

सञ्जय घिमिरे
लामो समय सम्मको व्यवस्था परिवर्तनको लागि ठुलो मूल्य चुकाएर बलिदानीपूर्ण संघर्षको प्रतिफलस्वरुप प्राप्त उपलब्धिहरु संस्थागत भइसक्दा नसक्दै फेरि देशमा संसारभर उत्कृष्ट मानिएको लेकतान्त्रिक व्यवस्थाविरुद्ध पश्चगामी तत्वहरुले अथवा यो व्यवस्थाबाट असन्तुष्टहरुले पुरानै व्यवस्था ठिक भन्ने अवस्थामा पुग्नु, पु¥याइनु र पुरातनवादी सोंच यही मौका छोपेर जुर्मुराएर अगाडि आउन खोज्नु गणतन्त्रको सुन्दर बंगैचामा कालो बादल मडारीनु राम्रो संकेत पक्कै होइन । वर्तमानमा त त्यस्ले निम्त्याउन सक्ने अशान्तिले असर गर्छ नै भविष्य पनि झन अनिश्चितता र अन्धकारको भुमरीतर्फ धकेलिन सक्ने सम्भावना पनि उत्तिकै रहन्छ जुन देश र जनताको लागि हितकर हुँदैन ।
यो अवस्था सिर्जना हुनुको पछाडिका कारणहरु के–के हुन त्यसको खोजी बहस, छलफल समिक्षा, आत्मालोचनासहित सिर्जनात्मक प्रतिवद्धता अपरिहार्य छ । एकआपसमा दोषारोपण गरेर उसै गरी हल्का रुपमा लिएर थामथुम पार्न खोजे यस्को नतिजा भंयकर हुनसक्छ ।
टोल छिमेक, चौतारो, डबली, सभा, गोष्ठी, राजनीतिक दल र तीनका भातृसंगठन सबैतिर व्यापकरुपमा शान्ति सम्झौता पछाडिका उपलब्धि र भएका गलत अभ्यास र क्रियाकलापको व्यापक छलफलसंगै आवाश्यक पक्षहरुको तत्काल परिमार्जनसहित जनताको बिचमा व्याप्त चरम निराशा र असन्तुष्टीलाई सम्बोधन गर्न अधिकांश जनताको चाहना सम्बोधन हुनेगरी संविधान संशोधनसम्मको प्रतिबद्धतासहित दलहरुले पहल कदमि लिन ढिला गर्नुहुँदैन ।
व्यवस्था परिवर्तनपश्चात जनताले देशको अवस्था सुधारको ठुलो अपेक्षा राखेका थिए, त्यसमा दलहरु चुकेकै हुन् । वर्तमान निर्वाचन प्रणालिको कारण स्थायी सरकार बन्न सक्ने सम्भावना एकदमै न्युन हुने हुंदा सत्ता र शक्तिको लडाइँमा पार्टी फुटाउने, सांसद किनबेच सम्मका घिनलाग्दा हर्कतहरु जे देखियो जनतामा यो व्यवस्था प्रति निराशा जगाउने मुख्य कारण र समाधान पनि यहीँनेर छ जस्तो लाग्छ । जनजीविकासंग सम्बन्धित मुद्दाहरु बिर्सेर सरकारमा जान जुनसुकै हत्कन्डा अपनाउन पनि दलहरु पछि नपर्ने र हामीले जे गरे पनि जे बोले पनि जनताले स्विकार्छन भन्ने जुन स्वेच्छाचारीता नेताहरुमा विकास भयो त्यसले जनतामा मन्द विष सरह निराशा आक्रोस र असन्तोष पैदा गर्ने काम गरेको छ ।
