बुटवलमै सुरु भयो बौद्ध दर्शनको प्रयोगात्मक शिक्षा

शान्ति, खुसी र समृद्धि लक्षित शैक्षिक कार्यक्रम

मेचीकाली संवाददाता

९ माघ २०८१, बुधबार
47 shares

अमृत गिरी

बुटवल। बुद्ध शिक्षालाई दर्शन र मनोविज्ञान विषयको रूपमा विश्वका विभिन्न विश्वविद्यालयमा बुद्ध शिक्षा अध्ययन र अनुसन्धानको विषय बनिरहेको छ । उनै बुद्धको जन्मस्थल नेपालमा भने ढिलोगरी यसको महत्वको चर्चा हुने र पठन पाठन हुने क्रम सुरु भएको छ । संगठित शैक्षिक संस्थाको रुपमा बौद्ध विहार, मठ, गुम्बाहरुको विकास वर्षौंपहिले भएपनि विश्वविद्यालय नै स्थापना गरेर बहुआयामिक पठन पाठन भने ढिलो सुरु भएको पाइन्छ ।

विसं.२०६२ सालमा लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना भएको हो । विश्वविद्यालय स्थापना भएको करिब एक दशकपछि अर्थात् २०७० सालमा बौद्ध शिक्षाका कक्षा सञ्चालन भएका थिए ।
विभिन्न मुलुकमा बौद्ध शिक्षासँग सम्बन्धित नदिया विश्वविद्यालय, बल्लभी विश्वविद्यालय, विक्रमशिला विश्वविद्यालय, तक्षशिला विश्वविद्यालय, नालन्दा विश्वविद्यालय आदि स्थापना भइ बौद्ध दर्शनलाई जीवनपयोगी शिक्षाका रुपमा ग्रहण गर्नेगरी पठनपाठन हुँदै आएको छ ।

बौद्ध दर्शन जीवन र समाजका लागि अत्यन्त व्यावहारिक ज्ञान प्रणाली रहेको यसको शैक्षिक विस्तारमा लागेका अगुवाहरुको धारणा छ । बौद्ध दर्शनले व्यक्तिगत तथा सामूहिक जीवनलाई नैतिक, संयमित र सकारात्मक दिशामा अगाडि बढाउन मद्दत पुग्ने ती अगुवाहरु बताउँछन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले थेरावादमा आधारित ‘प्रायोगिक बौद्ध अध्ययन’ (एप्लाइड बुद्धिजम) नामक शैक्षिक कार्यक्रमलाई बुटवलमै सञ्चालन गरेको छ । उक्त महत्वपूर्ण शैक्षिक कार्यक्रमको सोमबार नयाँगाउँस्थित सिटी कलेजमा आयोजित एक समारोहबिच सुरुआत गरिएको छ ।

विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर सुवर्णलाल बज्राचार्य, रजिस्ट्रार डाक्टर तिलकराम आचार्य, बौद्ध अध्ययन संकायका डीन डाक्टर मानिकरत्न शाक्य, मानविकी तथा समाजशास्त्र अध्ययन संकायका डीन डाक्टर हरिशरण चखु, विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्रोफेसर डाक्टर गितु गिरीलगायत विभिन्न पदाधिकारी एवम् प्राध्यापकहरुको उपस्थितिमा विद्यार्थीहरुलाई अभिमुखीकरण गराइएको थियो । बौद्ध दर्शनलाई शैक्षिक कार्यक्रममार्फत विस्तारमा जुटिरहेका उनीहरुले शिक्षाको माध्यमबाट बुद्धका ज्ञानलाई दैनिक जीवनमा उतार्न अभिप्रेरित गर्न जरुरी रहेकोमा जोड दिए ।

विश्वविद्यालयले पहिलोपटक बुटवलमा सिटी क्याम्पसमा बौद्ध शिक्षाको मास्टर्स तहको शैक्षिक कार्यक्रम सुरु गरेको छ । सोही शैक्षिक कार्यक्रममा सहभागी विद्यार्थीहरुका लागि क्याम्पसले अभिमुखीकरण समारोहको आयोजना गरेको थियो । सोही समारोहमा सरिक विश्वविद्यालयका विभिन्न तहका विज्ञ, प्राध्यापक र अगुवाहरुले अहिलेको समयमा प्रयोगात्मक बौद्ध शिक्षाको महत्व र आवश्यकता बढ्दै गएकोमा जोड दिएका थिए ।

क्याम्पस प्रमुख डा.फणिन्द्रकुमार न्यौपानेका अनुसार बुटवल सिटी क्याम्पसमा पहिलोपटक सुरु भएको उक्त शैक्षिक कार्यक्रममा २९ जना विद्यार्थी छन् । औपचारिक कक्षा सुरु गर्नुअघि उपकुलपति, रजिस्ट्रार, प्राध्यापकसमेतको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम गरिएको डा.न्यौपानेको भनाइ छ ।
लुम्बिनीमा जन्मिएका राजकुमार सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा राज्य परित्याग गरी ३५ वर्षको उमेर हुुँदा प्राप्त गरेको बुद्धत्वलाई आफ्नो महापरिनिर्वाण हुँदाको उमेरसम्म तत्कालीन समयको गाउँ, नगर एवं राज्यमा प्रचार गरेको शिक्षालाई नै बुद्ध शिक्षा भनिन्छ ।

