दृष्टिकोण बदलौं, आत्महत्या रोकौं

लुम्बिनी प्रदेशमा चार वर्षमा ५४९८ जनाद्वारा आत्महत्या

मेचीकाली संवाददाता

२५ भाद्र २०८१, मंगलवार
4815 shares

आज विश्व आत्महत्या रोकथाम दिवस । ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौं, दृष्टिकोण बदलौं’ भन्ने मूल नाराका साथ नेपालमा पनि विविध कार्यक्रम गरिँदैछ ।

अमृत गिरी

बुटवल। आत्महत्यालाई जनस्वास्थ्यको गम्भीर समस्याका रुपमा लिनुपर्ने आवाज उठेपनि त्यसअनुसार रोकथामका प्रभावकारी काम भने भएका छैनन् । विगत केही वर्षयताको तथ्यांक केलाउँदा नेपालमा पनि आत्महत्याको दर डरलाग्दो छ । विश्वमा सबैभन्दा धेरै आत्महत्या गर्ने राष्ट्रहरुमध्येमा नेपाल आठौं नम्बरमा पर्छ । आत्महत्याको समग्र घटनाको विश्वव्यापी तुलनात्मक अध्ययनले पनि नेपाललाई धेरै आत्महत्या हुने मुलुकको सूचीमा राखेको पाइन्छ । विश्व स्वास्थ्य संगठनको हालैको ‘प्रिभेन्टिङ सुसाइड अ ग्लोबल इम्पेरेटिभ’ शीर्षकको अध्ययनको निष्कर्षले नेपाललाई धेरै आत्महत्या हुने मुलुकको सूचीमा राखेको थियो ।

नेपालको अवस्थालाई लक्षित गरेर भएका केही अध्ययन प्रतिवेदनहरुले पनि आत्महत्यालाई नेपालको सबैभन्दा प्रमुख स्वास्थ्यजन्य समस्याका रुपमा औंल्याइएको छ । नेपालका मनोचिकित्सकहरुले पनि यसलाई जनस्वास्थ्यको गम्भीर समस्याका रुपमा लिएका छन् । यसअनुरुप राज्यका सम्बन्धित निकायहरुले जनस्वास्थ्यको समस्यालाई कम गर्न उपचारलाई प्रभावकारी बनाउने अभियान थाल्न ढिलाई भइरहेको गुनासो छ ।

विश्व स्वास्थ्य संगठनले हालैको एक अध्ययन प्रतिवेदनले विश्वमा प्रति ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्ने गरेको तथ्यांक सार्वजनिक गरेको थियो । नेपालमा भएका आत्महत्याका घटनामध्ये ९५ प्रतिशतभन्दा बढी मानसिक रुपमा कुनै न कुनै समस्या वा प्रभाव परेर भएका पाइएका छन् । प्रहरी कार्यालयमा संकलन हुने विवरणमा अधिकांश घटना मानसिक समस्यासँग जोडिएर भएका छन् ।

लुम्बिनी प्रदेशमा चार वर्षमा ५४९८ जनाले गरे आत्महत्या
लुम्बिनी प्रदेशका १२ जिल्लामा गत चार वर्ष एक महिनामा मात्रै ५ हजार ४ सय ९८ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा महिलाको तुलनामा पुरुष बढी छन् । लुम्बिनीमा आर्थिक वर्ष ०७७/७८ मा एक हजार ४१५ जनाले आत्महत्या गरेका थिए । आ.व ०७८/७९ मा एक हजार ३३४ जनाले आत्महत्या गरेकोमा आ.व ०७९/०८० मा एक हजार ३०६ जनाले आत्महत्या गरेको तथ्यांक छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार आव ०८०/०८१ मा मात्रै एक हजार ३२१ जनाले आत्महत्या गरेका छन् । जसमा झुण्डिएर आत्महत्या गर्नेको सबैभन्दा धेरै छ । झुण्डिएर मात्रै १०१५ जनाले आत्महत्या गरेका छन् । सबैभन्दा धेरै आत्महत्या भएका जिल्लामा नवलपरासी (बसुप) अगाडि छ । त्यहाँ मात्रै एक वर्षमा २५४ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका अनुसार चालू आव ०८१/०८२ को साउन मसान्तसम्म लुम्बिनी प्रदेशमा १२२ जनाले आत्महत्या गरेका छन् । यसमा सबैभन्दा धेरै नवलपरासी (बसुप) का ३५ जनाले आत्महत्या गरेका छन् । वर्षमा ४ हजार ६० जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा महिलाको तुलनामा पुरुष बढी छन् ।

