नेत्रप्रसाद आचार्य
नेपालमा २०१३ सालमा स्वास्थ्य मन्त्रालयको स्थापनासँगै स्वास्थ्यका क्षेत्रमा विभिन्न कार्यहरु अगाडि बढाइयो तर देशमा बेलाबेलामा हुने राजनैतिक आन्दोलनको प्रभाव, बेलाबेलाका सरकारको कार्यले समय क्रम बढ्दै गर्दा चाहेजति उपलब्धी हुन सकेन । कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, उद्योग, सेवा क्षेत्रमा परिवर्तन कमजोर भई जनता झन्झन् गरिबतर्फ धकेलिन गई न्यूनतम आवश्यकता पूरा गर्नसमेत अप्ठ्यारो स्थीति सिर्जना हुन गई २०४६/०४७ को आन्दोलन, २०६२/०६३ को जन आन्दोलनपश्चात देशमा अन्तरिम संविधान २०६३ लागू भई सकेपछि सबै जनतालाई समान अवसर प्रदान गरी राज्यका विभिन्न निकायमा प्रतिनिधीत्व गराई समावेशिकरण गर्ने र न्यूनतम स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट संघीय, प्रादेशिक, सामुदायिक, निजी तथा शिक्षण अस्पतालहरुमा लक्षित समूहका बिरामीहरुलाई उपलब्ध गराउँदै आएको सहुलियत स्वास्थ्य सेवालाई व्यवस्थित पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले आ.व.२०६९/०७० देखि ८ ओटा अस्पतालहरुमा सामाजिक सेवा इकाइ स्थापना गरी क्रमिक स्पमा विस्तार भइ हाल ७७ वटा जिल्लामा ८८ ओटा ठाँउबाट यो सेवा सञ्चालन हुदै आएको छ ।
नेपालसरकारले गरिबी घटाउन विभिन्न लक्षित समूहलाई ११ वटा मन्त्रालय मार्फत ५७ वटा कार्यक्रम लागू गरेको छ । स्वास्थ्य सेवामा छुट, अनुदान, विभिन्न भत्ता, विद्यार्थीलाई दिवा खाजा, निशुल्क औषधी उपचार सुविधा, महिला, बालबालिका, जेष्ठ नागरिक, पिछडिएको क्षेत्र, सहिद परिवार, अपाङ्ग भएका व्यक्ति, यौनिक समूह, सबै क्षेत्रका पछाडि परेका वा पारिएका जनतालाई जातजाति, भाषाभाषी, सबैको पहँुच सुनिश्चित गर्ने उद्देश्यअनुरुप यस्ता सेवा सुविधा वितरण गर्दै आएको छ ।
कानुनी प्रावधानहरु निम्न छन्
१) नेपालको संविधान धारा–३५ स्वास्थ्यसम्बन्धीहरु समानताको हक, सञ्चारको हक, छुवाछुटविरुद्घको हक ।
२) स्वास्थ्य ऐन–२०७५
३) २०७५ मंसिर ११ गते सामाजिक सुरक्षा योजनाहरुको औपचारिक सुभारम्भ ।
४) वि.स.२०७५ नर्सिङ्ग तथा सामाजिक सुरक्षा महाशाखा स्थापना ।
५) नागरिक, राहत क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधि–२०६ को दफा १३ मा रहेको व्यवस्थाबमोजिम विपन्न नागरिक औषधी उपचार कोष खडा ।
६) सामाजिक सेवा इकाइ सञ्चालन निर्देशिका–२०७८
७) सामाजिक सेवा इकाइ सञ्चालन कार्यविधि–२०८१/०८२
८) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय, महाशाखा, विभाग र तिनै तहमा रहेका स्वास्थ्य मन्त्रालयअन्तर्गतका संरचनाहरु बेलाबेलामा भए गरेका नीतिगत निर्णय, ऐन, नियमावली, मार्गदर्शन, कार्यविधिअनुसार सेवा प्रदान गर्दै गराउँदै आएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवालाई सबै जनतासँग सरल सहज, पहुँचयोग्य, सर्वसुलभ र गुणस्तरीय सेवा दिने