अहिले सिटी क्याम्पसमा सुरु भएको शैक्षिक कार्यक्रम कोर बुद्ध शिक्षाको एउटा पाटो रहेको उक्त कार्यक्रमका संयोजक जेबी क्षेत्रीले बताए । शिक्षामा मानव शान्ति, बन्धुत्व, मैत्री तथा सद्भावका वस्तुपरक उपदेशको व्यावहारिक र प्रयोगात्मक देशनालाई समावेश गरिएको उनले बताए ।
प्रयोगात्मक बुद्ध शिक्षामार्फत व्यक्तिगत जीवनमा सुधार ल्याउने उद्देश्य राखेको रजिस्ट्रार डा.आचार्यको भनाइ छ । ‘पञ्चशीलको अभ्यास, ध्यान, योग र आत्मचिन्तनजस्ता विधिहरूले व्यक्ति आत्मानुशासनमा रहन सिक्छ र वरपरको वातावरण संरक्षणमा समेत चासो राख्छ,’डा.आचार्य भन्छन्,‘यिनै व्यवहारिक पक्षलाई शैक्षिक कार्यक्रममा समावेश गरिएको छ ।’

बुद्धको शिक्षाले जीवनलाई तर्कपूर्ण तरिकाले हेर्न प्रेरित गर्ने र व्यक्तिलाई जीवनका चुनौतीहरू समाधान गर्न सक्षम बनाउने उपकुलपति प्राडा बज्राचार्यको दाबी छ । लुम्बिनीलाई बुद्धको जन्मस्थलका रूपमा चिनाउँदै नेपाललाई बौद्ध शिक्षा र अनुसन्धानको केन्द्र बनाउने लक्ष्यलाई साकार पार्न पनि यसप्रकारका शैक्षिक कार्यक्रमको विस्तारको खाँचो रहेको प्राडा.बज्राचार्यको भनाइ छ ।

प्रयोगात्मक बौद्ध शिक्षाबाट शान्ति, खुसी र समृद्धि हासिल गर्न सकिने प्रचूर सम्भावना रहेको विश्वविद्यालयका डीन डा.शाक्ले बताए । ‘मन, शरीर र सोंचलाई शान्त पार्ने, स्वच्छ र सभ्य वातावरणको विकास गर्ने कुरालाई बौद्ध शिक्षाको व्यवहारिक रुपमै सिद्द गर्छ,’डीन डा.शाक्य भन्छन्,‘मानसिक स्वास्थ्य, सचेत, शुद्ध र व्यवस्थित मनका लागि बौद्ध दर्शनको शिक्षा जरुरी छ ।’
बौद्ध शिक्षाले मूख्यतः बौद्ध दर्शनमा आधारित ज्ञान, सिप र अभिवृत्तिको संरक्षण र विस्तारमा महत्वपूर्ण योगदान गर्दै आएकोले त्यसको शिक्षा लिन लालायित भएको सिटी क्याम्पसमा सोही विषयको अध्ययनका लागि भर्ना भएका डा.सागर न्यौपानेको भनाइ छ । डा.सागरसहित विभिन्न क्षेत्रका २९ जना सोधकर्ताहरुले सिटी क्याम्पसको पहिलो व्याचका रुपमा अध्ययन सुरु गरेको कार्यक्रम प्रमुख जेबी क्षेत्रीले जानकारी दिए ।

बौद्ध विश्वविद्यालय मातहतको बुटवलस्थित सिटी क्याम्पसमा बिए, एलएलबी, ट्राभल एन्ड टुरिजम, इन्टरनेशनल रिलेसन एण्ड पीसलगायतका विभिन्न शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । बुद्धसँग सम्बन्धित देवदहमा स्कुल अफ डेभलपमेन्ट एन्ड एप्लाइड साइन्सअन्तर्गत स्नातकोत्तर तहमा डेभलपमेन्ट स्डडिज र एग्रोफोरेस्ट्री कार्यक्रम सञ्चालनमा रहेको छ । त्यहाँ विदेशी विद्यार्थीले समेत पढ्दै आएका छन् ।
विश्वविद्यालयले विभिन्न १२ देशका करिब ४५ वटा इन्ष्टिच्यूटसँग सहकार्य गर्दै आएको छ भने आठ कलेजमा सम्बन्धन र पाँचवटा सहकार्यमा सञ्चालित क्याम्पस रहेका छन् । ३० शैक्षिक कार्यक्रम संचालन छन् ।

अहिले सिटी क्याम्पसमा सुरु भएको डिग्रीको ‘एप्लाइड बुद्धिजम’ सन् २००४ मा भारतमा एक जना बौद्ध अनुयायीले सुरु गरेको बुद्धको प्रयोगात्मक शिक्षाको थप विस्तारित पाठ्यक्रम हो । यो विषय भारत, थाइल्याण्ड, भियतनाम तथा कम्बोडियालगायतका मुलुकमा विस्तार भइसकेको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयमा बौद्ध अध्ययन संकाय, मानविकी तथा सामाजिक शास्त्र संकाय र स्कुल अफ डेभलपमेन्ट एन्ड एप्लाइड साइन्स । दुईवटा आंगिक क्याम्पस छन्  । केन्द्रीय क्याम्पसमा चालू शैक्षिक कार्यक्रममा स्नातकोत्तर तहमा बौद्ध अध्ययन, अक्र्यालोजी र म्युजोलोजी सञ्चालनमा छन् । त्यस्तै स्नातक तहमा भोट बौद्ध अध्ययन, ट्राभल एन्ड टुरिजम म्यानेजमेन्ट र बिए आरडीको अध्ययन हुँदै आएको विश्वविद्यायका सूचना अधिकारी चुरामणि पोखरेलको भनाइ छ ।