लुम्बिनी प्रदेशमा गत आवमा सबैभन्दा थोरै रुकुम पूर्वमा आत्महत्या भएको छ । त्यहाँ ८ जनाले मात्रै आत्महत्या गरेका छन् । यस्तै चालू आवको साउन मसान्तसम्म लुम्बिनी प्रदेशमा १२२ जनो आत्महत्या गर्दा रुकुम पूर्वमा एक जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा छ ।

यस्तो छ रुपन्देहीको १४ वर्षको तथ्याङ्क
रुपन्देहीको मात्रै तथ्यांक हेर्दा पनि जनस्वास्थ्यको गम्भीर समस्याका रुपमा रहेको पुष्टि हुन्छ । रुपन्देहीमा मात्रै विगत १४ वर्षको तथ्यांक हेर्दा २९१७ जनाले आत्महत्या गरेका छन् । यो तथ्यांक जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरुमा रेकर्ड भएको मात्रै संख्या हो ।

रुपन्देहीमा गत आवमा मात्रै २५४ जनाले आत्महत्या गरेका छन् । यसमा महिलाको तुलनामा पुरुषको संख्या धेरै छ । महिला १०० जनाले आत्महत्या गरेका छन् भने पुरुष १५५ जनाले आत्महत्या गरेका छन् । २५४ मध्ये झुण्डिएर आत्महत्या गर्नेको संख्या २१३ रहेको छ ।

मनोसामाजिक पक्षमै बेवास्ता
सामाजिक चुनौतीका रुपमा रहेको आत्महत्यालाई राज्यले नै जनस्वास्थ्यको समस्या मानेर रोकथामका प्रभावकारी उपाय अपनाउन जरुरी रहेको मानसिक रोग विशेषज्ञ डा.मनोज ढुंगानाको भनाइ छ । विश्वका कैयन् मुलुकले राज्यका निकायबाटै जनस्वास्थ्यको समस्यका रुपमा लिएर रोकथामका प्रभावकारी उपाय अपनाइने गरेको तर नेपालमा भने तथ्यांक संकलनमा सीमित रहेको डा.ढुंगानाको गुनासो छ । मनोसामाजिक पक्षलाई वेवास्ता गर्दा पनि समस्या निम्तिने गरेकोले अब विद्यालय स्तरमै विशेष चेतनामूलक कार्यक्रम गर्नुपर्ने चिकित्स ढुंगानाको भनाइ छ । सामाजिक, जैविक र वंशानुगत कारणले पनि आत्महत्याको तहसम्म पु¥याउने भएकाले त्यसको पनि जरैदेखि उपचार गर्न जरुरी रहेको डा.ढुंगानाको सुझाव छ ।

जनस्वास्थ्यको समस्याका रुपमा स्वीकार गरेर राज्यले नै अभियान सञ्चालन गरेका भए यो सबैको साझा अभियान पनि बन्न सक्थ्यो र दुरुत्साहन रोक्न सकिन्थ्यो । राज्यले नै विशेष स्वास्थ्य नीति बनाएर अभियान चलाउन जरुरी रहेको अर्का मानसिक रोग विशेषज्ञ डा.सन्दीप सुवेदीको जोड छ ।

आत्महत्याको जोखिम
आफन्तहरुको मृत्यु वा बिछोड खप्न नसक्दा, पहिला पनि आत्महत्याको प्रयास गरेको, मानसिक तथा मनोसामाजिक स्वास्थ्य समस्याहरु भएको, सामाजिक रुपमा बहिस्करण, पारिवारिक सदस्यहरुको आत्महत्या वा प्रयास गरेको, यातना वा हिंसा, सहयोगी व्यक्तिहरुको कमी भएको, कुनै दीर्घ रोग भएको र उपचार गराउन नसकेको, व्यापार तथा परीक्षामा असफलता, बेरोजगारी तथा आर्थिक समस्या जटिल बनेको, आत्महत्याका बारेमा कुरा गरिरहने, रक्सी र अन्य लागूऔषधको अत्यधिक प्रयोग, आत्महत्या गर्न मिल्ने साधनहरु खोज्नु वा जम्मा गर्नु, सामाजिक भेलाबाट टाढिनु, निराशाका, विरक्त लागेका, दुखमनाउ गरेका सन्देश प्रवाह गर्दै सामाजिक सञ्जालमा पोष्ट वा शेयर गर्नु, सामूहिक बलात्कारमा पर्नु वा प्रयास गरिरहनु आदिलाई आत्महत्याका जोखिम मानिने गरेको यसको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको अनुभव छ ।

