ड्रग्सको दलदल

मेचीकाली संवाददाता

११ असार २०८०, सोमबार
352 shares

ओम बानियाँ

हरके वर्ष २६ जुनलाई लागुऔषध दुरुपयोग तथा अवैध तस्करीको विरुद्ध अन्तर्राष्ट्रिय दिवसका रुपमा विश्वभरि मनाइन्छ । यस दिवसको उद्देश्य लागुऔषध र लागुऔषधको अवैध तस्करी नियन्त्रणमा जागरुकता पैदा गर्ने र विश्वलाई बेसनमुक्त बनाउनु हो ।
विश्व स्वास्थ्य संगठनको पछिल्लो रिपोर्टअनुसार विश्वमा ३ कराड ५० लाखभन्दा बढी व्यक्तिहरु लागुऔषधको लतमा परेका छन् भने २८ करोडभन्दा बढी व्यक्तिहरुले विभिन्न रुपमा साइकोएक्टिभ ड्रग्स सेवन गर्ने गर्छन् ।

कतिपय अध्ययनले त विश्वमा साइकोएक्टिभ ड्रग्स सेवन गर्नेको संख्या ३५ करोडभन्दा बढी भएको तथ्य सार्वजनिक गरेका छन् । यसले अहिले विश्वमा लागुऔषधको सेवन, दुरुपयोग तथा अवैध तस्करीको तस्विर निकै भयावह देखिन्छ । हो, ड्रग्स अर्थात् औषधी जीवनदायी पदार्थ हो । उचित औषधीले रोग रोकथाम गर्ने, रोग नियन्त्रण गर्ने तथा रोगबाट बिरामीलाई मुक्त गरी उसको ज्यान बचाउने कार्य गर्दछ । तर यही औषधी दुरुपयोग भयो भने मानिस ड्रग्सको दलदलमा फस्ने मात्र होइन अकालमै जीवन स्वाहा हुन सक्दछ ।

हिजोआज विश्वमा ड्रग्सको उपयोग–दुरुपयोग दुई तरिकाले हुने गरेको छ । एक, रोगोपचारका लागि । र, अर्को नशाको लागि । रोगोपचारको नाममा पनि ड्रग्सको दुरुपयोग भैरहेको छ । खासगरी मानसिक रोगोपचारका लागि निर्मित औषधीहरू निकै दुरुपयोग हुने गरेको छ । लागुऔषध दुव्र्यसनीले मात्र होइन कि स्वयं रोगोपचारका लागि औषधी प्रेस्क्रिप्सनको अधिकार पाएका कतिपय चिकित्सकहरुले समेत कतिपय अवस्थामा प्रत्यक्ष परोक्ष रुपमा औषधिहरूको दुरुपयोग गर्ने गरेका छन् ।
दुव्र्यसनीले नशाका लागि त कतिपय चिकित्सकले पैसा (कमिसन) का लागि औषधीको दुरुपयोग गरेको पाइन्छ । चिकित्सकको अदक्षताका कारण पनि औषधीको दुरुपयोग हुने गरेको छ । रुघा भाइरसका कारण हुने एक आम रोग हो । तर यस रोगको उपचारका लागि अधिकांश चिकित्सकहरूले सिटामोल, एन्टिकोल्डका साथै ५०० एमजीको एन्टिबायोटिक औषधीहरू समेत दिने गरेको पाइन्छ । यो औषधी दुरुपयोगको सानो उदाहरण हो ।

लागुऔषधको इतिहास हेर्ने हो भने विश्वभरि नै प्राचिनकालदेखि नै नशाका लागि देश र समाजअनुसार थरिथरिका लागुपदार्थ तथा औषधीहरु सेवन गर्ने गरेको देखिन्छ । बिँडी–चुरोट, सुर्ती–खैनी जस्ता सुर्तीजन्य पदार्थहरू, बियर, ब्हिस्की, भोडका, जिन, ब्रान्डी तथा घरेलु जाँडरक्सीलाई त नेपाली समाजले समान्यरुपमा लिन्छ । साधारणतया यस्ता पदार्थहरु सेवन गर्न कुनै रोकतोक छैन । त्यसैले खुलेआम यस्ता नशालू पदार्थहरुको सेवन भैरहेको छ ।