क्रममा स्वास्थ्य सेवामा पहुँच नरहेको विभिन्न लक्षित समूहलाई सेवा प्रदान गर्न यस लुम्बिनी प्रदेशको बुटवल स्थित तत्कालीन अञ्चल अस्पतालमा मिति २०७२ साल चैत्र २८ गते यस क्षेत्रका समाजसेवी गणेशमान सैजूले समुद्घाटन गरी प्रारम्भ गरेको थियो । आज लगभग १० वर्षको अवधिसम्म आइपुग्दा यस इकाइले यस लुम्बिनी प्रदेशका १२ वटै जिल्ला, गण्डकी प्रदेशका केही जिल्ला र छिमेकी देश भारतका केही सेवाग्राही साथै लुम्बिनीमा आउने पर्यटकलाई समेत र बेलाबेलामा आउने प्राकृतिक प्रकोपबाट पीडित पक्षलाई समेत चौबीसै घण्टा सेवा प्रदान गर्दै आएको छ । यो इकाइ साँच्चै विपन्नहरुको सहारा बनेको छ ।
१) इकाइका उद्देश्यहरु
–लक्षित समुहका बिरामीहरुको स्वास्थ्य सेवामा समतामूलक पहुँच एवं उपयोग वृद्घि गर्ने ।
–लक्षित समूहसम्म निशुल्क तथा आंशिक छुटमा विशेषज्ञ सेवाहरु उपलब्ध गराउने ।
–स्वास्थ्य बिमा, विपन्न नागरिक उपचार कोष, जेष्ठ नागरिक स्वास्थ्य सेवा, नवजात शिशु स्वास्थ्य, सुरक्षित मातृत्व सेवा गरिब तथा विपन्न वर्गका लागि निशुल्क आकस्मिक सेवालगायत सबै सामाजिक सुरक्षा कार्यक्रमहरुको संयोजन एंव सहजीकरण गर्ने ।
–व्यवस्थित, पारदर्शी र प्रभावकारी रुपले लक्षित समूहले स्वास्थ्य सेवा लिन सक्ने वातावरण तयार गर्ने ।
२) यसले सेवा प्रदान गर्ने लक्षित समूह निम्नानुसार छन् ।
–गरिब
–जेष्ठ नागरिक
–असाहय
–अपाङ्गता भएका व्यक्ति
–कुपोषित बालबालिका
–महिला स्वास्थ्य स्वयम् सेविका
–थुनुवा
–प्रहरीद्वारा ल्याइएको घाइते
–लैङ्गिक हिंसा प्रभावित
–प्राकृतिक प्रभावित
–शहिद परिवार
–लोपन्मुख जाति
–अन्य अस्पतालले स्थानियताको आधारमा लक्ष्ति समूह निर्धारण गर्न सक्नेछन् ।
यस लक्षित समुहमध्ये अति गरिब तथा विपन्नलाई १००% छुट साथै जेष्ठ नागरिकलाई निर्देशिकाले तोकेअनुसार छुट ८५ वर्षमाथि १००% छुट, आकस्मिक बिरामीलाई अवस्थाअनुसार छुट अन्यलाई ५०% छुट साथै उपलब्ध औषधी नि:शुल्क वितरण गर्ने गरेको छ ।
३) यसको सञ्चालन तथा आर्थिक व्यवस्थापनको लागि निम्नअनुसारको व्यवस्थापन समिति रहेन कानुनी प्रावधान छ ।
मे.सु. अध्यक्ष १ जना
प्रशासन प्रमुख १ जना
लेखा प्रमुख १ जना
मेडिकल विभाग प्रमुख १ जना
नर्सिङ्ग प्रमुख १ जना
फार्मेसी विभाग प्रमुख १ जना
इमर्जेन्सी विभाग प्रमुख १ जना
Ocmc प्रमुख १ जना
जिल्ला जनस्वास्थ्य प्रमुख १ जना
१० सामाजिक सेवा इकाइ प्रमुख १ जना
४) यस इकाइबाट निम्न सेवाहरु प्रदान गरिन्छ ।
–लक्षित समूहलाई जाँच पड्तालमा पूर्ण वा आंशिक छुट ।
–उपलब्ध औषधी निशुल्क वितरण ।
–जेरियाट्रिक स्वास्थ्य सेवा
–सिक्कलसेल ऐनिमियाका बिरामीको रेकर्ड रिपोर्टिङ्ग एवं छुट तथा Hydroxyurea (औषधी) वितरण ।
–अतिविपन्न वर्गका कुरुवालाई खाना तथा खाजा व्यवस्थापन ।
–अति गरिबलाई यस अस्पतालबाट अन्यत्र अस्पतालमा रिफर गर्दा निर्देशिकाबमोजिम दूरी हेरी रु.१०००।– एकहजार देखि रु.५०००।– पाँच हजार सम्म एम्बुलेन्स भाडा उपलब्ध ।