समग्रमा जीवनप्रति चरम वितृष्णा, मानसिक तनाव, निराशा, असफलता, अवैध यौन सम्बन्ध, लागुपदार्थको दुव्र्यसन, बढ्दो बेरोजगारी, आर्थिक अभाव, सामाजिक अपहेलना तथा उपेक्षाका कारण यस्ता घटना बढ्ने गरेका छन् । सामाजिक सञ्जालको दुरुपयोगसँगै बढ्दै गरेको साइबर अपराधका कारण आत्महत्याका घटना बढ्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।


आत्महत्या रोक्न सकिन्छ
मानसिक तथा मनोसामाजिक समस्या नै आत्महत्याको मूल कारण भएकोले समयमै पहिचान गरी मानसिक चिकित्सक वा मनोपरामर्शकर्तासँग परामर्श लिएर उपचार गरे आत्महत्या रोक्न सकिने चिकित्सकहरु बताउँछन् । आत्महत्याका जोखिम बढी भएका व्यक्तिसँग मायालु व्यवहार गर्ने, उनीहरुको मनको कुरा सक्रियतापूर्वक सुन्ने र सहानुभूति प्रकट मात्र गरेमा आधाभन्दा बढी समस्या कम हुने बताइन्छ ।
आत्महत्या गर्नेमा महिला र पुरुषको संख्या लगभग बराबर जस्तै छ । पछिल्ला वर्षमा नाबालकहरु पनि यस्ता घटनामा परेको प्रहरीको तथ्यांक छ । बालबालिकाहरु सिको गर्दा, अन्जानमासमेत र पढाइमा कमजोर भएको भन्दै, सामाजिक सञ्जालको दुरुपयोग भएर, अनाधिकृत अनलाइन र युट्यूबमा आउने गलत सामग्री हेरेर पनि आत्महत्या गरेका विवरण पनि प्रहरी कार्यालयमा रेकर्ड गरिएका छन् । मानसिक समस्या भएर, मानसिक रोगी भएर, एक्लोपनको महशुस गरेर र जीवनदेखि निराशा लागेर आत्महत्या गरेका कारणहरु प्रहरीको विवरणमा उल्लेख छन् ।

आत्महत्या भएका ठाउँमा फेला परेका सुसाइट नोटमा उल्लेख गरिएका र परिवारमा सोधपुछ गरिएका आधारमा प्रहरीले तयार विवरणमा यस्ता कारणहरु समेटिएको छ । आत्महत्या गर्नेहरुका साथमा भेटिएका नोटमा कत्तिले दीर्घ रोगका कारण, कत्तिले पढाइमा असफल भएर, प्रेममा असफल भएर आत्महत्या गर्नुपरेको लेखेको पाइएको छ । उपचार गराउने पैसा नभएर आत्महत्या गर्नेहरु पनि छन् । जसलाई सानो सहयोग र मनोपरार्श गराउन सकिएको भए आत्महत्या रोक्न सकिन्थ्यो र अब हुनसक्ने आत्महत्यालाई रोक्न सकिन्छ । ‘खुलेर संवाद गरौँ, दृष्टिकोण बदलौं ।’