तर कानुनले बेचबिखन गर्न छुट दिएको जाँड रक्सी पनि निकै हानिकारक छ । जाँडरक्सीले शारीरिक, पारिवारिक तथा सामाजिक दुस्परिणामहरु ल्याउँछ । पारिवारिक तथा समाजिक कलह तथा घरेलु हिंसाको प्रमुख कारण जाँडरक्सी नै हो । स्वास्थ्यमा जाँड रक्सीको कुप्रभाव त कहालीलाग्दो छ । जाँडरक्सीको कुलतमा फसेका अधिकांश मानिसहरू कलेजोको रोगबाट छिट्टै मृत्युको मुखमा पुग्छन् । जाँडरक्सीले कलेजोलगायत शरीरका अनेक अंगहरूमाथि कुप्रभाव पार्छ । मानिसको स्मरण शक्ति कम हुने एक प्रमुख कारण मद्यपान हो ।

नेपालमा दुव्यर्सनीको संसार जाँडरक्सीमा मात्र सीमित छैन । नेपालका दुव्यर्सनीहरुले गाँजा, चरस, अफिम, हेरोइन जस्ता नशालु पदार्थका साथै डायजिपाम, बेनजोडायजिपाम, नाइट्रोजिपाम, एलपराजोलम, प्रोक्सिवान, स्पाजमोवोन, लोमोटिल, एम्फेटामिन, कोडिन, कारेक्स तथा फेन्सिडील जस्ता औषधीहरू नशाको रुपमा दुरुपयोग गर्दै आएको देखिन्छ ।
यसैगरी मोरफिन, नोरकीन, टीडीजैसिक, फोर्टविन आदिलाई इन्जेक्सनका रुपमा प्रयोग गर्छन् । कतिपय दुव्यर्सनीले अन्य औषधिहरू जस्तै एविल, फिनारगन तथा डायजिपाम आदिका साथमा मिसाएर मासु तथा नशामा लगाउने गर्छन् । यस्तो नशा ज्यादै खतरनाक मानिन्छ । यदि दुव्यर्सनमा परेकाहरुले एउटै सुई वा सिरिन्ज आपसमा मिलेर प्रयोग गरेको खण्डमा एड्स तथा हेपेटाइटिस जस्ता खतरनाक रोगहरूको शिकार हुन सक्छन् । यसका अतिरिक्त यस्ता व्यक्तिहरूलाई संक्रमण, घाउखटिरा, नसामा रगत जम्ने समस्या, जण्डिस, टिबी, किड्नी र मुटुका रोगहरू हुन सक्छन् ।

रोगोपचारका नाममा अनावश्यक औषधीहरू तथा आवश्यक औषधीहरु पनि नियमितरुपमा लामो समयसम्म सेवन गर्नु निकै हानिकारक हुन्छ । त्यसैले रोगोपचारका क्रममा चिकित्सकसँग औषधीका बारेमा उचित छलफल गर्नु विरामी (उपभोक्ता) को अधिकार हो ।
चिकित्सकले पनि कमिसन लोभमा फसेर बिरामीहरूलाई अनावश्यक रुपमा औषधीमा निर्भर बनाउनुहँुदैन । त्यो किनभने चिकित्सकप्रति बिरामीहरूको ठुलो आशा र भरोसा हुन्छ, एक अर्थमा चिकित्सक बिरामीको भगवान् नै हो । त्यसैले हिप्पोक्रेटिज शपथ लिएका चिकित्सकले लोभ–लालचमा नफसेर इमानदारीपुर्वक आफ्नो कर्तव्य पूरा गर्नुपर्छ । मानिसका अधिकांश रोग त चिकित्सकको तार्किक र ओजपूर्ण कुराकानीबाट ठिक हुन सक्छन् । कुराकानीबाट नै ठिक हुने रोगका लागि फेरि औषधी सिफारिश गर्नु पर्ने कुनै कारण हँुदैन ।

