धार्मिक गन्तव्य बनेको निलकण्ठ बाबाधाम

मेचीकाली संवाददाता

७ फाल्गुन २०८०, सोमबार
1670 shares

रमेश पराजुली

बुटवल । गुल्मीको मदाने गाउँपालिका–४ म्यालपोखरी फबरेटाकी देवमाया भट्टराईको परिवार वि.सं २०४३ सालमा रुपन्देहीमा बसाइँ सरेर झ¥यो । बुटवलमा बस्न थालेपछि जीविकोपार्जनका लागि ०४६ सालदेखि उनीहरुले टायल/मार्वलको पसल सुरू गरे । व्यापार राम्रो हुँदै गयो । छोटो समयमै बुटवलको ठूलो होलसेल पसलका रूपमा परिचत थियो भट्टराई परिवारले सञ्चालन गरेको सन्तोषी मार्वल पसल । व्यवसाय निरन्तर अघि बढिरहेको थियो ।

२०६० मंसिर १२ गते सीता विवाह पञ्चमीका दिन भगवती सन्तोषीमाताबाट माता देवमायालाई दिव्य दर्शन प्राप्त भयो । साथै देवमायालाई बुटवल उपमहानगरपालिका–७ दिपनगरस्थित नीलकण्ठ परिसर (हाल धाम बनेको जंगल) मा ल्याई त्यहाँ रहेका विभिन्न देवीदेवताका प्रतिमाहरुको दर्शन गराइयो । दर्शनकै क्रममा शिलामय प्रतिमाबाट भगवान् नीलकण्ठ प्रकट भएर यस क्षेत्रको संरक्षण र संवद्र्धनका साथै लक्ष्मी नारायणको पूजा गर्ने आदेशसमेत भयो । त्यसपछि आफ्नो परिवार व्यापार व्यवसाय सबै छाडेर यहीँ धामको संरक्षण र विकासमा लागेको प्रमुख संरक्षक देवमायाले बताइन् । ईश्वरीय आदेशअनुसार २०६० साल फागुन २३ गते यस क्षेत्रमा पहिलोपटक भगवान् लक्ष्मी नारायणको पुजा गरिएको थियो । यहाँ मन्दिर बनाई घण्ट बजेपछि देशमा शान्ति आउने वाणि भएअनुसार माता देवमाया र उनका पति बाबुराम भट्टराईको नेतृत्वमा विभिन्न दाताहरूको योगदानमा मन्दिर निर्माण र धाम व्यवस्थापनको काम सुरु भएको हो ।

अध्यक्ष, माता देवमाया भट्टराई

२०६१ वैशाख ४ गते मन्दिर शिलान्यास भई २०६२ सालको महाशिवरात्रीमा मूर्तिको प्राण प्रतिष्ठा गरी पञ्च महापुराण आयोजना गरीएको थियो । नेपालका विभिन्न धार्मिक तीर्थस्थल जसको आआफ्नै महत्व छ । पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यको रुपमा उदाउँदै गरेको निलकण्ठ बाबाधाम धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास हुने क्रममा छ । निलकण्ठ बाबाधाम धार्मिक तथा पर्यटकीय दुवै दृष्टिले महत्वपूर्ण रहेको छ । शहरको कोलाहल क्षेत्रबाट केही पर प्राकृतिक रुपमा अत्यन्त रमणीय, शान्तियुक्त जंगलको फेदमा रहेको धाम परिसरमा पुग्ने जोकोहीलाई यहाँको वातावरणले लोभ्याउने गरेको छ ।

निलकण्ठ बाबाधामको इतिहास निकै लामो रहेको विश्वास गरिन्छ । उत्खनन गर्दा भेटिएका देवताका मूर्तिहरु निकै आश्चर्यजनक र प्राचीन काललाई दर्शाउने खालका छन् । परापूर्व कालमा भगवान् शिवले समुन्द्र मन्थनबाट उत्पन्न भएको विष पिएर यो ठाउँमा आई विश्राम गरेको विश्वास गरिन्छ । भगवान् शिव (नीलकण्ठ) शयन गर्दा शिर भाग पशुपति, मध्यभाग नीलकण्ठ बाबाधाम र अन्त्य भाग स्वर्गद्वारी भएकाले यी तीन देवस्थलको दर्शन गर्नाले समस्त मनोकामना पूरा हुनुका साथै पापहरु नाश भई अन्त्यमा शिव सायुज्य समेत हुनेछ भन्ने भगवानको वाणि भएको माता देवमायाले बताइन् ।