अधिकांश जनताको चाहना नजरअन्दाज गरेर विपरीत दिशामा यदि शासकहरु जान्छन् भने अन्ततः त्यसले निम्त्याउने विद्रोह, द्वन्द्व र अशान्ति नै हो । शान्तिपूर्ण तवरले जनताले राखेका विचार र जायज मागहरुलाई गम्भिरतापूर्वक लिएर समाधानको बाटो खोज्नु बुद्धीमतापूर्ण हुन्छ, हो यहीँनिर हाम्रा दल र नेताहरुको दृष्टि पुग्न सकेको छैन । अहिले जनताहरु सयौं राजा भन्दा एउटा राजा ठिक भन्ने अवस्थामा किन पुगे त ? यस्को मुख्य कारक यिनै मुख्यदलहरु हुन् । राजाको प्रत्यक्ष शाषन भोगेका पूर्वपञ्च, आसेपासेहरुबाहेक कसैले पनि राजतन्त्र ठिक हो र ब्युताउनुपर्छ भन्दैन र कल्पना सम्म पनि गर्दैन तर सन् २००० पछि जन्मेको अहिले युवा बन्दै गरेको जेन–जि पुस्ता जुन छ यिनीहरुलाई निरंकुश शासनकालको अनुभव छैन ।
जताततै भद्रगोल, व्याप्त भ्रष्टाचार, बेथिति, दण्डहिनता, जवाफदेहिताको अभाव यिनै नेताहरुको कारण हो र यिनैले देशको हितमा काम नगर्नुको परिणाम हो भन्ने यो पुस्ताको ठम्याइ देखिन्छ । विचार खेल्छ होला अनुमान गरौँ । नयाँ पुस्तालाई यो वाद त्यो वाद, यो तन्त्र र त्यो तन्त्रसंग खासै मतलब देखिँदैन । उनीहरु काम र त्यसको रिजल्टसंग मात्र सरोकार राख्छन् । यो पुस्तालाई कन्भिनस गर्ने काम र त्यसको सकारात्मक परिणाम मात्रै गतिलो औजार हो । वैचारिक रुपमा स्पष्ट नभएको सिंगो असन्तुष्ट पुस्तालाई स्वार्थी समुहहरुले प्रयोग गरेर नाजायज फाइदा उठाउने शान्ति खल्बल्याउने, द्वन्द्व सिर्जना गर्न सक्ने सम्भावना रहन्छ । हुर्कंदै गरेको जेन–जी पुस्तालाई इतिहास, वर्तमान देश काल र परिस्थितिको बारेमा सही ककवैचारिक मार्ग निर्देश गर्नु छलफल वहसमा सहभागी बनाउनु सुसुचित गर्नु सिंगो नागरिक समाज, दल, संघ संस्था वौद्धिक वर्ग सबैको दायित्व हुन आउँछ । देशका कर्णधार युवापुस्तामा राजनीतिप्रति यति धेरै वितृष्णा र घृणा सिर्जना हुनु पक्कै पनि सुखद पक्ष हैन ।
अहिले आम नागरिकमा दलका क्रियाकलाप प्रति असन्तुष्टी र चरम निराशा व्याप्त छ । कोरोना कहर पछि अर्थतन्त्र तंग्रिदै गर्न लाग्दा फेरि राजावादी आन्दोलनको नाममा काठमाडौँमा जुन आतंक सिर्जना गरियो यो एकदमै निन्दनिय छ । शहरमा भएका असन्तुष्ट जनताहरुलाई उचालेर, ढाल बनाएर राजाले शक्ति प्राप्त गर्ने जुन दिवासपना देखेकाछन त्यो आगोको भुंग्रोमा निहत्था जनता नपरुन् सरोकारवाला सबैले बेलैमा ध्यान पु¥याउनु, सचेत सजग हुनु र जनतालाई सुसुचित पार्नु जरुरी छ । शान्ति कायम राख्नु र जनताको जिउ धनको सुरक्षा गर्नु सरकारको पहिलो र मुख्य कर्तव्य हो ।
राजा आउ देश बचाउ भन्नेहरुले ल्याउन खोजेको राजा कस्तो हो ? रवीन्द्र मिश्रले भने जस्तो संवैधानिक÷अलंकारिक राजा हो भने त अहिलेको राष्ट्रपति जस्तो राजा आए पनि हुने केही होइन र गर्न सक्ने केही होइन । राजा भएपनि नभए पनि तात्विक फरक केही नहुने हुँदा राजा ल्याउने आन्दोलनको नाममा आतंक फैलाउने र ज्यान गुमाउने दुखद कुरा हो । यस्तो कुरामा युवा जमात सचेत हुनुपर्दछ । शान्तिपूर्ण ढंगले विरोध गर्ने माग राख्ने जनताको सामु जाने, जनताबाट अनुमोदन भएर शक्तिशाली राजासमेत बन्न सकिने संवैधानिक बाटो हुंदा हुंदै जनतासामु जान डराएर आतंकको सहारा लिनु कदापि स्विकार्य हुँदैन । यसले कसैलाई फाइदा गर्दैन ।
