धातु र पत्थरमा टल्किन्छ गोविन्दको सिद्धहस्त सिर्जना

मेचीकाली संवाददाता

२३ श्रावण २०७८, शनिबार
871 shares

प्रकाश आचार्य
बुटवल । मनैदेखिका कलाकार हुन् रूपन्देहीका गोविन्द चौधरी । उनका सिर्जनामा दुरुस्तै मुहार झल्किन्छ । मूर्तिकला र चित्रकला उनको बाल्यकालदेखिको जग नै हो । उनी कंक्रिट, पत्थर र धातुलाई आफ्नो कलाको माध्यमबाट अनुहारमा बदल्छन् । हस्तकला क्षेत्रका सिद्धहस्त गोविन्द लामो समयको अध्ययन र खोजले अहिले मूर्तिका शिल्पीका रूपमा उभ्याएका हुन् । मूर्तिकलालाई मृत्युपछिको जीवन भनिन्छ ।

बुटवलका प्रतिभाशाली चौधरी रचनात्मक तरिकाले मूर्तिमा मुहार उतार्छन् । रूपन्देहीको तिलोत्तमा–७ साविक करहियाका जन्मिएका चौधरीको हातमा गजबको सीप छ । २० वर्षदेखि मूर्तिकलामा जमेका गोविन्दले त्यहीँ सीपबाट अहिले विश्वकै पहिलो क्रकुछन्द र कनकमणि बुद्धको मूर्ति बनाए । ती २ मूर्ति हालै कपिलवस्तुमा निग्लिहवामा राखिएका छन् । प्रदेश सरकारको दाबीअनुसार २ मूर्ति विश्वमै अहिलेसम्म कहीँ बनेका छैनन् । २ वटा मूर्ति उनले १६ लाख रुपैयाँमा बनाएका हुन् ।

बुटवलको राजमार्ग चौराहामा आर्ट एण्ड आर्टस् (कला र कृति) नाम दिइएको मूर्ति कुद्ने एउटा सानो ठाउँ छ । त्यहाँ उनी मूर्ति कुदिरहेका भेटिन्छन् । सानैदेखि कला क्षेत्रमा रुचि भएका चौधरीले विद्यालय तहमा अध्ययन गर्दा पनि चित्रकला प्रतियोगिताहरू हुन्थे । त्यसमा उनी भाग लिँदा सधै राम्रो चित्र कोर्नेमा पर्थे ।

शान्ति नमूना मावि मणिग्राममा पढेका चौधरी स्कूलमा कला र चित्र देखाउने माहोल हुन्थ्यो । विभिन्न जनावरदेखि विभूतिसम्मका चित्र कापीमा कोरिरहन्थे । २०३८ सालमा तत्कालीन एसएलसी परीक्षापछि उनी भैरहवामा रहेको हिताङ्ग आर्टस्मा काम सिक्न थाले । त्यहाँ ३ वर्षभन्दा बढी साइन बोर्ड र तेलचित्र (वइल पेन्टिङ) बनाउँदै आफ्नो सीपलाई निखार्दै लगे । चित्र र मूर्तिकलामा आफ्नो भविष्य देखेका गोविन्द उच्च शिक्षाका लागि ललितकला क्याम्पसमा पढ्न काठमाडौं हानिए । ललितकला क्याम्पसमा बीएफए पढ्दै उनले निरन्तर चित्र कोरिरहे । अध्ययन गर्दैगर्दा पनि उनी कहिल्यै खाली हात बसेनन् । अध्ययनको गरिमा र सम्भावनाबारे उनले विभिन्न क्षेत्रमा काम गरिरहे ।

उनी २०४६ सालमा चित्र र मूर्तिकलामा स्नातक पनि गरे । अध्ययनसँगै गोविन्द उत्कृष्ट सिल्पी बन्दै गएका थिए । कलेजबाहेकको समयमा पनि उनी बिहान–बेलुका चित्र र मूर्ति बनाउँथे । उनको कलेज दिउँसोमा हुन्थ्यो । पढाइ पूरा गरेपछि उनले आफ्नै ढंगले काम गरेका थिए । उनीले काठमाडौंको जलाधार विभागमा चित्र कोरिरहन्थे । त्यो काम उनलाई कलेज पढाउने शिक्षक कृष्ण मानन्धरले मिलाइदिन्थे । २०४५ सालमा बाल दिवसको दिन उनले ५५ मिटरको फ्ल्याक्समा चित्र पनि कोरे । त्यो चित्र तत्कालीन राजपरिवार पनि आएर अवलोकनका गरेका थिए । जुन प्रदर्शन दशरथ रंगशालामा भएको थियो ।

