घनश्याम कोइराला
जब मार्च ८ नजिकिन्छ, महिला अधिकारका कुरा चर्किन्छन् । पुरुष नियन्त्रित समाजमा पुरुष दाता र महिला याचक जस्ता देखिँदैआएका छन् । महिला र पुरुष दुवैबिना मानव सृष्टि सम्भव छैन । महिला र पुरुष मानिस मात्र होइनन्, मानव सृष्टिका दृष्टिले यी दुई ‘तत्व’ हुन् । ‘तत्व’ यस अर्थमा कि पुरुषको शुक्रकीट र महिलाको डिम्बको संयोजनबाट नै मानिसको जन्म हुने हो । यो जैविक विषयमा यहाँ धेरै चर्चा नगरौँ । भोक होस् वा भावना, दुवैको उस्तै हो ।
मानिसका रूपमा महिला र पुरुषमा केही भेद छैन । मानवअधिकारका दृष्टिले दुवैको अधिकार समान हुनुपर्छ तर त्यस्तो छैन । केही भिन्नता छन् भने ती महिला र पुरुषका विशेषता हुन् । पुरुषले शुक्र (वीर्य) प्रदान गर्दछ, महिलाले गर्भधारण गर्दछन् । गर्भमा हुर्काउने, जन्माउने, शिशुलाई स्तनपान गराई हुर्काउने काम महिलाबाट नै हुन्छ । यी कामहरू महिलाका कमजोरी होइनन्, विशेषता हुन् ।
हरेक विषयको पृष्ठभूमि हुन्छ । हरेक घटना, पात्र र प्रवृत्तिको इतिहास हुन्छ । वर्तमानलाई सापेक्ष ढंगले बुझ्न इतिहास बुझ्नुपर्दछ । इतिहासको पुनरावृत्ति होइन, स्मृति आवश्यक हुन्छ । इति+ह+आस= इतिहास, अर्थात् यस्तो भएको थियो भन्ने अर्थ बोकेको ‘इतिहास’ शब्दले पुनरावृत्तिको माग गर्दैन । तर नेपाली महिला आन्दोलनले लामो समयदेखि उनै कुरा दोहो¥याइरहनु परेको अवस्था छ ।
संसारमा विभिन्न प्रकारका आन्दोलनहरू उठे । आन्दोलनहरू उठिरहेका पनि छन् । समाजलाई यथास्थितिबाट माथि उकास्न र सकारात्मक परिवर्तन गर्न आन्दोलनको ठूलो भूमिका हुने गर्दछ । अथवा, यसो भनौँ–सकारात्मक सामाजिक रूपान्तरणका लागि जे जति भएका छन्, एक अर्थमा ती सबै आन्दोलन हुन् । आन्दोलनका विषय, रूप र दायरा अनेक हुन सक्दछन् । मानव समाज गतिलो भविष्यका लागि सदैव आन्दोलनरत छ । यो मार्च महिनाको आठ तारिखलाई संसारभरि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाइँदै आएको छ । सन् १९०८ मा अमेरिकाको न्यूयोर्कबाट सुरु भएको हो । महिलाहरूका लागि उचित पारिश्रमिक र मतदानको अधिकारको मुख्य मागमा आधारित भएर सुरु गरिएको यो आन्दोलन लैङ्गिक समानताका पक्षमा चेतना अभिवृद्धिका लागि अहिले पनि उत्तिकै सान्दर्भिक रहेको छ ।
कुनै पनि आन्दोलन त्यसै सुरु हुँदैन, त्यसै अघि बढ्दैन । विशेष अवस्थाले आन्दोलनको उठान र विकास हुने हो । अन्तर्राष्ट्रिय महिला दिवस पनि यत्तिकै सुरु गरिएको होइन । हामीभन्दा निकै टाढा, चलनचल्तीको भाषामा भन्नुपर्दा सात समुद्रपारि, यता झलमल्ल उज्यालो हुँदा चकमन्न अँध्यारो रात हुने पश्चिमी गोलाद्र्धको आवश्यकताले सुरु गरिएको यो आन्दोलनको सम्झना गरिने दिवस ११६ औँ वर्ष पुगेको छ ।
अन्यत्र सुरु गरिएको आन्दोलनप्रति ऐक्यबद्धता उचित र आवश्यक हो तर नेपालमा महिला दिवस मनाइरहँदा यहाँको आफ्नै पृष्ठभूमिबारे बेखर रहनु हुँदैन । साथै, आन्दोलनको स्मरण गरिरहँदा दुईवटा विषयमा ध्यान दिनैपर्ने हुन्छ,पहिलो–आन्दोलनले उठाउनैपर्ने सवाल र दोस्रो–आन्दोलनबाट प्राप्त उपलब्धि ।