मानसिक स्वास्थ्यका बारेमा खुला छलफल गरौं

डा.मनोज ढुंगाना/मानसिक रोग विशेषज्ञ

जीवनका कठिन समयमा मन दुःखी भइरहने वा एक्लो महशुस हुने बेलामा वा डिप्रेसन जस्ता मानसिक स्वास्थ्य समस्या भएमा त्यस्ता व्यक्तिमा आत्महत्याको सोच, योजना वा क्रियाकलाप देखिन सक्छ । हाम्रो समाजमा यसका बारेमा सामाजिक गलत धारणा, अन्धविश्वास तथा लोकलाज अझैपनि विद्यमान रहेको छ । त्यसैले आत्महत्यासम्बन्धी समस्या भएका व्यक्ति वा परिवारका सदस्यले सहयोग पाउनुका बदला भेदभाव, अपहेलना र लान्छना बेहोर्नुपरेको हुन्छ ।

विभिन्न वैज्ञानिक अध्ययनहरुबाट प्राप्त प्रमाणका अनुसार आत्महत्याको सोंच आएका व्यक्तिहरुको कुरा ध्यानपूर्वक सुन्न सकेमा र उनिहरुलाई सुरक्षित वातावरण सिर्जना गर्न सकेमा यसलाई धेरै हदसम्म रोकथाम तथा न्यूनीकरण गर्न सकिन्छ । मानिसको जीवनमा कहिलेकाहीँ विभिन्न प्रकारका चुनौतीहरु आउन सक्छन् र गाह्रो महशुस हुन सक्छ, जुन स्वभाविक पनि हो । यस्तो बेलामा म एक्लो छैन भन्ने बुझेर यस विषयमा परिवारको सदस्य वा मन मिल्ने साथीसँग कुराकानी गरेमा अर्थात् संवादको सुरुवात गरेमा सहयोग प्राप्त गर्न सकिन्छ ।

यदि हामीमध्ये कसैलाई पनि असहज भइरहेको छ अर्थात् मनमा कुराहरु खेलिरहेका छन् भने आफूलाई विश्वास लाग्ने साथीहरू वा शिक्षकहरु वा विद्यालय स्वास्थ्यकर्मीहरु वा परिवारका सदस्यहरुसँग कुरा गर्नुपर्दछ । आफ्नो मनमा लागेका कुराहरु गर्नाले मन हलुका हुन्छ र सकारात्मक परिवर्तन ल्याउन सकिन्छ । आत्महत्यासम्बन्धी गरिने कुराकानीलाई बेवास्ता गर्ने, ख्यालठट्टा गर्ने वा व्यक्तिको कमजोरी ठान्ने नगरी सहयोगका लागि गरिएको अनुरोध मानेर संवेदनशील भई सुनिदिने र सहयोगका लागि तत्पर रहनुपर्छ । सुन्ने व्यक्तिहरुले देखाएको समानुभूति र करुणाले उक्त व्यक्तिको मन हलुका हुनुका साथै उसको एक्लोपनलाई कम गर्न मद्दत मिल्दछ । भारी मन भएको अवस्थामा मानिसलाई कहिलेकाहीँ सुन्नेको साथसाथै हेरचाहको पनि आवश्यकता पर्दछ । यस्तो अवस्थामा सहयोग तथा हेरचाहको उपयुक्त वातावरण मिलाउनुपर्दछ ।

त्यसैले यदि तपाईँ वा तपाईँले चिन्ने व्यक्ति कसैलाई सहयोगको आवश्यकता छ भने सहयोग माग्न हिचकिचाउनु हुँदैन । तपाईं हाम्रो घर, परिवार र समाजमा कुराहरू सुनिदिने र सहायता प्रदान गर्ने मानिसहरू छन् । तपाईले अरुसँग सहयोग माग्नु भनेको तपाईं कमजोर होइन बरु बलियो हुनुहुन्छ भन्ने कुराको संकेत हो ।

साथसाथै, हामी सबै मिलेर सबैले सुरक्षा महसुस गर्ने एक असल समुदायको निर्माण गर्न सक्छौं । एकअर्काको ख्याल राख्नु र मानसिक स्वास्थ्यको बारेमा खुला रुपमा संवाद गर्नु महत्वपूर्ण विषय हो । आत्महत्यासम्बन्धी कुनै सोचाइ, योजना आएमा सहयोगको लागि आत्महत्या रोकथाम हेल्पलाइन ११६६ मा निःशुल्क फोन गरौँ । आत्महत्याका सम्बन्धमा विद्यमान अन्धविश्वास, भ्रम र लान्छना हटाउन खुलेर संवाद गरौँ, दृष्टिकोण बदलौं ।