टिकटक र फेसबुकमा छाएको तीज

मेचीकाली संवाददाता

१ आश्विन २०८०, सोमबार
267 shares

अमृत गिरी

बुटवल । सैनामैना–४, मुर्गीयाकी विवाहित एक महिला निकिता थापा टिकटक चलाउँछिन् । उनी सामाजिक सञ्जालमा पनि राम्रै उपस्थित छन् । उनको टिकटकमा कैयौं भिडियोहरु तीज गीतमा छमाछमी नाचेका छन् ।

उनी आफै नाचेका भन्दा अरु नै नाचेका अझ भनौं साना नानीहरु पोसाकमा सजिएर नाचेका भिडियो भाइरल नै भएका छन् । कृतिका पुरी कपुरीको नाचेको भिडियो उनको टिकटकमा मात्रै झण्डै १५ लाख जनाले हेरिसकेका छन् । उनको टोलका अधिकांश महिला टिकटक चलाउँछन् । त्यहीँ नजिकै रहेको राधाकृष्ण मन्दिरमा भजन किर्तन हुँदा गाउने र नाच्ने भन्दा मोबाइलमा भिडियो खिच्ने र टिकटक बनाउने धेरै हुन्छन् । नाचेर रमाउने भन्दा अचेल टिकटक बनाएर भिउज बढाउने, मनिटाइज गरेकाहरु लाइभ बसेर पैसा कमाउनेमा धेरै केन्द्रित छन् । ‘परिवर्तन हुनु सबै खराब त हुँदैन तर, हाम्रो मौलिकता र पहिचानलाई भने मेटाउन हुँदैन’ सांस्कृतिक अध्येता डा.घनश्याम कोइरालाको टिप्पणी छ ।

पछिल्ला केही समय यता हाम्रा सांस्कृतिक पर्वहरु सामाजिक सञ्जालमय बनिरहेका छन् । छमछमी नाच्ने भन्दा टिकटकमा रमाउनेमा धेरैको ध्याउन्न देखिन्छ । ‘डिजिटल प्रविधि अर्थात् सामाजिक सञ्जालको सही सदुपयोग गर्न जानियो भने लुकेर रहेका प्रतिभा देखाउने अवसर पनि मिल्छ, तर त्यसो गर्न जानिए भने यसले विग्रह पनि ल्याउन सक्छ’ डा.कोइरालाको भनाइ छ ।

नेपाली संस्कारमा मनाइने हरेक पर्व ऋतु र मौसमअनुसार आफ्नै सन्देश बोकेर आएका हुन्छन् र तिनीहरु प्रायः प्रकृत्तिको नियममा मिलान भएका हुन्छन् । ‘समय परिवर्तन भएसंगै मानिसका आनीबानी पनि फेरिन्छन् तर, धर्ती र प्रकृत्ति उहीँ हो जुन हाम्रो जीवनसंग जोडिएको हुन्छ’ सांस्कृतिक अध्यता तथा विश्लेषक राजेन्द्रकुमार आचार्य भन्छन्–अस्वभाविक आधुनिकताले समाज भड्काउँछ सचेत पुस्ताले ख्याल गर्नुपर्छ ।’

हाम्रो जीवनयापनको माध्यमलाई टपक्क टिपेर मौलिकता झल्काउने गीत र नृत्य हराउँदै गएको अर्का संस्कृतिविद् झपेन्द्र जिसीको गुनासो छ । जिसी भन्छन्–आधुनिकताका नाममा हामीमा अन्त कतैको संस्कृतिको छाप बढिरहेको छ, सांस्कृतिक अतिक्रमण भइरहेको छ र यसलाई सामजिक सञ्जालको बढ्दो प्रयोगले विस्तार गरिरहेको छ, यसलाई सुधार्न जरुरी छ ।’

संस्कृति विद् डा.नम्रता पाण्डेको भनाइ अनुसार ‘वर्षा ऋतुमा पर्ने यो पर्व वर्षे खेतीपाती विशेषगरी धान रोप्ने, गोडमेल गर्ने काम सकेर थोरै फुर्सदको अनुभूति गरी बिहे गरेर कर्मघर गएका चेली माइतीघर फर्की आराम गर्ने एउटा अवसर पनि हो तीज । धार्मिक पुराण र किंवदन्तीमा शिव पार्वतीको प्रसङ्गलाई उल्लेख गरेर पार्वतीले शिवको आराधना गरेको प्रसङ्ग पनि प्रेम र परिवारसँग नै जोडेर हेर्न सकिन्छ । अहिले आधुनिकता र सम्पन्नताका आधारमा तीजको लवाइखुवाइमा परिवर्तन आएको भए पनि यसको मौलिकता आफ्नै छ ।’

मौसमी फलफुल, तरकारीको प्रयोग गर्ने र महिलाहरू आफ्नो सौभाग्यमा सजिएर प्रसन्नता र प्रफुल्लता अभिव्यक्त गर्ने पारिवारिक जमघटको पर्वमा आधुनिकतासंगै केही कमीकमजोरी पनि भित्रिएको नागरिक अगुवा तेजकुमार पाठकको भनाइ छ । उपभोक्ता हीत संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष समेत रहेका अगुवा पाठकले देखासिकीका नाममा भड्काइँ पार्दा अखाद्य वस्तु मिसाएका परिकार खाएर रमाउने चलन देखिएको छ र यसले मानव स्वास्थ्यमै जोखिम बढाइरहेको बताए ।

अनदीको चामललाई शुद्ध घिऊमा फुराएर खाजा बनाउने र करेसाबारीकै कर्कलो, करेला, भिन्डी, घिरांैलाजस्ता मौसमी तरकारी र वर्षाको समय दुध पनि प्रशस्त उपलब्ध हुने हुँदा खिरको परिकार बनाएर खाने प्रचलन थियो । अहिले यी सबै आयातित बासमती चामल, मासु, फ्रोजनका सामाग्री, पेय पदार्थले विस्थापित गरेको डा.कोइरालाको विश्लेषण छ ।