नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको कृषि क्षेत्र आज पनि अधिकांश नागरिकको जीवनयापनसँग प्रत्यक्ष रूपमा जोडिएको छ । मुलुकको समृद्धिको बलियो आधारका रुपमा रहेको कृषि क्षेत्रका कैयन् सम्भावनाहरु भने अहिले पनि खेर गइरहेको अवस्था छ । कुल गार्हस्थ उत्पादनमा करिब एक चौथाइ योगदान र दुई तिहाइभन्दा बढी जनसंख्याको निर्भरता रहेको कृषिक्षेत्रले देशको आर्थिक, सामाजिक तथा खाद्य सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ तर यति ठुलो सम्भावना बोकेको क्षेत्रले अपेक्षित गति लिन नसक्दा नेपाल अझै खाद्यान्नदेखि कृषि उपजसम्मको आयातमा निर्भर रहन बाध्य छ ।
सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम तथा बजेटले कृषिलाई पुनः प्राथमिकतामा राखेको देखिन्छ । सस्तो लोकप्रियता र पुरानालाई गाली गर्ने खराब प्रवृत्तिबाट अहिलेका जनप्रतिनिधिहरु माथि उठ्न सकेको देखिन्न । व्यावसायिक कृषिमा प्रोत्साहन, कृषि तथा पशु बिमामा अनुदान, सिँचाइ विस्तार, मल आपूर्ति व्यवस्थापन, कृषि उत्पादनको बजारीकरण तथा युवालाई कृषिमा आकर्षित गर्ने खास कार्यक्रम ल्याउन सकेको देखिएन । यद्यपि केही सकारात्मक पहल भने गरेको देखिन्छ । विशेषगरी कृषि उत्पादन, प्रशोधन र बजारलाई एउटै मूल्य शृङ्खलामा जोड्ने सोचले कृषिलाई परम्परागत पेशाबाट आधुनिक उद्यममा रूपान्तरण गर्ने सङ्केत दिएको छ ।
हाम्रो भूगोल उर्वर भूमि, विविध हावापानी, प्रचुर जलस्रोत तथा बढ्दो कृषि प्रविधिको पहुँच कृषिको प्रमुख सम्भावना हुन् । फलफूल, तरकारी, जडीबुटी, पशुपालन तथा अर्गानिक उत्पादनमा नेपालले घरेलु माग पूरा गर्दै निर्यातसमेत बढाउन सक्ने आधार प्रशस्त छ । वैदेशिक रोजगारीबाट फर्किएका युवाको ऊर्जा र सिपलाई कृषिमा उपयोग गर्न सकिए ग्रामीण अर्थतन्त्रमा नयाँ परिवर्तन सम्भव छ ।
यद्यपि चुनौतीहरू कम छैनन् । खेतीयोग्य जमिन बाँझिने क्रम, सिँचाइको अभाव, उत्पादन लागत वृद्धि, बजार अस्थिरता, बिचौलियाको प्रभाव, अनुसन्धान तथा प्रविधि विस्तारको कमजोरी र विगतका नीतिको कमजोर कार्यान्वयनले कृषिक्षेत्रलाई पछाडि पारेका छन् । अनुदान र सहुलियतका कार्यक्रम वास्तविक किसानसम्म नपुग्ने समस्या पनि दोहोरिँदै आएको छ । कृषिक्षेत्रको रूपान्तरणका लागि अब घोषणाभन्दा कार्यान्वयन महत्वपूर्ण छ । कृषि अनुसन्धान, डिजिटल सेवा, आधुनिक सिँचाइ, मूल्य शृङ्खला विकास र निजी क्षेत्रको साझेदारीलाई प्रभावकारी रूपमा अघि बढाउन सकिए मात्र कृषिले अर्थतन्त्रको वास्तविक इन्जिनको भूमिका निर्वाह गर्न सक्छ । नेपालको कृषि सम्भावनाले भरिपूर्ण छ तर त्यसलाई उपलब्धिमा बदल्ने परीक्षा अब सरकार, निजी क्षेत्र र किसान सबैको साझा जिम्मेवारी बनेको छ । कृषिका सम्भावनालाई साकार पार्न जुटौं ।