यहाँ उल्लेखनीय कुरा के भने लगातार लामो समयसम्म सामान्य प्रकारका औषधीहरु खाइरहने हो भने त्यसले पनि लती बनाउँछ । यस्तो एडिक्सनबाट मुक्त हुन पनि निकै गाह्रो छ । त्यसैले त साइक्याट्रिक औषधी सेवन गर्नेले मात्र होइन, एन्टाएसिड खाने व्यक्तिहरुले समेत औषधी छोडन चाहेर पनि छोड्न सक्दैनन् ।

यस्तो किन हुन्छ ? किन मानिसले ड्रग्स छोडन सक्दैनन् ? यसका लागि मानिसको मनोविज्ञानले कसरी काम गर्दछ भन्ने कुरा बुझ्नुपर्छ । ड्रग्स सेवनले हानि गर्दछ, यसलाई छोड्न पर्छ भन्ने दुव्र्यसनीलाई ज्ञात भएपछि उसले छोड्न खोज्दछ, तब बीथड्रवल लक्षणहरु देखा पर्छ, ऊ आत्तिन्छ, बैचन हुन्छ, ऊसँग बीथड्रवल लक्षणहरु विरुद्ध लड्ने वा सुरक्षित रहने दुई विकल्प हुन्छ, अनि उसले सुरक्षित रहने विकल्प नै रोज्दछ र पुनः ड्रग्स सेवन गर्दछ ।

ड्रग्स सेवन गरेपछि बीथड्रवल लक्षणहरु हराउँछन् अनि उसले आनन्दको महसुस गर्दछ । यो चक्र चलिरहन्छ, अनि ऊ ड्रग्सको दलदलमा फस्दै जान्छ । अतः दुव्र्यसन एक मनोवैज्ञानिक समस्या हो । त्यसैको उपचार पनि मनोवैज्ञानिक ढंगबाट हुन जरुरी छ । उचित उपचार तथा पारिवारिक सहयोग पाएको खण्डमा दुव्र्यसनी सामान्य अवस्थामा फर्किन सक्छन् । कतिपय यस्ता दुव्र्यसनीहरू पर्याप्त पारिवारिक सहयोग पाएको खण्डमा आफैं पनि ठीक हुने गरेका प्रशस्त उदाहरणहरू छन् ।

अन्तमा लागुपदार्थको लतले युवाशक्तिलाई भ्रष्ट र नष्ट पार्दछ । युवाशक्ति नै भ्रष्ट र नष्ट भएको देश खोक्रो हुन्छ । त्यसैले सरकारले तुरुन्त लागुऔषधको अवैध ओसारपसार र दुव्र्यसन रोक्न तुरुन्त ठोस कार्यक्रमहरू लिएर आउनुपर्छ । मजबुत कानुन बनाएर त्यसलाई प्रभावकारी रुपमा लागू गर्नुपर्छ ।

विद्यालयदेखि नै विद्यार्थीलाई ड्रग्सका दुष्परिणामका बारेमा उचित शिक्षा दिनुपर्छ । अनि दुव्र्यसनमा फसेकाहरुलाई उचित उपचारको व्यावस्था मिलाउनुपर्छ । यस कार्यलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ । अनि मुलकुरा हरेक किशोरकिशोरी तथा युवाहरु लागुऔषधप्रति समयमै सचेत हुनुपर्छ र ड्रग्सको नशामा होइन कि जीवनको लक्ष्य बनाई लक्ष्यको नशामा डुब्नु पर्छ । यदि तपाईं ड्रग्सको नशामा डुब्नु भयो भने यो अमूल्य जीवन नष्ट हुन्छ, लक्ष्यको नशामा डुब्नुभयो सफलताको शिखरमा झण्डा गाँड्नु हुन्छ । (लेखक साइकोथेरापिष्ट हुन् ।)