स्पष्ट छ, ८ मार्च महिलाहरूको हक–अधिकारका दृष्टिले महत्वपूर्ण विषय हो तर न्याय र समानताको समग्र आन्दोलनको नेतृत्व महिलाबाट भएको विषय झनै महत्वपूर्ण हो । यसरी हेर्दा नेपालको महिला आन्दोलनले योगमायाको भूमिका र योगदानलाई बिर्सनुहुँदैन । योगमायाको आन्दोलन शोषणको अन्त्य भई कर्तव्य परायणता र मानव हितकारी धर्मराज्यको पक्षमा थियो । तत्कालीन शासकहरूले यस्ता मागहरूमा चासो नदेखाएपछि आत्मदाह गर्ने योजना बनाएकी योगमायाको पक्षमा अग्निदाहका लागि २४० जना अनुयायी तयार भएका थिए । यो सफल हुन सकेन । त्यसपछि असार २२, १९९८ मा ६८ जना अनुयायी सहित अरुण नदीमा जलसमाधि लिएको इतिहास छ ।
वि.स. १९२४ (सन् १८६७) मा जन्मेकी योगमायाको उमेर सन् १९०८ मा ४० वर्षको थियो । यो ४० वर्षमा योगमाया सामाजिक उत्पीडन बेहोर्दै चुपचाप बसिन् होला ? कदापि बसिनन् । योगमायाको सङ्घर्ष उनी १४ वर्षको हुँदादेखि सुरु भएको हो । सात वर्षको उमेरमा विवाह गरिदिएकी योगमाया नौ वर्षकी हुँदा विधवा भइन् । यो अबोध बाल्यकालदेखि १४ वर्षको किशोर उमेरसम्म घरमै बसिन् । यस बसाइमा अकल्पनीय लाञ्छना र प्रताडना खप्नुप¥यो । विवाह गरेकी छोरी, त्यसमाथि विधवा । धार्मिक मान्यता र सामाजिक प्रथाकाबिच उनी १४ वर्षको उमेरमा माइत गएपछि घर फर्कन मानिनन् । यो त्यतिबेलाको ठूलो विद्रोह थियो । २१ वर्षको उमेरमा भारतको आसाम प्रवास र दोस्रो विवाह अर्को अझ ठुलो विद्रोह हो । ती श्रीमान्को पनि मृत्युभएपछि पुनः विवाह यो थप विद्रोह थियो ।
प्राप्त लिखतअनुसार आफ्नै जन्मभूमिमा रहेर समाजका लागि केही गर्ने सामाजिक चेतनाको कारण छोरी मात्र लिएर वि.सं.१९७३ (सन् १९१७ ?) मा माइतमा आएपछि उनको विद्रोह आन्दोलनमा विकसित भयो । शास्त्रार्थ गर्ने, प्रवचन दिने, छुवाछुत, बाल विवाह, सती प्रथाको, दास प्रथाको, सानो पाथी–ठूलो पाथी, चर्को ब्याज आदिको विरोधमा योगमायाले आफूलाई उभ्याएको पाइन्छ । त्यतिबेला समाजमा प्रचलित यस्ता प्रथाहरूको विरुद्धमा बोल्नु चानचुने विषय थिएन । हाम्रो भूगोलको श्रमको क्षेत्र नै फरक रहेको हुनाले कारखानामा काम गर्नेभन्दा फरक अवश्य रह्यो, तर योगमायाको आन्दोलन सबै प्रकारका शोषण–उत्पीडनका विरुद्ध लक्षित रहेको हुनाले समग्र सामाजिक रूपान्तरणको आन्दोलन थियो, जसभित्र श्रमिक आन्दोलन अटाउन नसक्ने हुँदैन । यसलाई नेपालको महिला आन्दोलनले गौरवकासाथ ग्रहण गर्नुपर्दछ ।
अन्यत्रको इतिहास हेर्दा आन्दोलनहरू राज्य सञ्चालकहरूको विरुद्धमा देखिन्छ । राज्यद्वारा वञ्चितिमा पारिएको सन्दर्भमा आन्दोलन उठाइएको देखिन्छ । तर, हामीकहाँ भने इतिहास संस्कृतिमाथि दोष थोपरेर शासकहरूलाई दोषमुक्त गर्ने प्रवृत्ति देखिन्छ । आन्दोलनको विषय उठ्नासाथ राजनीति, राजकीय विषयमा कम र संस्कृतिमाथि धावा बोल्ने प्रचलन बढेको छ । आधुनिक राज्यहरूको निर्माण र विकासपछि जनतालाई अधिकारसम्पन्न बनाउने, शोषण, उत्पीडन र अन्याय हुनबाट जोगाउने जिम्मेवारी शासक वर्गमा हुन्छ । आन्दोलनलाई इतिहास र संस्कृतिका विरुद्ध मात्र केन्द्रित गर्दा सत्ता र प्रतिपक्ष सबै तिरबाट ओँठे समर्थन पाइन्छ, तर परिणामशून्य हुन्छ ।
