

दिलप्रसाद पौडेल
नयाँ बर्षले पालुवा फेरेको छ । बसन्त यामको चर्को घामसँग साईनो गाँस्न एकतमासले हावा हुरी र तुफानले साथ दिएको छ । नदीजस्तै बनेर बगिरहेको समय झन् तीव्र गतिमा बगिरहेको छ मान्छेको उमेर पनि । परिस्थितिको बन्द जेलभित्र बसेर भाग्यले चियाउँदै गर्दा बुढेस लागेका गुलाफका फूल टिप्न पनि मन डराइरहेको छ आजभोलि गुलाबका फूलमा पनि सुवास छ जस्तो लाग्दैन दोपट्टा उडाउने गरी चलेको बतासले पनि तनमा शीतलता प्रदान गर्दैन प्रियतमको सम्झनाका रेखाहरूले अधर स्पर्श गर्दै जीउभरि काउकुती लगाउँदा पनि कुनै न्यानो महसुस हुँदैन । भित्तामा झुन्डएिको पुरानो पात्रो नियालीरहन्छु खै किन हो किन पात्रोमा कोरिएका राता–हरिया–काला अक्षरहरूको रङ पनि फुस्रो जस्तै लाग्न थालेको छ ।
आँखा धमिला हुन् कि रङ मधुरो हो पात्रो र मेरा हातका रेखाहरूसँगसँगै हेर्ने कोशिश गर्छु उहिले मेरा बाको मागी–विवाह गर्दा आमाले बालाई पछि लगाई सिउँदो रातो पारेर पहिलोपटक माइतीघर टेक्दा मलाई आमाले पेटमा र बाले ढाडमा बोक्दा म स्कुल टेक्दा होस् वा कक्षाहरू उक्लिँदा वा मैले पहिलो र अन्तिम पेजसम्म पाना फर्काउदै पाठ घोकिरहँदा होस त्यही पात्रो हेरी–हेरी हरेक वर्ष– साल फेरिए सालसँगै पात्रा पनि फेरिए हरेक महिना पात्रोका पानाहरू पल्टिए तर कहिल्यै फेरिएन म जस्तै गरिबको जिन्दगी न त मेरा बा आमाले मलाई छोडिदिएको नाम्ला र नाम्लाका पाता फेरिए ।
पात्रोसँगै छेउमा झुन्डिएको ऐना हेर्छु अनि त्यही ऐना हेरेर आधा मुस्कुराउछु आँखा वरीपरेका चाउरी परेका रेसा अलि मोटा देखिए जस्तै लाग्छ अनि यस्तो लाग्छ पात्रो मेरो पूरा जवानीका दिन गनेर झुन्डिरहेको छ । पात्रो फेरिएको यो दिन हुनेखानेले पार्टी प्यालेसमा नयाँ वर्ष मनाउँथे हुँदा खानेले मेलापातमा नयाँ वर्ष मनाउँथे तर यसपालि हुनेखाने र हुँदा खाने सबैले खुल्ला आकाशतिर हेरेर मनाइरहे जस्तै लाग्छ ।
प्रत्येक १२ महिनामा वर्ष फेरिन्छ तर हाम्रो संकल्पअनुसार हामी हिँड्छौं या हिँड्दैनौं ? हाम्रो सोच नकारात्मकताबाट सकारात्मकतातिर फेरियो कि फेरिएन ? हामीले चाहेको सुख, शान्ति र समृद्धिमा थप विकास भएको छ या छैन ? भौतिक विकाससँगसँगै हाम्रो आत्मविकास भएको छ कि छैन ? के सकारात्मक उपलब्धि भयो एक वर्षको अन्तरालमा हाम्रो जीवनमा ? के परिवर्तन आयो राष्ट्रमा ? शुभकामना व्यक्त गर्ने कार्यक्रम र शब्दमा जस्तै रूपान्तरण जीवनमा र सोचाइमा आयो कि आएन ? यी सबै कुरालाई मूल्यांकन गर्ने र आगामी वर्षमा विगतका कमजोरी नदोहो¥याउन संकल्प लिने क्षण र अवसर पनि हो नयाँ वर्षको सुरुवात ।
