४७ वर्षदेखि अन्तष्करणमा लुकेर बसेको एउटा ईल्जाम

मेचीकाली संवाददाता

२९ असार २०८०, शुक्रबार
314 shares

बालकृष्ण पन्थी

२०३३ सालको एसएलसीको परीक्षा दिएँ मैले । परीक्षा सकेको दुई दिनपछि मलाई पढाउनु भएका सरले मेरो घरमा आएर मलाई एकान्तमा लगेर “तिमीले त मलाई फलानो केटीसँग लागेको छ भनेछौ, नभएको झुठो कुरा किन र कसरी गरिऊ ?” भन्दै कडा लबजमा कुरा राख्नुभयो । कुरोमा कुरो थप्दै भन्नुभयो—‘मैले यो कुरा धेरै पहिले थाहा पाएको थिएँ तर तिम्रो परीक्षा नबिग्रियोस् भनेर आजसम्म नभनेको हुँ ।’

सरले मउपर लगाउनु भएको आरोपबारे म पूर्णतः अनभिज्ञ थिएँ । मैले ती सबै कुरा कसैलाई भन्नु त परै जाओस्, त्यस बारे थाहा नै पाएको थिइन । अपर्झट आइपरेको सो आरोपबाट म अक्कलबन्द भएँ । त्यो जमानामा शिक्षक, गुरुहरू विद्यार्थीहरूका लागि सबैभन्दा आदरणीय तर डरलाग्दा पात्र हुन्थे । गुरु चेलाको बिपरितार्थ आकर्षण हुन्थ्यो । तर पनि मैले अलिकति समय लिएर साहस जुटाएँदै बोलेँ—सर मैले त्यस्तो कुरो भनेको होइन, मलाई यसबारेमा जानकारीसम्म पनि छैन । उहाँले मेरो कुरा मान्नुभएन र पाच्यभाषामा धम्कियुक्त वाक्यवाणहरू वर्षाउनु भयो । मैले सुन्दै बसें र अन्त्यमा बडो हिम्मत बटुलेर भनें—सर यो कुरा मलाई थाहा नै छैन, मैले भनेकै होइन, जसले मेरो नाम लिएर हजूरलाई सुनायो, मलाई त्यसको नाम भन्नुहोस् ।

सरले सो पात्रको नाम बताउनुभयो । उहाँलाई सो मैले भन्दै नभनेको कुरो भन्ने मानिस मेरै सहपाठी एवम् नाताका ज्वाईपर्ने मानिस पो रहेछन् । उनी जल्दोबल्दो परिवारका र शारीरिक बलका हिसाबले पनि मभन्दा धेरै शक्तिशाली र उमेरमा पनि ३÷४ वर्ष जेठा थिए । म एकलआमाको काखमा हुर्किदैआएको दुब्लो, पातलो, खिनौरो र जुँगाको रेखी समेत नबसेको अकिञ्चन केटोलाई त्यो घटना बज्रपात समान भयो ।

सो बेला सरले भनेका ती सबै कुराहरू आमालाई सुनाउने सुद्धिबुद्धि आएन मलाई । सो रातभर मनमा कुरा खेले, निद्रा पनि परेन । अर्कोदिन उज्यालो हुनासाथ मभन्दा करिब ७÷८ वर्षजति सिनियर छिमेकी दाजु नित्यानन्द पाण्डेज्यूलाई ती सबै कुराको वृतान्त बताएर झुठा आरोपबाट मुक्ति पाउने कुनै उपाय छकि भनेर सोधेँ । साथै आफ्नो मनले कल्पेको सफाइ लिने तरिकाबारे पनि उहाँलाई सुनाएँ । दाजुले अहिले नै केही नगरौं, फेरि पनि कहिँकतैबाट यस्तो झुठो कुरो आएमा तपाईंले सोँचेबमोजिम र अरु तरिकाबाट पनि प्रतिवाद गरौंला भन्दै मलाई अघि बढ्नबाट रोक्नुभयो ।