संसारको विकासमा हरेक मानिसको सहभागिता छ, महिला र पुरुष दुवैको श्रमशील भूमिकाले नै मानवसमाज अघि बढिरहेको भए तापनि यसलाई त्यस रूपमा स्वीकार नगरिएको भूगोलबाट यो आन्दोलन सुरु भएको हो । भूगोलको पूर्वी गोलाद्र्धको तुलनामा पश्चिमी गोलाद्र्ध मानवसभ्यता विकासको दृष्टिले पछि रहेको छ । यसका पछाडि मूलतः यथास्थितिमा मानव बस्तीका लागि त्यहाँको भूभाग प्रतिकूल हुनु मुख्य कारण हो । यसले मानवसमाजको विकासका अनेक आयामहरूमा प्रभाव पर्नु स्वाभाविकै हो । पूर्व, खासगरी भारतीय उपमहाद्वीपको तुलनामा त्यहाँको (पश्चिम)मानवबस्ती नयाँ, सोच–चिन्तन र व्यवहार नयाँ, अधिकार र कर्तव्यका सिलसिला नयाँ, संस्कृतिको आरम्भ नयाँ र पछिल्लो हो ।
पूर्वका मानिसले आपूmलाई आवश्यक पर्ने चिन्तन विकास गरेका छन् । आवश्यकतालाई विश्लेषण गर्ने दर्शन विकास गरेका छन् । जीवन र समाज व्यवस्थापन गर्ने आफ्नै शैली विकास गरेका छन् । यस क्रममा यहाँका मानिसहरूले गरेका सङ्घर्षका स्वरूप अलि भिन्न प्रकारका रहेको पाइन्छ । श्रम, सिप र पराक्रमसँग प्रत्यक्ष संलग्नताका अनेकौँ सन्दर्भ वेद तथा पुराणहरूमा पाइन्छ । यिनको प्रभाव समाज र संस्कृतिमा रहिरहेको छ । यस्ता कतिपय विषय जीवनोपयोगी शिक्षाको रूपमा, धर्मको रूपमा समेत रहेको अवस्था छ ।
सिङ्गो मानवसमाज गतिलोको माग, खोजी र आविष्कार गर्दै अघि बढिरहेको छ । मानवसमाज सधै नयाँमा बाँचिरहेको छ । दिन प्रतिदिन हरेकमा नयाँ परिमार्जन खोजिरहेको र गरिरहेको छ । गतिलोको अर्थ गतिशील रहेको भन्ने हुन्छ । यही गतिशीलतामा मानिसले सभ्यता निर्माण गरिरहेको छ र संस्कृति विकास गरिरहेको छ । यस क्रममा सधैभरि एकैनासको गतिशीलता रहेन होला, रोकियो होला वा थोरै पछिल्तिर धकेलिएको पनि होला । हरेक परिवर्तन सबैका लागि उत्तिकै हितकर हुँदैन र जसका लागि अहितकर हुन्छ, तिनले यस गतिलाई सके रोक्न र नसके मन्द पार्न प्रयास गरेका होलान् । यहीँनेर सङ्घर्ष भयो होला । सङ्घर्षको इतिहास जय–पराजय दुवैको इतिहास हो तर विजयीले भोग ग¥यो, आफ्नो इतिहास आफँैले लेख्यो । पराजितले गुमायो, उसको इतिहास कमजोर बन्यो । अहिले पनि मानिसहरू ‘सङ्घर्षका कथा’ मा ‘सफलता’ कै कथा लेख्छन् । विगतमा पनि कयौँ पटक यो सिलसिला दोहोरिएको अनुमान सहजै गर्न सकिन्छ ।
समग्रमा भन्नुपर्दा नेपाली महिला आन्दोलनका सवालहरूप्रति सबैको व्यावहारिक ऐक्यबद्धता आवश्यक छ । महिला आन्दोलन सामाजिक समानताको आन्दोलन हो । यसमा पुरुषहरू दाता र महिलाहरू याचक होइनन् । जसरी आँगनमा रहेको खाल्डाखुल्डीमा जो पनि पर्न सकिन्छ, त्यसरी नै सामाजिक असमानताले विकास र समृद्धिको गतिमा प्रभाव पार्दछ । संविधान प्रदत्त अधिकारहरू समेत महिलाका पक्षमा लागू हुन नसक्नु दुःखद पक्ष हो । यसलाई ‘महिलाको विषय महिलाकै थाप्लोमा’ बनाउनु हुँदैन । समानताको सवाल सबैको साझा सवाल हो । महिला आन्दोलनले बिर्सँदै गएको श्रमिक पक्षधरतालाई उठाउन भने छोड्नु हुँदैन । (लेखकः कोइराला संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)