देशमा सिर्जित नयाँ परिवेशको निर्माणमा कम बढी यी मुख्य दलकै हात छ र अबको परिस्थितिलाई बुझेर समयमै सही पहलकदमी लिन, व्यक्तिगत र पार्टीगत स्वार्थ भन्दा माथि उठेर सोंच्नु र लाग्नुको विकल्प पनि छैन । सत्ता र शक्ति क्षणिक हुन सबैभन्दा ठुलो शक्ति जनता नै हुन र जनचाहना र मोनविज्ञानविपरीत जान खोजे दुर्घटना शिवाय केही हुँदैन । त्यसैले तत्काल संविधान संशोधनमार्फत जनचाहना संबोधन गर्न अहिलेको सरकारलाई असहज पनि छैन र सरकार गठनको औचित्य संविधान संसोधन हो भनेका कांग्रेस एमालेले त्यो औचित्य पुष्टी गर्नेतर्फ ध्यान दिन जरुरी छ ।
वर्तमान निर्वाचन प्रणालिले देशलाई स्थायित्व नदिने देखिसकियो यसको परिमार्जन गर्नुपर्छ । प्रधानमन्त्रिको पालो कुरेर बसेका नेताहरुलाई प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान सजिलो छैन र सजिलै जांदैनन पनि तर यस्को पक्षमा ठुलो जनमत बनिसकेकोले नेताहरुले मर्नेबेलामा कलंकको टिका लगाउन छोडेर यतातर्फ सोंच्नै पर्छ । आम्दानीभन्दा खर्च कैयौं गुणा ठुलो देखिएका प्रदेश सभाको खारेजी वा पुनर्संरचना, जिल्ला समन्वय समिति खारेजी, छोटो छरितो मन्त्रिमण्डललगायतका कैयौं सुधारका र जनतामा आशाको सञ्चार गर्ने कार्य गर्नु र त्यसको लागि छलफल चलाउनु सुझाव संकलन गर्नु समयको माग हो ।
देशमा शान्ति सुव्यवस्था कायम गर्नु, आम मान्छे निर्धक्कसंग आफ्नो गतिविधि गर्न पाउने वातावरण सिर्जना र कायम गर्नु सरकारको विकास निर्माण गर्नुभन्दा पनि ठुलो र अपरिहार्य कार्य हो । अधिकांश जनताको चाहनालाई लत्याएर दिगो शान्ति र विकासको सपना देख्नु क्षणिक आत्मरति मात्रै हो त्यसैले जनताले आवाश्यक ठाने भने महत्वपूर्ण विषयमा जनमत संग्रहसम्म गएर जनताको अनुमोदन प्राप्त गर्न दलहरुले खुट्टा कमाउनु हुँदैन । जनचाहनाको बेलैमा संबोधनतर्फ ध्यान नदिने हो भने विद्यमान निराशा र असन्तुष्टि व्याप्त समाजमा बिद्रोहको आगो भुसझैं सल्किनेर त्यसलाई अवसरवादीहरुले आफ्नो स्वार्थपूर्तिको लागि प्रयोग गर्न सक्ने जोखिम पनि उत्तिकै रहन्छ । त्यतातर्फ जिम्मेवार सबैको ध्यान जान जरुरी छ । विकसित परिस्थितिलाई सामान्य रुपले नलिइ गम्भिरतापूर्वक सुझबुझपूर्ण ढंगले आत्मालोचना, आत्मसमीक्षासहित सुध्रनुको विकल्प अहिलेका दलहरु सामु छैन । अहिलेको नेतृत्वमा रहेकाहरु सबैले त्याग गरेर नयाँ र युवा पुस्तालाई अवसर दिन जरुरी छ ।