उनले आफूलाई चित्रबाट मूर्तितिर मोड्दै लगे । काठमाडौंलाई त अझै मूर्ति नै मूर्तिको शहरको रूपमा पनि चिनिन्छ । त्यहीँ समयमा उनलाई हेटौंडाको शहीद रंगशालाका लागि भीमसेन थापा, दशरथ, गंगालाललगायतका तेह्रवटा शहीदको सालिक बनाउने अवसर आइलाग्यो । त्यो ठूलो अवसर उनले सहजै स्वीकार गरे । झण्डै १ वर्षमा उनले ती सबै शहीदको मूर्ति तयार पारे । उनी फोटो हेरेर मूर्तिमा आकार निकाल्छन् । २०५७ सालमा बुटवल झरेर गोविन्दले चौराहामा कला र कृति सञ्चालनमा ल्याएका हुन् । उनले सयौं व्यक्तिका तस्वीरलाई सालिकमा उतारेका छन् ।
गोविन्दले बनाएका विभिन्न राजनीतिक दलका स्व. नेता, पूर्वराजा वीरेन्द्र, रानी ऐश्वर्यलगायतका मूर्ति र सालिकहरू ठाउँठाउँमा पुगेका छन् ।

बुटवलमा नेकपाका संस्थापक नेता पुष्पलाल लगायतका सालिक पनि उनकै सिर्जना हुन् । द्वन्द्वकालमा मृत्यु भएका व्यक्ति परिवारले बनाउन लगाएर धेरै सालिक पनि उनकै सिर्जनामा सजिएका छन् । उनलाई अहिले मूर्ति बनाउन भ्याइँनभ्याइँ छ । लकडाउनले पनि उनको कामलाई अवरोध गरेन । अहिले आएर उनी जहाँ पुगे पनि मूर्तिमै व्यस्त हुन्छन् । चौधरीले तामा, पित्तल, ढुंगा, माटो र सिमेन्टको प्रयोग गरी मागअनुसार जस्तोसुकै मूर्ति पनि बनाउँछन् । उहिले उनी द्वन्द्वकालमा मृत्यु भएका अर्घाखाँचीका यज्ञ बेल्बासे र मिनप्रसाद बेल्वासेको मूर्ति कुँद्नमा व्यस्त छन् । २ दिनअघि मात्रै उनले अर्घाखाँचीका नेत्र क्षेत्रीको सालिक बनाएर शीतगंगा नगरपालिकालाई दिइसकेका छन् ।

गोविन्द भन्छन्, ‘मूर्तिकला क्षेत्रमा धेरै दुःख छ तर कुनै समयमा उत्कृष्ट रहेको नेपाली मूर्तिकला जोगाउन लागेको छु ।’ उनले मूर्ति बनाएर वार्षिक लाखौं आम्दानी गर्छन् । मूर्तिमा ठूलो मेहनत हुने गोविन्द बताउँछन् । ‘मैले हालै उद्योग, वन तथा वातावरण मन्त्रालयका लागि क्रकुछन्द र कनकमणि बुद्धको मूर्ति २ वर्ष लगाएर बनाएँ,’ गोविन्द भन्छन्, ‘बल्ल आएर मानिसहरू मूतिकलाको महत्व बुझ्न थालेका छन् ।’ नेपालमा अत्याधुनिक मूर्ति बनाउने सीप भएका थुप्रै मूर्तिकार रहेका भए पनि अझै मूर्ति र सालिक बनाउन भारतबाट महंगो ज्यालामा कलाकार झिकाउने गरिन्छ । त्यसलाई रोक लगाउन आवश्यक रहेको गोविन्द बताउँछन् ।

मूर्ति बनाउने प्रक्रिया रोचक पनि हुन्छ । सुरुमा मैनको मूर्ति तयार गरेर त्यसमा माटो लेप लगाइन्छ । त्यसलाई सुकाइन्छ । मैन पग्लिएपछि मूर्तिको भित्री भाग खोक्रो हुन्छ, जहाँ धातु पगालेर हालिन्छ । त्यसमा चाँदी, पित्तल, तामाजस्ता आवश्यक धातु हाल्न सकिन्छ । वश्यकताअनुसार यसलाई पुनः छायाँमा सुकाएर माटो फालिन्छ । त्यसपछि मूर्तिको प्रारम्भिक प्रारूप तयार हुन्छ । त्यसलाई विभिन्न बुट्टा भरेर कलात्मक बनाइन्छ । मूर्ति बनाएर उनी पूर्ण सन्तुष्ट छन् । ‘यस पेशामा निरन्तर लाग्ने हो भने नाम र दाम दुवै छ,’ उनी भन्छन् । राज्य र व्यक्ति विभिन्न महत्वपूर्ण आन्दोलन र द्वन्द्वको समयमा मृत्यु भएका व्यक्तिको सालिक बनाउन थालेका छन् ।