–सहायता कक्ष परिचालन गरी व्यवारिसेलाई यस अस्पतालमा भर्ना भएपछि औषधी उपलब्ध, खाना खुवाउने, मानवसेवा आश्रममा उपचार पछि व्यवस्थापन गर्ने ।
–स्थानीय संस्थाको सहजीकरणमा दोभासे राखी बहिरा, अपाङ्गलाई उपचार गर्न गराउन सहजीकरण ।
–अस्पतालले र माथिल्लो निकायले लगाएको थप कार्य ।
यसरी इकाइले यसको स्थापना कालदेखि हालसम्म आइपुग्दा Good Governance को मूल्यअनुरुप यहाँ रहेको जनशक्ति र साधनसमेत परिचालन गरी निर्देशिकाले तोकेका जिम्मेवारी पूरा गर्दै आइरहेको छ । जेरियाट्रिक सेवालाई व्यवस्थित गर्न जेरियाट्रिक ओपिडी छुट्टै टिकट लाइन, छुट्टै मेडिकल वार्डमा ५ बेड जेरियाट्रिक व्यवस्थाका साथै तालिम प्राप्त डाक्टर तथा नर्सबाट सेवा प्रदान गर्दै आएको छ ।
यस इकाइले आफ्ना हरेक गतिविधि व्यवस्थित गर्दै लग्न हरेक महिना स्टाफ मिटिङ्गि बसी कार्यविभाजन गर्दै विगतको समिक्षा गर्नुसाथै हरेक ३.३ महिनामा व्यवस्थापन समितिको मिटिङ्गि बसी आर्थिक विनियोजन र खर्चको प्रस्तुत गरी अनुमोदन गर्ने र कामगर्ने क्रममा देखिएका समस्याहरुलाई सबै पक्षको सहयोग जुटाई अन्य प्रभावकारी बनाउने निर्णयहरु गने र कार्यान्वयनमा ल्याउने ।
यसरी सेवा प्रदान गर्दा इकाइलाई चाहिने मुख्य आर्थिक नेपाल सरकारको अनुदान रकम र आफ्नो कमाइको १०% गरी जम्मा खर्च गर्न प्रावधान छ । हाल संघीय सरकारले दिने अनुदान दिनप्रतिदिन घटाउँदै लग्दा साथै अस्पतालको आफ्नो आम्दानीका स्रोतहरु नहुँदा सेवालाई थप विस्तार गर्न निकै चुनौतिको सामाना गर्नु परेको छ । जनशक्ति पनि संस्था करार गरेर ल्याउन पर्ने हुँदा मनोभावना घट्न गई काम गर्ने वातावरण बन्न नसक्ने हुनाले आगामी दिनमा जनशक्तिलाई स्थापित्व दिने गरी अस्पतालले नै राख्ने व्यवस्था गर्दा र संघसँगै प्रदेश र स्थानीय तहले समेत रकम दिने व्यवस्था नितिगत रुपमा गर्न सके जनताले चाहेअनुरुप कुनै पनि जनता पैसाको अभावमा रोग बोकेर रहिरहने र मृत्यूको मुखमा जाने स्थिति आउन नदिन बिरामी भई अस्पताल छिरेपछि उपचारका सबै प्रकृया सम्पन्न गरी पूर्ण निको भई पुन आफ्नो कार्यमा फर्काउन सके बल्ल यसको स्थापनाको मर्म र भावना समेट्न सकिने छ ।
थोरै साधन समेतका वाबजुत यस इकाइले आफ्नो सम्पूर्ण बल लगाई सेवा प्रदान गर्दै आएको कुरा सर्वविदितै छ । आगामी दिनमा बढी प्रभावकारी बनाउन निम्न कार्य गर्नुपर्ने देखिन्छ ।
६) आगामी कार्ययोजना
–यस इकाइका सबै कार्यलाई डिजिटलाइज गर्ने ।
–जनशक्तिको संस्था करार नगरी अस्पताल आफै करार नियसक्ति गर्ने ।
–पर्याप्त बजेटको व्यवस्थापन गर्ने ।
–भौतिक संरचना सुविधा सम्पन्न बनाउने ।
–जेष्ठ नागरिकलाई स्वास्थ्य बिमामा संलग्न गर्ने ।
(आचार्य लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सामाजिक सेवा इकाइ प्रमुख हुन् ।)