१ विगाहा १३ कट्ठा क्षेत्रफलमा फैलिएको धाम क्षेत्रमा बोलबम मन्दिर, गुहेश्वरी मन्दिर, अन्नपूर्ण मन्दिर, हवन कुण्ड, यज्ञ मण्डप, गुरुकुल भवन, तण्डुलाचल, धान्यान्चल, गौशाला, आश्रम, भोजनालय लगायतका संरचना निर्माण गरिएको उपाध्यक्ष चुणामणि पौडेलले बताए । सन्ताषी माताको मन्दिर निमार्णाधीन अवस्थामा रहेको उनले बताए । यस धाममा वर्षको ३६५ दिननै रुद्री तथा दिनको ३ पटक (बिहान, मध्यान्ह, साँझ) आरती हुने उनले बताए ।

उपाध्यक्ष पौडेलका अनुसार यस धाममा २०६३ मा श्रीमद्भागवत महापुराण, २०६४ मा १८ महापुराण तथा ८ उपमहापुराण गरी २६ पुराण, २०६७ मा नौ देवी भागवत, २०७० मा ७२ पुराण तथा ७५ जिल्लाको माटो (मृत्तिका), पुजन, सति श्राप मोचन, २०७१ मा पुनः पञ्चपुराण, २०७३ मा शिव महापुराण, २०७४ मा शिव पुराण तथा अतिरुद्रि, २०७५ मा शिव पुराण तथा पार्थिव शिवलिङ्ग पूजन, २०७६ मा शिव पञ्चपुराण सम्पन्न गरीएको थियो ।

त्यस्तै, कोरोना महामारीका कारण २०७७/०७८ दुई वर्ष महायज्ञलाई प्रवचनसहित निरन्तरता दिन नसके पनि यस धामले संकल्प गरेअनुसार व्यवस्थापन समिति र भक्तहरुको उपस्थितिमा सीता विवाहपञ्चमीदेखि धान्यपूर्णिमासम्म अनुष्ठान पूरा गरेको उपाध्यक्ष पौडेलले बताए । २०७९ मंसिर १२ गते देखि २२ गतेसम्म शिवपुराण तथा धनधान्याञ्चल ज्ञान महायज्ञ सञ्चालन भएको उनले बताए ।

सुख, शान्ति र समृद्धिको कामना गरी महायाग
पवित्र तीर्थस्थल निलकण्ठ बाबाधाममा देश र जनतामा सुख, शान्ति, समृद्धि र राष्ट्र कल्याण होस् भन्ने मनोकामना गरी नेपालकै इतिहासमा पहिलोपटक ३ महिने शक्तिशाली महायाग सञ्चालन भइरहेको सचिव भीमप्रसाद भूर्तेलले जानकारी दिए । गत पुस १ गतेदेखि सुरु भएको श्री शिवपुराण ११ अतिरुद्री अयुतचण्डी राष्ट्रकल्याण महायाग चैत्र ४ गते समापन हुने उनले बताए । महायागमा यज्ञ आचार्य डा.राजेन्द्र रेग्मी र आचार्य हाकिम भण्डारी वशिष्ठलगायत १२१ जना ब्राह्मणहरुको सहभागिता रहेको सचिव भूर्तेलले बताए । यो महायाग पछि देश र जनतामा सुख शान्ति छाउने आशा व्यक्त गर्दै निलकण्ठ बाबाधाममा दर्शन गर्न आग्रह गरे ।