दाजुसँगको लामो बसाइपछि भारी मनसहित घर फर्कँे म । आफुले कुनै गल्ती नगरेता पनि आइपरेको त्यो आरोप र सो विपत्तीको बारेमा मेरी एकमात्र अभिभावक आमालाई बताउने बुद्धि नआएकोमा मेरो दुर्बुद्धिप्रति आजसम्म पनि मनमा गहिरो खेद जमेर बसेको छ । तत्काल सफाइ पेश गर्ने मेरो विचारमा नित्यानन्द दाजुले ब्रेक लगाउनुभएकोले दोस्रो पटकको आरोपको प्रतिक्षामा बसे । तर अनायास आइलागेको त्यो आरोपको कारण मेरो मनमा डर, त्रासले डेरा जमाएर बसिरह्यो । म घटनाले पटाक्षेप नहुँदासम्म गम्भीर चिन्तामा डुबिरहें ।

एसएलसीको रिजल्ट निस्कियो, म पास भएँ, तर मलाई आरोप लगाउने सहपाठी एवम् ज्वाई महोदय फेल भए । ती आदरणीय सरले मलाई सहृदयतापूर्वक बधाई दिनुभयो र त्यसपछिको पढाइको बारेमा मेरो औकातनुकूलन सल्लाह र सुझाव पनि दिनुभयो । ममाथिको आरोपको बारेमा उहाँले कुनै छनक महसूस हुने कुरा गर्नुभएन । त्यो दिनदेखि मनबाट आधा ताप, सन्ताप र डर हरायो । यद्यपि लामो समयसम्म आधा भने ज्यूँकात्यूँ बाँकी रहिरह्यो ।

त्यो आधा डर, त्रास ज्युँकात्यँु रहनुको कारण चाहिँ सरको प्रेमिका भनिएकी केटीको सम्बन्धसँग जोएिको थियो । सरसँग जोडिन पुगेकी ती केटी शक्तिशाली परिवारकी शालीन र रूपवती कन्या थिइन् । शक्तिशाली परिवारसँगको उनको सम्बन्धले गर्दा पनि मलाई उनका तर्फबाट झन् डर लागेको हो । कहावत रहेकोछ, समय नै हर दर्दको इलाज हो । हुन पनि त्यस्तै भयो, समय बित्दै जाँदा सर र ती रुपवती कन्याको बीचमा गन्धर्वविवाह भएको खबर बाहिरियो र मेरो थाप्लोबाट एउटा झुठा आरोपबाट सिर्जित गह्रुङ्गो भारी सदासदाका लागि हट्यो ।

ती मेरा सहपाठी ज्वाईंले मलाई हेपेर आफूले थाहा पाएको कुरो मेरो नाम पारेर भनिदिंदा झण्डै म डिप्रेसनमा पुगेको थिएँ । यदि मेरा ती आदर्श गुरुले मलाई एसएलसीपूर्व त्यो आरोपबारे सुनाएको भए म त्यो वर्ष कदापि पास हुनसक्ने थिइन । गुरुको त्यो आदर्शले मेरो जीवनमा गहिरो प्रभाव पारेको छ । पछि जागिरे जीवनमा ३३ वर्ष गृह प्रशासनमा बिताउँदा यस्ता प्रकारका आरोप, प्रत्यारोप, जालझेलका मुद्दामामिलासँग कहिले पक्ष, कहिले विपक्ष र कहिले जुरीको रुपमा खेल्दाचल्दा पनि ती गुरुको आदर्शले मलाई निर्देश गरिरहन्थ्यो । यो सजीव घटनाको पात्रहरूमध्ये शकुनीसदृश ज्वाईं र आदर्श गुरुको परिचित नाम यहाँ उल्लेख नगर्दा बेस होला । कारण मैले यो घटनाको बारेमा ती ज्वाईंलाई भन्न पाइन अर्थात प्रश्न सोध्न पनि गइन, यसै कारण नाम उल्लेख नगरेको हुँ । तसर्थ क्षमा चाहन्छु ।

मानवसमाज स्वच्छ कहिल्यै हुन सक्दैन भन्ने प्रमाणको रुपमा मैले ती ज्वाईंको सो बेतुकको हरकतलाई लिने गरेको छु । विकार, विग्रह, धोखाधडी, लोभ, पाप र मोहजस्ता विकृतिहरू मानव मस्तिष्कका अवाञ्छित उपजहरू हुँदा रहेछन । अथवा ती सबै विकारहरू जीवनका अंग बनेर साथसाथै चल्दारहेछन् । (लेखकः नेपाल सरकारका अवकासप्राप्त सहसचिव हुन् ।)