जीवन जिउने क्रममै पनि हामी प्रत्येक वर्ष आफ्नो जन्मदिन मनाउँछौं र विगतका वर्षलाई हेरेर अबको वर्षमा यो–यो राम्रो काम गर्छु या यो अहित हुने काम गर्दिनँ भनेर संकल्प गर्दछौं तर दुईचार दिनमै त्यो संकल्प बिर्सन्छौं । किनकि हामीले होसपूर्ण जीवन जिएकै छैनौं । दुःख लाग्न सक्छ– बेहोसीको उपमा पाउँदा तर अरू कुनै कारण छैन आज राष्ट्र र जनताले समृद्धि पाएका छैनन् भने हाम्रो समृद्धिको मापन के हो ? भयलाई उत्साहमा, चिन्तालाई विस्मयमा, शोकलाई शक्तिमा, क्रोधलाई करुणामा र कामनालाई तृप्तिमा रूपान्तरण गरी आत्मसम्मान र स्वाभिमानमा बाँच्न सकेको क्षण समृद्धिको अनुभूति हुनेछ। कुनै पनि विकसित राष्ट्रको इतिहास हेर्ने हो र सिक्न खोज्ने हो भने त्यस राष्ट्रका नेतृत्व वर्ग र नागरिकले सिकेको र अपनाएको संस्कार, सोच र त्यसअनुसारको कर्म महत्वपूर्ण पक्ष हुन् आउँछन् ।
वर्ष फेरिँदैमा हाम्रो स्वभाव फेरिएन, हाम्रो सोँच फेरिएन भने विकासको अनुभूति पनि गर्न सकिन्न । नयाँ सोच, नयाँ ज्ञान, नयाँ ऊर्जा, नयाँ संकल्प, नयाँ योजना, नयाँ थालनी र नयाँ जीवनशैलीको विकास गर्ने प्रेरणा जाग्न सक्यो भने मात्र नयाँ वर्षको उमंगले सबैमा हौसला थप्न सक्छ र जीवनलाई सुन्दर तरिकाले जिउन प्रेरणा प्रदान गर्छ । सबैलाई थाहा छ– हाम्रो कर्मको फल हाम्रो विचारको फल हो । जे विचारले कर्म गरिएको छ त्यही फल प्राप्त भएको छ । विचार कस्तो ग¥यौं, सबैको हितका लागि ग¥यौं या आफ्नो स्वार्थपूर्तिका लागि मात्र ? अहिलेसम्म होस आएको छैन सम्बन्धित पक्षलाई। वास्तवमै भन्ने हो भने आफू स्वयं बेहोसीमा छु भन्नेसम्म हेक्का छैन ।
वास्तवमै समृद्धि प्राप्त गर्न त लोभलालचमाथि विजय प्राप्त गर्ने सक्ने नेतृत्व हुनुपर्छ। दया र करुणाको खेती गरी प्रेमको फल टिप्ने नेतृत्व जन्मिनुपर्छ । जागृतिपूर्ण जीवन जिउने र जीवन जिउन दिने नेतृत्वले राष्ट्र हाँक्नुपर्छ । जुन कर्मले, जुन सफलताले हामी पूर्णरूपले खुलेर जिउन सक्छौं, मानसिक रूपले मुक्त हुन सक्छौं र एउटा सहज, सरल मुस्कान छर्दै एक अविच्छिन्न खुसीयालीको महासागरमा प्रवेश गर्न सक्छौं, त्यो जीवन जिउन सिक्ने वास्तविक मनुस्य जन्मिनुपर्छ । वर्ष फेरिँदै र शुभकामना आदानप्रदान गर्दै गए पनि मानिसमा तनाव र अस्थिरता कम भएको छैन, पाइँदैन । विसंगति र अराजकता कम भएको पाइँदैन आखिर किन यस्तो भइरहेको छ ? किनकि, जीवनका सबै अनुभव, घटना र विकासले केही न केही शिक्षा दिएकै छन् ।
तिनलाई बोध गरेर शिक्षा ग्रहण गर्न नसकेर समृद्ध र प्रेमपूर्ण जीवन तनावग्रस्त बनेको छ । थोरै मात्र सजगता अपनाउने हो भने अस्तव्यस्त जीवनलाई प्रेमपूर्ण जीवनमा बदल्न सकिन्छ । अस्तव्यस्त बन्न धेरै परि श्रम र विचारको खेलले भूमिका खेल्छ, यो कठिन छ तर प्रेमपूर्ण बन्ने उपाय सरल छ । कठिन र तनावपूर्ण कर्ममा हात नहाल्ने हो भने जीवनमा आनन्द नै आनन्द र प्रेम नै प्रेम अनुभूति हुन्छ । सत्य कर्म, सम्यक भोजन, सम्यक स्वास्थ्यप्रति जागृत, सम्यक वाणी, सम्यक संकल्प, शिलवान् आचरण, चेतनाको स्तर वृद्धि र स्वीकारको भाव जागृत गराउनासाथ जीवन प्रेमपूर्ण बन्छ, नयाँ जीवनशैलीको आरम्भ हुन्छ । केही कुरामा पनि अति आसक्ति नगर्ने, आफ्नो जिम्मेवारीलाई इमानदार भए ।
जैमिनी-१० बागलुङ
हाल कुवेतबाट ।