दैनिक अतिरुद्री, देविभागवत, शिवपुराण, गणेशपुराण, सुर्यपुराण, विष्णुपुराण, चारै वेद पाठ, अयुतचण्डी तथा हवन, दैनिक ३ पटक आरति हुने छन् । ११ अतिरुद्री शान्ति अभिषेक बिहान ५ बजे, दिउँसो १ बजे र साँझ ५ बजे । तुलादान, चौरासी पूजन, लक्ष्यवत्ती प्रज्वलन, धनधान्याञ्चल तथा तण्डुलाचल राखीएको छ । २०८० चैत्र ४ गते महायागको पूर्णाहुति तथा तिलक प्रसाद वितरण र महायाग समापन हुने कार्यक्रम राखीएको छ ।

३ महिनासम्म हुने महायागमा ४ करोड खर्च हुने अुमान गरिएको आर्थिक उपसमिति संयोजक लेखबहादुर कार्कीले बताए । यो अवधिमा १० लाखभन्दा बढी भक्तजनहरुले दर्शन गर्ने अनुमान गरिएको यज्ञ कार्य सम्पादन मूल समितिले जनाएको छ । महायागको २१ औं दिनमा पूर्वराजा ज्ञानेन्द्र शाहले दर्शन गरि पूजाआराधना गरेका थिए ।

धार्मिक पर्यटकको आकर्षणयुक्त यस्ता स्थलको विश्वास एवं महत्वलाई उजागर गर्दै राज्यस्तरबाटै संरक्षण र विकासलाई प्राथमिकतामा राख्नुपर्ने धामका सल्लाहकार होमराज बश्यालले बताए । यसलाई जितगढी र मणिमुकुन्द सेनको दरबारसँग जोडर पर्यकीय गन्तव्यका रुपमा प्रचार गर्न सके यसको महिमा र गरिमा अझै बढ्ने उनले बताए । यस धाममा विशेषगरी जनै पूर्णिमा, ऋषि पञ्चमी, श्री कृष्ण जन्माष्टमी, दशैं, माघे सक्रान्ति, शिवरात्री, हाली आदि पर्वमा विशेष पूजा हुने गर्छ ।

गुरुकुल विद्याश्रम सञ्चालन
२०६४ सालदेखी यहाँ गुरूकुलको अवधारणाअनुरूप श्री सन्तोषीमाता गुरुकुल विद्याश्रम सञ्चालन भएको छ । १२ वर्षभन्दा तलका बटुक लिई गुरुकुल सञ्चालन गर्ने नीलकण्ठ भगवान्को दिव्यवाणी भएअनुसार विद्याश्रम सञ्चालन गरिएको उपाध्यक्ष पौडेलले बताए । विद्याश्रममा देशका विभिन्न जिल्लाहरुबाट बटुकहरु आई पूर्ण रुपमा आवासीय निःशुल्क अध्ययन गरिरहेका छन् ।

वैदिक सनातन धर्म संस्कृतिको संरक्षण गर्दै समाजमा विद्यमान विकृति र विसंगतिहरुलाई अन्त्य गर्दै कुशल नैतिकवान् नागरिक बनाउने महान् लक्ष्यसहित सञ्चालन भएको विद्याश्रममा हाल ७५ जना छात्र (बटुक) हरुले संस्कृत विषयसँगै नेपाली,अङ्ग्रेजी विषय अध्ययन गर्दै आएको उपाध्यक्ष पौडेलले जानकारी दिए । गुरुकुलमा ८ जना शिक्षक र २ जना कर्मचारी छन् । कक्षा १२ सम्म अनुमति प्राप्त गरी कक्षा ६ देखि १२ सम्म अध्ययन अध्यापन चलिरहेको उनले बताए ।

सरकारले सहयोग नगर्दा गुरुकुलको खर्च धान्न मुस्किल परेको उपाध्यक्ष पौडेलको भनाइ छ । गुरुकुललाई व्यवस्थित गर्न बुटवल उपमहानगरपालिकाले यसवर्ष १० लाख विनियोजन गरेको उनले बताए । बुटवल उपमहानगरपालिकाको गहनाको रुपमा रहेको गुरुकुलमा शिक्षकको स्थायी दरबन्दीका लागि पहल गरिएको उनले बताए । गुरुकुलमा आचार्यको पठनपाठन सञ्चालन गर्ने योजना बनाएको भएपनि आर्थिक अभावका कारण सुरु गर्न नसकिएको उनले बताए ।