को हुन् लुम्बिनीको नवनियुक्त मुख्यमन्त्री कूलप्रसाद केसी ?

मेचीकाली संवाददाता

२८ श्रावण २०७८, बिहीबार
1035 shares

बुटवल । लुम्बिनी प्रदेशको दोस्रो मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा माओवादी संसदीय दलका नेता कूलप्रसाद केसी माओवादी आन्दोलनभित्र पनि परिचित नाम हो । उनी लुम्बिनी प्रदेश सभामा नेकपा माओवादी केन्द्र संसदीय दलको नेता हुन् । एमाले र माओवादी पार्टी अलग नहुँदासम्म उनी नेकपा संसदीय दलको उपनेता थिए ।

एमाले भित्रको आन्तरिक विवाद र नेकपा विभाजनले लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने अवसर कूलप्रसाद केसीलाई जुर्‍यो । मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभामा बुधवार प्रस्तुत अविश्वासको प्रस्तावको सामना नगरी राजीनामा दिएपछि केसी मुख्यमन्त्री बन्ने बाटो तय भएको थियो ।

गठबन्धन दलका सांसदलाई सरकारमा चित्तबुझ्दो हिस्सा दिएर सरकार विस्तार गर्नेदेखि अघिल्लो सरकारले गरेका कार्य सम्पादनसँगै नयाँ र फरक खालको काम देखाउनुपर्ने चुनौती केसीसामु छ । सामान्य बहुमतमा सरकार निर्माणको धरातल छ । जसलाई निकै कमजोर धरातलका रूपमा चित्रण गर्न सकिन्छ ।

लामो समय जनयुद्ध लडेका केसीलाई पार्टीभित्र ‘सोनाम’ नामले चिनिन्छ । केसी रोल्पा जिल्लाको रोल्पा नगरपालिका–६ लिवाङमा जन्मिएका हुन् । एमाले पार्टीबाट निर्वाचित २ सांसदले राजीनामा दिएका र नेकपाबाट निर्वाचित विमला खत्रीले माओवादी केन्द्र रोजेपछि विपक्षी गठबन्धनमा बहुमत पुगेको हो, यसरी केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो । लुम्बिनीमा माओवादी केन्द्रका सभामुखसहित १९ सांसद छन् ।

मुख्यमन्त्री कूलप्रसाद केसी कडा स्वभावका व्यक्ति देखिन्छन् । त्यसको छनक उनका पटक–पटकका अभिव्यक्तिमा देखिन्छ । केसीले आफ्नो भाषणमा विशेषण र जटिल शब्दहरूको प्रयोग गर्छन् । २०७७ असोज २० गते प्रदेशको राजधानी र नामकरणको टुंगो लगाउने समयमा कांग्रेसले विरोध जनाएपछि प्रदेश सभाको रोस्टमबाटै ‘घिसारेर निकालिहाल’ भन्ने शब्दावली प्रयोग गरेकाले उनको आलोचना भएको थियो ।

सादा जीवन र सरल नेताको रूपमा उनी चिनिन चाहन्छन् । नकारात्मक सोच भएको समाज व्यवहारलाई सकारात्मक र तीब्र विकासशील अनुशरण गर्न लायक प्रदेश बनाउने केसीको भिजन रहेको उनी बताउँछन् । २०२७ सालमा जन्मिएका केसी २०४६ सालमा नेकपा मसालको विद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश गरेका हुन् । एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययन गर्न दाङको महेन्द्र बहुमुखी क्याम्पसमा आईए पढ्दापढ्दै उनी विद्यार्थी संगठनमा सक्रिय राजनीति गर्न थाले ।

२०४८ देखि २०५० सालसम्म उनले रोल्पा लिवाङस्थित बालकल्याण माविमा स्थायी रूपमा शिक्षण पेशा गरे । प्राथमिक तहको स्थायी शिक्षक रहेका केसीले २०५० सालमा नेपाली कांग्रेसका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई कालो झण्डा देखाएपछि अवकाश लिनुपर्‍यो ।

त्यसपछि तत्कालीन जनमोर्चामा सक्रिय भई उनले भूमिगत राजनीति शुरू गरे । त्यसपछि उनले औपचारिक शिक्षालाई अघि बढाएनन् । उनले दाङको महेन्द्र बहुमुखी क्याम्पसबाट प्रवीणता प्रमाण पत्र तह मात्रै उत्तीर्ण गरेका छन् । पढाइ छाडेर उनी राजनीतिमै बढी लागे ।

२०५० देखि २०५२ सालसम्म नेकपा एकता केन्द्रको रोल्पा इलाका सेक्रेटरी भए । २०५२ फागुन १ गते तत्कालीन माओवादीले ‘जनयुद्ध’मा जाने घोषणा गरेपछि उनी भूमिगत भई माओवादीमा सक्रिय भए । माओवादी ‘जनयुद्ध’मा जाने बेला उनी रोल्पा जिल्ला पार्टी सदस्य मात्रै थिए । २०५५ सालमा उनले दाङ, प्युठान र सल्यान जिल्लाको सेक्रेटरीको जिम्मेवारी पाए ।

त्यसपछि २०५६ सालमा भेरी–कर्णाली सैन्य कमिसार र २०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भए । माओवादीको सशस्त्र युद्धमा राप्ती क्षेत्रका चर्चित नेताको रूपमा उनले परिचय बनाए ।

तत्कालीन माओवादीले पहिलोपटक रोल्पाको होलेरी आक्रमण गर्दा केसी सहभागी थिए । २०६० जेठ २० गते पार्टी बैठकका लागि भारत जाने क्रममा भारतको पटनामा उनी पक्राउ परे । त्यसपछि २०६३ साउनसम्म झण्डै ३ वर्ष उनले भारतको बक्सर जेलमा बन्दी जीवन बिताए । तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ साउनमा मात्रै केसी जेलमुक्त भए ।

जेलबाट छुटेपछि २०६३ देखि २०६८ सालसम्म ‘जनमुक्ति सेना’को तेस्रो डिभिजन कमिसारको भूमिका पाए । तत्कालीन माओवादी ‘जनमुक्ति सेना’ क्यान्टोनमेन्टमा राखिएपछि वाईसीएल इन्चार्जको भूमिका पनि उनले निर्वाह गरे । २०६९ सालमा माओवादी विभाजन भएपछि उनी मोहन वैद्यको पक्षमा लागे । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिलाई धोका दिएको भन्दै उनले प्रचण्डको साथ छाडेका थिए ।

वैद्य पक्षको माओवादीको स्थायी कमिटी सदस्य भएका उनी दोस्रो संविधानसभा निर्वाचन बहिष्कार अभियानमा लागे । वैद्यसँग ४ वर्षजति बिताएर उनी फेरि रामबहादुर थापा ‘बादल’सहित प्रचण्ड नेतृत्वको माओवादीमै फर्किए । माओवादीमा फर्किएपछि २०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा रोल्पा १९१० बाट माओवादी–एमाले गठबन्धनको तर्फबाट उनले चुनाव जिते ।

गठबन्धनमा एमालेका शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्दा उनले दोस्रो वरियताको आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी पाए । बादलपक्षीय नेता केसी नेकपा विभाजनपछि एमालेमा लाग्छन् कि भन्ने आशंकालाई चिर्दै उनी माओवादी केन्द्रमै बसेर मुख्यमन्त्री बन्न सफल भएका छन् ।