा बाँधिएर झुण्डिएको दशक पुग्न थाले । जसका विद्यालयमा पुगेर भविष्य कार्नेे हातहरु, खेल्ने र सांसर दौडने खुट्टा करिब एक दशकदेखि बाँधिएका छन् । बाल्यकालमा खुसी भरिने ओठहरु निला भएका छन् । भाग्य थाप्ने निधार र कर्म बोक्ने टाउकोमा चोट नभएको ठाउँ छैन । बालकले परिवारको आँखा छल्न पाए टाउको भुँइमा ठोकेर रगताम्य बनाउँछन् । चिथोर्ने र कोपारेर शरीर छोप्दा थापा नपाउने भएको छ । यो समस्या बालकले सात/आठ वर्षदेखि झेलिरहेका छन् । उनले घर नजिक विद्यालय भएपनि अहिलेसम्म टेकेका छैनन् । उनी हिँडडुल पनि गर्छन् । पूरै होसमा छैनन् । अरुलाई खासै केही गर्दैनन् । तर, आफैँले आफैँलाई निकै चोट दिइरहेका छन् ।

बालक सत्यवती गाउँपालिका–५ हँसराका ११ वर्षीय रामु बुढाथोकी हुन् । उनी कमल बुढाथोकीका जेठा छोरा हुन् । उनी जन्मिनेबित्तिकै स्वस्थ थिएनन् । रामुले उमेर बढ्दै जाँदा अरु बालबालिकाले भन्दा फरक चरित्र देखाउन थाले । बुबा कमल बुढाथोकी भारतमा १७ वर्षदेखि काम गर्थे । घरमा श्रीमती देउकुमारीले छोरा समाल्न नसकेपछि कमल गाउँ फर्के । बुटवलको आम्दा, नेपालगञ्ज हुँदै भारतसम्म पुराएर उपचारको प्रयास निकै गरे । बुढाथोकीले भारतमा जागीर राम्रो भएकाले सक्नेसम्मको उपचार पनि गरे । तर, छोरालाई बीसको उन्नीस भएन । जागीर पनि छोडे छोराको उपचार पनि भएन् । जसका कारण अहिले लामो समयदेखि गाउँमै छन् ।

११ वर्षीय रामुलाई अचेल बाँधिने बानी परेको छ । आफँैले परिवारका सदस्यहरुलाई बाँध्न भन्छन् । बुबा कमलका अनुसार बेलाबखतमा निकैबेर मात्तिने र अत्तालिने समस्या रहेको छ । त्यो बेला आमाले समेत अड्याउन नसकिने भएकाले मन गाँठो पारेर पिट्नुपर्ने बाध्यता रहेको बुढाथोकीले बताए । ‘कहिलेकाहीँ धेरै बेर उफ्रने, कराउने र टाउको ठोक्नेलगायतका समस्या हुँदा मैलेबाहेक कसैले समाल्न सक्दैनन् । लौरो देखाउने र कहिलेकाहीँ पिट्नु पनि पर्छ,’उनले भने,‘बाध्यताले आफ्नै सन्तान पिट्दा मुटु छियाछिया बन्छ ।’ जमिनमा टाउको बढी ठोक्ने भएकाले झोलुङ्गो बनाएर माथि राखिएको बुढाथोकीले बताए । रामुको लागि घरमा एक जना बस्नुनै पर्ने बाध्यता बुढाथोकी परिवारलाई छ । रातमा कहिलेकाहीँबाहेक निदाउन मुस्किल पर्छ ।

कमल र देउकुमारी बुढाथोकी दम्पती स्थानीय टेकराम ढकालको हँसरास्थित खोलाखेतको कच्ची घरमा बस्दै आएका छन् । चार वर्षदेखि कमल दम्पती ढकालको घरमा बस्छन्, खेतबारीको काम गर्छन् । उनीहरुको हँसरा पम्फुका लेकमा बाँदर लाग्ने बारी छ । अप्ठ्यारो र काम गरेर खाने अरु माध्यम नभएकाले पेट पाल्नकै लागि बेंसी झरेको बुढाथोकीले बताए । ‘अर्कैको ओत र खनजोतबाट ज्यान पाल्ने मान्छेसँग छोराको ठुलो खर्चो गर्ने उपति भएन । ११ वर्षीय बिरामी र ५ वर्षको सानो छोरा छोडेर बुढाबुढी नै मेलापात जानपनि सकिँदैन,’बुढाथोकीले गुनासो गरे,‘किन सत्रु हँसाउने भनेर गुपचुप बसिरहेँ ।’

नेताले भोट मागे, चोट हेरेनन्
कमलका छोरा बिरामी भएका एक दश भए । यो बिचमा दुई स्थानीय तह र एकपटक प्रदेश तथा संघको निर्वाचन भयो । हुलका हुल जाँदा बुढाथोकीको पिँढीमा बिक्षिप्त बनेर पल्टिएको छोरा नेदेख्ने सायद कोही नेता भएनन् । तर, नेताले कठै भनेर बाँडेका झुटा आश्वासनले भोट त पाए । तर, बुढाथोकी परिवारले केही पाएनन् ।

अहिलेको स्थानीय तहको निर्वाचनमा त आफूले कसैलाई केही नभनेको कमलले गुनासो गरे । ‘मेरो पीडा मनैमा छ । त्योभन्दा ठुलो पीडा छोरा आफँैले भोगिह्यो,’उनले भने,‘कर्म नै त्यस्तै भएपछि अरुको के आश ।’ सत्यवती गाउँपालिका प्रमुख टीकाराम पाण्डेयले पालिकाले स्वास्थ्य बिमा गर्दिने र काठमाण्डौसम्मको भाडा दिने र उपचार भए खर्च पनि बिलको आधारमा गाउँपालिकाले बुझाउने गरेर योजना बनाइएको बताए ।